अरुलाई छ्यापेको
दोषारोपणको हिलोले
भेद्न सकेन भने
धैर्य, इमानको पर्खाल
र समयको हुरीसँगै
छ्याप्नेतिरै फर्किदियो भने
भिजाउन सक्नेछन्
केवल बाछिटा हरुले नै ।
आस्थाको निर्मल आकाशमा
अविश्वासको घना बादल
मडारिँदै वर्षियो भने
सम्बन्धको धर्तीबाट
स्वाहा हुनेछन्
अपनत्व र ममत्वका
स्वादिष्ट सारा फसलहरु ।
डढेलोले खाएको वनजस्तै
शंकाले मन खाएपछि
लर्खराउन थाल्छ श्रद्धा
बिनाकारण कारणको खोजीमा
चैन हराएका हृदयहरु
चहर्याउन थाल्छन्
कहिले परपीडामा
कहिले आफ्नै वेदनामा
बिना अर्थ र व्यर्थ ।
अहंकारको झार पलाए
प्रेमको सुन्दर वाटिकामा
गोडमेल गर्नुपर्छ समयमै
र बचाउनु पर्छ
मानव मनको सुन्दरता
स्वार्थी काँडा तिखारिएर
क्षतविक्षत हुनुअगावै
नाताका सुकोमल,
सुवासित पुष्प, पातहरु ।
समयले दिएको सुअवसरमा
सुधार्नुपर्छ गल्तीहरु
एकता र सौहार्द्रको
मानवीय मलमले
निको पारेर सबैसबै
घात, प्रतिघातका घाउहरु
शुभ आरम्भलाई
कहिल्यै अबेला हुन्न
जहाँबाट जाग्छौ नि मनु !
त्यहीँबाट बिहानी हुन्छ ।
Liked by: