राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल




   Bishwa Raj Adhikari - Oct 07 2016

नेपालीहरू अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता धनी मुलुक मात्र होइन साइप्रस, ग्रिस, स्पेन, पोर्चुगल जस्ता युरोपका गरिब मुलुकहरुमा पनि पुगिरहेका छन। खाडीका देशहरू त पहिलेदेखि नै नेपाली कामदारहरूबाट भरिभराउ छन्। नेपालीहरू अहिले सिरिया, लिविया, इराक जस्ता अति नै द्वन्दग्रस्त मुलुकहरू, जहाँ कुनै पनि बेला बम पड्केर मानिसको मृत्यु हुन सक्छ, मा पुगिरहेका छन।



धेरै व्यक्तिहरूलाई यस तथ्यमा विश्वास नहुन सक्छ। धैरे व्यक्तिहरूलाई उठाउन थालिएको यो विषय हल्ला वा सतही लाग्न सक्छ। तर जसले जुनसुकै तरिकाले लिए पनि नेपाल अहिले राष्ट्रिय विपत्तितर्फ उन्मुख छ। नेपालले राष्ट्रिय विपत्तिको सामना गर्नु पर्ने देखिएको छ।

नेपालमा अहिले ठूलो राष्ट्रिय-निराशा व्याप्त रहेको कारणले गर्दा यो दोस्रो राष्ट्रिय विपत्ति आउन थालेको हो। अहिले मुलुक राष्ट्रिय-निराशाको स्थितिमा रहेको छ। यो तथ्यलाई स्वीकार्नुको विकल्प छैन। यसलाई नस्वीकार्नु सत्यको सामना नगर्नु हो। बरू यो राष्ट्रिय विपत्तिको असरलाई कसरी कम गर्न सकिन्छ त्यसबारे समयमा नै सोंच्न आवश्यक छ।

२००७ साल पछिको स्थितिमा, नेपालले पहिलो राष्ट्रिय विपत्ति भने माओवादी-शसस्त्र संघर्ष कालमा देखेको थियो।
माओवादी- संघर्ष कालमा नेपालीहरू यति भयभीत भएका थिए कि घरभित्र हुँदा वा बाहिर रहेको अवस्थामा, राति जिवित नै घर फर्किन सकिन्छ वा सकिंदैन भनी हर क्षण त्रसित रहन्थे। त्यो कालमा नेपालीहरू यतिसम्म हृदयहीन भएका थिए कि आफ्नै दाजुभाइ दिदीबहिनीको हत्या गरेकोमा रमाएर उत्सव समेत पनि मनाउँथे। विभत्स किसिमले हत्याहरू गर्थे। प्रत्येक पल सामान्य नागरिकहरूले माओवादी वा सैनिक, को द्वारा मारिनु पर्ने हो भन्ने भय बोकेर हिंड्नु पर्ने स्थिति थियो। यो कालमा, आर्थात २००७ सालपछिको स्थितिमा, राजनैतिक कलह वा केही व्यक्तिहरूको (पुष्पकमल बाबुराम, मोहन वैद्य आदिको) महत्वाकांक्षा पूर्तिका लागि १७ हजार भन्दा वढी व्यक्तिहरूले ज्यान दिनु पर्यो। आधुनिक नेपालको यो कालो इतिहासलाई नेपालीहरूले बिर्सन वर्षौ लाग्ने छ। कत्तिसँग त अहिले पनि मनमा ताजा घाउ छ, त्यो कालले दिएको। त्यसकारण माओवादी-संघर्ष काल (२०५२-२०६२ साल) नेपालको लागि पहिलो राष्ट्रिय विपत्ति काल थियो।

यो दोस्रो राष्ट्रिय विपत्ति जसलाई राष्ट्रिय-निराशा भन्न सकिन्छ, पनि कम डर लाग्दो छैन। माओवादी रक्तरंजित संघर्षले, आगोले झै देशलाई डढाउने काम गरेको थियो भने यो राष्ट्रिय-निराशाले मन्द विषको काम गरिरहेको छ। राष्ट्रिय-निराशाले नेपालीहरूको मनोविज्ञानमा मन्द मन्द किसिमले विष छरेर देशवासीहरूलाई चरम नैराश्यताको गहिरो खाडलतिर पुर्याइ रहेको छ। नेपालीहरू नैराश्यताको खाडलतिर लागिरहेका छन, मन्द मन्द गतिमा, तर निरन्तर रूपमा।

कस्तो स्थितिलाई राष्ट्रिय-निराशाको स्थिति भन्न सकिन्छ? त्यसवारे अब छोटो चर्चा गरौ।
देशभित्र रहेर अब केही पनि गर्न सकिंदैन। ऋण वा कर्जा गरेर वा ज्याननै पनि जोखिममा राखेर भए पनि, जसरी पनि, विदेश जानु पर्छ। नेपालमा रहेर भविष्य मात्र वर्वाद हुन्छ। यो भावनाले अहिले प्रत्येक नेपालीलाई नराम्रो गरी सताइ रहेको छ। युवायुवतीहरू हुन वा उनीहरूका अभिभावक, अहिले सबै यही भावनाको सिकार भएका छन। केही अपवाद बाहेक, अहिले सबै युवायुवतीहरू नेपाल छाड्ने मनस्थितिमा छन। कोही पनि नेपाल भित्र बस्न तयार छैन। अभिभावकहरू आफ्ना सन्तानलाई विदेश पठाउन आतुर छन। तरिका जुनसुकै किसिमको होस, अध्ययनका लागि वा रोजगारीका लागि, प्रत्येक नेपाली अहिले स्वदेश बस्ने मनस्तितिमा छैन। स्थाइ रूपममा (डिभी, पिआर) बसाइ सर्ने इच्छाका साथ मात्र होइन शर्णार्थीको दर्जा पाएर भए पनि मुलुक छाड्ने निर्णय बहुसंख्यक नेपालीहरूले गरेका छन। नेपालीहरू अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता धनी मुलुक मात्र होइन साइप्रस, ग्रिस, स्पेन, पोर्चुगल जस्ता युरोपका गरिब मुलुकहरुमा पनि पुगिरहेका छन। खाडीका देशहरू त पहिलेदेखि नै नेपाली कामदारहरूबाट भरिभराउ छन्। नेपालीहरू अहिले सिरिया, लिविया, इराक जस्ता अति नै द्वन्दग्रस्त मुलुकहरू, जहाँ कुनै पनि बेला बम पड्केर मानिसको मृत्यु हुन सक्छ, मा पुगिरहेका छन। मिडिल इस्टका विभिन्न मुलुकहरूका डान्स बारमा नेपाली चेलीहरू पुर्याइएका छन्। मलेशियामा मात्र नेपाली कामदारहरू दस लाखको हाराहारीमा छन भनी अनुमान गरिएको छ।

यसरी निराश भएर नेपाल छाड्ने मनस्थितिमा आम नेपाली पुग्नु सुखद स्थितिको संकेत कदापि होइन। यो राष्ट्रिय-निराशाको स्थिति हो। यो स्थितिले नेपालका भोलिका दिनहरू झन कष्टकर हुने संकेत दिरहेको छ। नेपालको जस्तै राष्ट्रिय-निराशाको स्थिति अहिले दक्षिणी सुडान, सोमलिया, नाइजेरिया, लिवियामा जस्ता अफ्रिकाका अति द्वन्दग्रस्त मुलुकहरूमा देखिएको छ। यी मुलुकका नागरिकहरू पनि ज्यान जोखिमा पारेर युरोपतिर प्रत्येक दिन पलायन भइरहेका छन। आफ्नो मुलुकमा बाँच्न सक्ने स्थिति नदेखेर डर लाग्दो समुन्द्री मार्ग रोजेर देश छाड्ने क्रममा धेरैले ज्यान गुमाइ सकेका छन पनि।

कुनै पनि देश त्यस देशका देशवासीहरूले बनाउने हो। यसरी सबै नेपालीहरू विदेश जाने मनस्थितिमा रहेमा नेपालको विकास कसले गर्ने? अति निकृष्टताको बिन्दुमा पुग्न थालेको नेपालको राजनीतिलाई कसले सुधार्ने? नेताहरूले राजनैतिक, सामाजिक र आर्थिक रूपमा कमजोर तुल्याएको मुलुकलाई कसले सबल तुल्याउने?

गृह युद्धले बरवाद हुन थालेको दक्षिण अमेरिकाकी देश, कोलम्बियामा शान्ति ल्याउन त्यहाँका नागरिकहरूले नै प्रयास गरे। नेपालका नेताहरूले “लौ न, हाम्रो देशमा शान्ति ल्याइ देउ न” भनेर (२०६३ सालमा भएको सरकार-माओवादी सम्झौतामा) भारतलाई गुहारे झै कोलम्बियाका नेताहरूले विदेशीहरूलाई गुहारेनन्। ५२ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको डर लाग्दो गृह युद्ध रोक्न त्यहाँको बिद्रोही (कम्युनिष्ट) संगठन फार्क (FARC- Fuerzas Armadas Revolucionarias de Colombia) र त्यहाँको सरकार बीच केही दिन पहिले (September 27, 2016) एक शान्ति सम्झौता भएको छ। शान्ति सम्झौतामा हस्ताक्षर गर्दा बिद्रोही नेता टिमोलेन जिम्नेज, जसलाई टिमोचेन्को पनि भन्ने गरिन्छ, ले आफ्नो बिद्रोही संगठन (फार्क) ले लाखौ निर्दोष कोलम्बियालीहरूको हत्या गरेकोमा क्षमा पनि मागेका छन। अब भने कोलम्बियालीहरू देश बनाउनेतिर लागेका छन्।

अर्को एउटा स्थितिले पनि नेपाल राष्ट्रिय–निराशाको स्थितितिर घचेटिएको पुष्टि गर्दैछ। त्यो स्थिति के हो भने अहिले नेपालीहरू अनेक किसिमले विभाजित छन। विभाजनको मनोविज्ञानले सबै नेपालीहरूको मन मष्तिष्कमा यसरी जरो गाडेको छ कि सबैले क्षेत्र, समुदाय, जात जातिको कुरा गर्नमा गर्व गरिरहेको छन। हामीहरू र तिमीहरू भनेर सिमा रेखा कोरिरहेका छन्। जवकी विकसित देशहरूमा यस्तो कुरा गर्नुलाई “रेसिस्ट” कुरा गरेको भनेर सहज किसिमले लिने गरिदैन। अहिले नेपालीहरू मधेसी र पहाडी गरि विभाजित भएका छन। खस र गैर खस गरी विभाजित छन्। उच्च वा सुविधाभोगी जाति तथा शोषित पीडित जनजाति भनी विभाजित छन। नेपालीहरूमा अति निराशा छाएको कारणले गर्दा यस्तो विभाजनको स्थिति आएको हो। एक समूहको अर्को समूह माथिको घट्दै गरेको विश्वासको कारणले गर्दा उत्पन्न भएको हो। निराशाको कारण उपत्पन्न हुने विभाजन-मनोविज्ञानले देशलाई नराम्रो असर पार्दछ। यो स्थिति (समूदाय, जातीय, क्षेत्रीय कलह) ले देश टुक्रिन पनि सक्छ जसरी सिंगो सुडान, सुडान र साउथ गरी टुक्रियो। देश लामो गृह युद्धमा अल्झिन सक्छ जसरी सिरिया अल्झेको छ। देशमा विदेशी हस्तक्षेप बढ्न सक्छ जसरी यमनमा साउदी अरेबिया र इरानको हस्तक्षेप बढेको छ। नेताहरूलाई देशमा द्वन्द ल्याउन सजिलो छ तर त्यसको असर जनताले कसरी भोग्नु पर्छ भन्ने कुरा सिरियाका गृह युद्ध पीडित जनतालाई सोधे हुन्छ।

नेपालमा आउन थालेको राष्ट्रिय विपत्तिलाई रोक्न दिनप्रति दिन नेपालीहरूमा बढ्दै गरेको राष्ट्रिय-निराशा कम पार्न आवश्यक छ। यसका लागि नेताहरू होइन स्वयं जनता सक्रिय हुन आवश्य छ। जनताले नै देश भित्र रोजगारीका औसरहरू सृजना गर्न सरकारलाई दबाद दिन र विदेश पलायन हुन थालेको जनशक्तिलाई स्वदेशमा आकर्षित गर्न आवश्यक छ। झगडिया एवं स्वार्थी होइन, मेलमिलाप गराउने इमान्दार नेताहरूको चयन गर्न आवश्यक छ। यसैगरि बढ्दै गरेको जातीय एवं क्षेत्रीय विभाजन रोक्न जनता स्वयंले जातीय सद्भावमा जोड दिन आवश्यक छ। नेताहरूले कोरेका विभाजन रेखाहरूमा विश्वास नगरी जातीय र क्षेत्रीय सद्भावमा जोड दिन आवश्यक छ। मिलेर, एकले अर्कोलाई विश्वास गरेर, सद्भाव कायम गरेर मात्र राष्ट्रिय-निराशा कम पार्न सकिन्छ। देशलाई उन्नतिको पथमा डोर्याउन सकिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.