कालो बादलले ढाकेको धुम्म आकाशमुनि
फुटेका कुर्कुचाले धानेको
जीवनको भारिले थिचेको
मलिन मुहार तर चम्किला आँखा
आशा र आक्रोश मिसिएको
धेरै पछि भेटे उनलाई
ऊनी त्यही थिए,
जुँगाको रेखी बस्दै गर्दा
४६ मा प्रजातन्त्रको नारा घन्काउने
५२ पछि बन्दुक बोकेर जङ्गल पस्ने
६२/६३ पछि अब त चैनको दिन आउँछ भन्दै रमाउने
वर्ष माथि वर्ष थपिए
न त उनको चैनको दिन आयो
न त सन्तोषको स्वास फेर्न सोचेको सुखको क्षण
बाझो बसेको खेत, शुन्य हुदै गइरहेको गाउँ
लामो सुस्केरा सहित नजर घुमाएर भने,
कसैले केहि गरेनन् |
एक छिन मौन रह्यौ
दुवै जना
अनि, बल्ल सुरु भो सन्चो विसन्चोको कुरा
रोगले गालेछ,
छोरा छोरी परदेशिएछन ।
सानो धर्का बादल फाटेछ आकाशमा
पारी थुम्कामा घामको किरण पर्यो
समयको गतिले खुम्च्याएको गाला तन्काएर
मुसुक्क हासे उनी
र सम्झिए घरको काम,
दुई चार दिन बसिन्छ नि? भोलि भेटम्ला ।
चप्पलमा कुर्कुचा ठाेकाइको
पट्याक पट्याक आवाज सहित बाटो लागे
म हेरिरहे पर सम्म
येतिका दिनपछि भेट्दा पनि पहिला देशको चिन्ता
अनि बल्ल हालखबर सोधाई
सम्मान र माया एकैसाथ भरिएर आयो
मन एकतमासको भो
आकाश तर्फ हेरे ,
बादल फाटदै रहेछ .....अब त घाम लाग्ला ....।
Liked by: