कहिले तमर देखि माथी,
छिन्ताङ्लाइ हेर्ने गर्छु ।
कहिले अखिसल्ला हुँदै,
खोकुबाट छिन्ताङलाइ हेर्ने गर्छु ।
गोठालो जादा कहिले कुभाङमा पुग्छु ।
बेवारिसे चोली च्यात्तिएर फ्याकिएको भेट्छु ।
त्यहीँ सानो परिवेशमा,
पन्चेनामक ब्वासोको नमिठो विर्यको गन्ध भेट्छु ।
सुसेली खेल्दै,
कहिले खरी खोला त,
कहिले तमर नदिमा पुग्छु ।
डाँडा गाउँ र पाताल छिन्ताङबाट,
रगत बगेर रात्तै, तमर नदिलाइ देख्छु ।
इतिहास पढदै जादा,
वेलवारी र खानी खोलाको,
बीभत्स कथालाइ भेट्छु ।
खोकुको रङमन्चमा,
रगतले पोतिएको रात्तै कलाकारहरुलाइ,
काठमाडौको सिंहले झम्टिएको देख्छु ।
खोकुछिन्ताङको रगत माथी,
हिजो पन्चेको छेपारोले,
रंग फेरिरहेको देख्छु !
तारेभीरमा फेरि एउटा अनौठो,
बन्दुक पड्किएको सुन्छु ।
अनि फर्केर माथी मेरो खोकुलाइ हेर्छु ।
मेरो खोकु अझैपनि रोइरहेको देख्छु !!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: