राई उपर किटानी बयान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

राई उपर किटानी बयान




   इन्दिरा प्रसाई - Jun 06 2018

हाम्रा सामु सदावहार मुस्कान पस्किने राईसरका मौन ओठहरू समेतको अन्ततः २०७५ साल जेठ १३ गते पशुपति आर्यघाटको चितामा मैले पनि अन्तिम दर्शन गरेँ ।



यो संसारमा मानिसै मानिस छन् । जताततै मानिसको भीड देखिन्छ । तर आफूलाई मनभित्रैबाट माया गर्ने, भलो चिताउने मानिस पाउन भने पूर्वजन्मको तपस्याकै फल चाहिने रहेछ । यसै परिप्रेक्ष्यमा राई सर अर्थात् गणेशबहादुर राई मेरा हितैषी र मलाई धुमधामै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्न पाउँदा म आत्मगौरवी हुने गर्छु ।

मैले राई सरलाई जति पटक भेटेँ त्यति पटक नै उहाँको सुमधुर मुस्कान सजिएको उज्ज्वल मुहार मेरा सामु हुन्थ्यो ।

अङ्ग्रेजी भाषा र नेपाली भाषामा बराबरी दखल भएका राई सरका कृति उहाँका सुक्ष्म परिचायक मात्र हुन् । मलाई लाग्छ, ती कृतिका महत्ता आफ्नै ठाउँमा छ तर ती कृतिभित्र खामिएको विद्वता वा संवेदनाभन्दा पनि अधिक विद्वता र संवेदनशीलता राईसरमा छताछुल्ल पाइन्थ्यो ।

नेपाली धरालाई धुमधामै माया गर्ने र शिक्षाको क्षेत्रलाई सम्मानित गर्ने व्यक्तिको नाउँ पनि गणेशबहादुर राई नै हो ।

हाम्रो देशका लागि नमूना व्यक्ति पनि हो राई सर !

जातजाति, भाषाभाषी अथवा लिङ्गभेदमा विश्वास नगर्ने व्यक्तिको नाउँ पनि हो गणेशबहादुर राई ।

अनि मानवतावाद र राष्ट्रवादका ज्वलन्त उदाहरण हो राई सर !

आज भन्दा पचहत्तर वर्षअघि आफ्नो युवा अवस्थाको सम्पूर्ण उर्जा नेपालको पूर्वी पहाड ताप्लेजुङमा खर्चिनु चानचुने कुरा थिएन । विकास र निर्माणको त्यस कालरात्रिका बेला ताप्लेजुङ जिल्लाको दुर्गम गाउँ हाङपाङमा राई सरले शिक्षाको ज्योति बाल्ने अठोट गर्नु नै ठूलो कुरा थियो । तर उहाँले त अठोटलाई कार्यमै परिणत गरेर आठराई नै झल्मल्याउनु भयो ।

राई सर हाङपाङ पुगेपछि त्यहाँ साहित्य, कला र सङ्गीत पनि झाङ्गिएको रहेछ । उहाँकै कारण थपिएर टाढाटाढाबाट पनि हाङपाङमा पढ्न विद्यार्थी आउन थालेका रहेछन् । वास्तवमा त्यसबेला रात दुई गुना र दिन चार गुना हाङपाङ प्रसिद्धिको शिखरमा आरोहण गर्न थालेको रहेछ ।

हाङपाङको मुहार तेजश्वी पार्ने राई सरलाई हाङपाङले पुरस्कार दिनु पर्ने थियो । हाङपाङले उहाँलाई उहाँले बोक्नै नसक्ने फूलको माला लगाई दिनु पर्ने थियो । अनि हाङपाङले उहाँको ऋणको भारी आफ्नो थाप्लोमा राख्नु पर्ने थियो ।

तर हाङपाङका केही जनले राई सरलाई अपमान गरे, रूवाए र अनेक झेल, झाल र षड्यन्त्र गरेर हाङपाङ छाड्न बाध्य गराए ।

आफ्नो उर्जावान २० वर्ष खामेर मन, वचन र कर्म रोप्ने राई सरलाई उहाँको अति प्यारो हाङपाङ छोड्न वाध्य बनाइएपछि उहाँ अमिलो थुक निल्दै पत्नी र लालाबाला बोकेर रातोरात ताप्लेजुङको डाँडामा पुग्नुभयो ।

राई सरको माया हाङपाङमा नै थियो तर उहाँ फर्केर त्यहाँ जाने अवस्था पनि रहेन । उहाँले जहाँ आफ्नो जीवन रोप्नु भएको थियो त्यहीं नै उहाँको जरा धोइपखाली गरियो । तर पनि उहाँले भनिरहनु भयो- "मेरो हाङपाङ नै पृथ्वीको स्वर्ग थियो । मेरो भौतिक चोला जहाँ भए पनि मेरो मन त्यही हाङपाङमा नै जरा गाडेर बसेको छ ।"

त्यस बेला राई सरको शैक्षिक ज्योतिले उज्जिलिनेहरू अहिले नेपाल भित्रमात्रै होइन संसारभरि नै उच्च ओहदाधारी, सम्पन्न र सुललित भएर छरिएका पाइन्छन् ।

भारतको रमणीय देहरादुन शहरमा अध्ययन गरेका राई सरले आफूलाई दुर्गमको कष्ठसाध्य जीवनमा होमेर आठराईलाई धपक्क बाल्नु भएको थियो ।

यस्ता महामना राई सर मेरा अर्धाङ्ग नरेन्द्रराज प्रसाईका अति प्रिय र आदर्श गुरू बाबु भएकै कारण जोडिनाले नै म पनि राईसरको ओजका छिटाहरू पाउन सफल भएकी हुँ । अर्को कुरा मैले जीवनमा धेरै शिक्षक पनि देखेँ, शिष्य पनि देखेँ । म आफैँ शिक्षक भएकाले मेरा पनि शिष्य भए तर राई सर र नरेन्द्रबीचको जस्तो पितापुत्रतुल्य भूतो न भविष्यति सम्बन्ध भने मैले देख्न वा अनुभूत गर्न पनि पाएकी छैन ।

मेरा प्रातः स्मरणीय जैविक पिताको नाउँ गणेश हुनु र राई सरको अग्रनाउँ पनि गणेश नै हुँदाको तालमेलले पनि मलाई राई सरसँग केही थप आकर्षण भए झैँ पनि लाग्छ मलाई ।

नश्वर देह विसर्जन भइसकेका गणेश सरलाई यस बेला म आफूभित्र खोज्ने क्रममा छु । यस प्रक्रियामा मलाई गणेशबहादुर राईसरको "जिन्दगीदेखि जिन्दगीसम्म" कवितासङ्ग्रहको लोकार्पणको सन्दर्भ सम्झनामा आइरहेछ ।

"मेरो कार्यक्रम इन्दिरा नानीले नै चलाउनु पर्छ है !" नइ गृहमा राई सरले किताप मेरा हातमा थमाउँदै भन्नु भएको थियो । त्यस बेला मैले रमाउँदै गर्वको अनुभूति प्रकट गरेकी थिएँ ।

हामीसँगको भेटघाटपछि राई सर उहाँका एकजना पुराना अनन्य मित्रलाई पनि समारोहको निम्तो दिन उनका घरमा पुग्नु भएछ । ती मित्रले कार्यक्रमको नालिबेली सोधेपछि राईसरले पनि सबै बेहोरा जानकारी गराउनु भएछ । राई सरका ती हितैषी मित्रले मेरो नाउँ कार्यक्रमबाट नहटाए उक्त समारोहमा उपस्थित हुन नसक्ने अड्डी लिनु भएछ ।

"इन्दिरा प्रसाईबाटै कार्यक्रम सञ्चालन गर्ने मेरो दृढ निश्चय हो, समारोहमा उपस्थित हुने नहुने मित्रको विचार ह‍ो" भनेर राईसर त्यहाँबाट विदा हुनु भएछ ।

कृति लोकार्पण कार्यक्रम सकिएपछि राई सर र उहाँकी पत्नी (विद्या भाउजू) बाट हामीले यस घटनाबारे पूर्ण जानकारी पाएका थियौँ ।

"ओहो ! मेरा लागि राई सरले आफ्नो त्यति पुरानो मित्रताको पनि वास्ता गर्नु भएनछ ।"

म राई सरप्रति थप अनुगृहित हुने मेरा लागि त्यो विशेष घटना थियो ।

फेरि पछि राई सरको अङ्ग्रेजी पुस्तकको लोकार्पण कार्यक्रम सञ्चालनको अभिभारा पनि उहाँले मलाई नै दिनु भएको थियो ।

तर सो कार्यक्रमकै दिन अति जरूरी कामले गर्दा अचानक म विराटनगर जानु परेकाले त्यस बेला मैले मेरी बहिनी नमिता सिंह अर्थात् हाल Maa Priyambada Nath Shrimali लाई सो कार्यक्रम सञ्चालनको जिम्मा लगाएकी थिएँ ।

विरामी परेर नथलिउञ्जेल विद्या भाउजुका साथमा राई सर हामीले आयोजना गर्ने कार्यक्रम र नइ गृहमा समेत बराबर आउने गर्नु हुन्थ्यो । हामी नइ पनि उहाँका हरेक डेराहरूमा पुगेर सर र विद्या भाउजूका आत्मीय आतिथ्यमा रमाउँदै विद्या भाउजूका पौरख समेत झोलाभरि बोकेर घर फर्किन्थ्यौँ ।

हामी काठमाडौँमा हुँदा हरेक दसैँमा राई सर र विद्या भाउजूका हात हाम्रा निधारमा पुगेकै हुन्थे ।

राई सरको निजी घर भएपछि हामी नइ हाम्रो अनुकूलतामा भक्तपुरस्थित राईगृह पुग्ने गर्थ्यौँ । दिनदिनै जसो राईसरको हालत खराब अझ खराब हुँदै गएको देख्थ्यौँ । तर जति नै अशक्त अवस्था हुँदा पनि मैले उहाँको अनुहारको ओजमा कहिल्यै कमी देखिन ।

हाम्रा सामु सदावहार मुस्कान पस्किने राईसरका मौन ओठहरू समेतको अन्ततः २०७५ साल जेठ १३ गते पशुपति आर्यघाटको चितामा मैले पनि अन्तिम दर्शन गरेँ ।

मैले जहिले पनि एक तपस्वीका रूपमै राई सरलाई देख्दै आएकी थिएँ । त्यस घडी पनि उहाँ देहत्यागको घोर तपस्यामा लीन भएर निर्वाण प्राप्त ऋषिकै स्वरूपमा मैले उहाँलाई महसुस गरेँ ।

संसारमा हरेक दिन हरेक पल मानिसहरूको मृत्यु त भइरहेकै हुन्छ । जन्मपछि मृत्यु सामान्य घटना पनि हो । हाम्रो मोहमायाका कारण मात्र मृत्युको घटनालाई विशेष बनाएर हामी बढी पिरोलिन्छौँ । खासमा आफ्नो शिरमा हात राखिदिने, आफूलाई विशेष माया गर्ने अभिभावकको कमी हुँदा मनभित्रै एकतमासको रिक्तताबोध भने हुने रहेछ । राई सरको निर्वाणपछि मैले त्यस्तै अनुभूत गरेँ ।

राई सरको स्मृतिको सेरोफेरोमा विद्या भाउजूलाई छुटाउने हो भने मेरो भावनाले पूर्णता पाउने छैन ।

विद्या भाउजुलाई राई सरका लागि अर्धाङ्गिनी थोरै र धेरै मातृत्वधारिणी नै मान्नु पर्ने हुन्छ । राई सरका हरेक सङ्घर्षमा उज्यालो अनुहारले साथ दिने विद्या भाउजू राई सरको जीवनकी उर्जादात्री हुनुहुन्थ्यो ।

राई सरको जीवनलाई धेरजसो तुवाँलोले नै ढाके पनि त्यस भित्र विद्या भाउजूको उज्ज्यालो आकाश राई सरका लागि हरहमेशा तयार रहन्थ्यो ।

चार जैविक सन्तान अशोक, आलोक, अमोध र एलिजाका पिता गणेशबहादुर राईका विद्यार्थी रूपी मानस सन्तान हज्जारौँका सङ्ख्यामा छरिएर रहेका छन् ।

आफ्ना कृति लगायत मानस र जैविक सन्तानभित्र सदा मुस्कुराउने राई सर युगयुगसम्म अमर हुने किटानी बयान दिन मलाई मन लागेको छ ।

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका अध्यक्ष इन्दिरा प्रसाई कथाकार, कवि तथा साहित्यका विभिन्न विधामा क्रियाशील हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.