तिलाठीका नेपालीहरुले बरु भारतीय सीमा सुरक्षाबलको चुटाई खेपे, बर्षभरि त्रासदि खप्दै आएका छन् तर आफ्नो जमिन खोसिन दिएनन् ।
सप्तरी जिल्लामा खाँडो नाम गरेको खोला छ, बर्खामासमा अरु खोलाहरुझै त्यो खोला पनि बढ्छ, बाढी आँउछ । पानी हो निकास खोज्छ अनि निकास नपाएमा बाढीले डुबान ल्याँउदछ । हामी सबैलाई थाहा हुन जरुरी छ, सप्तरीको तिलाठीमा भारतीय पक्षले बलजफ्ती लगाएको बाँधका कारणले डुबानमा छ । तिलाठीका लागि बर्खा एउटा भयंकर समस्या हो, गाँउ डुबानमा पर्दछ ।
यो पनि हेर्नुहोस् : प्रधानमन्त्रीका जवाफ, चित्तबुझ्दो या चित्त दुख्दो ?
अग्रगामी राष्ट्र नेपालका तिलाठी लगायत लिपुलेक, लक्ष्मणपुर, सुस्ता र कालापानीमा पनि समस्या छ । दुःखको कुरा समस्या बढ्दै जान्छ, जङ्गे पिल्लरहरुको उपस्थिती छैन तर नेतृत्व मौन छ । भारत जोड्ने सप्तरी जिल्लाकै पहिलो पक्की सडक खण्ड राजबिराज कुनौलीको तिलाठीको यो व्यथा अझै सम्बोधन भएको छैन् ।
हिमाल होस् या पहाड या तराई, नेपालीलाई नेपालको बिछट्टै माया छ भन्ने कुरा त तिलाठी घटनामा पनि स्थानीयले गरेका प्रतिकार बाटै थाहा हुन्छ । आफ्नो देश, माटो अनि सार्वभौमित्ताको रक्षार्थ तिलाठी बासीले गरेका बलिदान एतिहासिक छ तथापि सरकारको कुटनैतिक सहयोग र समर्थन बिना के नै सम्भव थियो र ?
देवनारायण यादव जस्ता धेरै देशभक्त र निडर नेपालीले आफ्नो शक्ति र रगतले भारतीय दादागिरीको प्रतिकार त गरेका थिए । तर जति कराएपनि सिंहदरबार र सरकारका पदवालाहरुले घुँडा टेकेकाले होला शायद तिलाठी डुबिरह्यो अनि ओभाना सुकिलाहरुले मौनब्रत लिइरहे ।
गतसाल साउन १४ गतेको कुरा हो , तिलाठीका नेपालीहरुले बरु भारतीय सीमा सुरक्षाबलको चुटाई खेपे, बर्षभरि त्रासदि खप्दै आएका छन् तर आफ्नो जमिन खोसिन दिएनन् । देवनारायण यादव लगायत अन्य ११ जनाहरु घाइते भए तर सरकार मौन बसिदियो ।
के तिलाठीका नेपाली, नेपाली हैनन् ?
मन्त्री अनि राजनैतिक हस्तीहरु सामान्य उपचारका लागि विदेशयात्रा गरिरहदा यहाँ तिलाठीका जनताहरुले खाना पकाउने चुल्हो समेत ओभानो देख्न पाएका छैनन् । १९ असार २०७४ मा बसेको संसदलाई तिलाठी घटना लगायत अन्य थुप्रै ठाँउहरुका प्राकृतिक विपत्तिका बारेमा ध्यानाकर्षण गराइएको थियो तर बर्खाले त सरकार कुर्दैन नि ? तिलाठी फेरि डुबानमा छ ।
सरकार र संसदले बुझ्न बाँकी कुरा के हो भनें तिलाठी कुनै प्राकृतिक विपत्तिमात्र नभई तिलाठी एउटा कुटनैतिक समस्या हो, सरकारसँग आफ्नो भूमिको रक्षार्थ कदम चाल्न सक्ने आँट कहिले आउने हो ? दार्जिलिङ आन्दोलनमा आफ्ना भनाई, बिचार अनि प्रतिक्रिया दिँदै फुर्सत नभएका नेपालीहरुलाई तिलाठीको घटनाको कहिले तान्ने हो ?
स्थानीयका अनुसार भारतीय सरकारका पक्षबाट उनीहरुको भूमिमा गुनासा र पिडाहरु बुझ्न पटक पटक सरकारी कर्मचारी र नेतृत्वहरु आइसकेको मा नेपाली तर्फबाट एकजना चरामुसा कोही पनि तिलाठीबासीका पिडा बुझ्न जान नसक्नुले टुहुरो मससुस गराएको छ ।
आखिर कहिलेसम्म यो लापरवाही ?
फेरि पुराना असमान सन्धीहरुको पिडादायी ब्याख्या गरेर सरकारी पक्षले आफ्नो कायरता देखाउने त होला ? सबैलाई यही पीर छ । लक्ष्मणपुरमा पनि यस्तै भएको हो, सरकार र सदन कानमा तेल हालेरै बसेको हो ।
सतिले सरापेको देश भन्ने उखान कहिलेकाँही नेपाली भुभभागको यो अतिक्रमणप्रति सरकारी उदासीनताले झस्काउने गर्दछ । अझै कतिवटा सिमावर्ती ठाँउहरु अनि गाँउहरु यस्ता समस्याको चपेटामा पर्नेवाला छन् ? नेपाली नियती अब हेपिने मात्र हो त ?
हामी सबैजनाको ध्यान, विवेक अनि आवाजहरु आज तिलाठीबासी सँग जोड्न जरुरी छ । फ्रान्समा बम बिष्फोट हुँदा देखि लन्डनमा आगो लाग्दा सम्म समवेदना प्रकट गर्दै सामाजिक सञ्जालमा भर्ने न्पालीहरु आफ्नै देशको तिलाठीबासी र आफ्नै पुर्खाहरुले सिञ्चित गरेका सीमासम्म रक्षा नगर्दा मौन बस्नु के को संकेत हो ?
के नेपालीहरु कुम्भकर्णकै निन्द्रामा छन् ?
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: