भानुभक्त आचार्यको सङ्क्षिप्त जीवनी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

भानुभक्त आचार्यको सङ्क्षिप्त जीवनी




   नरेन्द्रराज प्रसाई - Feb 21 2018

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत "रामायण"लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।



विश्व मातृभाषा दिवस विशेष समर्पण सामाग्री, नेपाली भाषाका भक्त, संरक्षक तथा प्रवर्द्धक 'भानुभक्त आचार्य'को संक्षिप्त जीवनी...
---

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' त्यतिसारो चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जिभ्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्यविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे ।

भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने क्रममा विष्णुमायादेवी (आचार्य), बाबुराम आचार्य, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, शम्भुप्रसाद ढुङ्ग्याल, बालचन्द्र शर्मा, ब्रह्ममशमशेर, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, शर्वराज आचार्य, शिवराज आचार्य कौण्डिनन्यायन, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, रामचन्द्र शर्मा पौडेल, चन्द्रेश्वर दुवे, भद्रवीर अधिकारीआदि लागे । उनीहरू प्राय:ले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब पनि लेखे । तीमध्ये कसैले काल्पनिक कुरा पनि लेखे । अनि धेरैले मोतीरामकै बिंडो समाएर पनि लेखे ।

कविता लामा, नरेन्द्रराज प्रसाई, रजनी ढकाल, वासुदेव त्रिपाठी, इन्दिरा प्रसाई, राजेन्द्र सुवेदी, महादेव अवस्थी आदि समेत भानुभक्तको कीर्ति र कृति फैलाउन मन, वचन र कर्मले समर्पित भएर जुटे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र नै बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत हुँदै आए ।

मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यस मितिलाई सच्याएर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको ठोकुवा गरेर १९९८ सालमा "भानुभक्त मणिमाला" नाउँको किताप निकालिन् । त्यस कितापमा भानुभक्तले नै बनाएको जन्मकुण्डली र जन्मकुण्डली उपर उनैले लेखेको श्लोक भनेर पनि पेस गरियो । तर उक्त श्लोक र कुण्डली भानुभक्तबाट नै तयार भएको भन्नेबारे कुनै प्रमाण देखिदैन । वास्तवमा कुनै पनि ब्राम्हणको निधनसँगै जन्मकुण्डली चितामा जलाउने हिन्दू परम्परा नै छ । त्यसमाथि भानुभक्त त पण्डित नै थिए । त्यतिमात्र होइन उनको जन्मकुण्डली जोगाएर राख्नु पर्ने कुनै कारण नै थिएन । अनि त्यतिखेर उनी आदिकवि पनि थिएनन् । तर उनको निधनको ७३ बर्ष पछाडि भानु जन्मकुण्डली प्रकाशित हुनुको अर्थ के हो ? मोतीराम पछाडिका लेखकले भानुजीवनी लेख्ने क्रममा यस्ता अनेक नाटकीय दस्तावेज प्रस्तुत गर्दै आए । नरनाथ आचार्यले पनि मोतीरामलाई खसाल्ने काम नै गरेको देखिन्छ । त्यतिमात्र होइन विष्णुमायादेवीबाट प्रस्तुत भएको भानुभक्तको जन्म श्लोक र जन्म कुण्डली सहितका प्राय: धेरै दफामा उनले पनि आफ्नो बुढी औठा थिचे । त्यसपछि प्राय: अरुहरु आचार्य पनि धुरिएर विष्णुमाया र नरनाथकै साक्षीमा नै मौजुद देखिए । वास्तवमा त्यस बेहोराले भानुभक्तबारेका तथ्यहरु कुन ठीक र कुन बेठीक भनेर छुट्याउन गाह्रो पर्न थाल्यो । कतिसम्मभने आचार्य खलकबाट नै भानुभक्तका कवितामा समेत पाठभेद हुन थाल्यो। अन्तत: नेपाल सरकारबाट भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यक्रममार्फत नरेन्द्रराज प्रसाईकृत "भानुभक्त आचार्यको जीवनवृत्त" नामक जीवनीकृति २०७१ सालमा प्रकाशित भएपछि थुप्रै जिज्ञासाको सावधान हुन थाल्यो ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक काशीका एक जना विद्वान्ले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।


भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको काशीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।

श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।

भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने अनेक कला झिके । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो । अनि त्यस कलामा आबद्ध हुन अरु आचार्यहरु पनि त्यति चुकेका देखिएनन् । विष्णुमायादेवीको कृति "भानुभक्त मणिमाला"मा त मोतीरामको 'मो' पनि उच्चारण गरिएको पाइदैन ।

भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर उनका हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले नेपाली बस्ने देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।

भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा धेरै भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ जिल्ला र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, ट्याम्को दमाहा र झ्याम्टाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपाली गोरखालीका लागि भानुजयन्ती दसैँभन्दा पनि ठूलो चाड मानिन्छ । वास्तवमा दार्जिलिङमा भानुजयन्ती मनाउन थालेपछि मात्र नेपालमा पनि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको हो ।

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत "रामायण"लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।

भानुभक्तले रामायणको बालकाण्ड समेत ७ काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला, वधूशिक्षा र रामगीतानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो । अनि त्यही रामायणले नेपाली भाषालाई समेत लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाएर नै छाडे । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ साल असोज ६ गते भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले ।

~
विश्व मातृभाषा दिवसको अवसरमा प्राप्त यो सामाग्री वरिष्ठ साहित्यकार तथा समालोचक श्री नरेन्द्रराज प्रसार्इ (नइ प्रकाशन) बाट प्राप्त भएको हो । हाम्रो पात्रोमा राखिएका नइ प्रकाशनका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन्, श्रष्टाको अनुमतिबिना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.