आदरणीय बुवा,
नमस्कार,
खबर त त्यसको सोधिन्छ जो आफूबाट टाढा होस् -भूगोलको आधारमा । खैर, म मनको आधारमा सोध्छु, खबर कस्तो छ बुवा? साँच्चै हामी बीचको दूरी कति नै होला , बैठक कोठा देखि मेरो कोठा पाँच मिटर टाढा छ अनि मेरो कोठाबाट हजुरको कोठा बिस मिटर टाढा लगभग मानौं तीस मिटर टाढा जमिनको आधारमा तर मनको आधारमा तोलमोल लगाउने हो भने -म अमेरिकीमा छु अनि तपाईं नेपालमा। चिठीको जवाना गयो होला, अझै तपाईंलाई त मैले मुखामुख भन्न पनि सक्थेँ तर यो मनलाई कलम र कापी भन्दा अर्को माध्यम उचित लागेन जहाँ म खुलेर फैलिउँ, जहाँ म कुनै परिधिमा नरोकिउँ । म यो चिठ्ठीभरी स्वतन्त्र भई भन्न चाहन्छु, हरेक असन्तुष्टि, पीडा , खुसी र अनि मेरो जीवनको यातनाहरू।
बाबा म हस्पिटलको वार्डबाट एउटा अन्जान हातमा सुरक्षित साथ बोकिएकी थिए है। तीनवटी दिदीहरू पहिलै थिए,चौथौं सन्तान त पक्कै छोरा । "आमाले गर्भवती भएको बेला सूर्य खाएको सपना देखेको रे है", हजुरीले अस्ति कराउँदा भन्नुभएको। तपाईंलाई ज्योतिषले समेत पुत्र योगको सूचना दिएका थिए रे है। सबैबाट तपाई ढुक्क बन्नुभएको थियो ,अब स्वर्ग लैजाने बुढेसकालको लट्ठी आउँदैछ तर लक्ष्मी पूजाको दिन ६ बजे बेलुका थापाथलीको वार्डबाट लक्ष्मी नै तपाईंको हातमा परी। कस्तो दुर्भाग्य मेरी आमाको त्यत्रो प्रसव पीडा छिचोलेर जन्माएको शिशुलाई स्तनपान गराउनु अगावै, आँखाले सन्तान हेर्न अगावै लोग्नेको तिक्ततालाई पचाउनु पर्यो। त्यो नर्स आजसम्म पनि डराउँछे होला जसले तपाईंको हातमा मलाई रमाउँदै "बधाई छ छोरी जन्मियो" भनेको थिइन्। आखिर त्यसले बच्चा साटेको आरोपमा हजुरको लम्की झम्की र तिरस्कार जो पाई। मैले अबोध अवस्थामै सायद छोरी भएर जन्मिनु दुर्भाग्यलाई पचाएकी हुँदो हो-जसले आजसम्म आफ्नो बुबाको स्पर्श पाएको छैन, स्याबास नानी भनेर थपथपाहट पाएको छैन अझै भन्नु पर्दा जीवनको २४औं वसन्तको दशैँमा समेत गाली बाहेक आशीर्वाद पाएकी छैन।
बाबा म कहाँबाट यो मनभरीका तिक्ततालाई लेखु त्यहाँबाट जहाँ मैले एक वर्षको कलिलो उमेरमा सायद रुन्चे लागेर धेरै रूदा कति रुन्चेस? भन्दै कठोर चिमोटाइ भोगेको थिए। जस्को दाग अझै म हाँस्दा डिम्पल देखिएझै एकदम खुलेर देखिन्छ।सायद म एक वर्ष भएदेखि तपाईं र आमाको बीच खाट छुटिए। म बढ्दै गए अनि तपाईंको रुखोपन पनि। दिदीहरू मेरो अगाडि झुम्मिदा तपाईं जेठी दिदीलाइ अनायासै पिट्नु हुन्थ्यो। जेठी दिदीले पिटाइ खाएपछि अर्कि माइली र साईली त पक्कै भाग्थे। म विधालयकी मेधावी छात्रा थिए। सात वर्ष पुग्दा म दुई कक्षामा थिए। सबै साथीहरूले जन्मदिनको अवसरमा चक्लेट बाड्ने, केक काट्ने गर्थे। आफ्नो जन्मदिनको दिन केही हुँदैन भन्दै मैले आमालाई एक हप्ता अगाडिदेखि जिद्दी गरेको थिए। त्यही ढिपीले गर्दा खुसीको बर्थडे केक खान मेरा केही साथीहरु ( रुपा ,सिमा, वर्षा ) आएका थिए मेरो घर। चक्लेट बाड्दा मैले थाहा त के सोचेकी सम्म थिईन कि मैले बर्थडे सेलिब्रेसनमा साथीहरूकै अगाडि थप्पड खान्छु अनि ति साथीहरूले गाली खान्छन्। त्यो दिन बेलुका मेरो कलिलो दिमागमा ठूलो धक्का पर्यो। त्यसदिन मैले आमाको छातीमा नि कुनै तातो भेटिन जसले मेरो मुटुमा बगेको चिसो हावालाई सेक्न सकोस्। म रातभरि सुक्क सुक्क गरिरहे। आमा मेरो बडेमानका पाँच औंलाका डाम मुसार्दै ज्ञानी खुसी रुदिन भन्दै निदाउनु भयो। बुवा त्यसपछिका दिनहरुमा मैले तपाईंको अगाडि आउने हिम्मत समेत राखिन। बच्चाको सातो जाँदा 'कल, कल, कल... ' गर्दै सातो बोलाउनु पर्ने झै भएको थियो मलाई।
सिन्दूरलाई म के भनौ? रङ्ग मात्र भनिदिउ कि के? सिन्दुर सायद मेरी आमाको निम्ति दुख नै पो हो कि। आमा, बुबा , ठुलो दिदी( रमा) , माइली दिदी ( आशा ) , साईली दिदी (पुष्पा) अनि म सबै भन्दा दुखी ( खुसी)। हाम्रो परिवारको फोटो हिजो सफा गर्दा आमाको सन्दुसको पिंधमा एउटा पोको भित्र भेटें। यही फोटोको बाहिर आमाले बांध्ने गरेको निलो फेटामा सिन्दूर को टाटै टाटा देखें। त्यो सिन्दूरका टाटाले आमाको याद आयो । कठै मेरी आमा! सिन्दूरको मालिकले मेरी आमालाई सायद मान्छे कम ओच्छ्यानकी साथी र छोरै पाइदिने मान्छे बढी सोच्यो होला। कोख र काख खाली नहोस् भनेर मान्छे गर्भ बोक्छन् तर मेरी आमाले छोरा मात्र पाइदिनका लागि कोख बोकिन तर कांखमा बिष्णु जन्मेनन्। मेरी आमालाई लक्ष्मीहरू मात्र प्राप्त भए। आमाको त्यही फेटाले फोटो पुछें। हस्पिटलको वार्डहरुमा आमाको सातौं प्रसव पिडाका चित्कार सम्झें। मान्छे छोराकै लागि सातपल्ट सम्म गर्भ बोकाउछ। सिन्दूर के रैछ त? आखिर पीडा नै त रैछ। तर कहिलेकाहीँ ति दिनहरु सम्झन्छु जून दिन आमा टाउको भरि सिन्दूर पोतेर तिजका ब्रत बस्नुहुन्थ्यो। सातौं प्रसव पिडासंगै शिशु, आमा अनि सिन्दूर खरानी भए। आमाले सातौं प्रसव पिडासंगै सिन्दूर रङ थियो कि खुसी थियो कि के थियो आफूसँगै लिएर जानु भयो। सातौं सन्तान के थियो? यो अझै खुलासा छैन । हामीले भाई पाएको थियौं या बहिनी, आजसम्म न छिमेकी नातानातागोता न तपाईंले नै भन्नुभयो।
आमा भइन्जेल सब थियो , संसारको हुरी आए पनि मलाई अडाएर राखिदिने ओत आमा छिन् भन्ने आस्था थियो , आमासँग त्यो आस्थाको धरोहर नि कता कता भत्कियो । आमा बिनाको घर कस्तो सम्म हुन्छ भन्ने आमा नभएपछि नै बुझिँदो रहेछ।सब खल्लो लाग्न थाल्यो। आगंनको तुलसी र म एकै भयौं , त्यहीँ छौं कुनामा तर कुनैमा भएपनि आमाको जस्तो आंखा अरुले कुनामा नलगंउदा बुबा म रित्तो सोच्थें आफूलाई ति दिनहरुमा। घर त आमाबिना पनि थियो तर आमा भए जतिको कहिले पनि भएन बुवा। आमा बडेमानका कोख बोकेर पनि घरआंगन सिहार्थिन, आमाले बरू सुत्केरीमा सुसार पाइनन् होला तर हाम्रो घरको गाईबस्तुको सूतक सुसार आमाले पेटले अड्याउन नदिने गाग्रीमा पानी बोकेर ल्याएरै पनि खोलेकुडोले गरिन्। आमा गएपछि कोई अर्की आमा आंउलन कि भाईहरू जन्माउन भन्ने डर थियो तर त्यो डरको सिकार हामीलाई नबनाउनु भएकोमा धन्यवाद बुबा।
अरू कोही आमा त आएनन् तर म तपाईंको लागि खिल बिझे झैं बिझ्न कहिले छाडिन्। आमा को खड्को त्यो बेला झनै खड्कियो बुबा जब म पहिलो चोटी रजश्वला भएर कुर्ताको फेर भरि रगतको टाटा लिएर घरधन्दा गर्दा मैले सान्त्वनाको शब्दभन्दा कुलदेवताको छोइछाई गरी भन्दै कुच्चोको झटारो पाएं। मेरो मस्तिष्कमा म अब आइमाई भए मेरो जीवन पनि कहीँ कतै कसैको घरमा छोरा नजन्माएसम्म लोग्नेको प्यारो हुनसकिन्न भन्ने कु्र मानसिकताले रजश्वला बार्न सात दिनसम्म बस्दा मलाई गिजोलिरयो बुबा।
लोग्ने मान्छे किन क्रुर हुन्छन बुबा? मैले यहाँसम्म आइपुग्दा कठोरता , निष्ठूरीपन र बुबा हुँदा हुँदै पनि सुन्यता मात्र पाए। बुवाले आशा गरेको छोरा थियो , म जन्मिए यसमा मेरो कहीं कतै दोष छ कि भनेर आज २४औ वसन्तसम्म सोचे बुबा। मैले आफुलाई निर्दोष नै पाए। मैले पनि छोरी नै पाए । मामाघर आउन मेरी छोरीले रहर गरेर ल्याएकी छु। म छोरी भएर नरुचाइएकै भएपनि मेरी छोरीलाई चाहिँ म आफू छोरी भएर जन्मिनु जन्मसिद्ध लाचारता हो भन्ने मानसिकता हावी हुन नदिने अथाहा प्रयासमा छु। यसैले बुबा मलाई हार्न नदिन केही दिनकै लागि भएपनी हजुरले नातिनीलाई सुमसुम्याई दिनुहोस् , माया दिनुहोस् , आत्मियता हजुरको मनले मानेसम्म दिनुहोस् । कता कता ऊ भित्र मैले आफुलाई पाउनेछु बुबा।
उही तपाईंको छोरो हुन नसकेको छोरी
खुसी
Liked by: