'छन्द दिवस' एक संघर्षः २०६७ सालमा पञ्चाङ्गलाई लेखेकोे धन्यवादपत्र | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

'छन्द दिवस' एक संघर्षः २०६७ सालमा पञ्चाङ्गलाई लेखेकोे धन्यवादपत्र




   माधव वियोगी - Mar 11 2018

छन्दको प्रचारप्रसार गर्ने कार्यमा भगवान शिव, विष्णु र इन्द्र तथा ऋषिहरू वृहस्पति, माण्डव्य, सैतव, यास्क र पिङ्गल सक्रिय रहेका थिए । पिङ्गलले छन्दसूत्रको निर्माण गरेर छन्दलाई व्यापक पार्ने कार्य गरेका थिए । पछिल्लो समयमा वाल्मीकिले रामायण र व्यासले महाभारतको रचना गरी छन्दलाई प्रयोग गरेको पाइन्छ ।



‘छन्द बचाऊँ अभियान २०५३’ बाट सफल हुँदै 'छन्द दिवस'मनाउन सहमति दिने नेपाल पञ्चाङ्ग निर्णायक समितिलार्इ मैले लेखेको पत्र जस्ताको त्यस्तैः
 
सर्वप्रथमतः राष्ट्रव्यापी आन्दोलनका रूपमा सञ्चालित ‘छन्द बचाऊँ अभियान २०५३’ शुरू भएको दिन वैशाख ८ गतेलाई छन्द दिवसको मान्यता दिन मद्वारा राखिएको प्रस्तावलाई स्वीकार गरेकोमा म नेपाल पञ्चाङ्ग निर्णायक समितिप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु । नेपाली कवितामा छन्दको प्रयोग क्रमशः हराउँदै गएकाले जो पनि कवि र जे पनि कविता बन्ने स्थिति आएपछि सोलाई रोकी नेपाली कवितामा छन्दको प्रयोगलाई यथास्थानमा ल्याउने अभिप्रायका साथ वि.सं.२०५३ सालमा मैले राष्ट्रव्यापी आन्दोलनको रूपमा ‘छन्द बचाऊँ अभियान २०५३’ संचालन गरेको कुरा पुनः स्मरण गराउन चाहान्छु । नेपाली कवितामा छन्दको प्रयोगलाई यथास्थानमा नल्याई आन्दोलनबाट विश्राम नलिने मेरो प्रतिबद्धता रहेको छ । छन्दलाई जीवनशैलीको रूपमा अबलम्बन गर्न लगाउने, छन्दलाई एकादेशको कथा हुन नदिने, ‘गद्य’ लाई कविता मान्ने प्रचलनको अन्त्य गर्ने, काव्यसंस्कृतिको रक्षा गर्ने, युवापुस्तालाई छन्दप्रति आकृष्ट गर्ने र शिष्ट एवं नैतिक तबरले कविता रच्नेतर्फ स्रष्टाहरूलाई सचेत पार्ने ‘छन्द बचाऊँ अभियान २०५३’ का प्रमुख उद्देश्य हुन् । उद्देश्य पूरा गर्नका निम्ति आध्यात्मिक ज्ञानसम्मत प्रवचन गर्ने, पाठ्यपुस्तकमा छन्दज्ञान सम्बन्धी रचना र छन्दका कविता अधिकतम रूपमा समावेश गर्न तत्सम्बन्धी संघसंस्थालाई अनुरोध गर्ने, संस्कृति र काव्यसंस्कृतिको महत्वबारे सर्वसाधारणलाई समेत बोध गराउने, छन्दको नाममा संस्था खोल्ने, छन्द जोडेर व्यक्ति, स्थान, पुल, बाटो, चौतारी, वन, घर आदि नामकरण गर्ने लगायतका कामहरू तीब्रताका साथ भइरहेका छन् । छन्द बचाऊँ अभियानको लिखित अनुरोधका कारण यतिबेला पाठ्यपुस्तकहरूमा छन्दका रचनालाई प्राथमिकता दिइएको छ भने कतिपय स्रष्टाले छन्दमणि, छन्दिका, छन्दराज, छन्दकुमार, छन्दभूषण जस्ता नाम राखेर तथा आफ्ना निवासलाई छन्दशाला, छन्दनिवास, छन्दकुटी आदि नामकरण गरेर छन्दलाई जीवन्त पार्ने कार्य गरेको अवस्था छ । छन्द प्रतिष्ठान, छन्दवादी समाज, छन्द बचाऊँ समिति लगायतका संस्था गठन भई तीब्रगतिमा कार्य सम्पादन भइरहेका छन् । देशका करिब १६०० स्रष्टाले छन्दज्ञान सम्बन्धी प्रशिक्षण पाइसकेका छन् भने मैले पोखरा छोरेपाटनस्थित आफ्नो निवासलाई छन्दप्रशिक्षण केन्द्र घोषणा गरिसकेको छु । भविष्यमा छन्द प्रशिक्षण केन्द्रलाई छन्दपाठशाला र छन्दविश्वविद्यालयमा परिणत गर्ने लक्ष्य रहेको छ ।

माथि नै उल्लेख भए अनुसार छन्दलाई जीवनशैलीको रूपमा अवलम्बन गर्नका निम्ति आध्यात्मिक ज्ञान दिनेक्रममा थुप्रै ठाउँमा तथा छन्दज्ञान प्रशिक्षणका कक्षामा प्रवचनहरू भएका छन् । छन्दले खानु, छन्दले हिड्नु, छन्दले बोल्नु, छन्दले हेर्नु र छन्दले जीवनका क्रियाकलाप परिचालन गर्नु आदिलाई अभियानले सँगै लिएर हिडेको छ । इमान्दारिता, नैतिकता, निरन्तर साधना, कर्मकर्तव्यप्रति सचेतता, लगनशीलता, आत्मज्ञान लगायतका उच्च मानवीय गुणलाई छन्दोबद्ध विषयका रूपमा लिई तत्अनुरूप प्रचारप्रसार र प्रशिक्षण गरिएको छ । नियमित आहारविहार तथा योगसाधनामा तल्लिन रहनु छन्दोबद्ध कार्य हुन् भन्ने ठहर अभियानको रहेको छ । अभियान अन्तर्गत छन्दोबद्ध साहित्यिक विवाह गराइएको छ । दाइजो प्रथाको विरोध गर्दै विवाहलाई स्त्री र पुरषको स्वैच्छिक र पवित्र सम्बन्ध गाँस्ने आधारको रूपमा अभियानले परिभाषित गरेको छ । त्यसैले अभियानले छन्दोबद्ध शैली र व्यवहारलाई अवलम्बन गरेमा मात्र देशमा विद्यमान यावत समस्या र बाधा हट्ने तथा देशमा शान्ति, सद्भाव, मैत्री र इमान्दारिताको विकास हुने तथ्यलाई पनि उठाएको छ । अबको नेपाल छन्द नेपाल हुने कुरामा अभियान विश्वस्त छ । अभियानमा संलग्न हुन समस्त राजनेता, अभिनेता, शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, व्यवसायी, उद्योगी, मजदूर, चिकित्सक आदि सबैलाई अभियानले आव्हान गरेको म जानकारी दिलाउन चाहान्छु । छन्द एकातिर असल, उचित, ठीक र राम्रोको पर्याय हो भने अर्कोतिर कविता निर्माणको सूत्र हो जसले लयको संयोजन गर्दछ, छन्द स्वयं कविता होइन । अभियान अन्तर्गत माधव घिमिरेलाई जनस्तरबाट ‘छन्दशिरोमणि’को उपाधि दिइएको छ ।

छन्द पुरानो भयो, यसको युग समाप्त भयो भनी अफबाह फैलाउने काम यो अभियान सञ्चालन पूर्व व्यापक थियो तर अभियान सञ्चालनपछि अहिलेको युग छन्दको युग बनेको छ भने छन्द नयाँ चिन्तन र नयाँ परिपाटीका लागि आधारशीला बनेको छ । छन्दका नाममा अभियान अन्तर्गत रही देशभर सञ्चालित कार्यक्रमले त्यो कुराको पुष्टि गरिसकेको छ । पुराना वस्तु यदि राम्रा र उपयोगी छन् भने तिनलाई उपयोगमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छन्द अभियानको छ । पुरानो वस्तु त्याग्ने वा छन्दलाई पुरानो मान्ने हो भने हामी बसेको घर र पृथ्वी पनि पुरानो भएको छ । पुरानो भएपनि घर र पृथ्वी जसरी उपयोगी र अत्यावश्यक छन् । त्यसरी नै छन्द पनि अत्यावश्यक छ भन्ने मान्यताको विकास अभियानले गरेकैले आजको युग छन्दको युग बनेको हो । मैले छन्दलाई मानव सभ्यताको उषाकालसँग जोडेको छु । मिष्ठ भोजन, सौन्दर्यको प्राप्ति, सुमधुर वाणी, सुविधाजन्य वासस्थान र सन्तोष आदि मानिसका नैसर्गिक चाहाना हुन् । प्रत्येक व्यक्तिमा यी कुराको एषणा रहन्छ जस्को पूर्तिका लागि आत्मसंयमता, इमान्दारिता, साधना र सद्भावपूर्ण व्यवहारको आवश्यकता पर्दछ । त्यो व्यवहार नै छन्दसँग जोडिएको व्यवहार हो । पछि त्यस मानव एषणालाई वेदमा समावेश गरिएपछि मानवव्यवहारले लिपिवद्ध हुने अवसर पाएको मैले पाएको छु । छन्दलाई वेदको एक अङ्ग मानिएको छ । वेदका शिक्षा, निरूक्त, व्याकरण, ज्योतिष, कल्प र छन्द यी ६ अङ्ग मध्ये छन्दलाई पाउ मानिएको छ भने आखालाई ज्योतिष मानिएको छ । छन्द वेदको आधार हो जसको अभावमा वेद लङ्गडो मात्र नभएर स्वादहीन हुन्छ र ज्योतिष दृष्टिसँग सम्बन्धित भएकाले त्यसका अभावमा वेदको पनि अर्थ गौण बन्दछ । त्यसैले छन्द र पञ्चाङ्गको सम्बन्ध सोझै वेदसित छ भन्ने मेरो दृढ विश्वास छ । छन्दको प्रचारप्रसार गर्ने कार्यमा भगवान शिव, विष्णु र इन्द्र तथा ऋषिहरू वृहस्पति, माण्डव्य, सैतव, यास्क र पिङ्गल सक्रिय रहेका थिए । पिङ्गलले छन्दसूत्रको निर्माण गरेर छन्दलाई व्यापक पार्ने कार्य गरेका थिए । पछिल्लो समयमा वाल्मीकिले रामायण र व्यासले महाभारतको रचना गरी छन्दलाई प्रयोग गरेको पाइन्छ । छन्दमा सिर्जना गर्नेको जीवनशैली पनि छन्दमय नै हुनुपर्छ भन्ने मलाई लाग्दछ । भगवान र ऋषिहरू संलग्न भई प्रचारप्रसार र प्रयोग गरेको छन्दलाई आजको युगमा समेत स्थापित गराउन भूमिका खेल्न पाएकोमा म अत्यन्त गौरवान्वित भएको छु । यो गौरवमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले महत्वपूर्ण टेवा दियो जसले मलाई थप ऊर्जा प्रदान गरेको छ । समितिप्रति म नतमस्तक पनि छु ।

वास्तवमा छन्द सुरुआतको दिन कहिले हो ? भन्ने सम्बन्धमा मैले धेरै सोचविचार गरें । छन्द प्रचारमा संलग्न हुने वा यसलाई प्रयोग गर्ने शिव, विष्णु, इन्द्र, वृहस्पती, माण्डव्य, सैतव,यास्क, पिङ्गल, वाल्मीकि, व्यास आदिको बारेमा पनि सोचे तर निश्चित तिथि मिति फेला परेन । छन्दसूत्रको निर्माण गने पिङ्गल जयन्तीको दिन पनि खोजें । त्यो कतै भेटिनँ अनि पिङ्गल लगायत अन्य सबैको सामुहिक जयन्ती पनि हुने किसिमले ‘छन्द बचाऊँ अभियान–२०५३’ आरम्भ भएको दिनलाई नै छन्द दिवस मान्नु पर्ने मेरो जिकीर रह्यो र सोही अनुरुप मैले वैशाख ८ गतेलाई छन्ददिवको प्रस्ताव गरेको तथ्य जानकारी गराउँछु ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति नेपाली संस्कृतिको संरक्षण र उत्थानमा प्रतिबद्ध छ भन्ने तथ्यको भरपर्दो प्रमाण छन्ददिवसको स्वीकारोक्ति पनि हो । वर्तमानमा पनि छन्दको आवश्यकता र महत्व उत्तिकै छ भन्ने मान्यता पञ्चाङ्गले राखेको मैले पाएँ । आन्दोलनको क्रममा छन्दको दीगो विकासका निम्त थुप्रै प्रािप्तहरू भए होलान् तर छन्ददिवसको मान्यता सबभन्दा ठूलो प्राप्ति बनेको छ । काव्यसंस्कृतिको रूपमा रहेको छन्दलाई संरक्षण गर्ने, बचाउने र विकसित गर्ने कार्यमा छन्द बचाऊँ अभियानसँग हातेमालो गरेर नेपाल पञ्चाङ्ग निर्णायक समितिले महत्वपूर्ण कार्य गरेको छ । नेपाली संस्कृति आफ्नै मौलिक पाराका छन् । नेपाली नागरिकलाई सभ्य र सुव्यवस्थित पार्नका निम्ति नेपाली संस्कृति सक्षम छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति केबल पात्रो निर्माण गर्ने समिति मात्र नभएर संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रतिनिधिमूलक संस्था हो भन्ने यतिबेला पुष्टि भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको छन्ददिवस घोषणाको महत्वपूर्ण कार्यबाट नेपाली काव्यसंस्कृतिप्रेमी सम्पूर्ण जनसमूदाय खुशी भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिप्रति आस्था र विश्वासको वातावरण सिर्जना भएको छ । भावी दिनमा पनि ‘छन्द बचाऊँ अभियान– २०५३’ नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग सँगै रहेर आफ्ना कार्यक्रम सञ्चालन गर्न आतुर रहेको जानकारी गराउन चाहान्छु । धर्म, संस्कृतिको जगेर्ना गर्न, तिथिमितिको तय गर्न, घटना–दुर्घटना आदिको संभावना जनाई सर्वसाधारणलाई सचेतताका साथ कार्यसम्पादन गर्न प्रेरित गर्न र ग्रहदशा आदिका बारेमा बोध गराई जीवनलाई यथार्थरूपमा बुझ्ने बनाउनका निम्ति नेपाल पञ्चाङ्ग निर्णयक समितिले गरेको कसरत र जनसमक्ष पारेको प्रभावको म हार्दिक प्रशंसा गर्दछु । यतिबेला मैले आफूलाई पञ्चाङ्ग निर्णायक समितिकै एक जिम्मेबार सदस्यको रूपमा मूल्याङ्कन गरेको छु । किनभने जुन तथ्य र विषयलाई उठाएर मैले ‘छन्द बचाऊँ अभियान– २०५३’ को सञ्चालन गरें त्यो पञ्चाङ्गको पनि दायित्व र कार्य भएको मैले पाएँ । देशमा अग्रगामी परिवर्तन ल्याउन र त्यसलाई संस्थागत गर्नका निम्ति पनि राष्ट्रले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग सहकार्य गर्नुपर्ने महसुस मैले गरेको छु । अग्रगामी परिवर्तनको तात्पर्य परम्पराप्रतिको विद्रोह नभएर असल परम्पराको संरक्षण र प्रयोग गर्दै आधुनिकताको उपभोग गर्नु हो । ज्योतिष क्षेत्रसँग बढी सम्बन्धित भएपनि नेपाल पञ्चाङ्ग निर्णायक समिति हाम्रै वैदिक परम्परा र संस्कृतिकै संरक्षणकै निम्ति हो भन्ने मैले बुझेको छु । ज्योतिषको मूल कार्य धर्मको मार्गलाई सरलीकृत गर्दै सद्भावका निम्ति प्रेरित गर्नु हो । धर्मले नै समाजलाई सदाचारप्रति उन्मुख गराउँछ । सदाचार शान्ति र प्रगतिको निम्ति अपरिहार्य हुन्छ । वास्तवमा पञ्चाङ्गले यस्तो महत्वपूर्ण विषयलाई ग्रहण गरेको छ जसले सम्पूर्ण मानव समुदायलाई गतिशील र अग्रगामी बनाउँछ ।

अन्त्यमा, म पुनः प्रा.डा. माधव भट्टराईको नेतृत्वमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति र अन्य सबैप्रति छन्ददिवसलाई राष्ट्रिय मान्यता दिलाउन गर्नु भएको सत्कार्यका निम्ति धन्यवाद ज्ञापन गर्दै नेपाली संस्कृतिका असल परम्परालाई जनमाझ प्रभावकारी बनाउन, तिनको संरक्षण गर्न, तिनलाई अग्रगामी परिवर्तनका आधार बनाउन समितिले अझै उल्लेख्य भूमिका खेल्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

---
लेखक छन्द बचाऊँ अभियान–२०५३ का सञ्चालक तथा लोकप्रिय कवि हुनुहुन्छ ।                 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.