पिञ्जरामा २० वर्ष बसेका 'खड्गमान सिंह'को जीवनी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

पिञ्जरामा २० वर्ष बसेका 'खड्गमान सिंह'को जीवनी




   नरेन्द्रराज प्रसाई - Mar 06 2018

तर 'जेल बाहिर चालीस वर्षमा उनले आफ्नो मन लेखे । त्यस कृतिमा उनले भनेका थिए ''पञ्चायतका जरा उखेल्नु एउटा नमूना मात्र हो हेर्दै जाउँ अझै केके उखेलिन्छ !'' साँच्चै हो राजाका धुपौरेले सिंहजस्ता देशभक्तका पनि नाकमा घरिघरि नस हालिरहन्थे र यस्ता किसिमका क्रान्तिकारी किताब लेख्ने प्रेरणा दिइरहन्थे ।



बीस वर्ष जेलको पिञ्जडामा थुनिएर खड्गमान सिंह बाहिर आँउदा लावालस्करले उनको जयजयकार गरेका थिए । त्यस बेला उनलाई भेट्नेको कस्तो ताँती थियो भने नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले समेत तीन घन्टाको लाइनमा बसेर खड्गमान सिंहका हातमा पुष्पार्पण गरेका थिए ।

सिंहले १९८३ सालतिर भारतमा गएर महात्मा गान्धीलाई भेटेका थिए । गान्धीकै प्रेरणाले उनी नेपालको राणा विरोधी आन्दोलनमा सक्रिय भए । उनी नै राणा विरोधमा ओर्लने पहिलो नेपाली थिए । यसैबारे उनैले भनेका पनि थिए ''अनधिकारी र स्वेच्छाचारी राणशासनको विरोधमा उठ्ने म प्रथम व्यक्ति हुँ ।'' नेपालमा पहिलो राजनैतिक दल खोल्ने पनि सिंह नै थिए र उनी प्रचण्ड गोर्खा दलका संस्थापकमध्येका एक थिए ।

सिंहले जीवनको महत्त्वपूर्ण भाग राणाशासनविरुद्ध सङ्घर्ष गरेरै विताए । उनी बीस वर्षसम्म जेलभित्रको फलामे पिंजडामा नै कोचिए । मान्छै थुन्ने त्यस पिंन्जडामा उनी उभिन सक्तैन थिए र खुट्टा पसारेर सुत्न पनि सक्तैन थिए । वास्तवमा अहिलेसम्मकै राजनैतिक यातना भोगीको इतिहासमा राजनीतिज्ञहरूमा सबैभन्दा बढी यातना भोग्ने व्यक्ति पनि सिंह नै थिए । खोरमा बन्द भएका बेला पनि सिंहका भावनाहरू जेलका पर्खाल बाहिर निस्कन्थे । स्वाभिमानी सिंह जन स्वतन्त्रताका लागि जेलमा नै कुँजो भए तर राणासमक्ष उनले आत्मर्समर्पण गरेनन् ।

आफूले भोगेका यस्तै विचित्रको अनुभव सिउरिएर सिंहले 'जेलमा बीस वर्ष भन्ने अमर ग्रन्थ लेखे । साथै जीवनको उत्तरार्धमा आएर उनले 'जेलबाहिर चालीस वर्ष भन्ने अर्को महत्त्वपूर्ण कृति लेखे । यस ग्रन्थको शिरमा नै उनले नरेन्द्रराज प्रसाईलाई सम्बोधन गरेर लेखे ।

जेलबाट निस्केपछि राजा त्रिभुवनका कृपाले सिंहले प्रज्ञा राज्यलक्ष्मीसँग बिहे गरे । सिंह मन्त्री, राजदूत र अञ्चलाधीश पनि भए । उनले प्रथम दर्जाको गार्खा दक्षिण बाहु पनि पाए र त्रिशक्ति पट्ट दोस्रा पनि लाए । उनले मुलुकको प्रधानमन्त्री बनेर राष्ट्र बनाउने सोच राखेका थिए । तर उनलाई पनि विश्वबन्धु थापा र राजेश्वर देवकोटालाई झैं भाग्यले साथ दिएन ।

सिंहले नेपालका प्रायः सम्पूर्ण भूभाग र एसियाका साथै यूरोपका केही राष्ट्रको समेत भ्रमण गरेर अनुभव सङ्ग्रह गरे तर अनेक राष्ट्रघाति तत्वहरुको छिर्के झेल्नु परेकाले उनले मुलुकका लागि चाहेजति केही गर्न सकेनन् । वास्तवमा असल, महान् र त्यागीहरुलाई विटुलो पार्ने काममा पनि पञ्चायती व्यवस्थाले एउटा आधारभूत सिद्धान्त बनाएको थियो । त्यही पासोमा सिंह पनि फसेका थिए । यतिहुँदा हुँदै पनि उनले राजाको वकालतमा नै आफ्नो सम्पूर्ण जीवन फ्याँके । तर 'जेल बाहिर चालीस वर्षमा उनले आफ्नो मन लेखे । त्यस कृतिमा उनले भनेका थिए ''पञ्चायतका जरा उखेल्नु एउटा नमूना मात्र हो हेर्दै जाउँ अझै केके उखेलिन्छ !'' साँच्चै हो राजाका धुपौरेले सिंहजस्ता देशभक्तका पनि नाकमा घरिघरि नस हालिरहन्थे र यस्ता किसिमका क्रान्तिकारी किताब लेख्ने प्रेरणा दिइरहन्थे ।

खड्गमान सिंह १९६४ साल फागु पूर्णिमामा काठमाडौंको डिल्लीबजारमा दिलिपसिंह वस्नेत र दीर्घकुमारीको सुपुत्रका रूपमा जन्मे । उनले पटना विश्वविद्यालयबाट म्याट्रिक दिएपछि जनक्रान्तिमा हाम फाले । राणा विरुद्धको यज्ञमा समाहित हुँदा उनी चौबीस बर्षका थिए ।

सिंहले सदैव महात्मा गान्धीको जय मनाए र सधैं खादी कै पोशाक लगाए । उनी नेहरु, लेनिन, चाउ एनलाई, किमईल सुङको वकालत गरिरहन्थे । साथै उनी दशरथ चन्द, मैनाबहादुर खत्री, विश्वेश्वरप्रसाद कोइराला, तुलसीमेहर श्रेष्ठ, चित्तधर हृदय, गोपाल पाँडे असीम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र श्यामप्रसाद शर्माको गीत गाएर थाक्तैन थिए ।

सिंहको राजनीतिक जीवन हिंसात्मक क्रान्तिकारी पथबाट सुरु भयो । तर जेलमा गहिरो चिन्तन र गीता अध्ययनले उनको हृदयमा हिंसाको छाप मेटियो । उनी भन्थे ''हाम्रो समानताको बाटो समन्वयवाद हो ।''

सिंह सुरुमा प्रजातन्त्र अथवा संसदीय व्यवस्थाको मागमा समर्पित भए तर प्रजातन्त्र आउने वित्तिकै उनी भौंतारिन थाले । त्यसपछि उनले फेरि भने ''पार्टी हानथापले राष्ट्रको सामूहिक उत्थान हुन नसक्ने हुँदा २००८ सालमै दलगत व्यवस्था नेपालको निम्ति उपयुक्त भएन ।'' साथै राजाका अघिपछिका डुहुरे मुसाले काम गर्न नदिएको उनले सधैं गुनासो गरिरहे । उनी भन्थे 'सामूहिक रूपमा साझा प्रक्रियाद्वारा देश निर्माण गर्ने बुद्धिजीवीको आस्था भएको सरकार हुनु अत्यावश्यक थियो तर मन्त्रीहरू बुद्धिजीवी नै खोजिदैनथ्यो ।'' उनले क्रमशः आफ्नो राजनितीक जीवन पनि एक प्रकारको दूर्भाग्यको नै ठानेका थिए । यतिहुँदाहुँदै पनि उनी नेपाली राष्ट्रिय एकताको प्रतीकका रुपमा राजाको आवश्यकतामा जोड दिन्थे । तर राजा वीरेन्द्रको कार्यशैलीले नेपाल बर्बाद हुने सम्भावनाका कुरा गर्न पनि उनी चुक्तैन थिए ।

नेपालको परम्परा, भौगोलिक बनावटआदि उपर गढेर हेर्दा दलीय व्यवस्था काम लाग्दैन भन्ने अडानमा नै सिहको जीवन सकिएको थियो । उनी सिद्धान्तलाई भन्दा ब्यबहारलाई बढी जोड दिन्थे । उनी नेपालमा भोको नाङ्गो एक जना पनि नरहून् भन्थे । साथै उनी वसुदैव कुटुम्बकम्को भावना राखेर नै बाँचे । उनी निर्धा र निमुखालाई हेला गर्ने प्रवृत्तिको घोर विरोधी थिए । अनि उनी मादक पदार्थलाई जीवन बर्बादको संज्ञा दिन्थे ।

सिंहकी श्रीमती पनि राजनीतज्ञ थिइन् । प्रज्ञाराज्यलक्ष्मी सिंह राष्ट्रिय पञ्चायतकी उपाध्यक्ष पनि थिइन् । तर खड्गमान सिंहले आफ्नी पत्नी प्रज्ञासँग अत्यन्तै थारै समय मात्र लहसिन पाए । उनीहरूद्वारा एउटा पुत्र भयो ।

सिंह सधैं देश र जनसेवाको निम्ति नै लडे । जीवनको अन्तिम बेलामा आएर उनले भने ''मैले नेपालमा केही काम गर्न सकिन ।'' जीवनमा त्याग गर्दागर्दै सिंहको २०५३ सालमा काठमाडौमा निधन भयो । त्यसपछि नेपालले उनको खोजीनिति नै पनि गरेन । राजनीतिमा लागेका झारेझुरेको समेत हुलाक टिकट प्रकाशनमा आयो र कौशीमा बसेर तमासा हेर्दै गरेको मानिसलाई झुक्किएर गोलि लाग्दा पनि शहिद बनाइयो । तर सिंहका बारे सरकारी तहले चासो नै राखेन । उनले जीवनको उत्तर्रार्धमा पनि भनेका थिए ''राजनीतिमा लाग्ने सबै स्वार्थी, कपटी र धुर्त हुँदैनन्, हृदयमा स्नेह र सेवापरायण, समता र सद्व्यबहार धारण गर्ने पनि हुन्छन् ।'' तर नेपालका हकमा उनको सोचाइले कुनै धर्म निर्वाह गर्न सकेको देखिएन । नेपालीहरुका छातिभित्र संवेदनाको श्रोत नै सुकेकाले हिंजोको कालरात्रिमा नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि कठोर जीवन रोज्ने सिंहको योगदानको चर्चा हराउदै गयो । देशभक्त भएका कारण नै खड्गमान सिंह नेपाली राजनीतिमा असफल नै भएका हुन् त ? भन्ने प्रश्नले अब जरा गडिसकेको छ ।

~
यो सामाग्री वरिष्ठ साहित्यकार तथा समालोचक श्री नरेन्द्रराज प्रसार्इ (नइ प्रकाशन) बाट प्राप्त भएको हो । हाम्रो पात्रोमा राखिएका नइ प्रकाशनका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन्, श्रष्टाको अनुमतिबिना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.