सन् २०२२ लाई फर्केर हेर्दा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सन् २०२२ लाई फर्केर हेर्दा





सन् २०२३ को पहिलो दिनमा स्वागत छ । सन् २०२३ साललाई हर्षोल्लासका साथ स्वागत गरौं ।
हामीले यो वर्ष सुरु गर्नु अघि, सन् २०२२ को छोटो समीक्षा गरेर हेरौँ न त ।

नेपाली परिवेशमा सन् २०२२
नेपालका लागि सन् २०२२ मिश्रित रह्यो । यसलाई शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको प्रारम्भिक वर्षको रूपमा लिन सकिन्छ । सन् २०२२ मा शुरु भएको राजनैतिक विचारधाराको नयाँ प्रवृत्तिले आगामी वर्षहरूमा नयाँ चेतना जगाउने विश्वास छ । याे वर्ष हामीले स्थानीय सरकार, प्रदेश सरकार र प्रतिनिधिसभाको श्रृङ्खलाबद्ध निर्वाचन देख्यौं । विद्यमान दलहरूको खिचातानी र अस्वस्थ गठबन्धन अनि नेतृत्वको कुर्सी मोहले वर्ष २०२२ मा नेपाली जनलाई पुराना भन्दा नयाँ नेतृत्वको चाहमा झनै वृद्धि गरेको पनि अनुमान लगाइएको छ । विगतमा नदेखेको राजनीतिक परिदृश्यमा यो वर्ष ठूलो परिवर्तन आएको छ । धेरै स्वतन्त्र व्यक्तिहरूले दल र पार्टीभन्दा माथि उठेर आफ्नो विचारधारा प्रस्तुत गरी उमेदवारी दिएकोमा समर्थन पाएका छन् । नेपाली प्रजातान्त्रिक इतिहासमा यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन ।

सन् २०२२ ले नेपाली राजनीतिक नक्षत्रमा बलेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, रवि लामिछाने, तोशिमा कार्की लगायतका धेरै नाम ल्याएको छ । अब, यो वर्ष उनीहरूको वाचालाई सार्थक गर्ने अवसर हो । वर्तमान दलहरूबीचको विवाद, अस्वस्थ गठबन्धन र नेतृत्वको शक्तिप्रतिको मोहले यो वर्ष नयाँ नेतृत्व परिवर्तनको नेपाली इच्छालाई अझ बढाएको छ । यो राजनीतिक क्षेत्रमा बिस्तारै नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको संकेत हुन सक्छ ।

अर्थतन्त्रका हिसाबले यो वर्ष नेपाललाई तनावपूर्ण रह्यो । एकातिर निर्वाचनबाट राज्य कोषमा भार थपिएको छ भने अर्कोतर्फ विश्वव्यापी आर्थिक मन्दी र तरलताले सेयर बजार, बैंकिङ, रियल स्टेट, आयात निर्यात लगायतका अधिकांश क्षेत्रमा नकारात्मक प्रभाव र सङ्कट परेको छ । अघिल्लो वर्षको महामारीले बल्ल बल्ल उठ्न खोजेको पर्यटन र अन्य व्यवसायहरू सन् २०२२ मा चाहेको जस्तो उठ्न सकेनन् । आर्थिक खाडललाई कम गर्न सरकारी नेतृत्वले कुनै महत्वपूर्ण कदम चालेको २०२२ ले देख्न पाइएन ।

यस वर्ष मुस्ताङमा भएको विमान दुर्घटनाले २२ जनाको ज्यान लियो भने बाढीका कारण सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशमा कम्तीमा ३३ जनाको ज्यान गयो । वर्षायाममा नेपालका विभिन्न भागमा धेरै सडक दुर्घटनाहरू भएका छन् । यो वर्ष ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले नेपालीहरू गहिरो शोकमा डुबेका छन् । बिस्तारै हामी कोरोनाको महामारीबाट निको हुँदै गइरहेका थियौं, तर पछि हामी डेंगु महामारीको चपेटामा पर्यौं जसले धेरैलाई हताहत बनायो ।

सामाजिक सञ्जालमा नेपाली नेटिजनहरुको सक्रियतामा वर्ष २०२२ मा केही कमी आएन । कहिले एमसीसी विरुद्धको आन्दोलन त कहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधी ह्याशट्यागहरु नेपाली डिजिटल इकोसिस्टममा निकै चले । टुकुचा खोला, महानगर पार्किङ, डोजर लगायतका कुराहरूले समाचारका शीर्षकहरूमा वर्ष २०२२ मा निकै चर्चा पाए ।

विश्वव्यापी परिवेशमा सन् २०२२
रूसले युक्रेनमाथि "विशेष सैन्य अपरेशन" गरी फेब्रुअरी २४, २०२२ मा आक्रमण सुरु गर्‍यो, जुन अझै पनि सक्रिय छ र अहिलेसम्म युद्धविरामको कुनै संकेत देखिदैन । रुस र युक्रेनबीचको यो द्वन्द्वको प्रभावले विश्व बजारमा इन्धन र खाद्यान्नको मूल्य बढ्यो र सन् २०२२ मा पुनः विश्वको ध्रुवीकरण सुरु भयो ।

सन् २०२२ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा जो बाइडेनको आगमन र चीनका सी जिनपिङको पुनरागमनले अगामी वर्षहरूका लागि ठूलो महत्व राख्छ, किनकि ठूला शक्तिहरूमा विपरित राजनीतिक विचारधाराहरूको सँग प्रतिस्पर्धामा छन् । सन् २०२२ मा, विश्वभरका देशहरू कोभिड पछिको सामान्य अवस्थामा फर्किए पनि, चीन भने अझै पनि कडा लकडाउनका बिचमा नै हुनु एउटा रहस्य भएको छ । सन् २०२३ मा त्यसको उत्तर पाइने छ ।

यस वर्ष महारानी एलिजाबेथ द्वितीयको मृत्युले धेरैलाई दुखित बनायो । इङ्गल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री भारतीय मूलका थिए भने त्यसैगरि अमेरिकामा पनि कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी थिइन् जसले विश्वलाई समानता र समावेशीताको उदाहरण देखाए ।

श्रीलंकाको दयनीय आर्थिक अवस्थाबाट सुरु भएर दक्षिण एसियाका सबै देशहरू पनि सन् २०२२ मा मूल्यवृद्धि, मुद्रास्फीति र तरलताको अभावको चपेटामा परेका थिए तर श्रीलंका जत्तिकै खराब स्थितिमा भने थिएनन् । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको बर्खास्तसँगै नयाँ नेतृत्वको उदय भयो, र अफगानिस्तानमा सन् २०२२ मा तालिवानको उदयसँगै बढ्दो सामाजिक प्रतिबन्धहरू चरम सीमामा पुगे ।

एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गरेको थियो । ३२ टोली, ६४ खेल र १७२ गोल पछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर तेस्रो पटक च्याम्पियन बन्यो । सन् १९८६ बाट विश्वकप चुम्न नपाएको अर्जेन्टिनाले २०२२ मा आएर विश्वकप घर लिएर गयो । लामो प्रतिक्षापछि अन्ततः लियोनल मेस्सीले विश्वकप ट्रफी जिताउन सफल भए छन् । सन् २०२२ मा टी२० क्रिकेट विश्वकपमा भने इङ्गल्याण्ड विजेता बन्यो ।

यो वर्ष विश्वको जनसंख्या ८ अर्ब नाघेको छ । अब हामी ठूलो परिवार भयाै र बढ्दैछौं ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.