लेखकः तुलसी नारायण चित्रकार
https://www.facebook.com/profile.php?id=1165420269
-------
— “जय देश ।” मैले स्यालुट ठोकेँ जमदार साहेबलाई । — “जय देश” ।
आउनुस् ।” — “सर, जिल्ला अस्पतालबाट खबर आएको छ कि त्यहाँको बिरामीलाई रगतको आवश्यकता परेको छ । त्यसैले अस्पताल जान हजुरसँग स्वीकृतिको लागि आएको ।”
— “कतिखेर जानु हुन्छ नि ?”
— “२ बजे बत्ती जान्छ । त्यसपछि ।”
— “अनि मैले दिएको कम्प्युटरको काम नि ?”
— “त्यो सकिनै लाग्यो सर । त्यो काम सक्याएर मात्रै जान्छु ।”
— “हुन्छ नि ।” फेरि सलाम ठोकेर म आफ्नो कार्यकक्षतिर लागें ।
सेनाको पोसाक छोडेर नागरिक पोसाक लगाएँ । अनि हतारहतार जिल्ला अस्पतालतिर लम्कें । अस्पतालको सोधपुछ कक्षमा गएर रगत चाहिएको कहाँ हो भनी सोधें । पहिले रगत परीक्षण गर्नुपर्छ भन्दै कोठा नम्बर ४ तिर जाने इसारा गर्नुभयो । ४ नम्बर कोठाभित्र पसें । नर्सले अलिकति रगत निकालिन् जाँच गर्न । एकछिन त्यहीं बस्न भनिन् । त्यहाँ बस्दाबस्दै मेरो मनमा अनेक कुरा खेल्न थाले । यो कस्तो विकट जिल्ला जहाँ ब्लड बैंक छैन । कसैलाई रगत चाहियो भने रक्तदाता खोज्नु पर्ने । अँ, बिरामी त एउटी महिला रे । ती पनि गर्भवती रे । कहाँकी होलिन् ती महिला ? कुन गाउँबाट यहाँ ल्याइएकी होलिन् ? किन रगत चाहिएको होला ? यहाँ त एकजना मात्र हैन, दुईजनाको जिन्दगीको सवाल छ ।
— “लौ, आउनुस् ।”
नर्सको आवाजले मेरो कल्पनाको श्रृङ्खला भङ्ग भयो । केही नबोली म नर्सको पछिपछि लागें। बिरामी भएको वार्डमा पुगेँ । उनले मलाई एउटा खाटमा पल्टन भनिन् । मैले दायाँ हात दिएँ रगत निकाल्न । पाकेटमा रगत भर्न थालेपछि नर्स त्यहाँबाट गइन् । वार्डको चारैतिर आँखा घुमाएँ मैले। वार्डभित्र केही बिरामीहरु थिए भने केही कुरुवाहरु पनि । एकएक गरी सबैको अनुहार नियाल्न थालें ।
त्यसमध्ये एकजना बिरामीको अनुहारले मलाई झसङ्ग पार्यो । तिनी कतै जुनेली त होइनन् ? मेरो मुटु जोडले धड्कन थाल्यो । टाउको उठाएर अझ गहिरिएर हेरें । “हो, पक्कै उनी जुनेली नै हुन् ।” “कति साह्रो दुब्लाएकी ? चिन्न नै गाह्रो । अनुहारको रङ पनि उडेको ! सायद रगतको कमीले गर्दा होला ।” उनी मस्त निद्रामै छिन् । “दुखाइले पनि कमजोर बनाएको होला ।” मनमनै सोचेँ । कोही कुरुवा पनि थिएन उनको छेउमा । रगत थैलामा भरिन लाग्यो ।
— “के यो रगत उही बिरामीका लागि चाहिएको हो ?” मैले जुनेली भएतिर इसारा गर्दै नर्सलाई सोधें ।
— “हो ।” छोटो जवाफ आयो ।
— “यति रगतले पुग्छ र ?” फेरि सोधेँ ।
— “अर्को पनि चाहिने त हो ।”
— “त्यसो भए अर्को पनि लिनुस् न ।” मैले बायाँ हात पसारें ।
— “एकछिन है ।” भन्दै नर्स गइन् र अर्को खाली पाकेट लिएर आइन् । दोस्रो पाकेटमा रगत भरिन थाल्यो भने यता म कल्पनामा बग्न थालें।
— “जुनेली, कति दिन बेरोजगार भएर बस्ने म ? अब मैले केही गर्नै पर्छ । तिम्रो लागि, मेरो लागि, हाम्रो लागि ।” — “के गर्छौ त तिमी ?”
— “सोच्दै छु नेपाली सेनामा भर्ती भएर देशकै सेवा गर्छु । त्यसैले सेनामा आवेदन दिएको हुँ ।”
— “नार्इ, मलाई सेना भएको मन पर्दैन । सेनाको जागिरमा कहिल्यै आफ्नो परिवारको लागि समय हुँदैन । सधैं ब्यारेकमा बस्नु पर्छ । त्यसमाथि सेनाको जागिरमा जीवनको भरोसा पनि हुँदैन ।”
— “किन हुँदैन जीवनको भरोसा ? ”
— “लडाईँमा मान्छेले मान्छेलाई काट्नु पर्छ । आफूले कसलाई मार्छ अनि कहिले आफू मर्छ ठेगान हुँदैन ।”
— “सधैं कहाँ त्यस्तो हुन्छ ?”
— “परिवारको विच्चली भएको मैले देखेकी छु । एक पटक मात्रै भए पनि जीवन सकियो त सकियो । मरेपछि फेरि बाँच्छु भनेर पाउने होइन क्यारे ।”
— “हे भगवान् । म तिमीलाई कसरी सम्झाऊँ ?” मलाई रिस उठ्यो ।
— “मलाई सम्झाउनु पर्दैन । सेनामा जाने विचारै छाडिदेऊ । खुरुक्क अरू जागिर खोज ।” उनको स्वर पनि कडा भयो । — “त्यो त म गर्न सक्दिनँ ।” मेरो स्वर पनि कमजोर थिएन ।
— “तिमीलाई मेरो माया ठूलो कि जागिर ?”
— “त्यो जागिर मात्रै हैन । देशको सेवा पनि हो ।” बोलीमा जोड दिँदै भनेँ ।
— “त्यसो भए पहिले देशको सेवा गर । बाँच्यौ र देशलाई सेवा गर्न पुग्यो भने माया गरौँला ।”
— “मेरो कुरा त सुन ।”
— “मलाई ढिला भो । म जान्छु ।” भन्दै कुरै नसुनी उनी गइन् ।
मेरो रिसको तापक्रम पनि धेरै माथि चढेको थियो । “सेनालाई कति हेप्न सकेकी ?” मनमनै भनेँ । उनलाई रोक्ने अरू प्रयास पनि गरिनँ मैले । केही समयसम्म हाम्रो भेट भएन । उता सेनामा मेरो नाम निस्क्यो । तत्काल तालिमको लागि काठमाडौं जानु पर्यो । त्यसैले जाने बेलामा जुनेलीलाई भेट्ने समय पाइएन । तालिम अवधिभर घरमा आउन पनि पाइएन । उनीसँग भेट्ने त कुरै भएन । तालिम सकेर गाउँमा आउँदा पुरानो साथी बाटोमा भेट भयो ।
— “सेनाको तालिम सकियो ?”
— “अँ, सकियो । के छ गाउँको हालखबर ?” उत्सुकतासाथ सोधेँ मैले ।
— “एउटै साह्रै नराम्रो खबर छ, साथी । तिमीले आउनमा धेरै ढिलो गर्यौ ।”
— “के हो त्यस्तो कुरा ?”
— “तेरी जुनेलीले अर्कै गाउँको केटासँग बिहे गरिन् नि ।”
— “धत् । त्यस्तरी पनि जिस्काउने हो मलाई ? तेरो जिस्काउने बानी अहिलेसम्म गएको छैन, है ?”
— “अझै नपत्याएको ! हो भन्या ।
सुरुमा त जुनेलीले मानेकी थिइन । उसका आमाबुवा र दाइले जबरजस्ती गरेपछि उनले आखिरमा मान्नै पर्यो । अब त उनी अर्कै जिल्लाको बासिन्दा भइन् । बिहे भएको पनि ६ महिनाभन्दा बढी भयो होला ।”
मेरो बच्चादेखिको साथीले भनेको कुरा सही रहेछ । मलाई धेरै नै दुःख लाग्यो । मेरो जीवनको जुनेली सदाकोलागि अस्ताइ सकेकी थिइन् । चारैतिर चकमन्न अँध्यारो बाहेक केही थिएन । आफूले चाहेको माया नै छैन भने यो जीवन बाँचेर के गर्नु मैले ? केही विचार गर्न सकिनँ । के गर्ने ? के नगर्ने ? केही निर्णय लिन पनि सकिनँ । गाउँ नै सुनसान लाग्यो । बस्ने मन नै भएन । त्यसैले बिदा बाँकी छँदै म पुनः सेनामा फर्केँ । तालिम सकिइसकेको थियो । मेरो जागिर विकट जिल्लामा पर्यो । एकदम नयाँ ठाउँ, नयाँ परिवेश । यहाँ जागिर गरेको पनि दुई वर्ष भै सकेछ ।
दोश्रो पाकेट पनि भरियो । नर्सलाई भनेँ — “अझै निकाल्नुस् । म तयार छु रगत दिन ।”
— “दुई पाकेटभन्दा बढी रगत निकाल्नै मिल्दैन क्या ।”
— “किन मिल्दैन ?” मेरो स्वर अलि कडा भयो ।
— “मिल्दैन भनेपछि मिल्दैन ।” नर्सले झर्कँदै बोलिन् ।
डाक्टर पनि आइ पुग्नु भो । — “डाक्टर साहेब । म अर्को पाकेट पनि रगत दिन चाहन्छु । जसरी पनि बिरामीलाई बचाउनु पर्छ ।”
डाक्टरले गम्भीर भएर सोध्नु भो — “बिरामी तपाइँको को पर्छ ?” मसँग कुनै जवाफ थिएन । मुसुमुसु हाँस्दै डाक्टरले भन्नु भयो — “मैले तपाईँको कुरा बुझिसकें । तपार्इं आत्तिनु पर्दैन । यति रगत भए पुग्छ बिरामीलाई बचाउन ।”
आखिरमा डाक्टरले पनि मेरो कुरा नसुनेपछि मैले भनें — “तर डाक्टर साहेब, मेरो बारेमा बिरामीलाई केही पनि थाहा नहोस् ।” हाँस्दै भन्नु भो — “तपार्इं ढुक्क हुनुस् । तपार्इंको नाम कसैले थाहा पाउने छैन ।” म निश्चिन्त भएँ । अस्पतालबाट बाहिरिनु अगाडि बिरामीलाई अन्तिम पटक हेर्न चाहेँ ।
— “त्यसो भए फेरि एकपटक बिरामीलाई टाढैबाट हेर्छु है ?” स्वीकृतिमा डाक्टरले टाउको हल्लाउनुभयो । म जुनेली भएको वार्डमा गएँ । उनी अझै पनि निन्द्रामै थिइन् । अहिले भने जुनेलीलाई सलाइनको सट्टामा रगत दिइएको थियो । त्यो मेरै रगत थियो । मैले उनलाई आखाँभरी हेरें । सायद उनी मेरो आखाँमा अट्न सकिनन् र आँसुसँगै झरिन् । आसुँ पुछ्दै मेरो मनले भन्यो — “आखिर हामीबीच एउटा नाता कायम हुनुरहेछ । त्यो आज पूरा भयो । एउटा आत्मीय नाता — नाता रगतको ।” समाप्त
(राष्ट्रिय दैनिक पत्रपत्रिकाहरू तथा अनलाइन खबरमा प्रकाशित रगत र सेवा सम्बन्धि अनेक समाचारमा आधारित सत्य घटना।)
Liked by: