आर्थिक विकासमा पुनर्जागरणको महत्व | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

आर्थिक विकासमा पुनर्जागरणको महत्व




   Bishwa Raj Adhikari - Apr 10 2017

युरोपको आर्थिक विकासमा पुनर्जागरण (Renaissance) ले महत्वपूर्ण भूमिका खेल्यो। यो युगमा युरोपेलीहरूका पुराना विश्वासहरू, जुन मानवता भन्दा धर्मान्धतामा आधारित थिए, आधुनिक लोक कल्याणकारी सोंचहरूबाट विस्थापित हुने क्रम सुरु भयो। कुनै पनि कुरामा आँखा चिम्लेर वा ऐश्वरीय शक्ति भन्दै विश्वास गर्नु भन्दा व्यक्तिहरूले तर्क गर्न थाले र तर्क गरेर मात्र कुनै पनि घटनाको कारण र परीणाम थाहा पाउने अभ्यास गरे। जस्तै भूइँचालो आउनुलाई ईश्वर-क्रोधको कारण मान्नुको साटो त्यसलाई प्रकृतिको एक नियमित कार्यको परिणाम मान्न थाले।

युरोपेली जीवनमा पुनर्जागरणको सर्वाधिक महत्वपूर्ण प्रभाव के कुरामा परेको थियो भने यो युगमा युरोपेली समाजले प्रवेश गरेपछि व्यक्तिहरूले आर्थिक र सामाजिक विकासको आधार इश्वरको कृपा नभएर व्यक्तिको आफ्नै कार्य गर्ने इच्छा शक्ति र कड परिश्रम हो भनी विश्वास गर्न थाले। अर्थात व्यक्तिहरू भाग्यवादी हुन छाडेर कर्मवादी हुन थाले। समाजबाट धर्मान्धता विस्तारै हटन थाल्यो। व्यक्ति र परिवार सुखी हुनु इश्वरको कृपा नभएर व्यक्तिहरूका आफ्नै क्रियाकलाप र निर्णयहरू हुन भन्ने विश्वास समाजमा बढेर गयो। समाजको समुचित विकासका लागि कट्टर धर्मवादी होइन मानववादी हुनु पर्छ भन्ने सोंचहरूले समाजलाई निर्देशित गर्न थाले। समाजको आर्थिक जीवनमा पादरी र चर्चहरूको प्रभाव विस्तारै घटन थाल्यो। विज्ञान, साहित्य, अर्थ व्यवस्थामा रहेका पुरातन र अमानविय सोंचहरू आधुनिक एवं मानविय सोंचहरूबाट विस्थापित हुन थाले। मानव-कल्याण उपयोगी नया वस्तुहरू आविष्कार भए। प्रोटागोरस वा पाइथागोरस (c. 490 – c 420 BC) को भनाइ ‘सारा विपत्तिका कारणहरू मानव क्रियाकलापहरू हुन’ ले समाजमा गहिरो प्रभाव पार्यो। मानिसको जीनवलाई इश्वर वा अदृश्य शक्तिले नियन्त्रित गर्दछ भन्ने तत्कालिक सामाजिक विश्वास क्रमिक रूपमा हट्न थाल्यो। मानिस कर्मवादी भए। अदृश्य शक्तिको चमत्कार होइन आफ्नै नया नया रचनात्मक सोंच एवं कडा परिश्रममा व्यक्तिहरूले विश्वास गर्न थाले। कृषिको विकासले तिब्र गति लियो।

पुनर्जागरण भनेको के हो?
पुनर्जागरणलाई पुनर्जन्म पनि भन्ने गरिन्छ। यो एउटा युग पनि हो। यो युगमा युरोपमा वौद्धिक जागरण आएकोले यसलाई पुनर्जागरण पनि भन्ने गरिन्छ। मुख्यगरी, १४ देखि १७ औ सप्ताब्धिको अवधिले पुनर्जागरणको समयलाई समेटेको पाइन्छ। पुनर्जागरणले आफ्नो आधिक प्रभाव त्यसबेलाका विभिन्न सहर र राज्यहरूमा फैलिएको प्रायद्वीप र हालको इटलीमा पारेको थियो। पुनर्जागरणको सुत्रपात पनि यही प्रायद्वीपबाट भएको थियो। पुनर्जागरण १४ औ सप्ताब्धिमा फ्लोरेन्सबाट सुरू भएको थियो भनी मान्ने हरू पनि धेरै छन। पुनर्जागरणले पुरातन सोंचरुपि वृक्षलाई ढल्ने गरि नै हल्लाइ दियो। अदृश्य शक्तिमाथि रहेको भ्रम टुट्यो र व्यक्तिहरू धर्मान्धताको घेराबाट बाहिर आउन थाले।

पुनर्जागरण भन्दा पहिलेको समयमा, युरोपभरि शिक्षा माथि धर्मको प्रभाव अति नै बढी थियो। शिक्षाको रुपमा धर्मका कट्टर नियमहरू विद्यार्थीहरूलाई पढाउने गरिन्थ्यो। शिक्षाको मुख्य आधार क्याथोलिक चर्चहरूमा दिइने अनेक ज्ञानहरू थिए। यी ज्ञानहरूले व्यक्तिहरूलाई कर्मवादी होइन, भाग्यवादी बनाउँथे, रूढीवादी बनाउँथे। विज्ञानका नियमहरू माथि होइन, अदृश्य शक्तिमाथी विश्वास गर्न वाध्य पार्थे। क्याथोलिक शिक्षाको विरोध गर्ने, नया किसिमकबाट सोंच्ने, विभिन्न घटनाहरूका बारेमा अनेक किसिमले वैज्ञानिक तर्क गर्नेहरूलाई धार्मिक मान्यता भन्दा बाहिर गयो भन्दै दण्डित गर्ने, शारीरिक यातना दिने तथा आगोमा जलाइ प्राण दण्ड दिने पनि गरिन्थ्यो। समाजमा पादरीहरूको ठूलो बोलबाला थियो। उनीहरूका आज्ञाहरू द्वारा समाज निर्देशित र परिचालित हुन्थ्यो। तर पुनर्जागरणको युगको प्रारम्भसँगै युरोपेली नागरिकहरूमा नया चेतनाको सुत्रपात भयो। मानववादी ज्ञानको प्रचार प्रसार एवं प्रयोग हुन थाल्यो। नया नया आविष्कारहरू हुन थाले भने व्यक्तिहरूले प्रचलित अनेक तत्कालिन रुढिवादी विश्वासहरूको विरोध गर्ने छुट पाए। समाजलाई क्याथोलिक चर्चका शिक्षाले होइन आधुनिक शिक्षाले आकर्षित गर्यो। र सर्वाधिक ठूलो कुरा, समाजबाट कट्टर धर्मको प्रभाव वा धर्मान्धता क्रमिक रूपमा समाप्त हुन थाल्यो र वैज्ञानिक शिक्षाप्रति नागरिकहरूको लगाब अति नै बढ्यो। प्रकृतिका क्रियाकलापहरूलाई धर्मिक विश्वासका साथ होइन वैज्ञानिक एवं तार्किक दृष्टिकोणबाट परिभाषित गर्न थालियो। निष्कर्षमा, पुनर्जागरणले व्यक्तिहरूलाई भाग्यवादी होइन, कर्मवादी हुन सिकायो। चमत्कार होइन, प्राकृतिक नियमहरूमा विश्वास गर्न सिकायो। परिश्रम गर्न सिकायो। पुनर्जागरणको जगमा माथि नै बेलायतमा ओधोगिक क्रान्ति भयो। र त्यो ओधोगिक क्रान्तिको असर संसारभर फैलियो। औधोगिक क्रान्तिले देशहरूलाई मात्र धनी पारेन, नागरिकहरूलाई पनि धनी पार्यो। उनीहरूको जीवनलाई आर्थिक रूपमा सरल पनि पार्यो। औधोगिक क्रान्तिको बढी फाइदा भने युरोपका देशहरूले लिए। तर पछिल्लो समयमा भने, पुनर्जागरणको जगमा माथि उभिएको औधोगिक क्रान्तिको सर्वाधिक आर्थिक फाइदा भने सं रा अमेरिकाले लियो।

यसरी युरोपमा आएको पुनर्जागरणले त्यहाँ आर्थिक, सामाजिक र समग्रमा वौद्धिक विकासको वातावरण श्रृजना गरि दियो। र पुनर्जागरणले ज्ञानको बलियो जग तयार पार दिएकोले त्यस जगमा उभिएर युरोपेली नागरिकहरूलाई तिब्र गतिमा आर्थिक विकास गर्न सजिलो भयो। दोस्रो विश्व युद्ध भन्दा पहिले युरोपका केही मुलुकहरू तत्कालिन अमेरिका भन्दा पनि धनी थिए। यसरी, पुनर्जागरणको युगले युरोपेलीहरूलाई ज्ञान र धन दुबै आर्जन गर्ने सजिलो पारिदियो। युरोपेलीहरू अन्य महादेशका नागरिकहरू भन्दा धनी र सुखी भए।

दक्षिण एशियामा भने पुनर्जागरण हुन नै पाएन। यो कारणले पनि यो क्षेत्रमा ज्ञानलाई अन्धविश्वासले थिचेको हो। ज्ञानलाई अन्ध विश्वासले बलियो गरि थिचेको हुनाले नै नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान जस्त भारतीय उप महाद्विपका देशहरू आर्थिक विकासको मामिलामा निकै पछाडि पर्न गएका हुन।

अफगानिस्तानको तालीवानी समाज त झन ज्ञानको क्षेत्रमा यति पछाडि छ कि छोरीलाई शिक्षा प्रदान गर्नु, बाल बालिकाहरूलाई पोलियो थोपा खुवाउनु, स्त्रीहरूलाई पुरुष सरह अधिकार दिनुलाई ठूलो अराध मान्दछ। यस्तै स्थिति पाकिस्तानमा पनि छ। वालिकाहरूलाई पनि शिक्षा दिनु पर्छ भनी अभियान चलाउने मलाला युसुफ जयीलाई पाकिस्तानी तालिबानहरूले उनको सो कार्य अपराधिक कार्य हो भन्दै गोली ठोकेर प्राण दण्ड दिन खोजे। नेपाल र भारतमा धर्मान्धता तुलनात्मक रूपमा केही कम भएता पनि धर्मान्धताले आर्थिक विकासको बाटो अवरुध्द पार्न भने छोडेको छैन।

आम अफगानीहरू भन्दा आम नेपालीहरूको चेतनाको स्तर उच्च रहेता पनि नेपालले आर्थिक विकासको गतिलाई तिब्र पार्न सकेको छैन। कारण नेपालमा अझै पनि परम्परागत एवं पुरातन सोंचको पर्खाल बलियो छ र सामान्य नागरिकहरूलाई त्यो पर्खाल भत्क्याएर बाहिर आउन गार्हो परिरहेको छ। नेपाली समाज अहिले पनि अनेक जात जातिमा विभाजित छ। अन्धविश्वासले नेपाली समाजलाई सजिलै उठ्न नदिने गरी थिचेको छ। दाइजो, तिलक, सामाजिक वर्ग, वलीप्रथा, झारफुक, वाल विवाह, छुइ वा छाउडी जस्ता प्रतिकूल सामाजिक संस्कारहरूले नेपाली समाजलाई आर्थिक प्रगति गर्न दिइरहेको छैन। सबै भन्दा ठूलो प्रतिकूल कुरा त नेपाली समाज अत्यधिक मात्रामा भाग्यवादी छ। अन्धविश्वास गर्ने हरूको संख्यामा पनि ठूलो छ।

एक प्राणी (मन्दिरमा रांगा, बोका आदि) को हत्या गरेर आफ्नो भाग्य सप्रिने छ, दु:ख हट्ने छ, सुख आउने छ, भनी विश्वास गर्नेहरूको संख्या नेपालमा अहिले पनि बाक्लो छ। व्यक्तिहरू आफ्ना कर्म (परिश्रम) द्वारा सुखी र खुसी हुने होइन, भाग्यद्वारा सुखी र खुसी हुने भनी विश्वास गर्ने नेपालीहरू लाखौंमा छन्। अहिले पनि हामी परिश्रम भन्दा पनि चमत्कारमा र भाग्यमा विश्वास गर्छौ। र मन्दिर मन्दिर धाउँछौ यस विश्वासका साथमा कि आउने समयमा कुनै चमत्कार होला र मेरो आर्थिक अवस्था राम्रो होला। धर्ममा आस्था राख्नु, भगवान् प्रति श्रद्धा हुनु असल कुरा हो। तर भगवान् लाइ चमत्कारी मानेर, भगवान् बाट हरदम केही पाउने अपेक्षा गर्नु, भगवान् लाई केवल दिने कुनै भरपर्दो स्रोत ठान्नु गलत हो। भगवान् बाट लिने होइन, भगवान् लाई हामीले हाम्रो श्रद्धा र भक्ति अर्पण गर्ने हो। भगवानसँग माग्ने होइन। माग्ने त आफ्नै परिश्रम र बौद्धिकताबाट हो।

र अर्को विडम्बना! हामी ज्ञानको कम धनको पूजा आराधना अधिक गर्छौ। ज्ञानको पूजा वर्षमा केवल एक दिन स्कूलमा गएर सरस्वती देवीको पूजा गरेर पूजा समाप्त पार्छौ भने धनीकी देवी लक्ष्मीको पूजा प्रत्येक दिन त गर्छौ नै लक्ष्मी पूजा को दिन त धनको पूजा लामो समय लगाएर पूर्ण भक्तिभावका साथ यस उद्देश्यबाट लोभिएर गर्छौ कि लक्ष्मी देवीको कृपाले धनी भइन्छ कि! धनप्रति हामी हरपल लालायित रहन्छ। र यो लालसाले नै हामीलाई समाजमा केवल धनीहरूको मात्र ठूलो इज्जत रहेको हुन्छ भनी विश्वास गर्न निर्दैशित गर्छ। इश्वरको पूजा गरेर, कुनै चमत्कार होला भन्ने विश्वास गरेर, हामी जति यत्न धनी हुन वा धन आर्जनाका लागि खर्च गर्छौ त्येतिकै यत्न कुनै नया विचारको विकास गर्नमा, नया वस्तु वा व्यापारको सृजना गर्नमा खर्च गर्ने हो भने देशमा अनेका किसिमका व्यापार एवं रोजगारीका औसरहरूको श्रृजना हुने थियो। समाजले यस्तो गरिबीबाट उन्मुक्ति पाउँथ्यो। अहिले पनि दुई छाक मात्र पनि ढुक्कसँग खाने पाउने स्थिति आम नेपालीहरुमा छैन। कम डरलाग्दो गरिबी हो यो?

त्यसबेलाको माले अहिलेको एमालेले नेपालमा पुनर्जागरण ल्याउन खोजेको त थियो तर पछि यस संगठनका नेताहरूको दृष्टि कुर्सीमा मात्र केन्द्रित हुन पुगेकोले पुनर्जागरणले गति लिन सकेन। २०५२ सालमा संघर्ष प्रारम्भ गरेको माओवादीहरूले पनि पुनर्जागरण ल्याउन खोजेको थिए तर उनीहरूका क्रियाकलाप लोक कल्याण भन्दा पनि यातना, हिंसा, हत्या, बदलामा केन्द्रित भएको र उनीहरूको संघर्षको अन्तिम उद्देश्य सत्ता र शक्ति प्राप्ति रहेको र उनीहरूले ती दुबै कुराहरू प्राप्त गरे पछि उनीहरुद्वारा सञ्चालित पुनर्जागरण नेपाली समाजमा केवल एक भ्रम मात्र हुन पुग्यो।

नेपालमा आर्थिक विकासको गतिलाई तिब्र पार्न पुनर्जागरणमाथि जोड दिन आवश्यक छ। नेपाली समाजले तिब्र गतिमा आर्थिक विकास गर्न जात, जाति, भाग्य, पहिचान, क्षेत्रीयता, सामाजिक वर्ग आदि जस्ता अनेक घेराहरू तोडेर बाहिर आउन आवश्यक छ। नेपाली समाजमा पुरातन होइन, आधुनिक सोंच आउन आवश्क छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.