कोही रोजगारीको खोजीमा त कोही शिक्षाको लागि, लाखौं नेपालीहरू विदेशिएका छन् । देशको युवा जनशक्ती यसरी विदेशिनुलाई समस्याको रूपमा हेरिएको छ । तर, देशको अर्थतन्त्रलाई उभ्याउने एउटा ठूलो खम्बा विदेशमा रहेर कमाइ गरिरहेका नेपालीहरू हुन्। किनकि, ठूलो मात्रामा भित्रिरहेको रेमिट्यान्स (विप्रेषण) नै नेपाली अर्थतन्त्रको मेरुदण्ड हो ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको (२०८१/८२) को नौ महिना अवधिको आर्थिक प्रतिवेदन अनुसार, विदेशमा कार्यरत नेपालीहरूबाट आएको रेमिट्यान्स नौ महिनाको अवधिमा करिब रु.११९१.३१ अर्ब पुगेको छ। यो अघिल्लो वर्षको यहि समय अवधिको तुलनामा १०.२ प्रतिशतले वृद्धि हो। यो तथ्य केवल आँकडा होइन, यो त ती लाखौं परदेशी नेपालीका पसिनाको मूल्य हो। जसले आफ्नो परिवारको मात्रै होइन, देशको पनि भविष्य उज्यालो बनाएका छन्।
शहर बजारमा दिनदिनै बढ्दै गएको उपभोग, घर जग्गा किनबेच, बैंकहरूमा जम्मा हुने रकम, यी सबैको मूल जरो विदेशबाट आउने पैसामा छ। यस समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,४९,६५२ रहेको छ । रेमिट्यान्सले गर्दा नेपालको भुक्तानी सन्तुलन (Balance of Payments) रु. ३४६.२३ अर्बभन्दा बढी नाफामा पुगेको छ।
चालु खाता (Current Account) पनि लामो समयपछि नाफामा गएकाले विदेशी मुद्रा सञ्चिति सुदृढ भएको छ। हालको सञ्चितिले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यस्ता उपलब्धिहरूको मूलमा तिनै नेपालीहरू छन्, जसले परदेशमा दिनको १२ देखि १६ घण्टा काम गर्छन्। अनि महिनाको अन्त्यमा आफ्नो परिवार र देश सम्झेर रकम पठाउँछन्। तर, यो योगदानको अर्को अनुहार पनि छ, त्यो हो पीडा। बुवाको अन्तिम कार्यमा नफर्किएको छोरा, आमाको मृत्यु हुँदा किरियामा भ्याएन भन्ने सन्तान, छोराको पहिलो हाँसो चियाउन नपाएको बुवा, यस्ता भावनात्मक विछोडहरूको मूल्य कहिल्यै नापन सकिंदैन।
नेपाल बाहिर रहेका नेपालीहरू केवल आर्थिक सहारा होइनन्, उनीहरू देशका अघोषित राजदूतहरू पनि हुन्। उनीहरूले जुन परिश्रम, अनुशासन र कर्मठता देखाएका छन्, त्यसले नेपालप्रतिको विश्वास अन्तर्राष्ट्रिय जगतमा कायम राखेको छ। अबको आवश्यकता भनेको देशमै अवसर सिर्जना गरेर “परदेश जानु बाध्यता होइन, विकल्प हो” भन्ने अवस्थाको सृजना गर्ने।
Liked by: