२०७५ का चाडवाड, तिथि मिति, दिन विशेष सहितको विस्तृत जानकारी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२०७५ का चाडवाड, तिथि मिति, दिन विशेष सहितको विस्तृत जानकारी




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Apr 12 2018

मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।


विक्रम संवत २०७५ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४० ईस्वीय सन् २०१८-२०१९ र नेपाल संवत ११३८-११३९, विरोधकृत नामको संवत्सर रहेको यस वर्षमा राजा सूर्य र मन्त्री शनि रहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझावअनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य तिथिमितिहरू जस्तै औंशी, पूर्णिमा, एकादशी तथा अन्य चाडपर्व, मेला, उत्सव आदिको निर्णयलाई आधार मान्दै २०७५ सालभित्र अधिकमास सहित जम्मा १३ वटा औंसी, १२ वटा पूर्णिमा, २४ वटा एकादशी र एउटा खग्रास चन्द्रग्रहण रहेको छ । हाम्रा तमाम प्रयोगकर्ताहरूको जानकारीकालागि प्रस्तुत छः मुख्य तिथि-मिति एवंम् चाडपर्वहरूको संक्षिप्त जानकारी ।

वैशाख (मातातिर्थ औँशी | अक्षय तृतीया | लोकतन्त्र दिवस | बुद्ध जयन्ती | अन्तर्राष्ट्रिय श्रमिक दिवस)
२०७५ साल वैशाख १ गते शनिबारबाट प्रारम्भ हुन्छ ३ गते सोमवार मातातिर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन रहेको छ । ५ गते सातु-सर्वत खाने दिन अर्थात् अक्षत तृतीया परेको छ । ११ गते लोकतन्त्र दिवस हो भने १३ गते मोहिनी एकादशी रहेको छ । १७ गते बैशाख शुक्ल चण्डिपुर्णिमा अर्थात् २५६२ गौतमबुद्ध जयन्ती हो । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस १८ गते परेको छ । जेष्ठ कृष्णपक्षको अपरा एकादशी २८ गते रहेको छ ।

जेठ (गणतन्त्र दिवस | शनि जयन्ती | मत्स्यनारायण उत्सव समाप्ति)
यसवर्ष जेठ महिनामा अधिकमास रहेको छ, अर्थात् जेठ महिनामा दुइवटा औँशी परेको छ । जेठ १ गते संक्रान्तिका दिन शुद्ध जेष्ठ कृष्णपक्षको आमावास्या तथा शनि जयन्ति परेको छ । अधिक जेष्ठ शुक्लपक्षको पद्मिनी एकादशी ११ गते रहेको छ । १५ गते गणतन्त्र दिवसका दिन अधिक जेष्ठशुक्ल पूर्णिमा परेको छ । अधिक जेष्ठ कृष्णपक्षको परमा एकादशी २७ गते रहेको छ । अधिकमास समाप्ति अर्थात् अधिक ज्येष्ठ कृष्णपक्षको औँसी तथा अधिकमास विशेष मत्स्यनारायण उत्सवको समाप्ति ३० गते परेको छ ।

असार (निर्जला एकादशी | दही चिउरा खाने/राष्ट्रिय धान दिवस | भानु जयन्ती)
असार संक्रान्ति शुक्रवारबाट प्रारम्भ हुँदै १० गते तुलसीको दल राख्ने दिन अर्थात् निर्जलाएकादशी व्रतको दिन परेको छ । १४ गते शुद्ध जेष्ठशुक्ल पूर्णिमा रहेको छ । १५ गते दहीचिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस हो । २५ गते योगिनी एकादशीव्रतको दिन रहेको छ । असारकृष्ण औँसी र भानुजयन्ती २९ गते परेको छ ।

श्रावण (लुतो फाल्ने दिन | हरिशयनी एकादशी/तुलसी रोप्ने दिन | खग्रास चन्द्र गहण | खीर खाने दिन | नाग पञ्चमी)
श्रावण महिना भगवान शिवजीको उपासना तथा आराधनाको निकै महत्व छ । चारवटा सोमवार रहेको श्रावण महिना मंगलबारबाट प्रारम्भ हुनेछ र यसै श्रावण संक्रान्तिका दिन लुतो फाल्ने दिन का नामले प्रसिद्ध छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिन श्रावण ७ गते हो र यसै दिनबाट चतुर्मासा व्रत प्रारम्भ हुन्छ । असार शुक्ल पूर्णिमाका दिन ११ गते खग्रास चन्द्रग्रहण परेको छ । १५ गते खीर खाने दिन हो । श्रावण कृष्णपक्षको कामिका एकादशी २२ गते रहेको छ । २६ गते श्रावण कृष्ण आमावास्या परेको छ भने ३१ गते नागपञ्चमी हो ।

भाद्र (जनैपूर्णिमा/रक्षाबन्धन | श्रीकृष्ण जन्माष्टमी | कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन | तीज | ऋषिपञ्चमी)
भाद्र संक्रान्ति शुक्रबारबाट प्रारम्भ हुँदै श्रावण शुक्लपक्षको पुत्रदाएकादशी ६ गते परेको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा तथा ऋषितर्पणी रक्षाबन्धन १० गते रहेकोछ । १७ गते श्रीकृष्ण जन्माष्टमी हो भने भाद्र कृष्णपक्षको अजा एकादशी २१ गते परेको छ । कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन २४ गते हो । २७ गते महिलाहरूको महान चाड हरितालिका तीज, २८ गते गणेश चतुर्थी र २९ गते ऋषिपञ्चमी हो ।

आश्विन (विश्वकर्मा पूजा | संविधान दिवस | हरिवरिवर्तनी एकादशी | इन्द्रजात्रा | जितीया | बडा दशैं प्रारम्भ)
आश्विन संक्रान्ति सोमबारका दिन विश्वकर्मा पूजा तथा वास्तु दिवस हो । ३ गते ऐतिहासिक संविधान दिवस हो भने ४ गते भाद्रशुक्ल हरिपरिवर्तनी एकादशी रहेको छ । ७ गते अनन्त चतुर्दशी, ८ गते इन्द्रजात्रा तथा भाद्र शुक्ल पूर्णिमा व्रतको दिन हो । ९ गतेबाट सोह्र श्राद्ध प्रारम्भ हुँदै १६ गते जीवत्पुत्रिका/ जितीया पर्व रहेको छ । आश्विन कृष्ण पितृपक्षको इन्दिरा एकादशी १९ गते हो । २२ गते पितृ विसर्जन हो भने २३ गते आश्विन कृष्ण आमावस्या रहेको छ । २४ गतेबाट घटस्थापना तथा दुर्गापूजा विशेष नवरात्र आरम्भ हुनेछ । ३० गते फूलपाती भित्र्याउने दिन हो भने ३१ गते महाअष्टमी तथा कालरात्रि रहेको छ ।

कार्तिक (विजयादशमी | तिहार/यमपञ्चक | नेपाल सम्वत्)
कार्तिक संक्रान्ति बिहीबारका दिन दशैंको महानवमी हो । २ गते विजयादशमी तथा नवरात्रको दुर्गापूजा विसर्जन गरी जमरा तथा टीकाप्रसाद ग्रहण गर्ने दिन हो । ३ गते आश्विन शुक्लको पापाङ्कुशा एकादशी रहेकोछ । आश्विन शुक्लपक्षको कोजाग्रत पूर्णिमा ७ गते रहेको छ । करवाचौथ ११ गते परेको छ भने कार्तिक कृष्णपक्षको रमा एकादशी १७ गते रहेको छ । १९ गते कागतिह़ार तथा यमपञ्चक प्रारम्भ हुनेछ । २० गते कुकुरतिहार तिहार तथा नरक चतुर्दशी रहेको छ । २१ गते गाई तिहारे औंशी सुखरात्रि अर्थात् लक्ष्मीपूजा तथा दीपावली रहेको छ । २२ गते गोबर्धनपूजा हो यसै दिनबाट नेपाल सम्वत् ११३९ प्रारम्भ हुनेछ भने २३ गते भातृद्वितीय अर्थात् भाइटीका हो । २७ गते डालापूजा तथा छठपर्व रहेको छ ।

मंसिर (हरिबोधिनी एकादशी/तुलसी विवाह | बालाचतुर्दशी | विवाह पञ्चमी)
मार्ग शीर्षसंक्रान्ति शनिबारबाट प्रारम्भ हुनेछ, यसैदिन सत्य युग प्रारम्भ भएको दिन तथा कुष्माण्ड नवमी हो । ३ गते कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी तथा तुलसी विवाह का साथै नयाँ अन्न लागि खाने दिन रहेको छ ।

कार्तिकशुक्ल पूर्णिमा अर्थात् चतुर्मासा व्रत तथा कार्तिक स्नान समाप्ति ७ गते रहेको छ । मार्गशीर्ष कृष्णपक्षको उत्पत्तिका एकादशी १७ गते रहेको छ भने २० गते शतबीज छर्ने दिन अर्थात् बालाचतुर्दशी हो । २१ गते मार्गशीर्ष कृष्णपक्षको आमावस्या रहेको छ भने सीताराम विवाहपञ्चमी २६ गते परेको छ ।

पौष (धान्यपूर्णिमा/उधाैली पर्व | इ.सं. २०१९ प्रारम्भ | पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस)
पौषसंक्रान्ति आइतवारबाट प्रारम्भ हुनेछ र ३ गते मार्गशीर्ष शुक्ल पक्षको मोक्षदाएकादशी परेको छ । मार्गशीर्ष पूर्णिमा अर्थात् धान्यपूर्णिमा तथा उधौली पर्व ७ गते रहेकोछ । वैशाख कृष्णपक्षको सफला एकादशी १७ गते हो, यसै दिनबाट इस्वी सन् २०१९ प्रारम्भ हुनेछ भने पौषकृष्ण औंसी २१ गते परेको छ र २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको छ ।

माघ (मकर संक्रान्ति/माघी | श्री स्वस्थानी व्रत प्रारम्भ | वसन्त पञ्चमी/सरस्वती पूजा)
मकरसङ्क्रान्ति अर्थात् माघ १ गते मंगलबार माघी पर्व तथा घिउ, चाकु, तिलौरा , तरुल आदि खाने दिन हो, यसै दिनबाट उत्तरायण प्रारम्भ हुन्छ । ३ गते पौष शुक्लपक्षको पुत्रदा एकादशी परेको छ । ७ गते पौष शुक्ल पूर्णिमा अर्थात् श्री स्वस्थानीव्रत तथा माघ स्नान प्रारम्भ हुनेछ । १७ गते माघ कृष्णपक्षको शट्तिला एकादशी हो भने २१ गते माघ कृष्णपक्षको औँसी तिथि हो । २७ गते वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा रहेको छ ।

फाल्गुन (प्रेम दिवस/भ्यालेनटाइन डे | श्री स्वस्थानी व्रत समापन | शिवरात्री | ग्याल्पो ल्होसार | महाशिवरात्री)
फाल्गुनसंक्रान्ति बुधबारबाट प्रारम्भ भएको छ । २ गते प्रेमदिवस परेको छ भने ४ गते माघशुक्ल भीमा एकादशी हो । ७ गते माघशुक्ल पुर्णिमाका दिन श्रीस्वस्थानी व्रत समापन तथा प्रजातन्त्र दिवस हो । फाल्गुन कृष्ण पक्षको विजया एकादशी १८ गते परेको छ । २२ गते फागुन कृष्णपक्षको औंशी परेको छ । आदिवासी, शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो लोसार २३ गते परेको छ भने २६ गते महाशिवरात्रि हो।


चैत्र (आमलकी एकादशी | फागु पूर्णिमा/होली | घोडेजात्रा | रामनवमी)
शुक्रबारबाट प्रारम्भ हुने चैत्र महिनामा ३ गते फाल्गुन शुक्ल पक्षको आमलकी एकादशी परेको छ । फागु पूर्णिमा तथा होली पहाडी भेगमा ६ गते र तराईमा ७ गते मनाइनेछ । १८ गते चैत्र कृष्ण पक्षको पापमोचनी एकादशी परेको छ । २२ गते चैत्र कृष्णपक्षको आमावास्या तथा घोडेजात्रा रहेको छ, यसैगरी ३० गते रामनवमी हुँदै यसवर्षको मुख्य तिथि-मिति सकिन्छ ।

प्रस्तुतिः ज्योतिष पण्डित नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.