अहिले बजेको छ रातको साढे एक
भोलि विहान सखारै उठ्नुपर्ने बाध्यताको स्मरण गराई
मेरी प्रिया डाकिरहेछिन् मलाई
तर, अहँ, मलाई पटक्कै छैन निद्राको भोक
अपशोच, बारिरहेछु, इमान, मूल्य-मान्यताको शोक
एकाविहानै अखबारमा पढेथें एक कविता
दोहोर्याई/तेहेर्याई, दोहोर्याई/तेहेर्याई,
ढक्क फुलेथ्यो मुटु सन्न भएथ्यो मस्तिष्क
‘कति चर्को अनुभूति’ अनायासै चलेथ्यो ओठ
सलाम गर्दै कविलाई खोज्न थालेथें तिनले झै
मेरा वरपरका प्रायोजित मुस्कानहरु/भूमिगत मस्तिष्कहरु
सुतुरमुर्गको टाउकोझै भूमिगत ठालुका यावत प्रणालीहरु
भूमिगत भइरहेका /भइसकेका उसका एजेण्डा र निर्णयका प्रतिलिपीहरु
अहिले बजेको छ रातको साढे एक
व्यतीत भइरहेको आˆनो उर्जाशील युवावयलाई सम्झँदै
लेख्न बसेको छु कविता
जाउ प्रिय जाउ, तिमी सुत्न जाउ
म तिम्रो छातीभित्र पिलिएको-अनगिन्ती कुण्ठाहरुको कविता लेख्छु,
तिम्रो मस्तिष्कमा बाटो खोजिरहेको -अनगिन्ती दोबाटोका कविता लेख्छु
तिम्रो कलेजोमा रोपिएको -अनगिन्ती अपमानहरुको कविता लेख्छु
तिमीजस्तै लाखौं संगीहरुको टाउकोमा कुदिरहेको
वर्गयुद्ध र मुक्तिको सपनासँगै -ढोग र कुटिल हाँसोको कविता लेख्छु
धुत्र्याइँ र पाखण्डी प्रपञ्चको कविता लेख्छु
शेयर मार्केटका ब्रोकरले झै हमेशा सपनाको खरिद-विक्री गरिरहेका -
कथित शेयर होल्डरहरुको कविता लेख्छु ।
भो प्रिय अब अलमल नगर जाउ, सुत्न जाउ
बरु सपनामै भए पनि सयर गर
सदियौंदेखि कल्पेको त्यो साम्यवादी गाँऊ
यो स्याल कराउने रातमा
म मैले देखेको -एक-एक घृणित चालबाजीको कविता लेख्छु
बैंस नआई निमोठिएका -कलिला सपनाहरुको कविता लेख्छु
भित्रभित्रै फैलिएको -जासुसी जालोको कविता लेख्छु
तिमी ढुक्क होउ प्रिय,
हाप्सिलो कराइरहेको यो रातमा
म डराउन्न, लाटोकोसेरोको डरलाग्दो आवाजसँग
तिमी झै म पनि प्रतिक्षारत छु
युद्धकालका भूमिगत एम्बुस झै
कुनै बेला त पड्केलान् नि !
भूमिगत हुन नसकेका ढोंग, धुत्याइँ र पाखण्डी प्रपञ्चहरु !
- मदन प्रभात
पूर्वी नेपाल, वर्दिवास
[email protected]
Liked by: