मेरो नाम डोको हो, मलाई सामान बोक्ने काममा प्रयोग गरेको तपाईहरुले देख्नुभएको हुनपर्दछ । बिहान गोठको भकारो सोहोर्ने देखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्न देखि कहिलेकाँही विरामी बोक्न सम्म मलाई प्रयोग गरिन्छ, कोप्रो आकारको थोरै त्रिकोणत्मक अभिब्यक्ति मेरो आकारले दिन्छ ।
आजभोली सामान बोक्न ब्यागको प्रयोग गरिन्छ, हो म पनि गाँउले जिवनशैलीको एउटा ब्याग हुँ । अझ ब्याग भन्दा पनि पुरानो नेपाली जिवनशैली अनि उकाली ओराली अनि थुम्काहरुको लागी म सानो तिनो टरक नै हुँ, चक्का भएका ठूला टरकहरु बाटाबाटामा दुर्गुछन भनेँ म चाँही मान्छेको ढाडमा उकाली ओराली अनि चौतारीहरुमा सामान ओसार्छु ।
डोकामा दोएको दुध अडिदैन भनेँर मान्छेहरुले मलाई अवहेलना गर्दा मलाई रिस उठ्छ, हरेक सामान र वस्तुको आफ्नै प्रयोजन हुन्छ नि हैन र ? मैले तरल पदार्थ अड्याउन नसकेपनि अन्य धेरै काममा उपयोगी भएर नेपालीपनालाई जोगाएको छु ।
मेरो मिल्ने दौँतरि भनेको नाम्लो हो, डोरी जस्तो नाम्लोलाई दुबैपटि वाँधेर मलाई ढाडमा अड्याउने मान्छेहरुले नाम्लोको अर्को पच्छ्यौरी आफ्नो थाप्लो अर्थात निधारमाथी अड्याँउछन् ।
मलाई पूर्वि नेपालको चियाबगानमा तिनपाते चियाका पातहरु टिप्न पनि प्रयोग गरिन्छ, त्यो गर्दा मलाई आनन्द लाग्छ, ति पातहरु धेरै मस्याईला अनि हलुका नि हुन्छन्, याद राख्नुहोस तपाईले हरेक दिन पिउने चियाको पातहरु पनि मैले नै बोकेर कारखानासम्म लान्छु नि ।
मलाई बोक्दा आजभोलीका नयाँ पुस्ताहरु लाज मान्दछन् तर म त्यति लाज मान्न पर्ने गरि फोहोरी र तिरस्कार गर्नुपर्ने पनि छैन, आउनुहोस आज म मेरो आत्मकथा सुनाँउछु, एउटा डोकोको आत्मकथा ।
यो मेरो कथा लेखिदिन मलाई नेपालीहरुको प्रिय मोबाईल सहयात्री हाम्रो पात्रोका विषय लेखक साथी सुयोग ढकालले सहयोग गर्नुहुन्छ, मेरा फोटाहरु पनि हेर्नु है ।
म पहिले यस्तो स्वरुपमा हुन्न, मलाई निगालो भन्ने सानो खाले बाँसको रुखवाट बनाईन्छ । पहिले त्यो सुरिलो सानो रुखलाई काटिन्छ, अनि लामो पारेर टुक्रा पारेपछि मलाई भिजाईन्छ, ती भिजेका निगालाका टुक्रवाट सानो चक्कुले ध्यान दिएर लामा लामा लमतन्न परेका चोयाहरु निकालिन्छ, हो यिनै चोयाहरु बुनेर मलाई तैयार पारिन्छ । पहाडी भेगतिर निगालो र बाँसहरु प्रशस्तै पाईन्छ, यसअर्थमा फुर्सतिला मान्छेले मलाई वनाउदा खासै खर्च लाग्दैन तर बनाईसकेपछी मलाई कम्तिमा पनि १५० देखि २५० रुपैया प्रतिगोटासम्म घरमै किन्न ब्यापारीहरु आँउछन् । तिन्ले मलाई वेसी या शहरमा लगेर दोब्बर या डेढ गुणा मुल्यमा वेच्दछन् । यस अर्थमा मलाई बुन्ने मान्छेहरुले रोजगारी पाएका छन्, दिनभरिमा रमाईलो गर्दै बात मार्दै पनि ७ देखि १० वटा बुन्न सकिन्छ, तर नेपाली दाजुभाईहरु यहाँको अवसर नदेखि विदेश किन ज्यान मारेर पुगेका हुन् ?
मलाई पनि विदेश जान मन छ, विदेशीहरुले पनि मलाई मनपराएर मलाइ बोकेर फोटो खिच्दछन्, राम्रोसँग मलाई बुनेर विदेश निर्यात गरेमा पनि आय राम्रै हुन्छ होला ।
जान्ने मान्छेहरुले करिब १ देखि २ घन्टाभित्रै मलाई पूर्णरुपले तैयार गर्दछन्, मलाई बुन्न उत्ति अफ्ठेरो नि छैन नि ।
शदियौँ देखि नेपालीहरुको पहिचानका रुपमा म डोको पनि रहेको छु, नेपाली पनाको पहिचान का रुपमा मलाई नविर्सिनु होला, म जस्तै ढिकि, जाँतो, कोदालो, हलो, खुकुरी र पानीघट्ट जस्ता बस्तुहरु पनि नेपाली पनका पर्याय कुरा हुन् । हाम्रो पात्रो मोवाईल एप्स पनि नेपालीहरुको प्रिय र नेपालीपनाको पर्याय भएको छ, यस्मा नेपाली जिवनशैलीका म जस्तै अरु सामानहरुको पनि आत्मकथा लेखिनेछ, पढ्नुहोला नि है ।
उहि तपाँईको
डोको
------------
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: