त्यसबेला नेपालले ‘धान चामल निर्यात कम्पनी’ मार्फत एशियाका अन्य मुलुकहरूमा पनि चामल निर्यात गर्ने लक्ष्य राखेको थियो। वीरगञ्ज एक निर्यातक शहर थियो। त्यसबेला पाउरोटी, चकलेट, विस्कुट, सलाई, सिगरेट, बींडी उत्पादनमा वीरगञ्जले दक्षता हासिल गरेको थियो। वीरगञ्जमा दसकौं पहिले अनेक आवसीय होटलहरू संचालित थिए, जबकी नेपालका अन्य शहरमा होटल संचालन गर्नु पर्छ भन्ने सोंचको पनि त्यस बेला विकास भएको थिएन होला । यात्रुहरू धर्मशालाको शरणमा पर्नु पर्थ्यो। यति मात्र होइन, वीरगञ्जमा तारे होटल (होटल सम्झना) दसकौं पहिले (सम्भव त पचास वर्ष अघि) संचालनमा आइसकेको थियो।
वीरगञ्जको अभिभावकको?
स्थानीय सरकार (वीरगञ्ज उप महा-नगरपालिका) हो? केन्द्रिय सरकार हो? केन्द्रिय सरकार हो भने कुन मन्त्रालय हो? स्थानीय विकास मन्त्रालय हो? गृह मन्त्रालाय हो? भौतिक योजना तथा निर्माण मन्त्रालय? वा अन्य कुनै सम्वन्धित भनिएको मन्त्रालय हो?
कसले यो शहरको रेखदेख गर्ने? यस शहरको सामाजिक एवं आर्थिक विकासको बारे कसले सोंच्ने? कसले छलफल गर्ने? बिग्रेका संरचनाहरूको निर्माण कसले गर्ने? कसले सरसफाइमा ध्यान पुर्याउने? यी कार्यहरू गर्ने दायित्व कसको हो?
किन वीरगञ्ज अहिले अभिभावकविहीन बन्दै गएको छ?
अव्यवस्थित एवं अनियन्त्रित वसोबास, मनोमानी सवारी व्यवस्था, यत्रतत्र फोहर, साँघुरो सडक आदि जस्ता समस्याहरुले गर्दा वीरगञ्जले आफ्नो मौलिकता र सौन्दर्य दुवै गुमाउँदै गइरहेको छ। हुन त यस किसिमका समस्याहरू नेपालका अन्य शहरहरूमा पनि देखिएका छन। तर वीरगञ्जलाई नेपालको (काठमाडौ पछिको) पहिलो ठूलो शहरको रूपमा लिएको र यसलाई नेपालको आर्थिक राजधानी तथा नेपाल-प्रवेशद्वार पनि भनिएको हुनाले यस शहरको विषेश चर्चा हुनु सान्दर्भिक नै हुन आउँछ। आवश्यक हुन आउँछ। वीरगञ्जको अभिभावक को? यस विषयमा चर्चा हुन आवश्यक छ। वीरगञ्जसँग मेरो गहिरो साइनो पनि छ। यो शहर मेरोलागि धेरै कारणहरुले महत्वपूर्ण छ पनि।
वीरगञ्ज अहिले अनेक समस्याहरूले आक्रान्त देखिएको छ। सवारी व्यवस्था त झन गंभीर समस्याको रुपमा प्रस्तुत भएको छ। वीरगञ्जको मुल सडक, जस्तै (उदाहरण) घण्टाघर देखि विर्ता, को स्थिति हेर्दा भय र चिन्ता दुवै एकसाथ उत्पन्न हुन्छ। यो सडकमा अनियन्त्रित किसिमले पैदल यात्रु हिंडिरहेका त हुन्छन् नै, साथै ट्रेक्टर, जिप, कार, टांगा, गोरूगाडा (टायर), मोटर साइकल, सामान्य रिक्सा, बैट्री-चालित रिक्सा, साइकल आदि पनि एकैसाथ सडकमा दौडिरहेका हुन्छन्। वैदिककालदेखि प्रचलित सवारी साधन (गोरुगाडा, टांगा) हरू तथा आधुनिक युगका सवारी साधन (बैट्री-चालित रिक्सा, आधुनिक कार) हरू, एकै साथ वीरगञ्जका सडकहरूमा दौडिरहेको सजिलै देख्न सकिन्छ। यसलाई ठूलो आश्चर्य मान्न सकिंदैन र? तर यस किसिमको अव्यवस्थित सवारी व्यवस्थाले कुनै पनि बेला दु:खदायी दुर्घटना हुन सक्छ। र विगतमा त्यस्ता दु:खद दुर्घटना भएका छन पनि।
फोहर पनि अव्यवस्थित किसिमले फाल्ने गरिएकोले यो शहरको सौन्दर्य फोहर र दूर्गन्धले छोपिने हो कि भन्ने अर्को त्राश छ। घरभित्रको फोहर सडकमा फालेपछि घर सफा हुन्छ भन्ने मानसिकताबाट वीरगञ्ज अहिले पनि बाहिर आउन सकेको छैन्। उचित व्यवस्थापनको अभावमा वीरगञ्जका घरेलु एवं व्यापारिक, दुवै किसिमका विसर्जनहरू यस शहरलाई कुरुप पार्नमा उद्धत देखिएका छन्। उदारहरणको लागि वीरगञ्जको पश्चिममा बग्ने सिरसियाँ नदीको दुर्गति हेरे पुग्छ।
सर्वाधिक दु:खदायी किसिमले भने वीरगञ्जमा आर्थिक समस्या प्रस्तुत हुन थालेको छ, यस शहरलाई पिरोल्नकालागि। अहिले वीरगञ्जको व्यापारले मन्दीको स्थिति भोग्नु परेको छ। शहरमा व्यापारिक चहल पहल देखिंदैन्, पहिले जस्तो देखिने गर्थ्यो। यस शहरलाई समृद्ध तुल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने उद्योगहरू आफ्नो क्षमता विस्तार गर्न उस्ताहित देखिंदैनन्। उनीहरूमा एक किसिमको उदासीनता देखिएको छ। अनिश्चितता पनि उत्तिकै देखिएको छ। मधेस आन्दोलनमा वीरगञ्जबाट पलायन भएका उद्योगहरू फर्किने मनस्थितिमा छैनन्। वीरगञ्जमा हुने अति राजनीतिले आफ्नो व्यापार कुन बेला, कति र कसरी प्रभावित हुने हो भन्ने भयले व्यापारीहरू अहिले पनि प्रतिपल चिंतित रहेको देखिन्छन। त्रसित रहेको देखिन्छन्।
तर......! तर कुनै समय यस्तो थियो, वीरगञ्जले चीनी नेपालभरि निर्यात गर्थ्यो। यहाँ उत्पादन भएका कृषि औजारहरू नेपालका अनेक गाउँहरूमा पुग्थ्ये। तिनले कृषि-उत्पादन वृद्धिमा सहयोग पुर्याउँथे। वीरगञ्जको आर्थिक उन्नतिमा योगदान पुर्याउने वीरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना अहिले म्यूजियम हुन पुगेका छन्।
कुनै समयमा, वीरगञ्जबाट पठाइएका चामलका बोराहरु रक्सौल हुँदै मरिसस, बंगलादेश लगायत भारतका अनेक शहरहरूमा पुग्थ्ये। त्यसबेला नेपालले ‘धान चामल निर्यात कम्पनी’ मार्फत एशियाका अन्य मुलुकहरूमा पनि चामल निर्यात गर्ने लक्ष्य राखेको थियो। वीरगञ्ज एक निर्यातक शहर थियो।
त्यसबेला पाउरोटी, चकलेट, विस्कुट, सलाई, सिगरेट, बींडी उत्पादनमा वीरगञ्जले दक्षता हासिल गरेको थियो। वीरगञ्जमा दसकौं पहिले अनेक आवसीय होटलहरू संचालित थिए, जबकी नेपालका अन्य शहरमा होटल संचालन गर्नु पर्छ भन्ने सोंचको पनि त्यस बेला विकास भएको थिएन होला । यात्रुहरू धर्मशालाको शरणमा पर्नु पर्थ्यो। यति मात्र होइन, वीरगञ्जमा तारे होटल (होटल सम्झना) दसकौं पहिले (सम्भव त पचास वर्ष अघि) संचालनमा आइसकेको थियो।
यस्तो समृद्ध वीरगञ्ज अहिले किन मन्दीको स्थितिमा छ? किन दुर्गतिको स्थितिमा छ?
मधेस आन्दोलनले खलबल्याएको जातीय सद्भाव यहाँ अझै पनि धमिलो नै छ। त्यस आन्दोलनबाट विरक्तिएर वीरगञ्जबाट पलायन भएका तथाकथित पहाडेहरू अहिले पनि वीरगञ्ज फर्किने मनस्थितिमा छैनन्। घर, घडेरी र खेतियोग्य जग्गा समेत बिक्री गरेर हिडेंका पहाडेहरूलाई वीरगञ्ज फर्किन सजिलो पनि छैन, पुरानो थलोले उनीहरुलाई भावनात्मक रुपमा ताने पनि। मारवाडी, बंगाली, पंजावी, सिन्धी, झाँगण जस्ता अल्प संख्यक विभिन्न समुदाहरूलाई आदरपूर्व समेटर बसेको वीरगञ्ज किन यसरी जातीय आन्दोलनमा लाग्यो? किन यसले पहाडेहरूलाई शत्रु देख्न पुग्यो?
माथि उल्लेख गरिएका समस्याहरूको समाधान कसले गर्ने? वीरगञ्जको अभिभावकत्व कसले लिने? सरकारका केही तोकिएका मन्त्रालयहरूले लिनु पर्छ भन्ने हो भने सरकार आफै स्थिर छैन। नौ महिना भन्दा बढी सरकार टिक्न सकिरहेको छैन। पुष्प कमल दहाल प्रधान मंत्री भएको एक महिना पनि पुगेको छैन उनलाई पद-मुक्त गर्न एकथरिले दिन गिन्ति सुरु गरिसके। दहाल जुन किसिमको जालझेल गरेर आए त्यस्तै जालझेल यिनलाई पनि हुत्याउँने छ, यो निश्चित छ। नेताहरू केवल कुर्सिको खेलमा लीन छन्। यी कुराहरू नेपाली जनताको लागि नौलो पनि रहेन अब। वीरगञ्जको विकासको दायित्व नगरपालिकाले लिनु पर्छ भन्ने हो भने स्थानीय सरकारका निकायहरू प्रतिनिधि विहीन छन। स्थानीय निर्वाचन भएको दुई दसक भन्दा बढी भइसक्यो। स्थानीय निर्वाचन कहिले हुने हो?
यस किसिमको विषम परिस्थितिमा वीरगञ्जको अभिभावकत्व कसले लिने? कसले सोंच्ने यो शहरको आर्थिक, सामाजिर र राजनैतिक विकास वारे? यो प्रश्नको उत्तर एक किसिमले जटिल छ तर अर्को किसिमले सरल पनि छ।
वीरगञ्जको अभिभावकत्व यस शहरको नागरिक समाजले लिनु पर्दछ। यस शहरको विकासमा नागरिक समाज आ-आफ्नो क्षेत्रवाट, आ-आफ्नो टोलबाट सक्रिय हुनु पर्दछ। यस शहरमा अस्थाइ वा स्थाइ, जुन रूपमा बसे पनि यस शहरका बासिन्दाहरू नै यस शहरका विकासका कर्ताहरू (Actors) हुन। यो भावना प्रत्येक वीरगञ्जवासीमा हुन आवश्यक छ।
विकसित मुलुकहरूमा स्थानीय विकासका कर्ताहरू स्थानीय व्यक्तिहरू नै हुने गर्दछन्। वीरगञ्जको विकासमा पनि स्थानीयहरूको सहभागिता हुन सके मात्र यो शहरको सुन्दरता, गौरव र अर्थ व्यवस्थालाई जोगाउन सकिन्छ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: