बर्फिला पहाडहरू टेकर
कुल्चदैँ आफ्नै उचाइका डोबहरू
उड्दै रहरका चङ्हरू
पैतालाहरूले नाप्दै असिम दुरीहरू
एउटा रहरको नदी बग्दै
तिमीसम्म आइपुगेको हूँ
उदास रूखको थांक्रो
फिंजाएर हेमन्थ थपक्क आँगनमा
बसेको छ
अनुहार भरि फुस्रो रङ पोतेर
सिङ्गै आकाश तिम्रो आँखामा बसेको छ
कठ्याङ्रगिएर चराहरू गुँडमै
खुम्चिएर बसेका छन्
न्यानो कहाँ पाउनू
आँफैमा बाफिनु छ,
आँफैमा सेलाउनु छ
एक अँगालो तिमी उता छौ
एक अँगालो म यता छु
दुरताले मनभरि डसिरह्यो
यादको मधुमास
यसरी कसरी फुलिरहन सक्छ
जीवनको फूल?
यस्तो दुरतामा कहाँ हाँसिरहन सक्छ
उदास मन?
प्रिय अब त हाँस
एउटा वसन्त तिम्रो आँखामा बास
बस्न आइपुगेको छ
एउटा रङ तिम्रो अनुहारमा
खस्न आइपुगेको छ !
Liked by: