थाहा छैन मलाई,
यो सेतो पर्दाले म किन बेरिदै छु!
मेरा रङ्गीन सपनाहरू छोप्न त हैन ?
थाहा छैन मलाई,
यी राता चुराहरु किन फुटाइदैछन ?
अर्को बन्देज लगाउन त हैन?
थाहा छैन मलाई,
वरिपरिका मान्छे, किन च्याठीदै यसरी
सायद, मैले पो केहि गरे कि?
थाहा छैन मलाई,
नमान्दा नमान्दै भरिएको यो सिउदो, आज किन पखालिदैछ?
थाहा छैन मलाई,
यो किन र कसरी भयो!
भाग्यमा विश्वास नगर्ने मैले,
आज आफ्नै भाग्यलाई सराप्दैछ।
रङ्गीन सपना, रङ्गीन दृश्य, मेरा
तर,
तर म आफू किन सेतो?
के उनले आफूसँग मेरा रङ लगे त ?
के ममा अब फेरि रङ भरिदैन त ?
के मेरो जिवन सेतो भयो?
के अब मैले,
अरुको रङ हेरेर चित्त बुझाउनुपर्ने ?
थाहा छैन मलाई,
मेरो जिवन परिवर्तन भयो कि मेरा दिन?थाहा छैन मलाई,
अब म हाँस्न पाउँछु कि पाउँदिन
थाहा छैन मलाई,
औधी मनपर्ने ति राता चुरा,
मैले लाउन पाउँछ कि पाउँदिन।
सेतोमा दाग छिटो लाग्छ,
मैले लगाएको लुगामा लागे त म धोइदिउला,
तर,
घरबाहिर मात्र निस्कदा पनि मेरो चरित्रमा दाग लाग्ने त हैन ?
के अब मैले, कहिल्यै उस्तै माया पाउँछु त ?
के अब मैले, सेतो फुकाली कहिल्यै रातो लाउँछु त?
Liked by: