फुलबारीमा सौन्दर्य ढकमक्क फुलेको बेला
लुकामारी खेल्न छोडे
फूललाई बिछट्टै माया गर्ने भमराहरूले
दोहरी गाउँन छोडे
समयसँग मितेरी गाँस्ने झ्याउँकिरीहरूले ।
बिहेमा बेहुलीको रोदनसँगै बज्ने सहनाई झैं
आमाको ओईलाएको काख रुन्छ,
चराहरू साँझपख गुँड फर्कने बेला
जङ्गलमा, बन्द कोठामा
अनौठो आवाजले चिच्याउँछन् किशोरीहरू,
तर, सुनसान लाग्छ सेरोफेरो !
भान्साबाट निस्कने धुँवाको मुस्लोले
आकास ढाक्छ गमक्कै
साना नानीहरू खेल्दा
धुँवा जसै धुलो उड्छ बाटोमा
चौतारामा घाम ताप्दैनन् बुढापाका
अचेल कोही बटुवा भेटिदैन चौबाटोमा ।
यो सुनसान फुलबारी र बस्ती
रित्तो बाटो अनि चौतारा
आँधीबेहरी आउनु अघिको लामो सन्नाटा हो ।
सन्नाटा पछि आउने
आँधिबेहरी नै अन्तिम परिक्षा हो ।
लाग्छ, आँधीबेहरीले उडाएर लिनेछ–
फुलबारीको बासी सप्तरङ्गि सुगन्ध
चौतारीमा झरेका पातपतिङ्गर
ढल्नेछन् वनमा सुकेका बुढा वृक्षहरू
भाँचिनेछन् बाटोमा बेकाम गाडिएका खम्बाहरू ।
समयले संघर्ष गर्नै पर्छ सेरोफेरोको लागि
र संघर्ष पछि मात्र नयाँ समय सुरु हुनेछ
आँधिबेहरी पछि आउने
सन्नाटा नै अन्तिम परिणाम हुनेछ ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: