किन चुलिएका छन् वस्तुका र सेवाका मूल्यहरू | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

किन चुलिएका छन् वस्तुका र सेवाका मूल्यहरू




   Bishwa Raj Adhikari - Aug 20 2016

तर यो कार्यलाई केवल एक टेलिफोनको माध्यमले व्यवस्थित गर्न सकिन्छ। कार्य कुशलताको उपयोग गर्दै उक्त सैलुनको त्यो हजामले प्रत्येक ग्राहकलाई टेलिफोनबाट फरक फरक समय दिएर सबैलाई पालै पालो सेवा प्रदान गर्न सक्छ। अर्थात कपाल काट्नेहरूले पनि टेलिफोनबाट कपाल काट्ने समय बुक गर्न सक्छन् र आफ्नो समयको बरवादी रोक्न सक्छन। कपाल काट्नेहरूले सैलुनमा गएर कुर्नु पर्दैन। उनीहरुले आफूले पाएको समयमा गएर कपाल काट्न सक्छन्। नेपालमा यस किसमको कार्य कुशलताको हरेक क्षेत्रमा अभाव छ।



विश्वराज अधिकारी | नेपालको नाम छिटै अव विश्वका महँगा देशहरूमा गणना हुनेछ। हुन पनि यहाँ अन्य देशहरूको तुलनामा वस्तु र सेवाहरू अत्यधिक महँगा छन्। नेपालमा मुद्रा स्फिर्ति ८ देखि १० प्रतिसत सम्म रहने गरेको देखिएको छ, जुन सामान्य होइन। छिमेकी भारत (सन् २०१६ मा मुद्रा स्फिर्ति ४.५) र चीन (सन् २०१२ मा मुद्रा स्फिर्ति ३.१) को तुलनामा नै पनि नेपालम वस्तु र सेवाहरू अत्यधिक महँगा छन्। यहाँ एक, पाँच र दसका नोटहरुको विनिमय क्षमता लगभग समाप्त भए भएको छ। एक र पाँच रूपैयाँमा खरिद गर्न सकिने समान बजारमा पाउन त गार्हो छ नै, दस रुपैयाँमा पनि सजिलै सामान पाउन सकिने स्थिति छैन्। बजारमा केवल पचास र एक सयका नोटहरू मात्र विनिमयका लागि बढी प्रयोग भएको देखिन्छन। नेपाल अव सर्वाधिक मुद्रास्फिति हुने मुलुकहरू सिरिया (३७%), साउथ सुडान (७९%), बेलारूस ५९%), भेनेजुएला (१८१%) आदिको श्रेणीमा पर्न सक्ने खतरा बढ्दै गएको देखिएको छ।

यस्तो किन भएको होला? नेपालमा किन कम क्षमता (Value) का नोटहरूले क्रय शक्ति (Purchasing power) गुमाउँदै गइरहेका छन्? यो गंभीर समस्याको समाधान खोजिएको त छैन नै, साथै यस समस्याबारे बौद्धिक क्षेत्रमा चर्चा परिचर्चा पनि हुने गरेको छैन्। सत्ताका लागि गरिने अनेक किसिमका नाटकहरूले नै प्रमुख समाचारका रूप लिइरहेको परिप्रक्ष्यमा मूल्य वृद्धि समस्या गौड हुन पुगेको छ।

यस्तो महँगी किन भएको होला? यो स्थितिमा गरिब परिवारहरूले जीवन कसरी निर्वाह गर्नेछन्? यो दर्दनाक विषयमा कसले सोंच्ने? मजदूरहरूको ज्याला र कर्मचारीहरूको तलब हरेक वर्ष बढाएर मात्र के यो समस्याको समाधान गर्न सकिंन्छ? तलब र ज्याला वृद्धिले मुद्रास्फिति झनै बढेर जाने गर्दछ। अर्थ व्यवस्था सुधारका लागि, तलब र ज्याला वृद्धि गर्नु भनेको रोग लागेपछि एन्टिबायोटिक खान दिनु सरह हो। तर एन्टिबायोटिक दिनु भन्दा रोग नै लाग्न नदिनु उपयुक्त होइन र? उदेक लाग्छ यस्तो स्थिति देखेर! नेपालमा, अर्थ व्यवस्था सुधारका सन्दर्भमा केवल रोग निको पार्ने कार्य हुन्छ तर रोग हुन नदिने कार्य गरिंदैन। समास्याहरूका दीर्घकालीन समाधान खोजिंदैन्।



गरिब परिवारहरूको जीवन नेपालमा दिनप्रतिदिन पीडादायी हुँदै गएको छ। यहाँ शिक्षा, स्वास्थ्य, यातायात, भोजन, आवास, मनोरञ्जन हरेक कुरा महँगो छ। तर अचम्म त के छ भने यी कुराहरू महँगो हुनमा यी कुराहरू उत्पादन गर्ने वा विक्री वितरण गर्नेहरू मात्र दोषी छैनन्। बरू हाम्रो उत्पादन प्रक्रिया, वितरण व्यवस्था, सोंच, संस्कृति, परम्परा र मुख्य गरी सरकारका नीतिहरू दोषी छन्। सरकारको त यसतर्फ ध्यान समेत पनि गएको छैन्। सरकार आफैमा स्थिर छैन, अनि ध्यान पुर्याउने पनि कसले र कसरी? सरकार त नेताहरूको भोज खाने थाल जस्तो भएको छ। यो थाल हात पार्न नेताहरू हरदम दाउपेंचमा लागेका हुन्छन्। सरकारबाट केही हुन सक्ने आशा पनि अब जनतामा क्षिण हुँदै गएको छ। प्रधान मंत्री हुने दौडमा अनेक जालझेल गरेर, ओलीलाई उछिनेर, पुष्पकमल दहाल कुर्सीमा बस्दा पुष्पकमल त हर्षित भएका छन् तर बाँकि जनतामा हतास र निरासा छ। सरकार परिवर्तन जनताको सरोकारको विषय हुन सकेको छैन् बरु हाँसो र उपहासको विषय हुन पुगेका छ, जुन समाचार र सार्वजनिक जीवनहरूमा देख्न सकिन्छ।

नेपालमा वस्तु एवं सेवाहरू अत्यधिक महँगो हुनुमा धेरै कारणहरू छन्। तर दुई कारणहरू भने बढी जिम्मेवार छन्। पहिलो कारण हो, उत्पादन एवं वितरण व्यवस्थामा कुशतालको अत्यधिक अभाव। दोस्रो कारण हो, कृषि र उद्योगका लागि चाहिने आवश्यक जनशक्ति ठूलो संख्यामा विदेश पलायन।

कृषिका लागि आवश्यक दक्ष एवं सामान्य जन शक्ति अरबतिर विदेशिएर नेपालको कृषि उत्पादनमा कुन किसिमको प्रतिकूल असर पारेको छ, त्यो यथार्थ अब लुकेको छैन्, जग जाहेर छ। अन्नको भण्डार मानिने तराइ होस वा फलफुलको भण्डार पहाड, दुवैतिरको कृषि उत्पादन धरासायी भएको छ। अति रक्तपातपूर्ण किसिमले मच्चाइएको माओवादी संघर्षमा काठमाडौमा बसाइ सरेका परिवारहरू काठमाडौमा नै थुप्रिएका छन्, पहाडतिर फर्केका छैनन्। नेपालमा कृषि मात्र होइन, उद्योग व्यवस्था पनि नराम्रो गरी प्रभावित हुन पुगेको छ। नेपालले अहिले औद्योगिक उत्पादनमा गर्व गर्ने केवल दुई चार वस्तुहरू मात्र छन्।

तर यस आलेखमा भने नेपालमा वस्तु एवं सेवाहरू महँगो हुनमा हाम्रो उत्पादन एवं वितरण व्यवस्था ज्यादै नै अकुशल रहेको बारे विषेश चर्चा गर्न खोजिएको छ।

नेपालमा उत्पादन र वितरण, दुवै व्यवस्था ज्यादै नै अकुशल छन्। उदाहरणका लागि, सरल किसिमले भन्ने हो नेपालमा एक जनाले गर्ने कार्य दश जना लगाएर गरिन्छ। र यसरी एक जनाबाट गरिने कार्य दस जनाबाट गरिएको हुनाले त्यस किसिमबाट भएको उत्पादनमा नौ जनाको खर्च (पारिश्रमिक) अनावश्य किसिमले जोडिन्छ। यसरी नौ जनाको खर्च अनावश्य किसिमले जोडिएको हुनाले त्यस किसिमको उत्पादन व्यवस्थाबाट उत्पादित वस्तु महँगो हुन पुग्दछ, र पुगरिरेहको छ पनि। तर विकसित देशहरू जस्तै अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य आदिमा दस जना लगाएर गरिने कार्य केवल एक जनाबाट गरिन्छ र त्यसरी उत्पादन व्यवस्थामा हुने अनावश्यक खर्च जोगाउने गरिन्छ। यो कारणले गर्दा नै विकसित मुलुकहरुमा वस्तु एवं सेवाका मूल्यहरू विकासशील मुलुकहरूमा भन्दा कम हुन्छन्। विकसित मुलुकहरूमा उत्पादन एवं वितरण व्यवस्थमा कुशलताको उच्च प्रयोग हुन्छ। विकसित मुलुकहरूमा कुशलता वृद्धि गर्नका लागि प्रविधिको पनि उत्तिकै प्रयोग गरिन्छ। नेपाल प्रविधिको प्रयोगमा विकसित देशहरूको तुलनामा अझै पचास वर्ष पछि छ।

विकासशील मुलुकहरू, जस्तै नेपाल एवं भारतमा उत्पादन एवं वितरण व्यवस्थामा देखिने कार्य कुशलताको अति अभावका केही उदाहरणहरू पेश गरौ। उदाहरण होटल व्यवसायबाट नै शुरू गरौ। यी मुलुकहरूमा कोही व्यक्ति होटलमा खाना खान जाँदा उक्त ग्राहकको लागि सर्व प्रथम एक व्यक्ति (वेटर) ले आएर खान खाने टेबल पुच्छ। दोस्रोले टेबलमाथि पानी राख्छ। तेस्रोले खान राख्छ। चौथोले थप्ने कार्य गर्छ। अन्तमा पाँचौ व्यक्तिले उक्त ग्राहकबाट, जे जति खाएको हो त्यसको, पैसा लिन्छ। जबकि यो कार्य केवल एक व्यक्ति (वेटर) बाट पनि हुन सक्छ। एक व्यक्ति (वेटर वा बिक्रेता) ले नै ग्राहकलाई खानेकुरा दिएर ऊ बाट पैसा लिन सक्छ र यसरी उसले चार जनाको संलग्नतालाई कम पारेर वस्तु (खानेकुरा) को मूल्य सस्तो पार्न सक्छ। उत्पादन, बिक्री र वितरण कार्यमा जति कम मानिसको संलग्नता भयो सोही अनुसार वस्तुको मूल्य कम हुन्छ र त्यसबाट ग्राहक (उपभोक्ता) लाई फाइदा पुग्छ।

अर्को एक उदाहरणमा, नेपालमा पेट्रोलियम पदार्थको ढुवानी हुँदा अहिलेसम्म पनि टैंकरको प्रयोग भइरहेको छ। पाइपलाइनको प्रयोग हुन सकेको छैन्। पेट्रोलियम नेपालको लागि प्रमुख ऊर्जाको स्रोत भएको उल्लेख गरि राख्नु पर्ने विषय होइन। नेपालको यातायात व्यवस्था पेट्रोलियम पदार्थमा पूर्णतया निर्भर छ। एउटा, एउटा टैंकरमा ढुवानी गर्दा र एकै पटक पाइप लाइनबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यातायात लागत कत्तिसम्म कम पार्न सकिन्छ एक सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्छ। एउटा एउटा टैंकरमा पेट्रोलियम पदार्थ ढुवानी गरिएको हुनाले नै नेपालमा यातायात लागत उच्च हुन पुगेको छ र यसले गर्दा वस्तु र सेवाहरू पनि महँगा हुन पुगेका छन्। यसरी हामीले ढुवानीमा कुशलताको प्रयोग गर्न सकेका छैनौ। यसैगरी नेपालमा ढुवानीको लागि रेलको प्रयोग हुन सकेको छैन। अहिले पनि उच्च लागत पर्ने ट्रकलाई ढुवानीका लागि प्रयोग गरिएको छ। ढुवानीका लागि केवल ट्रकको प्रयोगले गर्दा पनि ढुवानी लागत उच्च हुन पुगेर नेपालमा वस्तु एवं सेवाको मूल्य उच्च हुन पुगेको छ। ढुवानीमा झनै बढी कुशलताको अभाव देखिएको छ।
कार्य-कुशलताको क्षेत्रमा नेपाल धेरै नै पछाडि रहेको उदाहरणहरू असंख्य छन्। यस्तो किन भएको भने हामी सोंच, संस्कृति, परम्पराले नै पनि हामीलाई कार्य कुशलता सिकाउँदैन र सिक्न पनि दिंदैन। हामी सोंच र परम्परा पनि पश्चिमाहरू भन्दा निकै पछाडि छौ।

कार्यकुशलतामा हाम्रो पछौटेपनको एउटा अर्को तर अति सामान्य उदाहरण- नेपालको कुनै पनि सहरको एउट सैलुनको स्थिति हेरौ। काठमाडौ जस्तो सहरको नै कुरा गरौ। कुनै एक समयमा कुनै एक सैलुनमा दस जना एकै पटक कपाल काट्न जाँदा त्यस सैलुनमा यदि एक मात्र हजामको उपस्थिति छ भने नौ जनाले कपाल काट्न पालो कुर्नु पर्ने अवस्था हुन्छ। यदि उक्त हजामले कपाल काट्न आधा घण्टा लगाउने गरेको छ भने दसौ व्यक्तिले कपाल काट्नका लागि पाँच घण्टा कुर्नु (समय खेर फाल्नु) पर्ने स्थिति हुन्छ। यस्तो अवस्थामा ऊ सँग दुई विकल्पहरू मात्र हुन्छन- त्यहाँ वा त्यस दिन कपाल नकाट्ने वा पाँच घण्टा कुर्ने। यदि उसले त्यस दिन कपाल काटेन भने हजामको लागि त्यो घाटा त हो नै साथै भोलिको दिन उक्त ग्राहक त्यहाँ नआउन पनि सक्छ। अथवा भोलिका दिन त्यसै गरी फर्कका ग्राहकहरू उसको सैलुनमा नआउन पनि सक्छन्। तर यो कार्यलाई केवल एक टेलिफोनको माध्यमले व्यवस्थित गर्न सकिन्छ। कार्य कुशलताको उपयोग गर्दै उक्त सैलुनको त्यो हजामले प्रत्येक ग्राहकलाई टेलिफोनबाट फरक फरक समय दिएर सबैलाई पालै पालो सेवा प्रदान गर्न सक्छ। अर्थात कपाल काट्नेहरूले पनि टेलिफोनबाट कपाल काट्ने समय बुक गर्न सक्छन् र आफ्नो समयको बरवादी रोक्न सक्छन। कपाल काट्नेहरूले सैलुनमा गएर कुर्नु पर्दैन। उनीहरुले आफूले पाएको समयमा गएर कपाल काट्न सक्छन्। नेपालमा यस किसमको कार्य कुशलताको हरेक क्षेत्रमा अभाव छ। यस किसिमका अनेक कार्य अकुशलताहरू कम पार्ने हो भने नेपालमा आकासिंदै गरेको मूल्य वृद्धिलाई निकै कम पार्न सकिन्छ।

----
विश्वराज अधिकारी
[email protected]
Wednesday, August 10, 2016



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.