के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ? | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ?




   Bishwa Raj Adhikari - Jul 17 2017

परदेशमा व्यक्ति जहाँ हुन्छ उसको साथमा उसको देश पनि हुन्छ। कुनै व्यक्ति भूगोलद्वारा निर्धारित गरिएको आफ्नो देशभित्र नभएता पनि, कारणवश अन्य विभिन्न मुलुकहरूमा पुगेता पनि, उक्त व्यक्तिसँग उसको देश पनि सँग सँगै रहेको हुन्छ। विदेशमा बसोबास गरेता पनि, उसले निरन्तर आफ्नो जन्मस्थल, आफ्नो देशलाई अटुट माया गरि रहेको हुन्छ। र विदेशमा बस्नेलाई आफ्नो देशको माया झनै बढी लाग्ने गर्दछ किनभने स्वदेशमा बस्न नपाएको पीडा उसले स्वयंले प्रत्येक पल अनुभव गरि रहेका हुन्छ। विदेशमा बस्ने कुनै व्यक्तिलाई स्वदेशको माया लाग्दैन भने त्यो अपवाद हो। विश्लेषणको पृथक विषय हो।

यो पनि हेर्नुहोस् : स्थानीय निर्वाचनको वीरगञ्जलाई बढी खाँचो छ

यसरी आफ्नो मुलुक छाडेर विभिन्न कारणहरूले गर्दा विदेशमा बसेका व्यक्तिहरूको समूहलाई डायसपोरा भन्ने चलन छ। हामी यस आलेखमा नेपाली डायसपोराको चर्चा गर्ने छौ। नेपाली डायसपोराले नेपालको आर्थिक विकासमा पुर्याउन सक्ने योगदान बारे चर्चा गर्ने छौ।

नेपाली डायस्पोरा निकै विस्तारित हुँदैछ। ज्ञान र साधन एवं स्रोतको हिसाबले पनि अन्य मुलुकको भन्दा नेपाली डायस्पोरा धेरै अगाडि छ। अहिले नेपलीहरू संरा अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, बेलायत, जापान, अष्ट्रेलिया जस्ता धनी राष्ट्रहरूमा बसोबास गरि रहेका त छन् नै, साथै अफ्रिकाका विकासशील राष्ट्रहरू नाइजेरिया, केन्या, साउथ अफ्रिका, इजिप्ट आदिमा पनि विभिन्न पेशा व्यवसाय गरेर बसेका छन्। नेपालदेखि निकै पर रहेका, दक्षिण अमेरिकाका मुलुकहरू जस्तै मेक्सिको, कोलम्बिया, ब्राजिल मा पनि केही नेपालीहरू बसोबास गर्न पुगेका छन्। साउदी अरेबिया, बहरेन, कतार, युएइ लगायत मध्यपूर्व एवं खाडीका मुलुकहरूमा ज्यादै ठूलो संख्यामा नेपालीहरूको बसोबास छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो। तथ्यांकहरूले देखाए अनुसार अहिले भारतमा १ करोड ९ लाख २५ हजार, मलेसियामा ७ लाख, बर्मामा ७ लाख, कतारमा ४ लाख, युएइमा ३ लाख २५ हजार, साउदी अरेबियामा ३ लाख १५ हजार, बेलायतमा १ लाख ३१ हजार, अष्ट्रेलियामा १ लाख २४ हजार ६००, सरा अमेरिका २ लाख ५० हजार, जापानमा ६० हजार, दक्षिण कोरियामा ५१ हजार, क्यानाडामा ३१ हजार, थाइलैण्डमा २० हजार, हङकङगमा १६ हजार, कुवेतमा १२ हजार, सिंगापुरमा ५ हजार, ओमानमा ५ हजार र जर्मनीमा ४ हजार नेपालीहरूको बसोबास रहेको देखिन्छ। यसैगरी रुस, ब्रुनाइ, बेल्जियम, निदरलैण्ड्स, स्पेन, पोर्चुगल, डेनमार्क, स्विडेन, फिनलैण्ड, स्विट्जरलैण्ड जस्ता देशहरूमा पनि नेपालीहरू छरिएर बसेका छन्। यसरी नेपालीहरू विश्वका अनेका मुलुकहरूमा पुगेका छन्। र आफ्नो आम्दानीको ठूलो हिस्सा स्वदेश (नेपाल) पठाइ रहेका छन्। आफ्नो बचत स्वदेश पठाएर मातृभूमिको आर्थिक विकासमा योगदन पुर्याउने सपना देख्ने नेपालीहरूको संख्या पनि सानो छैन।

नेपालीहरू यसरी संसारका विभिन्न मुलुकहरूमा छरिएर किन बस्न पुगे? यसबारे पनि छोटो चर्चा गरौ। केवल सानो अवधिमा कसरी यति ठूलो नेपाली डायसपोरा निर्माण भयो त्यस बारे पनि छलफल गरौ।

२०४६/४७ सालमा भएको राजनैतिक परिवर्तनले नेपालीहरूलाई राजनीतिक-अधिकार सम्पन्न त तुल्यायो तर आर्थिक समृदधि भने दिन सकेन। शक्ति, पद र स्रोत केवल केही व्यक्ति (नेता) हरूको हातमा सीमित हुन पुग्यो। सीमित व्यक्तिहरू धनी र सक्तिशाली भए। अति गरिब नेपालीहरूको आर्थिक स्तरमा सुधार आउन सकेन, उल्टो उनीहरूमा चरम निराशा देखियो। गरिबहरूमा आएको चरम निराशाको उपयोग भने माओवादीका केही बाठा नेताहरूले ठूलो चतुर्याइँपूर्वक गर्न थाले। खास गरी, युवाहरूलाई सुनौलो भविष्यको सपना देखाए, उनीहरूलाई आफ्नो महत्वाकांक्षाको भर्यांग बनाए। २०५२ देखि २०६२ साल सम्म चलेको अति हिंसापूर्ण माओवादी-संघर्षले १७ हजार नागरिकहरूको ज्यान लियो तर मुलुकको आर्थिक विकासमा त्यो संघर्षले कुनै उल्लेख्य भूमिका खेल्न सकेन। उल्टो, अत्यधिक हिंसाले भरिएको माओवादी-संघर्षले मुलुकभरि रहेका आर्थिक विकासका विभिन्न पूर्वाधारहरू ध्वंस पार्ने कार्य गर्यो। लाखौंको संख्यामा नेपालीहरूलाई विस्थापित गर्यो।

२०६३ सालमा भएको राजनीतिक परिवर्तनले माओवादीहरूलाई हिंसात्मक गतिविधिहरू परित्याग गरेर मूलधारको राजनीतिमा आउन प्रेरित गर्यो। मुलुकमा शान्ति र राजनैतिक स्थिरताको स्थिति देखा पर्यो पनि। तर त्यो स्थिरताले दीर्घ-जीवन पाउन सकेन। माओवादी-संघर्ष कालमा पहाडमा केन्द्रित रहेको अशान्ति २०६३ साल पछि तराइ वा मधेसमा स्तान्तरण भयो। जसरी माओवादीका केही बाठा नेताहरूले पहाडका थुप्रै युवाहरूलाई आफ्नो स्वार्थ-सिद्धिका लागि भर्यांग बनाए त्यसरी नै मधेशका केही बाठा नेताहरूले आफ्नो स्वार्थ-सिद्धिका लागि मधेसका युवाहरूलाई भर्यांग बनाउन थाले। परिणामत: २०६३ साल पछि मधेस अशान्त हुने क्रम शुरू भयो। मधेसका प्रमुख सहरहरू जस्तै वीरगञ्ज, गौर, मलंगवा, लालबन्दी, जनकुपुर, लहान, बिराटनगर आदिमा द्रुततर गतिमा उद्योगहरू स्थापना हुन सकेनन। कुनै समय गुलजार रहने यी सहरहरूमा आर्थिक गतिविधिहरू विपरित दिशमा दौडिन थले। रोजगारीको विस्तार हुन सकेन। बेलाबेलामा यी सहरहरू आशान्त हुन थाले। हत्या, हिंसा, बन्द, हडताल बढ्न थाले। आर्थिक विकासका पर्याप्त सम्भावनाहरू बोकेका यी सहरहरू ग्राहकबिनको पसल जस्तो भए। तराइका युवाहरूमा चरम निराशा देखिन थाल्यो।

माथि उल्लेख गरिएका कारणहरूले नपालीहरूमा घोर निराशा उत्पन्न गरायो। देशमा व्याप्त अशान्ति र त्यसबाट उत्पन्न आर्थिक मन्दी र बेरोजगारीले त्यो घोर निरासालाई झन चुलिमा पुर्यायो। त्यो घोर निराशाले बाढीको रूप धारण गरेर नेपालीहरूलाई विदेसतिर बगाउन थाल्यो। राम्रो आर्थिक हैसियत भएका तथा नेपालभित्र नै पनि कुनै पेशा वा व्यवसाय गर्न सक्नेहरू पनि घोर निराशाको बढीमा बगेर विदेश पलायन हुन थाले। मुख्य गरी, माओवादी ससश्त्र द्वन्द र मधेश आन्दोलनले लाखौं नेपाली युवाहरूलाई विदेशतिर भास्सिन वाध्य पार्यो। प्रमुख रूपमा, यी दुई कारणहरूले गर्दा नेपाली डायस्पोराले २६ वर्षको छोटो अवधिमा नै ठूलो आकार ग्रहण गर्यो।

तर कहिले काहिं नकारात्मक कुरा भित्र पनि सकारात्मक कुराहरू लुकेका हुन्छन। देशमा व्याप्त अनेक राजनैतिक समस्याहरूले गर्दा छोटो समयमा ठूलो नेपाली डायस्पोरा निर्माण भएता पनि यो नेपाली डायस्पोराको प्रयोग मुलुकको आर्थिक विकासको लागि उपयोग गर्न सकिन्छ। विदेशमा बसेर नेपालीहरूले आर्जन गरेका पूँजी एवं ज्ञानलाई देशको विकासमा सदुपयोग गर्न सकिन्छ।
यस आलेखमा, नेपालीहरूले विदेशमा बसेर गरेरका साना सान वचतहरूलाई ठूलो राष्ट्रिय पूजीको स्वरूप दिएर त्यस पूँजीलाई कसरी देशको आर्थिक विकास उपयोग गर्न सकिन्छ त्यस बारे छोटो चर्चा गर्ने प्रयास गरिने छ।

विदेशमा बसेका नेपालीहरूको बचतलाई १) राष्ट्रिय र, २) स्थानीय गरी दुई किसिमबाट उपयोग गर्न सकिन्छ।

राष्ट्रिय स्तरमा, जल विद्युत उत्पादन गृह, विमान स्थल, राष्ट्रिय-राजमार्ग आदिको निर्माणमा विदेशमा बसेका नेपालीहरूले पठाएको वचत (रेमिट्यान्स) को उपयोग गर्न सकिन्छ। यस किसिमका ठूला ठूला निर्माणहरूमा ठूलो रकमको खाँचो पर्दछ। सरकारले यस किसिमका ठूला निर्माणहरू आफैले सम्पन्न गर्न गर्न सक्छ र त्यसका लागि आवश्यक पर्ने ठूला रकमहरूको व्यवस्था विदेशमा बसेका नेपालीहरूसँग ऋण लिएर गर्न सक्छ। विदेशमा बसेका नेपालीहरूसँग ऋण लिएर त्यस किसिमका निर्माणहरू सरकार आफैले सजिलै गर्न सक्छ। यदि निजी क्षेत्रले त्यस किसिमका निर्माणहरू गरेमा र निजी क्षेत्रले त्यस किसिमका निर्माणहरू गर्न सर्व साधारणहरू सँग ऋण लिएमा, सरकार जमानी बसि दिन सक्छ। रेमिट्यान्सको उपयोग सरकारले यसरी वृहत् निर्माणका लागि गर्न सक्छ। सरकारले नै ऋण लिने वा जमानी बसि दिने भएकोले सामान्य आर्थिक अवस्था भएका विदेशमा बस्ने नेपालीहरू पनि लगानी गर्न तयार हुन्छन किनभने सरकारलाई ऋण दिंदा वा सरकार जमानी बसेको कारणले गर्दा आफ्नो वचत डुब्दैन भन्नेमा लगानीकर्ताहरू ढुक्क हुन सक्छन्। यसरी यदि सरकारले पहल गर्ने हो भने विदेशमा बसेका नेपालीहरूको बचतको उपयोग राष्ट्र निर्माणमा सजिलै हुन सक्छ। यस्तो गर्न नेता र जनता दुबै पक्षमा विकास गर्ने बलियो इच्छा शक्ति हुन आवश्यक छ।

स्थानीय स्तरमा, नगर वा गाउँ पालिका भित्र सडक, पुल, स्कुल, केलज, अस्पताल, सभाकक्ष, सार्वजनिक समारोह आदि निर्माण गर्न स्थानीय सरकारहरूले ऋण लिन सक्छन र ऋणको स्रोत विदेशमा बसेका नेपालीहरूको बचत हुन सक्छ। स्थानीय सरकारलाई आफ्नो क्षेत्र भित्र विभिन्न किसिमका निर्माणहरू गर्न र ती निर्माणहरूका लागि आवश्यक पर्ने कोष सृजना गर्ने अधिकार दिइएको हुन्छ पनि। विदेशमा बसेका नेपालीहरूले आफ्नो बसोबास रहेको गाउँ वा सहरको विकास गर्न आफ्नो बचत (रेमिट्यान्स) लगानी गर्ने तत्परता निश्चय पनि देखाउने छन्। आफ्नो गाउँ वा सहरको सबैलाई माया हुन्छ। यस्तो गर्न सकिएको खण्डमा पचहत्तरै जिल्लाका विभिन्न गाउँ एवं सहरहरूमा कोषहरू श्रृजना भएर विकास एवं निर्माणका कार्यहरू अगाडि बढ्न सक्छन। यसरी, नेपालको आर्थिक विकासमा विदेशमा बसिरहेका नेपालीहरूको बचतको उपयोग गर्न सकिन्छ। नेपाली डायस्पोराको उपयोग नेपालको आर्थिक विकासमा यसरी गर्न सकिन्छ। तर अहिलेसम्ममा विदेशमा बस्ने नेपालीहरूको वचत र ज्ञानको उपयोग हुन सकेको छैन। उनीहरूको बचत र ज्ञानको उपयोग कसरी गर्ने बारे सरकारले नीतिहरू पनि बनाउन सकेको छैन। हातमा पैसा भएर पनि गरिब हुनु जस्तो स्थिति होइन त यो?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.