विकासप्रतिको हाम्रो अवधारणा नै गलत | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

विकासप्रतिको हाम्रो अवधारणा नै गलत




   Bishwa Raj Adhikari - Jul 26 2016

तर अमेरिकालाई सपना र सम्भावनाको भूमि तुल्याउन अमेरिकीहरूको अठोठ– आफ्नो स्थानको विकास हामी आफैंले गर्नुपर्छ’ भन्ने भावनाको ठूलो भूमिका छ। अमेरिकामा राजतन्त्र र जमिन्दारी प्रथा कहिल्यै नभएकोले पनि अमेरिकी नागरिकमा आफ्नो स्थानको विकास आफैं गर्नुपर्छ भन्ने भावना बलियोगर्र जागृत भएको हुन सक्छ।



विश्व राज अधिकारी | युरोपेली वा पश्चिमाहरूले विकासको उच्च शिखर आरोहण गरे तापनि, उनीहरूको जीवनस्तर अति माथि पुगे तापनि दक्षिण एसियालीहरूको आर्थिक एव सामाजिक विकास हुन नसक्नुको मुख्य कारण यस क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूको विकासप्रति गलत अवधारणा हुनु हो। यस क्षेत्रका नागरिकको विकासप्रति धारणा गलत रहेकोले नै यहाँको विकासको गति कछुआ चाल हुन पुगेको हो। भएका विकासका पूर्वाधारहरूको पनि राम्रो संरक्षण हुन नसकेको हो।

 पश्चिमाहरू चन्द्रमामा धेरै वर्ष पहिले नै पुगेर हाल अन्य ग्रहमा मानव–बस्ती बसाल्ने तरखरमा रहे तापनि दक्षिण एसियाली नागरिकहरूसँग न वर्षभरि दुई छाक खान पुग्ने अन्न छ, न शुद्ध खाने पानी छ, न घरमा सुरक्षित शौचालय नै छ। स्वास्थ्य सुविधाहरू कति उपलब्ध छन्, सबैले थाहा पाएको कुरा हो। नेपालका कतिपय क्षेत्रहरूमा, यो आधुनिक युगमा पनि, महिनावारी भएको र सुत्केरी महिलाहरूलाई गोठमा राख्ने चलन छ। बिरामी परे भने अस्पताल होइन, धामी झाँक्री कहाँ पुर्‍याउने चलन छ। दिसा पिसाब गर्नका लागि सुरक्षित शौचालयको प्रयोग होइन, सडक वा जङ्गलमा जाने चलन छ। यो स्थितिले हामी विकासको कुन चरणमा छौं भन्ने स्पष्ट तस्वीर देखिंदैन?

दक्षिण एसियालीहरूको विकासप्रति अवधारणा कसरी गलत छ? आउनुहोस्, यस प्रश्नको उत्तर खोजौं ।

दक्षिण एसियाका नागरिक अहिले पनि राज्यको सामाजिक एवं आर्थिक विकासका लागि जिम्मेवार वा उत्तरदायी सरकारलाई मान्दछन् र आफू पूर्णरूपेण गैरजिम्मेवार भएर बस्छन्। आफ्नो मालिक सरकार हो र सरकारले नै विकास एवं निर्माणको कार्य गरिदिने वा गर्नुपर्ने ठान्छन्। तर पश्चिमा मुलुकका नागरिकहरू आफ्नो क्षेत्रको समग्र विकासका लागि सरकार होइन, स्थानीय बासिन्दा जिम्मेवार रहेको ठान्छन्। सरकारलाई विकासकर्ताको भूमिकामा होइन, सहजकर्ताको रूपमा हेर्छन्।

विकासको लागि प्रमुख जिम्मेवार सरकार भन्ने विश्वास दक्षिण एसियाका नागरिकमा कसरी उत्पन्न भयो? यसबारे पनि छोटो चर्चा गरौं।

दक्षिण एसियाका नागरिक लामो कालसम्म महाराजा, राजा, नायक वा सरदारहरूद्वारा शासित भएर बसे। कुनै खास व्यक्ति वा निकायद्वारा शासित भएकोले नागरिकले आफ्नो स्वामी अथवा विकासको सूत्रधार वा जिम्मेवार राजा, रजौटाहरूलाई माने। राज्यको सम्पूर्ण विकासका लागि पूर्ण जिम्मा राजा वा सरकारमा रहेको विश्वास गरे। नागरिकले गर्ने सम्पूर्ण कार्य राजा वा सरकारको लागि गरिएको भावना जनताको मनमा भित्रसम्म गाडियो। यसै हुनाले नेपाली समाजमा, यो आधुनिक युगमा पनि ‘राजाको काम कहिले जाला घाम’ भन्ने भनाइ प्रचलित छ।

दक्षिण एसियाका नागरिक अहिले पनि विकासको लागि प्रमुख जिम्मेवार सरकारलाई मान्दछन् र आफूलाई मात्र विकासको प्रतिफलको भोक्ता। सरकारलाई मालिक मान्छन्। नेताहरूलाई विकासको निर्णय र कार्यान्वयनकर्ताको रूपमा मान्छन्। विकासको लागि प्रमुख जिम्मेवार निकाय सरकार र नेता हो भन्ने जनविश्वासले गर्दा नै सरकारी संयन्त्र एवं नेताहरूले आफूलाई मालिक र जनतालाई दास ठान्छन्। यसै कारणले उच्च पदका सरकारी कर्मचारी एवं नेताहरूले सामान्य जनतालाई आफ्नो दास मान्दै जनतालाई आदेश दिन्छन्। आफू मालिक हुँ भन्ने गर्व प्रदर्शित गर्छन्। उच्च पदका सरकारी कर्मचारी एवं नेताहरूले आफूलाई सामान्य जनताभन्दा माथि देख्नु र सामान्य नागरिकलाई नमस्कार गर्नु आफ्नो इज्जत जानु हो भन्ने विश्वास गर्छन्। यस किसिमको परम्परा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकहरूमा विद्यमान छ। भारतमा त झनै बढी छ। बडेबाबू र छोटोबाबूको चक्करमा परेर एक सामान्य भारतीय नागरिकले एउटा सानो सरकारी कार्य सम्पादन गराउन महिनौं धाउनुपर्छ। अनेक ठाउँमा घूस टक्रयाउनु पर्छ।

युरोपेली राष्ट्रहरूमा भने राजा वा नायकहरूको शासन व्यवस्था धेरै पहिले नै समाप्त भइसकेको थियो। जे जति राष्ट्रमा थियो, तिनले पनि विकासको लागि प्रमुख जिम्मेवार स्थानीय नागरिक हुन् भन्ने यथार्थ व्यवहारमा उतारिसकेका थिए। संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटली जस्ता राष्ट्रहरूमा राजाको शासनकालमा नै विकासको संवाहक जनता हो भन्ने भावनाको पर्याप्त विकास भइसकेको थियो। संयुक्त अधिराज्यमा त राजसंस्था भए पनि विकासको कार्यमा ठूलो मात्रामा जनसहभागिता छ।

आफ्नो क्षेत्रको विकास आफूले नै अर्थात् स्थानीयले नै गर्नुपर्दछ भन्ने भावना सबै क्षेत्रमा प्रचुर मात्रामा रहेको उत्कृष्ट उदाहरण संयुक्त राज्य अमेरिकामा देख्न सकिन्छ। यहाँको समाजमा राज्य वा केन्द्र सरकारलाई केवल सहजकर्ताको रूपमा लिनुपर्छ, आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ भन्ने भावना धेरै गहिरो छ। हरेक नागरिकले यस तथ्यलाई गम्भीरतापूर्वक लिएको छ। यसै कारणले अमेरिकाको धेरै ठूलो र सानो शहरबीच जनसङ्ख्या र भवनबाहेक अन्य सुविधा र सेवामा ठूलो अन्तर हुँदैन। जे जस्तो सुविधा ठूला शहरहरूमा हुन्छ, साना शहरहरूमा पनि हुन्छ। सडक, बिजुली, खानेपानी, शिक्षा (स्कूल–कलेज), प्रशासन, स्वास्थ्य, सुरक्षा आदि सुविधा साना–साना शहरहरूमा पनि उपलब्ध देख्न सकिन्छ। ठूलो सङ्ख्यामा मानिसको बसोवास रहेको र बढी मात्रामा व्यापारिक कार्यहरू सम्पादन हुने स्थानलाई ठूलो शहरको नाम दिने गरिएको छ।

अमेरिकामा आफ्नो क्षेत्रको विकास आफैं गर्नुपर्छ, विकासका कार्यहरूका लागि सरकारको मुख ताक्नुहुँदैन भन्ने सोच कसरी आयो? यस प्रश्नको उत्तर पनि रोचक छ।

प्रारम्भमा जब विभिन्न व्यक्ति हालको संयुक्त अधिराज्यबाट बसाइँ सरेर अमेरिकी भूमिमा आए, उनीहरूको मुख्य उद्देश्य नयाँ–नयाँ सम्भावनाको खोजी गर्नु थियो। सरल किसिमले सुविधायुक्त जीवन यापन गर्न सकिने भूभाग पत्ता लगाउनु थियो। सरल जीवनयापन गर्न सकिने स्थानको पत्ता लगाउने तथा त्यस स्थानको विकास पनि स्वयंले गर्ने दृढ उद्देश्यका साथ कोलिनिस्ट (बसाइँ सर्ने वा उपनिवेश खडा गर्नेहरू) हालको अमेरिकी भूमिमा प्रवेश गरेका थिए। समुद्री यात्रामा हुने दुर्घटना एवं नयाँ स्थान (अमेरिका) मा भोग्नुपर्ने वातावरणीय तथा पर्यावरणीय परिवर्तनको जोखिम उठाएका थिए। यसरी बसाइँ सरेर आउनेहरूमा यो नयाँ स्थानको विकास हामी सबैले मिलीजुली गर्नुपर्दछ भन्ने जाँगर, सदाशयता र अठोट थियो। आफ्नो नयाँ स्थानको विकास स्वयं गर्नुपर्छ भन्ने भावना कोलिनिस्टहरूमा भएकोले नै अमेरिकाको आश्चर्यजनक आर्थिक र वैज्ञानिक विकास भएको हो। सानो अवधिमा नै परम्परागत महाशक्तिहरू बेलायत, जर्मनी, फ्रान्सलाई उछिन्दै विश्वको पहिलो महाशक्ति हुन सफल भएको हो।

हरेक सामान्य नागरिकमा पनि आफ्नो स्थानको विकास स्वयंले गर्नुपर्दछ भन्ने भावना रहेकोले प्रतिकूल मौसम र भौगोलिक समस्याको बावजुद अमेरिकाले यतिको आर्थिक, वैज्ञानिक र सामाजिक विकास गर्न सकेको हो। अमेरिकाले यस किसिमको चमत्कारी आर्थिक प्रगति गरेको हुनाले नै विश्वभरिका नागरिक अहिले पनि आफ्नो लक्ष्य पूरा गर्न अमेरिका अर्थात ‘सपना र सम्भावनाको भूमि’ मा प्रवेश गर्छन् । तर अमेरिकालाई सपना र सम्भावनाको भूमि तुल्याउन अमेरिकीहरूको अठोठ– आफ्नो स्थानको विकास हामी आफैंले गर्नुपर्छ’ भन्ने भावनाको ठूलो भूमिका छ।
अमेरिकामा राजतन्त्र र जमिन्दारी प्रथा कहिल्यै नभएकोले पनि अमेरिकी नागरिकमा आफ्नो स्थानको
विकास आफैं गर्नुपर्छ भन्ने भावना बलियोगर्र जागृत भएको हुन सक्छ।

हामी दक्षिण एसियालीहरूमा आफ्नो स्थानको विकास आफैंले नै गर्नुपर्छ भन्ने भावना त छैन नै, राष्ट्रिय विकास एवं निर्माणको कार्यमा एकजुट हुनुपर्छ भन्ने सोच पनि छैन। घरको फोहर अगाडिको सडकमा फालेपछि आफ्नो घर सफा भयो भन्ने मानसिकताले हामीलाई अहिले पनि छाडेको छैन। राजनैतिक दल र नेताहरूले एक अर्काको खुट्टा तान्ने बानी राजनैतिक संस्कृतिजस्तो भएको छ। ताजा उदाहरण: आर्थिक वर्ष २०७३–७४ को बजेट सदनमा पेश पनि भएको छैन, त्यसको चर्का विरोध शुरु भइसक्यो। अचम्म! पेश हुने बजेटको सत्ता–साझेदार दलका नेताहरूले पनि विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त विरोध गरिरहेको छ नै। विकास र निर्माणको कामको पनि विरोध गर्ने? यो कस्तो संस्कृति हो? के हामी विरोध नगरी बस्नै सक्दैनौं? के सकारात्मक कुराको समर्थन गरेर विकासका कुराहरूलाई अगाडि बढाउन सकिंदैन?

हामी किन महाभारतको मानसिकताबाट बाहिर आउन सकिरहेका छैनौं? किन शकुनी हाम्रो आदर्श हुन पुगेको छ?

एमालेको नेतृत्वमा निर्माण भएको बजेटमा केही त्रुटि होला। त्यसलाई सच्याउन पनि सकिन्छ। सदनमा पेश भएका बजेटहरूको लेखाजोखा गर्ने हो भने एमालेले लोकप्रिय बजेट ल्याएको इतिहास ताजा छ। ’नौ स’, ‘आफ्नो गाउँ आफैं बनाउँ’ जस्ता उत्कृष्ट अवधारण एमालेले बजेटमार्फत् विगतमा ल्याएको थियो। तर बजेटलाई प्रभावकारी तुल्याउँदै देशलाई ‘खुला एवं उदार अर्थ व्यवस्थाको युगमा प्रवेश’ गराउने अनि मुलुकको आर्थिक विकासको गतिलाई तीव्र तुल्याउने कार्य गर्ने श्रेय भने नेपाली काङ्ग्रेसलाई जान्छ। बरु एमाले अहिलेसम्म पनि ‘बजार अर्थ व्यवस्था’ तथा ‘खुला र उदार अर्थ व्यवस्था’ बारे हुन सकेको छैन। ढुलमुलको स्थितिमा छ।

मुलुकको आर्थिक विकास गर्नका लागि हामीले मिलेर कार्य गर्नुपर्छ। आफ्नो स्थानको विकास स्थानीय नागरिक स्वयंले नै गर्नुपर्छ।

:: Bishwa Raj Adhikari
I enjoy analyzing world affairs particularly international economics. I have deep interest in literature.



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.