नेपालको गरिबी: आर्थिक कम मानसिक बढी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

नेपालको गरिबी: आर्थिक कम मानसिक बढी




   Bishwa Raj Adhikari - Sep 17 2016

गरिबी विश्वका अन्य मुलुकहरूमा पनि छ। यदि गरिबीको कारणले मात्र नेपालमा आत्महत्या बढी हुने गरेको हो भन्ने तथ्यलाई मान्ने हो भने विश्वका अन्य गरिब मुलुकहरूमा पनि उच्च स्तरमा आत्महत्या हुनुपर्ने हो नि? साउदी अरेबियामा पनि गरिब होलान् तर त्यहाँ आत्महत्या दर ज्यादै न्यून छ। साउदी अरेबियामा प्रतिवर्ष केवल हरेक पाँच लाखमा एक व्यक्तिले आत्महत्या गर्छ।



सरल जीवन पद्धतिमा नेपाली समाजको विश्वास क्रमशः घट्दै गइरहेको छ। यो समाज तीव्र गतिमा आडम्बरमुखी बन्दै गइरहेको छ। ‘हैसियत प्रदर्शन’ जीवनको उद्देश्य बन्दै गएको छ।

शहरमा घर बनाउने, महँगो घर बनाउने, छोराछोरीलाई महँगो स्कूलमा पढाउने एवं उच्च शिक्षाका लागि विदेश पठाउने, राम्रो आम्दानी (घूस) आउने जागिर खोज्ने, समाजमा आफ्नो हैसियत देखाउन (विवाह, जन्मोत्सव, भोज, तिलक, दहेज आदिमा) बढी पैसा खर्च गर्ने, नहुनेले ऋण नै भए पनि लिने, राम्रो आम्दानीका लागि जसरी भए पनि विदेश जाने, मोटरसाइकल, कार राख्ने, अहिले ‘नेपाली सपना’ हुन पुगेको छ। स्तर प्रदर्शन अहिले नेपाली सपना हुन पुगेको छ। यो सपनाको पछि लागेर केहीले स्वदेशमा नै घूस वा गलत आर्जनलाई नैतिक मानिरहेका छन् भने लाखौं नेपाली युवा अहिले विदेश पलायन भइरहेका छन्। यो सपनापूर्तिको लोभ देखाएर ‘मानव तस्कर’ हरूले नेपालका हजारौ युवालाई मध्यपूर्वका देशहरू लगायत युरोप एवं अमेरिकासम्म पनि पुर्याइरहेका छन्। यसरी एकातिर नेपाली युवाहरू ज्यादै महत्वाकाङ्क्षी सपना देखेर दुःख पाइरहेका छन् भने उनको सपनाको शोषण गर्दै मानव तस्करहरूले करोडौं कमाइरहेका छन्।

सर्वाधिक दर्दनाक स्थिति भने मध्य पूर्वमा पुर्याइएका नेपाली चेलीहरूको छ किनभने ती देशहरूमा पुर्याएर नेपाली चेलीहरूलाई ‘यौनदासी’ हुन मानव तस्करहरूले बाध्य पारिरहेका छन्। डान्स बारहरूमा नाच्न घचेटिरहेका छन्। नेपाली सपनाको पछि लागेर, नेपालका सोझासाझा चेलीहरू इराक र सिरिया जस्ता अति असुरक्षित देशहरूमा पुगिरहेका छन्। यी सोझासाझा चेलीहरूलाई यतिसम्म पनि थाहा छैन कि इराक र सिरिया आफै युद्ध पीडित मुलुक हुन्। यी मुलुकहरूमा त्यहाँकै सामान्य नागरिकहरूको ज्यान कुनै पनि बेला जान सक्ने स्थिति छ। यी मुलुकहरूबाट ठूलो सङ्ख्यामा यिनै देशका नागरिक शरणार्थी बनेर विदेश पलायन भइरहेका छन्। निरन्तरको युद्धले यी मुलुकहरूबाट मानवता कुन स्तरमा खसेको छ भने इराक तथा सिरियामा मान्छेलाई सार्वजनिक रूपमा काट्नु वा जलाउनु सामान्य हुन पुगेको छ। तर मानवताको घोर अपमान र जघन्य अपराध हुने मुलुकहरूमा पनि नेपाली चेलीहरू उज्ज्वल भविष्यको सपना बोकेर पुगिरहेका छन्। अफसोच नेपालका चेलीहरूलाई त्यहाँ पुगेर नारकीय एवं डरलाग्दो जीवन बाँच्नुपर्छ भन्ने थाहा हुन सकिरहेको छैन। वा सपनाको पछि लागेर थाहा पाउन सकिरहेका छैनन्।

राम्रो आम्दानी हुने प्रलोभनमा संसारका अनेक मुलुकहरूमा पुर्याइएका नेपाली युवाहरूको कथा पनि कम दर्दनाक छैन। मानव तस्करहरूले नेपाली युवाहरूलाई अहिले मध्यपूर्वका देशहरू– साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स, बहरेन मात्र होइन, युरोपका विभिन्न मुलुकलगायत अति नै जोखिमपूर्ण यात्रा गराएर अमेरिकासम्म पुर्याइरहेका छन्। नेपाली युवाहरूलाई अमेरिका पुर्याउने मानव तस्करहरूले गैरकानुनीरूपमा अति लामो एवं जोखिमपूर्ण यात्रा गराएर, अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको बाटो प्रयोग गर्दै गैरकानुनीरूपमा अमेरिका प्रवेश गराउने गरेका छन्। नेपालबाट अमेरिका पुर्याउन एक व्यक्तिबाट मानव तस्करको सञ्जालले रु तीस लाखसम्म पनि लिने गरेको छ। तर अमेरिकासम्म पुग्ने यात्रा यति जोखिमपूर्ण हुन्छ कि बाटोमा नै कतिपय व्यक्तिको ज्यान जाने स्थिति हरपल विद्यमान रहन्छ। धेरैको ज्यान गएको पनि छ। कतिपय अवस्थामा नेपालबाट अमेरिका पुग्ने बाटोमा रहेका विभिन्न देशहरूका यसरी अमेरिका प्रवेश गर्न खोज्नेहरूले भोकभोकै बस्नुपर्ने हुन्छ, विभिन्न जेलहरूमा बस्नुपर्ने पनि हुन्छ।

‘अमेरिकामा पैसा रूखमा फलेको हुन्छ त्यहाँ गएर टिप्ने मात्र हो’ भन्ने विश्वासका साथ अमेरिका आउनेहरूको दर्दको कथा भने अमेरिका पुगेर समाप्त हुँदैन। गैरकानुनीरूपमा अमेरिका पसेको उसको स्थितिले हरदम उसलाई सताउने मात्र होइन, ठूलो मात्रामा धन आर्जन गर्न नसकेको चिन्ताले पनि दुःख दिन शुरु गर्छ अनि प्रारम्भ हुन्छ ‘नैराश्य’ (Depression) को सिलसिला। मेघदूतको यक्षको जीवन प्रारम्भ मात्र हुँदैन कम ज्याला (गैरकानुनी कामदार भएकोले) पाउने हुनाले लामो समयसम्म कार्य गर्नुपर्दा शरीर हरदम थकित र गलित रहन्छ। विचारणीय कुरा के छ भने जुन व्यक्तिले नेपालमा रु तीस लाख तिरेर अमेरिका आउने आर्थिक क्षमता राख्छ उसले नेपालमा नै कुनै व्यवसाय गर्न सक्तैन? स्वतन्त्र किसिमले कुनै व्यवसाय रोज्न सक्तैन? तर यस्तो हुँदैन। यस्तो किन हुँदैन भने प्रथमतः नेपालीहरू स्वदेशमा ‘यो सानो काम हो’ भन्दै त्यस्तो काम गर्न हिचकिचाउँछन् । दोस्रो, सामान्य किसिमको काम गर्नेलाई नेपाली समाजले पनि इज्जत दिंदैन। तेस्रो नेपालीहरूमा व्यवसायको नयाँ अवसरहरूको खोजी गर्ने संस्कृतिको विकास नै भएको छैन वा बहुसङ्ख्यक नेपालीहरूलाई व्यापार गर्नै आउँदैन।

अहिले नेपालीहरू जुन किसिमले राम्रो आम्दानीको लागि विदेश पलायन भइरहेका छन् के त्यो पलायन केवल गरिबीले गर्दा हो? यो प्रश्न ज्यादै गम्भीर छ। नेपालका ज्यादै गरिब जिल्लाहरू बाजुरा, कालिकोट, बझाङ, हुम्ला, जुम्ला, अछाम, मुगु, डोल्पा, सिरहा, रौतहट छाडेर कुरा गर्ने हो भने अन्य जिल्लाहरूमा व्यक्तिहरू खान नपाएर मर्ने स्थिति छैन, न भोकमरी छ। तर नेपालका सम्पूर्ण जिल्लाहरूबाट व्यक्तिहरू विदेश पलायन हुन खोजिरहेको स्थिति छ। राम्रो आम्दानी हुने शहरका बासिन्दाहरू पनि विदेश पलायन हुन खोजिरहेको स्थिति छ। यस्तो किन भएको होला? यस प्रश्नको उत्तर खोजौं।

यस प्रश्नको उत्तर खोज्नु पूर्व ‘विश्व स्वास्थ्य सङ्गठन’ ले प्रकाशित गरेको सन् २०१५ को प्रतिवेदन हेरौं। उक्त प्रतिवेदनले के भन्छ भने नेपाल विश्वमा अति आत्महत्या गर्ने मुलुकहरूको श्रेणीमा सातौ स्थानमा छ। सो प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष प्रतिएक लाख व्यक्तिमा पच्चीसजनाले आत्महत्या गर्छन् र प्रत्येक वर्ष नेपालमा ७ हजार जति व्यक्ति आत्महत्या गर्छन्। यसरी आत्महत्या गर्नेहरूमा धनी र राम्रो हैसियत हुनेहरू पनि पर्छन्।

अचम्म त के कुरामा छ भने भारतजस्तो ज्यादै घना आबादी भएको देशभन्दा नेपालमा आत्महत्याको दर बढी छ। भारतको स्थान आत्महत्या गर्ने मुलुकहरूको श्रेणीमा एघारौंमा छ । प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौ स्थानमा भने क्रमशः गुएना, दक्षिण कोरिया, श्रीलङ्का, लिथुआनिया, मोजाम्बिक पर्दछन् (विश्व स्वास्थ्य सङ्गठन सन २०१२)।

नेपालीहरू ठूलो सङ्ख्यामा विदेश किन पलयान भइरहेका छन् त्यस प्रश्नको उत्तर अब खोजौं। ‘जसरी भए पनि कमाउनुपर्छ किनभने नेपालमा गरिब भएर बाँच्नु कठिन मात्र होइन, बेइज्जत पनि हो। समाजमा व्याप्त यो भावनाले अहिले रकेट लन्चरको काम गरिरहेको छ र यो रकेट लन्चरले बलपूर्वक नेपालीहरूलाई संसारका अनेक देशहरूमा पुर्याइरहेको छ। नेपालीहरू अहिले रकेट झै तीव्र गतिमा विदेशतिर पलायन भइरहेका छन्, नेपाली सपना पूर्तिका लागि ।

गरिबी विश्वका अन्य मुलुकहरूमा पनि छ। यदि गरिबीको कारणले मात्र नेपालमा आत्महत्या बढी हुने गरेको हो भन्ने तथ्यलाई मान्ने हो भने विश्वका अन्य गरिब मुलुकहरूमा पनि उच्च स्तरमा आत्महत्या हुनुपर्ने हो नि? साउदी अरेबियामा पनि गरिब होलान् तर त्यहाँ आत्महत्या दर ज्यादै न्यून छ। साउदी अरेबियामा प्रतिवर्ष केवल हरेक पाँच लाखमा एक व्यक्तिले आत्महत्या गर्छ।

नेपालमा समाजको बनौट अहिले यस्तो भएर गएको छ कि गरिब भएर बाँच्न कठिन छ। र त्यो कठिनाइ आर्थिक कारणले होइन, मानसिक कारणले भएको हो। गरिबलाई नेपाली समाजले इज्जत नै दिंदैन। अर्कातिर नेपाली समाजले आफ्नो आर्थिक हैसियत देखाउनुपर्छ भन्ने कुरामा बलियो विश्वास गर्दछ। नेपाली समाजमा व्यक्ति एवं परिवारहरूले आफ्नो सामाजिक र आर्थिक हैसियत वा स्तर देखाउन बढी पैसा खर्च गर्छन्। खास आवश्यकता पूर्तिका लागि भन्दा पनि स्तर प्रदर्शनका लागि बढी पैसा खर्च गरिन्छ। अर्कातिर गरिबलाई हेला गरिन्छ। गरिबको उपहास गरिन्छ। गरिब हुनुलाई अभिशाप मानिन्छ। गरिबले नेपालमा शिर ठाडो पारेर हिंड्न गार्हो छ। गरिबले अनेक किसिमको सामाजिक दुव्र्यवहार सहनुपर्दछ। यो नै प्रमुख कारण हो। नेपालमा मानिसहरू जसरी पनि पैसा कमाउनुपर्छ र यसका लागि विदेश जानुपर्छ भन्ने मनोविज्ञानबाट पीडित छन्।

हालै तीज पर्व समाप्त भएको छ। यो पर्वलाई धेरैले आफ्नो स्तर प्रदर्शन (मोटो छड्के तिलहरी लगाउने, भोजभतेर गर्ने) मा प्रयोग गरे। आउने दशैं, लक्ष्मीपूजा, फागुमा पनि यस्तै स्थिति देखा पर्नेछ।

नेपाली समाजले गरिबलाई सहयोगको साटो हेला गर्ने, गरिब तर इमानदारलाई इज्जत नदिने, धनी तर बेइमानलाई इज्जत दिने गरेको हुनाले नै नेपाली समाजमा निरपेक्ष र सापेक्ष दुवै किसिमको गरिब भएर बाँच्न कठिन छ। यो कारणले गर्दा नै ठूलो सङ्ख्यामा नेपाली युवाहरू विदेश पलायन गरिरहेका छन्। स्वदेशमा ठूलो सङ्ख्यामा आत्महत्या गर्नुको कारण पनि यो नै हो। त्यस कारण नेपालको गरिबी आर्थिक कम मानसिक बढी हो। सामाजिक हैसियत वा स्तर प्रदर्शनमा विश्वास गर्नु मानसिक गरिबी होइन त?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.