आयुर्वेदिक औषधीको व्यापार: नियन्त्रणको खाँचो | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

आयुर्वेदिक औषधीको व्यापार: नियन्त्रणको खाँचो




   Bishwa Raj Adhikari - Aug 27 2016

कुनै गंभिर प्रकृतिको रोग निको पार्न आयुर्वेदिक औषधीको सेवन गरेर त्यसको असर हेर्न लामो समय कुर्दा, र यदि त्यो औषधीमा भनिएको विशेषता नभएर, त्यो औषधीले काम नगरेर, कुनै बिरामीको ज्यान गएमा त्यस्तो घटनाको जिम्मेवारी कसले लिने? जिम्मेवारी कसैले त बोक्नु नै पर्छ। कि पर्दैन? विकसित मुकुकहरूमा औषधीलाई दुई भागमा विभाजित गरिएको हुन्छ र सोही अनुसार तिनको बिक्री, बितरण गरिन्छ।



नेपालमा अहिले आयुर्वेदिक औषधीको व्यापार निकै फष्टाएको छ। आयुर्वेदिक औषधीका पसलहरू ठूलो संख्यामा संचालनमा आएको देखिन्छन्। काठमाडौमा त झन ठूलो संख्यामा संचालित छन् आयुर्वेदिक औषधीका पसलहरू। यस्तो हुनुमा उपभोक्ताहरूले एलोपैथिक औषधीहरूमा भन्दा आयुर्वेदिक ओषधीहरूमा बढी विश्वास गर्नु हो। साथै बजारमा आयुर्वेदिक औषधीहरूको प्रचार-प्रसार बढी हुनु पनि हो। तर अहिले नेपालीहरूको आयुर्वेदिक औषधीहरूमा विश्वास ह्वात्तै बढ्नुको खास कारण भने समाजमा आफ्नो राम्रो प्रभाव जमाएका व्यक्तिहरूले आयुर्वेदिक औषधीहरूको प्रचार प्रसार मनोवैज्ञानिक दवाब (डर, त्रास) यूक्त तरिकाले गर्नु हो।

गंभिर प्रकृतिका रोगहरू पनि आयुर्वेदिक औषधीहरूले निको पार्न सक्छ भनी आवस्वत पार्नु हो। अघोषित किसिमले वाचा गर्नु हो। आश्चर्य त यस कुरामा छ कि नेपाली उपभोक्ताहरू कपालमा लगाउने सेम्पो तथा तेल, नोहाउने सावुन, टुथपेस्ट आदि जस्ता वस्तुहरू जुन औषधी होइन, तिनीहरू पनि आयुर्वेदिक तेल, साबुन, टुथपेस्ट भन्दै खरिद गरिरहेका छन्। आयुर्वेदमा किन यसरी र यति विश्वास बढेको होला? के आयुर्वेदिक औषधी लगायत अन्य वस्तुहरूले भनिएका क्षमताहरू राख्छन त? के हामीले पैसा खर्च गरेर सही वस्तु खरिद गरिरहेका छौ त?

आयुर्वेदिक औषधीहरू पनि प्राय: हरेक किसिमका विरामीहरू निको पार्ने बाचाका साथ बजारमा देखा परिरहेका छन। सामान्य होइन, गंभिर रोगको उपचार हुने आशमा उपभोक्ताहरूले त्यस्ता औषधीहरू खरिद गरिहेका छन। औषधीमा निकै पैसा खर्च गरिरहेका छन। बिक्रेताहरूले पनि सोही भन्दै बिक्री गरिहेका छन। उत्पादकहरूले पनि हरेक किसिमक रोग निको पार्ने भन्दै गंभिर प्रकृतिका औषधीहरू पनि उत्पादन (नेपाल एवं भारतमा) गरिहेका छन। तर यहाँ प्रश्न उठ्छ के ती आयुर्वेदिक औषधीहरूले साँच्चिकै गंभिर रोगहरू निको पार्ने क्षमता राख्छन् त? के ती आयुर्वेदिकऔषधीहरूले क्यान्सर, डाएवेटिज, ब्लड प्रेसर, हर्ट एट्याक, ट्युमर, एपिलेप्सी जस्ता गंभिर रोग निको पार्ने क्षमता राख्नछन? यदि राख्छन भने ती आयुर्वेदिक औषधीहरूको विश्वनीयता (प्रभाव) को परीक्षण के आधुनिक प्रयोगशालाहरूमा विज्ञद्वारा भएको छ?

सरकारले औषधी व्यवस्था विभागलाई आदेश दिएर, अति उनन्त प्रयोगशालाहरूमा लगेर, ती आयुर्वेदिक औषधीहरूको गुण-धर्मको परीक्षण गराएको छ? गराएको छ भने त्यसको जानकारी उपभोक्ता (बिरामी) हरू समक्ष तुरुन्त आउनु पर्यो, सरकारले दिनु पर्यो। सेवन गर्न सकिने भनी सरकारले जानकारी दिनु पर्यो। यदि गराएको छैन भने ती औषधीहरू किन बजारमा अनियन्त्रित किसिमले बिक्री भइरहेका छन? ठूलो पथ्थरको भाँडामा केही जटिबुटीहरू खोट्दैमा के औषधी तयार हुन्छ? हामी उपभोक्ता कसैले भनेको भरमा मात्र पनि किनजीवन रक्षा गर्ने औषधीहरू तरकारी खरिद गरे जस्तो गरि खरिद गर्छ? हामी किन यति सोझो भएको?

एलोपैथिक औषधीको कुरा गर्ने हो भने, गंभिर रोग निको पार्ने कुनै एक औषधी, प्रयोगशालामा वर्षौको परिक्षण पछि, त्यो परिक्षण सफल भए पछि मात्र, त्यो औषधी मान्छेमा प्रयोग हुन्छ अनि मात्र बजारमा उपभोगका लागि आउँछ। यसरी प्रयोगशालामा त्यो औषधीको आविष्कार गर्दा त्यस किसिमको औषधी सर्वप्रथम मुसा, बाँदर, भेंडा आदि जस्ता जनावारहरूमा प्रयोग गरिन्छ। त्यो औषधीका विभिन्न असर र परिणामहरू मुल्यांकन वर्षौं गरिन्छ। अर्थात एउटा कुनै एलोपैथिक औषधीको विकास हुन वर्षौ लागेको हुन्छ। ठूला ठूला वैज्ञानिकहरू एक खास किसिमको एलोपैथिक औषधीको विकासमा वर्षौदेखि लागेका हुन्छन। एउटा कुनै औषधीको विकास गर्न एउटा वैज्ञानिकले प्रयोगशालामा वर्षौ विताएको हुन्छ। क्यान्सर रोग निको पार्ने एलोपैथिक मेडिसिनको विकासमा अहिले संसारभरिकै अनेक वैज्ञानिकहरू लागेका छन। यो रोग निको पार्ने औषधीको विकास गर्न अनेक उन्नत प्रयोगशालाहरूमा विभिन्न परिक्षणहरू भइरहेका छन। तर पनि अहिलेसम्म क्यान्सर रोग निको पार्ने औषधीको विकास हुन सकेको छैन। केवल यसको असरलाई कम पार्ने एवं क्यान्सरको बिरामीको आयु लम्ब्याउने औषधीको विकास भएको छ। तर भविष्यमा यो रोग निको पार्ने औषधी अवश्य आउला, जसरी पेन्सिलिन आयो।

जिउ एवं टाउको दु:खेको, खोंकी लागेको, ज्वरो लागेको जस्ता सामान्य रोक निको पार्न आयुर्वेदिक औषधी खरिद गर्नु उपयुक्त हुन सक्छ तर गंभिर प्रकृतिका रोगहरू निको पार्न आयुर्वेदिक औषधी खरिद गर्नु उचित हो? डाक्टरको सल्लाह बिना गंभिर प्रकृतिका रोगहरू निको पार्न औषधी खरिद गर्नु के ज्यान जोखिममा पार्नु होइन? अर्कोतिर, आयुर्वेदिक औषधीले लामो समय पछि असर देखाउँछ भन्ने गरिन्छ। कुनै गंभिर प्रकृतिको रोग निको पार्न आयुर्वेदिक औषधीको सेवन गरेर त्यसको असर हेर्न लामो समय कुर्दा, र यदि त्यो औषधीमा भनिएको विशेषता नभएर, त्यो औषधीले काम नगरेर, कुनै बिरामीको ज्यान गएमा त्यस्तो घटनाको जिम्मेवारी कसले लिने? जिम्मेवारी कसैले त बोक्नु नै पर्छ। कि पर्दैन?
विकसित मुकुकहरूमा औषधीलाई दुई भागमा विभाजित गरिएको हुन्छ र सोही अनुसार तिनको बिक्री, बितरण गरिन्छ। पहिलो श्रेणीमा भने सामान्य औषधीहरू पर्दछन् जुन सामान्य स्वास्थ्य समस्या (टाउको दु:ख्नु, रूघा लाग्नु आदि) सामाधान गर्ने प्रकृतिका हुन्छन्। यी औषधीहरूलाई ओभर-द-काउन्टर (Over-the-Counter) मेडिसिन भन्ने गरिन्छ। यी औषधीहरू डाक्टरको प्रेसक्रिप्सन बिना नै बिक्री गर्न पाइन्छ। उपभोगकर्ताले पनि यी औषधीहरू खरिद गर्नका लागि डाक्टरसँग स्वास्थ्य परिक्षण गराउनु पर्दैन वा डाक्टरद्वारा प्रसक्रिप्सन लिनु पर्दन।

दोस्रो श्रेणीमा खास औषधीहरू, गंभिर रोग निको पार्ने औषधीहरू पर्दछन जसलाई प्रेस्क्रिप्सन (Prescription) मेडिसिन भन्ने गरिन्छ। प्रेस्क्रिप्सन मेडिसिन बिक्रि गर्न बिक्रेताले सम्बन्धित निकायबाट कानूनी अधिकार वा आदेश पाएको हुनु पर्दछ। प्रेस्क्रिप्सन मेडिसिनको उपभोगकर्ताले पनि यो मेडिसिन आफूखुसी खरिद गर्न पाउँदैन। यो मेडिसिन खरिद गर्न उपभोक्ता वा बिरामीले डाक्टरको अनुमति पत्र (prescription) अनिवार्य रूपमा औषधी बिक्रेतासमक्ष प्रस्तुत गर्नु पर्छ। बिरामीको जे जस्तो अवस्था भएता पनि प्रस्क्रिप्सन मेडिसिन किन्नका लागि बिरामीले डाक्टरको प्रेस्क्रिप्सन औषधी बिक्रेतासमक्ष अनिवार्य रूपमा पेश गर्नु नै पर्दछ। या त अस्पतालतिर लाग्नु पर्दछ।

नेपालमा त, सर्वप्रथम, एलोपैथिक (आधुनिक) औषधी बिक्री गर्नका लागि त औषधी बिक्रेताहरूले डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य रूपले माग्ने चलन वा बाध्यता छैन। गंभिर रोग निको पार्ने औषधीहरू डाक्टरको निगरानी एवं प्रेस्क्रिप्सन बिना नै बिक्री बितरण हुन्छन। यस्तो अवस्थामा आयुर्वेदिक औषधीहरू डाक्टर (वा कानूनी मान्यता प्राप्त वैद्य) को प्रेस्क्रिपसन बिना नै बिक्री हुनु कुनै गंभिर कुरा नै भएन। तर जनताको जीवनसँग सरोकार राख्ने यी औषधीहरू र खास गरी आयुर्वेदिक औषधीहरू अनियन्त्रित किसिमले बिक्री हुनु जनताको जीवन र साधन (पैसा) सँग खेलवाड गर्नु होइन?

नेपाल, भारत जस्ता विकासशील मुलुकहरूमा मुलधारका औषधीहरू (Allopathic medicines) का साथै अन्य अनेक सहायक औषधीहरू होमियोपैथी, युनानी, आयुर्वेदिक, चान्सी, कविराज वा वैदको नुक्सा, जडिबुटी, सडक-औषधी (सडकमा कराएर वा जादु देखाएर बिक्री गर्ने) आदि आदि बिक्री हुने गर्दछ। रोग लागेको बेलामा बिरामीलाई अनेक किसिका कुराहरू खान सल्लाह दिने पनि उत्तिकै हुन्छन। धामी, झांक्रीको प्रचलन त यो आधुनिक युगमा पनि हटेको छैन।

तर विकसित मुलुकहरूमा केवल मुलधारका औषधीहरू मात्र बिक्री भएको देख्न सकिन्छ। सहायक औषधीहरूको प्रचलन हराएको छ। औषधीको बिक्रीमा सरकारले कडा निगरानी र नियन्त्रण राखेको हुन्छ।

नौ नौ महिनामा सरकार फेरिने स्थिति रहेको र सरकारले कहिले पनि स्थिरताको स्थिति पाउन नसकेको यो स्थितिमा औषधीहरूको बिक्री वितरणमा निगरानी हुनु पर्ने विषयले कहिले महत्व पाउने हो? तर यो विषयलाई वेवास्ता गर्न भने मिल्दैन। आयुर्वेदिक कहलिएका औषधीहरूको विश्वसनीयता एवं प्रभावकारिताको परिक्षण हुन आवश्यक छ। केही ज्ञानी ध्यानीहरूले भनेको भरमा आयुर्वेदिक औषधीहरू “रामवाण” हुन सक्तैनन्। कि हुन्छन?

----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.