बिहान हुन नपाउदै
सुर्यको किरण नउदाउदै
शीतहरू नसुक्दै
मिर्मिरेमै सफर गरिन्छ
जिन्दगीको सुनौलो बिहानीहरूसंगै ।
सपनाहरूको ताज महल उभ्याउनुअघि
मैले तिम्रो यादहरूलाई महसुस गर्नुअघि
सम्झिरहेको हुनेछु
प्रत्येक पल
प्रत्येक क्षण
हर बिहानी
माधुर्य शालीन शितहरू बनेर
बिहानीको उदाउँदो रंगमञ्चमा
एकनास बसेर कुरिरहेको हुनेछु
बुद्धको शरणमा परे झै ।
जिन्दगीको बिछ्ट्टै उमान्दहरूमा
यादहरूले पटकपटक जिउँदै मारिएपछि
रेगिस्थानीको शितलहरसंग
कयौंपटक मुकाबिला गरेको छु ।
म हुनुको आभास संगै
म रुनुको पिडा संगै
म तिमीसंग टाढिएर
सयौं पिडाहरू झेलिरहेको यात्री हुँ
र
मरुभूमिमा एक्लै-एक्लै रुमलिए हिडिरहेको
बेमौसमी एक फकिर यात्री बने संगै
तिम्रा यादहरूको महासागरले
यो उजाड-उजाड रेगिस्थानीहरूमा
शीतल हावाहरू छाए झैँ
यो बिरानो लाग्ने शहरहरू
यो अन्धकार लाग्ने गल्ली र चौबाटोहरू
यो शून्य शून्य लाग्ने रातहरू
यो जिन्दगीको अन्तिम आर्यघाट झैँ लाग्ने ठाउँहरू
तिम्रो यादहरूको एक हिस्सा
अनि
प्रत्येक पलहरूले मलाई जिवित बनाईरहन्छ
र बाँचेको अनुभुती गराउछ ।
बेकसुर जिन्दगीको जिउने आधारहरु झै
सहायता बनेर उभिएको एउटा सिमेन्टको पिल्लर झैँ
उभिएको छ बिनाकसुर
र फेरिएको छ जिन्दगीको मासुम परिवहनहरू
रेगिस्थानी सफर र तिम्रो यादहरू संगै
बग्दैछन निरन्तर तमोर बगे झै ।
जिन्दगीको उत्तरचढाबहरू
जिन्दगीको भोगाइहरू
जिन्दगीको सुखदुःखहरू
रूमली रहदा
जिन्दगीको अन्तिम फैसलामा
तिम्रो यादहरूले नबचाएका पनि होइनन्
आशु सकिएर रगत नबगेका पनि होइनन्
भावनामा बहकीएर कयौंपटक नरसाएका पनि होइनन्
यी नयनहरू ।
भावुकताको गहिराइमा डुबान मारेर
जिन्दगीको तलाउमा तर्दै गर्दा
कतिऔँ पटक तरे होला ?
कतिऔँ पटक डुबे होला ?
जसरी एउटा समस्या पछि अर्को समस्या आए झैँ ।
र
मलाई यस्तो महसुस -
हर प्रहर यादहरूले भिजाएर जानू
छट्पटीमा रात कटाउने बहानामा
कयौ रातहरू अनिदो कटाउनु
र भक्कु सम्झिनु तमोर तरेर संगै हिडेको पलहरू
सक्रान्तीको देउरालीमा पुग्नै आट्दा
अक्षता चामल पोखिएर
तिमी रिसाएको पलहरू सम्झनु
संगै हिड्दा - हिड्दै चुटिएको चप्पल र लोति सम्झिनु
यादहरूको आधिँभेरी संगै
मन-मनै युद्ध लडिरहनु
मनहरूको मैदानमा
र बारम्बार म हारी रहनु
यादहरूको मैदानबाट
विडम्बना म रेगिस्थानी सफरहरुमा हुनु
जस्तो साउने भेल बर्सिएर आएपछि
निथ्रुक्क भिजेको तिम्रो त्यो मुलायम ओठहरू र मुलायम चेहरा संगै
यादहरूले पटकपटक मारी रहनु
के मेरो भाग्यको दोष या कर्मकोफल ।
म हरेक पल झस्की रहन्छु
निदाउनु पुर्व
जसरी निदाएको बेला
सपनाहरूमा कहिल्यै भेटिएनन्
ती मिठा बाचा र बन्धनहरू
भेट्नु पनि कसरी यी रेगीस्थानी सफरहरूले प्रत्येक पल गलाईरहन्छ अर्थात् प्रत्येक पल मारी रहन्छ
जहाँ उसैको अधिनमा अडिएर हातखुट्टाको यात्राहरू तय गर्नुपर्छ
म उभिएको धर्तिमा
उसैको आदेशमा स्वास फेर्नुछ
र यो रङ्गीन दुनियाँ हेर्नुपर्छ
बाध्यता र परिस्थितिले ।
आजकल
म निदाउनु पनि एउटा बहाना चाहिएको छ
म उठ्नु पनि
उस्तै एउटा बहाना चाहिएको छ
यहाँ चाहानाले चल्दैन जस्तोकी तिमीसंग निदाउनु पुर्व नरम ओठहरु चुमे झैँ
गुलाबी ओठमा लिप्त भएर मद्होसी कम्पनसंगै
निर्धक्क युगिन साझमा तिमी संग निदाए झैँ
हो यसरी
कहिल्यै भएनन् रेगिस्थानी रातहरूमा ।
जब
तिम्रो यादहरू बाहेक केहि घुमेनन्
चन्द्रामा झैँ तिम्रो मुहार बाहेक केहि छाएनन्
मानसपटलहरूमा ।
सायद
यादहरू धुलमिल भएर होला
अचेल निदाउनु अघि
जिन्दगीको लक्ष्य र गन्तव्यहरुले
तमोर र कावेलीहरूले समुन्द्रलाई भेट्ने
सपनाहरू बोके जस्तै
जिन्दगीको गन्तव्यहरू तर्जुमा गरिरहेको छ
त्यसैले त तिम्रो यादहरूको अजम्बरि सम्झाना बोकेर एक्लै -एक्लै फकिर घुमिरहेको छु
तिम्रो यादहरूसंगै
यो रेगिस्थानी गल्ली र दोबाटोहरूमा ।
-----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: