नेपालमा देखिएजस्तो बिदेश सहज छैन्, त्यहाँ रहनका लागि कडा मेहनत र धैर्यता जरुरी छ । यदि तपाँई पनि आफ्ना छोराछोरीलाई बिदेश पठाउने सोच्दै हुनुहुन्छ या आफू नै बिदेश जाने सोच्दै हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानमा राख्नुहोस् । अवसर यहाँ पनि कम छैन्, चिन्न जरुरी छ । छोराछोरी बिदेश गएपछि नियमीत सम्पर्कमा रहनुहोस्, कुराकानी गर्नुहोस् र खबर साटासाट गर्नुहोस् ।
जनवरि महिनाको प्रथम हप्तानै अष्ट्रेलीयामा मात्र ३ जना नेपालीहरुको मृत्यू भएको थियो । यस्ता आत्महत्याका प्रकरणहरु बिकसित देशमा पुगेका नेपाली बिधार्थीहरुमा बढ्दो क्रममा छ, चाहे त्यो अमेरिका होस् या अष्ट्रेलीया या अन्य यूरोपी देशहरु किन नहोस् ? नेपालीहरुको अवसर अनि अवसरको खोजिमा बिदेश जाने क्रम दिनानुदिन बढ्दै छ अनि बढ्दो छ त्यहाँका यूवा नेपालीहरुको आत्महत्या का घटनाहरु ।
अवसर अनि जिवनस्तरको बृद्धिका लागि नेपाली यूवाहरु माझ राम्रो देशको भीसा लाग्नु अत्याधिक खुशी अनि उत्सर्गको बिषय हो । तर यसरी खुशी अनि स्वतन्त्रताको पोखरीमा बिचरण गर्न गएका नेपाली यूवायूवतीको बिदेशमा बढिरहेको आत्महत्याका प्रकरणहरु का बिषयमा नेपाल अनि बिदेश दुबैतर्फ नेपालीहरु सचेत रहन जरुरी छ ।
अझ बिदेशमा पढ्नका लागि छोराछोरी पठाउनु त प्रतिष्ठा र गौरवको बिषय भएको छ । पढ्नका लागि बिदेश पठाँउदा औसत १९ या २० हाराहारीको उमेरका आँखाभरि सपना संगालेर बिदेश उडेका नौजवानको मानसिक स्वास्थ बास्तवमै आज नेपालका लागि चुनौती भएको छ । बिधार्थी जिवनको सहज अनि सुकुन सहितको दिनहरु आमाबुवाको छत्रछाँयामा बिताएका नेपाली बिधार्थीहरु को संघर्ष अनि पीडाका दिनहरु एकैफेर बिदेशी भूमिमा शुरु हुन्छ । सोचेको बिदेश अनि भोगेको बिदेश बिचको फरक पनि ठूलै हुनेगर्दछ, यस कारणले ल्याउने बैराग्यसंग राम्ररी सम्झौता गर्न नसक्नेहरु डिप्रेशन अनि कमजोर मनोवल लगायत आत्महत्या नै गर्ने मानसिकतामा पुग्दछन् । बिदेशमा व्यस्त जिवनशैलीमा फेसबुकमा आईज न हामी छदैं छौं नि भन्ने आवाजहरु उत्ति प्रभावकारी हुँदैनन् । परिवर्तनको आँधी हुन्छ, भूगोल देखि लवज सम्म । मोफसलवाट काठमाडौसम्म पनि आएर फरक महसुस गरेका कलिला नेपाली यूवायूवतीहरु बिदेशकोे व्यस्तता अनि क्रुर पावन्धीमा आफूलाई केवल एउटा कैदी सम्झन थाल्दछन् । मुख्य शहरका कलेज भन्दा पनि फी सस्तो हुने अनि छात्रवृत्तिको संभावनाका कारणले अधिकांश नेपाली बिधार्थीहरु बिदेशका पनि मोफसलका कलेजहरुमै जान्छन् । आफ्नै रोजाईले कलेज अनि बिदेश आएकाहरु आफ्ना पीडाहरु बुवाआमा या परिवारसंग भन्न खासै सक्दैनन् अनि शुरु हुन्छ देख्दाको हाँसो अनि भित्रको जिवनसंगका प्रश्नहरु । आधीरातको खाना, तल्लो स्तरको काम, खप्की लगायतका पीडाका समयमा बुवाआमाको याद अनि माया लगायत नेपाली जिवनसंगको तुलना गर्दा त्यहाँको पीडा केवल आँफैले खनेको खाल्डो जस्तो मात्र महसुस हुन्छ । यसरी भित्रभित्रै पिल्सीएर बसेका भावनाहरुले आत्महत्याको स्वरुप लिन पनि सक्दछ ।
त्यसपछि हुन्छ अर्को संघर्ष जब कलेजको फी तिर्नका लागि पार्टटाईम कामका लागि भौंतारिनु पर्ने हुन्छ । उता घरमा कसरी पैसो लिएर आएको भन्ने त उनीहरुलाई थाहै हुन्छ । घर अनि साथीभाईको अपेक्षा यस्तो हुन्छ कि मानौं त्यहाँ पैसो फल्दछ तर घण्ठा घण्टा काम गरेर जोगाएको पैसोले घर अनि दुई छाक खाना गरि कलेजको फी मात्र तिर्दा धौ धौ हुन्छ तब डलर अनि सुखशयलका सम्पूर्णसपना फगत हुन्छन्।
केहीले भने जाँदा नै सहजताका कारणले लभभग दोब्बर पैसो तिरेर प्राइभेट यूनिभर्सिटीमा गएका हुन्छन् तर यसरी पैसाको दम्भमा प्राइभेट यूनिभसिंटीमा गएको ९० प्रतिशत दोश्रो बर्षवाट कम शुल्कका कारण कम्यूनीटीमा ट्रान्फर गर्दछन् । बिदेशी यूनिभर्सिटीहरुले जत्तिकै स्कोलरसीपका कुराहरु प्रचार गरेपनि सबै कुराहरु बिधार्थी आकर्षीत गर्ने जाल मात्र हो । छात्रबृत्तिहरु केवल व्यबसाहीक स्कीमहरु मात्र हुन्छन् । बास्तवमै टिभीमा देखिएका अनि फेसबुकमा देखाइएका साथीहरुका सेल्फी र रहरलाग्दा दृश्यहरुको मुल्य महंगो हुन्छ । पैसाको कमीमा नेपालबाट पैसो मगाउन सहज त हुन्न अनि आफ्नो आत्मसम्मानमा पनि ठेस आउने सोचेर उनीहरुले बिभिन्न कदमहरु चाल्दछन् । कतिले त कलेज छाडेर गैरकानुनी तवरमा बसेका सम्म पनि हुन्छन् । पीडाको भुमरीवाट बच्ने नाममा कुलतमा फसेका नेपाली बिधार्थीहरुको सख्याँ पनि उल्लेख्य छ ।
धेरै कम प्रतिशत बिधार्थीले मात्र लगालग व्याचलर्स सकाएर ठिकैको जागिर खाएका हुन्छन् ।
पढ्नका क्रममा मुख्य समस्या हुन्छ, बसोवासको समस्या । कोठा शेयर गरेर बस्दा सस्तो पर्दछ र सामान्यता नेपाली परिवेशमा आफ्नो अलग्गै कोठामा बसेका, गीत घन्काएका, मनलाग्दी सुत्ने उठ्ने रुटीन भएका निष्फिक्रि नेपालीलाई कोठा शेयर गरेर बस्दा अफ्ठेरो भने राम्रै पर्दछ । यस्तै अफ्ठेरो अनि मनमुटावहरु ले गर्दा कोठा सरिरहनुपर्ने हुन्छ, जुन झनै अफ्ठेरो र खर्चिलो हुन्छ ।
उता कलेजको फि, खर्च, कम्प्यूटर, मोबाइल, लुगाफाटो लगायतको खर्च पनि धान्नै पर्ने हुन्छ । अब त घरमा पनि केही पैसोको आशा गर्न थालिसकेका हुन्छन् । बिधार्थी भीसामा आएकालाई देश अनुसारको काम गर्ने प्रावधान हुन्छ, यूनिर्सिटी भित्र हप्ताको यति घण्टा भनि कानूनी प्रावधान भएपनि त्यतिले खर्च पुग्दैन्, लुकेर अरुभन्दा धेरै तनाव अनि कम पारिश्रमीकमा बाहिर काम गर्न पर्ने बाध्यता हुन्छ । यसरी काम गर्न जाने ठाँउ अनि वसोवासको ठाँउ बिचको यातायात पनि सहज हुँदैन्, आफ्नो साधन किन्ने हैसियत भइसकेको हुँदैन । प्रतिकुल मौसममा गाडी या रेल पर्खदाँको पीडा, समयको पावन्दी लगायतका कुराहरु हरेक पल उनीहरुको दिमागमा तनावमात्र हुन्छ । उता कलेजमा बिधार्थी भीसा कायम राख्नका लागि क्रेडिट आवर्स पनि कायम राख्न जरुरी हुन्छ । बानेश्वरबाट शंखमुल साथी भेट्न जाँदा घण्टौं कुराउने नेपाली बिधार्थीलाई यौ दैनिकी एउटा यस्तो कडा सास्ती हो जसको अनुरुप ढल्नका लागि कडा परिश्रम जरुरी हुन्छ । यी कुराहरुमा सन्तुलन नहुँदा जिवनले यस्तो कोल्टे फेर्दछ कि आत्महत्या सम्मको कदम नेपाली बिधार्थीहरुले चालिरहेका छन् । नेपाली दुतावास अनि कुटनैतिक नियोगले पनि नेपाली बिधार्थीहरुको संगठनात्मक बिस्तार अनि सामुहीक शेयरिगं कार्यक्रम गरेर बिभिन्न अन्य तवरवाट यस्तो मानसिकता बिरुद्ध कदम चाल्न जरुरी देखिन्छ ।
नेपालमा देखिएजस्तो बिदेश सहज छैन्, त्यहाँ रहनका लागि कडा मेहनत र धैर्यता जरुरी छ । यदि तपाँई पनि आफ्ना छोराछोरीलाई बिदेश पठाउने सोच्दै हुनुहुन्छ या आफू नै बिदेश जाने सोच्दै हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानमा राख्नुहोस् । अवसर यहाँ पनि कम छैन्, चिन्न जरुरी छ । छोराछोरी बिदेश गएपछि नियमीत सम्पर्कमा रहनुहोस्, कुराकानी गर्नुहोस् र खबर साटासाट गर्नुहोस् । आर्थिक कुराको चाप नदिनु नै उचित हुन्छ । सहज जिवन र समृद्धिका लागि मात्र बिदेश जादैं हुनुुहुन्छ भने एकफेर सोच्नुहोस् ?
बिदेश त्यो हैन जुन देखिन्छ ।
हाम्रो पात्रो
Liked by: