आर्थिक समृद्धि र हाम्रो परम्परागत सोच | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

आर्थिक समृद्धि र हाम्रो परम्परागत सोच




   Bishwa Raj Adhikari - Jul 10 2018

आर्थिक विकासको सम्बन्ध रुपियाँ पैसासँग हुन्छ भन्ने हाम्रो सोच पूर्णतया परम्परागत हो। यो सोचले नै हामीलाई गरिबीबाट बाहिर आउन दिइरहेको छैन। साधन र स्रोतको पर्याप्तता भएर पनि हामी गरिब छौ। दक्षिण एसिया साधन र स्रोतको लागि निकै धनी क्षेत्र हो। दक्षिण एसियामा कृषिको लागि अनुकूल मौसम छ। यहाँको भूमि पनि उर्वर छ। दक्षिण एसियामा प्राकृतिक स्रोत (नदी, पहाड, खानी, जङ्गल, ढुङ्गा) पनि पर्याप्त मात्रमा छ। तर पनि यहाँ गरिबी छ। युरोप र खासगरी पश्चिमी युरोपमा साधन र स्रोतको कमी भए तापनि त्यहाँ समृद्धि छ। दक्षिण एसियाको तुलनामा युरोप निकै धनी छ। किन होला?

उत्तर सजिलो छ। उत्तरका लागि गहिरिएर सोच्नु पनि पर्दैन। दक्षिण एसिया र खासगरी नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तानमा आर्थिक विकाससम्बन्धी ज्ञानको अति नै अभाव छ। ज्ञानको विकास, व्यवस्थापन र उपयोग, यी तीनै पक्षमा, यी राष्ट्रहरू निकै पछाडि छन्। र सबैभन्दा दयनीय स्थिति त अफगानिस्तानको छ। अफगानिस्तान यस्तो राष्ट्र हो, जहाँ महिला स्वतन्त्रता र महिला शिक्षाको विरोध हुन्छ। बालिकाहरूलाई स्कूल पठाउन तालिबानीहरूले दिंदैनन्, जानेमाथि साङ्घातिक हमला गर्छन्। पोलियो थोपा एवं औषधी खोवाउनु तालिबानीहरूको लागि धर्मविरोधी कार्य हुन आउँछ। अफगानिस्तानजस्तो विकास विरोधी क्रियाकलाप त अफ्रिकाको ज्यादै पिछिडिएको राष्ट्रमा पनि हुँदैन।

अफगानिस्तान जतिको धर्मान्धता संसारको अर्को कुनै राष्ट्रमा मुश्किलले देखिएला। अफगानिस्तानको स्थिति हेर्दा त लाग्छ, राष्ट्रको रूपमा सङ्गठित रहन यो देशले अझै सयौं वर्ष सङ्घर्ष गर्नुपर्छ । वा राष्ट्रको रूपमा यो देशको स्थिति रहला त’ भन्ने पश्न सदा अनुत्तरित रहलाजस्तो लाग्छ। अफगानिस्तानमा करोडौं डलर, पौण्ड, युरो खन्याए पनि त्यहाँ रातोरात आर्थिक विकास सम्भव छैन। रूसले करोडौं रूबल खन्यायो। विकास हुन सकेन। फर्केर गयो। अमेरिकाले अहिले पनि खर्च गरिरहेको छ। हो यसै कारणले भन्नु पर्ने हुन्छ र प्रमाणित हुन आउँछ पनि, आर्थिक विकासको सम्बन्ध रुपियाँ पैसासँग छैन। आर्थिक विकासको सम्बन्ध ज्ञानसँग छ, चेतनासँग छ। परम्परा र संस्कृतिसँग छ।

कुरा नेपाल र भारतको सन्दर्भमा केन्द्रित गरौं। यो क्षेत्रमा देखिएको गरिबीको कारण खोजौं। नेपाल र भारत, दुवै देशको सामाजिक विकासको इतिहास हेर्ने हो भने यी दुवै देशका नागरिक राजसंस्थामा हजारौं वर्ष बाँचेको जीवित इतिहास छ। भारत, जुन अहिले एक सङ्गठित राष्ट्र (भारत) को रूपमा देखिन्छ, पहिले (अङ्ग्रेजहरूको आगमन पहिले र पछि पनि) विभिन्न राष्ट्रहरूमा विभक्त थियो। यस क्षेत्रमा अनेकौ राष्ट्र थिए। अङ्ग्रेजहरूले यी सबै राष्ट्रलाई जोडेर एकीकरण नगरेको भए अहिले भारतभित्र अनेक राष्ट्रहरू हुन्थे।

यसरी भारतका नागरिक हजारौं वर्ष राजतन्त्रमा बाँचे। नेपालीहरू पनि हजारौ वर्ष राजतन्त्रमा बाँचे। यो कारणले गर्दा दुवै देशका नागरिकहरूको मनबाट देश राजाको हो र हामीले राजाको लागि काम गर्नुपर्छ भन्ने मनोविज्ञानले डेरा सार्न सकेन। हरेक क्षेत्रका नागरिकले आफ्नो क्षेत्रको विकासमा केवल राजाको भूमिका देखे। आफनो भूमिका शून्य माने। भारत सन् १९४७ मा स्वतन्त्र भयो। भारतबाट राजा (अङ्ग्रेज) को भूमिका सदाको लगि समाप्त भयो। नेपालमा २०६३ सालमा राजतन्त्रले बिदा लियो। देशको लागि निर्णयकर्ता र विकासकर्ता सामान्य नेपाली नागरिक भए। तर ‘राजाको काम कहिले जाला घाम’ बाट न भारतीय मानसिकता बाहिर आउन सक्यो, न नेपाली मानसिकता नै।

राजतन्त्रले बिदा लिएको एक दशक भन्दा बढी भइसक्दा पनि हामी नेपालीहरू विकासको लागि जिम्मेवार केवल राजा (अहिलेको स्थितिमा सरकार) लाई देख्छौं । आफ्नो भूमिका शून्य मान्छौं। यहाँसम्म कि देश सङ्घीयतामा गइसकेको स्थितिमा पनि हामी विकासको लागि जिम्मेवार केवल केन्द्र वा प्रदेश सरकारलाई देख्छौं। तर यथार्थ के हो भने कुनै पनि क्षेत्र वा स्थानको विकासको लागि पहिलो जिम्मेवार पक्ष भनेको त्यो क्षेत्रको जनता हो, त्यो क्षेत्रको बासिन्दा हो। त्यो क्षेत्रको विकासको लागि आम्दानी सृजना गर्ने काम पनि त्यो क्षेत्रको जनताको नै हो। केन्द्र वा प्रदेश सरकार केवल एक सहजकर्ता वा समन्वयकर्ता मात्र हो। हुन पनि प्रत्येक क्षेत्रले आफ्नो क्षेत्रको आर्थिक विकासको लागि आफैंले आय सृजना गर्नुपर्छ र यथार्थमा आय सृजना गर्ने काम स्वयं नागरिकको हो। सरकारले कसरी आय सृजना गर्न सक्छ? सरकार स्वयं पनि आयको लागि देशवासीमा निर्भर रहने गर्दछ। देशका नागरिक जति बढी धनी भए, जति बढी कर तिरे, सरकार पनि सोही अनुसार धनी हुने हो। सरकार (केन्द्र वा प्रदेश) ले पनि सोही अनुसार निर्माण तथा विकासमा खर्च गर्ने हो। कि होइन?

तर विकाससम्बन्धी धारणाप्रति हामी यति बढी परम्परावादी छौं कि आफ्नो टोलको ढल फुटेर बस्ती दुर्गन्धित भएको छ, नालाको राम्रो व्यवस्थापन नभएर टोल डुबानमा परेको छ, बाटो मिचेको कारण सडक साँघुरो भएर एम्बुलेन्स वा दमकल बस्तीभित्र पस्ने स्थिति छैन, भने त्यसको चित्र खिचेर ‘फेसबूक’ मा राख्छौ र प्रश्न पनि गर्छौ, ‘कता गयो सरकार? लाज लाग्दैन? सरकार नामको केही चीज छ?’ खासमा लाज सरकार होइन हामीलाई लाग्नुपर्ने हो, अब। किनभने अब, अहिले हाम्रो लागि हामीले नै कानून बनाउने मौका पाएका छौं। आफ्नो क्षेत्रको विकास गर्ने जिम्वेवारी स्वयंले पाएका छौं। यो नयाँ परिस्थितिमा त अब हामी स्वयंले सोच्नुपर्ने हो, हाम्रो टोलभित्र कसरी विपत्तिको समयमा दमकल वा एम्बुलेन्स पस्न सक्छ, हाम्रो टोललाई बाढीबाट कसरी जोगाउन सक्छौ र टोललाई बेलाबेलामा दुर्गन्धित हुनबाट कसरी जोगाउन सकिन्छ भनेर। होइन र?

सन्दर्भ परिवर्तन गरौ। अमेरिकामा कहिले पनि राजतन्त्र रहेन। देशको मालिक वा निर्णयकर्ता अमेरिकी जनता नै थियो। आफ्नो क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक विकासका लागि त्यस क्षेत्रका नागरिकले नै सोचे। केन्द्र वा राज्य सरकारको मुख ताकेनन्, विकास स्वयंले गरे। परिणाम प्रत्येक राज्यमा विकासका प्रमाणहरू देखिन्छन्। प्रत्येक राज्यमा सन्तुलित किसिमले विकास भएको छ। त्यति मात्र होइन, प्रत्येक शहर र सानो भन्दा सानो गाउँमा पनि विकास पुगेको छ। हरेक सानो गाउँमा पनि बिजुली, खानेपानी, इन्टरनेट, विद्यालय, राजमार्ग, स्वास्थ्य, सडक, प्रशासन, रोजगार सुविधा छ। यो कारणले गर्दा अमेरिकामा गाउँ र ठूलो शहरबीच, भौतिक सुविधाको हिसाबले, ठूलो अन्तर छैन। यसरी आज अमेरिका संसारको नै सर्वाधिक धनी राष्ट्र हुन पुगेको छ। अमेरिकालाई सर्वाधिक धनी राष्ट्र अमेरिकी नागरिकले बनाएका हुन्। विकासका लागि अमेरिकीहरूले सरकारको मुख ताकेर बसेनन्। प्रत्येक क्षेत्रका नागरिकले आफ्नो क्षेत्रको विकासको लागि स्वयंलाई जिम्मेवार माने। विकास गरे। ‘राजाको काम कहिले जाला घाम’ कहिले पनि भनेनन्। बरु आफ्नो क्षेत्रको विकासमा दत्तचित्तले लागे।

अमेरिकी सन्दर्भलाई जोडौं। नेपाली र भारतीय आर्थिक विकास चिन्तनको चर्चा गरौं। हामी आफूलाई विकासको लागि जिम्मेवार मान्दैनौं। विकासप्रति आफ्नो भूमिका निरपेक्ष देखेर, शून्य मानेर केवल सरकारलाई दोषी मान्छौं । सरकारलाई गाली गर्छौ। नेताहरूलाई सराप्छौं। आफ्नो घरको सिमाना बढाएर सडक साँघुरो पार्छौं। अव्यवस्थित किसिमले घर निर्माण गरेर टोलमा बाढी पस्ने स्थिति सृजना गर्छौं। अनेक किसिमको राजनीति गरेर आफ्नो टोलमा भएका उद्योग व्यापार फस्टाउन दिंदैनौं। सडकपेटीमा सामान राख्छौं, नियम मिच्छौं अनि यस्ता क्रियाकलापहरू गरेर विकास भएन भनेर उफ्रिन्छौ, कराउँछौं प्रत्येक क्षेत्रको आर्थिक विकासको लागि पहिलो जिम्मेवार पक्ष भनेको त्यस क्षेत्रको जनता हो। त्यस क्षेत्रको आर्थिक विकासका लागि आय (करको माध्यमबाट) सृजना गर्ने कार्य त्यस क्षेत्रको जनताको नै हो। आफ्नो क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक विकासको लागि त्यस क्षेत्रको जनता स्वयंले नै सोंच्नुपर्छ। केन्द्रको मुख ताकेर हुँदैन। यस किसिमको सोचको विकास र प्रयोग नभएसम्म आर्थिक विकास सम्भव छैन।

हामीले यो कुरा बलियोगरी मनन गर्नु आवश्यक छ कि आर्थिक विकासको सम्बन्ध हाम्रो चेतना, ज्ञान र वौद्धिक स्तरसँग छ। आर्थिक विकासको सम्बन्ध रुपियाँ, पैसासँग हुँदैन। ज्ञान र चेतनाले नै रुपियाँ पैसाको सृजना गर्ने हो। आर्थिक विकासको लागि रुपियाँ पैसा केवल एक माध्यम मात्र हो। यो माध्यम सृजना मानव मस्तिष्कले नै गर्ने हो।

हामी दक्षिण एसियालीहरूले हजारौ वर्ष गङ्गा नदी (अन्य नदीहरू पनि) मा स्नान गर्यौं। त्यसको किनारमा कपडा सुकायौं। गङ्गा माताभनेर घनघोर पूजापाठ पनि गर्यौं। तर गङ्गा माताले बिजुली पनि दिन सक्छिन् भनेर कहिले सोचेनौं। उल्टो गङ्गालाई फोहर पार्र्यौं। युरोपियनहरूले नदीबाट जल विद्युत् उत्पादन गरेपछि मात्र हाम्रो ज्ञानको ढोका खुल्यो। हामीले पनि नदीका पानीमा बिजुली देख्न थाल्यौं।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.