साल २०७९ लाई फर्केर हेर्दा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

साल २०७९ लाई फर्केर हेर्दा





वि.सं. २०७९ मा अनेक अभूतपूर्व घटनाहरु भएका छन् । आगामी वर्षहरु र शताव्दीहरु सँग नै प्रत्यक्ष सबन्ध राख्ने घटनाहरु का साथै  साल २०७९ लाई एक फेर फर्केर हेरौँ है त । 

बिश्वव्यापी घटनाहरु
अन्तर्राष्ट्रिय रूपमा रुस र युक्रेनको झगडाले ल्याएको ध्रुवीकरण, बिश्वबजारमा बढ्दो इन्धनको र खाद्यपदार्थको मूल्य अनि समग्र विश्वको नै ध्रुवीकरणको सुरुवात फेरि वर्ष २०७९ बाट नै सुरु भएको छ । 

विश्वको शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिका रूपमा जाए बाइडेनको आगमन अनि अर्को ठुलो राष्ट्र चीनमा सी जिगं पिंगको पुनरागमनले पनि वर्ष २०७९ र अगामी वर्षहरूका लागि ठुलो महत्त्व राखेको छ । 

श्रीलङ्काको अफ्ठेरो आर्थिक अवस्थाबाट सुरु भएको २०७९ भित्र दक्षिण एसियाका अन्य सबै देशहरू नै बढ्दो मूल्यवृद्धि, मुद्रास्फीति अनि तरलताको अभावको चपेटामा परेका छन् । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई सत्ताच्यूत गरेर नयाँ नेतृत्व देखापर्यो, अफगानिस्तानमा तालिवानहरुको उदयसँगै बढ्दो सामाजिक बन्देजहरू साल २०७९ मा चरम रूपमा देखिए । 

यतिका वर्ष सम्म विश्व जनस्वास्थ्य अध्ययन र खोजले पत्ता लगाउन नसकेको औँलो विरुद्धको खोप साल २०७९ मा नै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानीकहरुले घोषणा गरेका छन् । 

विश्वमा वाल मृत्यु दरलाई बढाउने औलो जस्तो ज्यान लिने रोग विरुद्धको यस खोपको विकासले आगामी समयमा एउटा ठुलो परिवर्तन ल्याउने आशा गरिएको छ । यसका साथै यस खोप ८० प्रतिशत प्रभावकारी हुनाका साथ असाध्यै सुलभ अनि सस्तो भएको जनाइएको छ । 

यतातर्फ कोभिड खोपको बिकासक्रम अनि त्यसको सुलभ उपलब्धतामा पनि वर्ष विसं २०७९ ले धेरै फड्को मारेको मान्नु पर्दछ । 

अर्को तर्फ साल २०७९ मा नै अमेरिकी अन्तरिक्ष केन्द्र नासाले एउटा क्षुद्र ग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्र ग्रहको मार्ग परिवर्तन गराइदियो। कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्र ग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो। यस सफलतासँगै पृथ्वीमा भविष्यमा आएर ठोक्किन सक्ने सौर्य मण्डलका अन्य ग्रह या पिण्ड हरुलाई मार्ग परिवर्तन गराउन सक्ने सफल यात्राको सु?वात भएको मानिएको छ । 

विसं २०७९ मा छुटाउनै नहुने अर्को घटनाक्रम भने बिश्वकप फुटबलको रह्यो । कतारमा भएको विश्वकप फुटबलमा विश्वकपको खेल सञ्चालन गर्ने प्रथम महिला रेफरीको रूपमा फ्रान्सकी स्टेफनी फ्रापार्टले इतिहास रचिन् । समूह चरणका खेलमध्ये जर्मनी र कोस्टारिकाको खेल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफरीद्वारा सञ्चालन भयो। फ्रान्सकी स्टेफनी फ्रापार्टको नेतृत्वमा सबै महिला अम्पायर रहेको टोलीले उक्त खेल सञ्चालन गरेको थियो । 

कुनै अफ्रिकी वा अरब राष्ट्रले गरेको सबभन्दा उत्कृष्ट प्रदर्शन पनि यसै पटक भयो। मोरक्को सेमिफाइनलसम्म पुग्यो।

अनि लिओनेल मेस्सीले अन्तत: विश्वकपको उपाधि जितिछाडे ( पाँच पटकको प्रयासपश्चात् मेसीले आफ्नो खेल जीवनमा अर्जेन्टीनालाई विश्वकप दिलाएरै छाडे ।अर्कोतर्फ भन्नुपर्दा इतिहासमा नै कुनै मुस्लिम देशले आयोजना गरेको यो पहिलो विश्वकप फुटबल थियो । 

अनि यसै वर्ष नै विश्वको जनसङ्ख्या ले आड अर्बको दलिन टेकेको हो । विश्वको जनसङ्ख्या सात अर्बबाट आठ अर्ब पुग्न १२ वर्ष लागेको थियो भने अब अर्को एक अर्ब जनसङ्ख्या थपिन कम्तीमा १५ वर्ष लाग्नेछ। किनभने समग्रमा जन्मदर बिस्तारै घट्दो क्रममा छ।

बेलायती प्रधानमन्त्रीका रुपमा इतिहासमा नै पहिलो पटक एक जना एसियाली मुलुकका व्यक्ति पुगे । ऋषि सुनकले २५ अक्टोबरमा प्रधानमन्त्री पद सम्हाले। उक्त पदमा पुग्ने उनी पहिलो एसियाली मूलका अश्वेत व्यक्ति हुन्। 

यी त भए विश्व घटनाक्रम । 

नेपालको लागि भने वर्ष २०७९ 
नेपालको लागि भने वर्ष २०७९ अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा सवार ७२ जनाको मृत्यु भयो । हवाइ उड्डयनका हिसाबले वर्ष २०७९ असाध्यै असुरक्षित वर्ष रह्यो, वर्षको सु?वात ताका नै मुस्तागंमा तारा एयरलाइन्सको विमान खसेको थियो । बेलाबखतमा बिमानहरुमा समस्या, फोर्स ल्यान्डींग लगायत चैत्र महिनामा मात्रै पनि दुई वटा हेलिकप्टर दुर्घटनाका खबर सुनिएका छन् । यद्धपि यी हेलिकप्टर दुर्घटनामा भने मानवीय क्षति चाहिँ हुन पाएन । 

नेपाली परिपक्ष्यमा कुरा गर्ने हो भनेँ चाहिँ वर्ष २०७९ एउटा शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको सुरुवाती वर्षका रूपमा लिन सकिन्छ । वर्ष २०७९ ले सुरु गरेको राजनैतिक विचारधाराको नयाँ धार ले आगामी वर्षहरूमा नयाँ चेतनाको जागृति गर्ने विश्वास गरिएको छ । 

वर्ष २०७९ मा नेपालमा निर्वाचनका श्रृखलाहरु भए । नेपाली प्रजातान्त्रिक इतिहासमा दलहरू भन्दा माथि उठेर व्यक्ति र विचारले स्वतन्त्र समर्थन पाएको यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन ।

वर्ष २०७९ मा नेपालले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पायो । निर्वाचनका श्रृखला भए अनि केही नयाँ र केही पुराना अनुहारहरु सडक र संसदमा देखिइरहे । काठमाडौँले मेयरका रूपमा युवा अनुहारलाई स्वागत गर्दै र्यापर बालेन पायो भने धरानमा हर्क साम्पांग र धनगढीमा गोपाल हमाल आए । निर्वाचनका श्रृखलाहरुमा स्वतन्त्र उम्मेदवारहरूले साल २०७९ मा जति कहिल्यै पनि माया र विश्वास पाएका थिएनन् । 

रवि लामिछानेको निर्वाचन प्रकरण, विजय अनि नागरिकता विवाद हुँदै साल २०७९ को अन्ततिर अडियो काण्ड बाहिरिएर उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी विवाद र चर्चाको घेरामा परेको छ । नेताहरुको नेतृत्वको गुणस्तर जाँच्ने अभिभारा साल २०८० लाई छाड्दै विभिन्न राजनैतिक अन्योलका बिच साल २०७९ हामीबाट बिदा हुँदै छ । 

आर्थिक रुपमा साल २०७९ ले अहिलेसम्मकै सर्वाधिक मन्दी र उतारचढाव देख्यो । पुँजी बजार ओरालो लाग्ने क्रम पिँधसम्म पुग्ने गरी अघि बढेको छ । अर्कोतर्फ अफ्ठेरो अवस्थामा सहकारी र बैंकहरु रहेको वर्ष पनि यही रह्यो । अधिकांश बैंकहरु मर्ज भएका र मर्ज हुने तयारीमा रहेको वर्ष २०७९ मा ऐतिहासिक रुपमा नेपालका धेरै बैंकहरु मर्ज भए । 

डेगुँ रोगको सङ्क्रमण राष्ट्रव्यापी फैलिएको वर्ष २०७९ जनस्वास्थ्यका हिसाबले पनि उति अनुकूल वर्ष रहेन । नेपालमा संस्कृतिविद् सत्यमोहन जोशीको पनि यसै वर्ष देहावसान भयो । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको पनि यस वर्ष मृत्यु भयो । 

वर्ष २०७९ अनेक आरोह अवरोहका बिच बिदा हुँदै छ । आगामी वर्ष साल २०८० मा सबैलाई मङ्गल हुनेछ भन्ने कामना छ । 

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.