साझा प्रकाशनद्वारा २०७४ सालमा प्रकाशित “चराको गीत” नामक कविता सङ्ग्रहले आफैमा एक विशेषता बोकेको छ। डायस्पोरिक अनुभूतिहरू समेत पनि समेटेको यस कृतिले निकै चर्चा पाएको छ। कविका विभिन्न मनोवेगहरू समेटेको यो कृतिले जम्मा ४२ थान कविताहरू समेटेको छ। प्रत्येक कविताले आफ्नै किसिमका मौलिकता र विशषेता बोकेको छ। भनिन्छ कवितामा कविहरूले केवल आफ्नो सोंच, भोगाइ, अनुभूति, विश्वास, प्रवृति, धारणा, मनोवेग, मनोदशा, पीडा, खुसी आदि व्यक्त गरेका हुन्छन र ती कहिले काहिं पाठकका रुचिका विषयहरू न हुन सक्छन। तर यस कृतिमा भएका कविताहरूले पाठकलाई छुन्छन, हल्लाउँछन पनि। कविताहरूले चुम्बक झै तान्छन। पाठकहरूले यस कृति भित्रका कविताहरूको अर्थ आआफ्नै किसिमले लगाउनु होला नै।
प्रस्तुत छ “चराको गीत” का कृतिकार कृसु क्षेत्रीसँग “विश्वदर्पण” का विश्वराज अधिकारीले लिएको अन्तर्वाता।
१) यस कृतिका धेरैजसो कविताहरूमा विम्बको प्रयोग निकै भएको छ। सामान्य पाठकले बुझ्न गार्हो हुने गरी विपरित भाव (metaphoric ) हरू भएका शब्दहरूको प्रयोग निकै नै भएका छन्। कविताहरू यसरी बुझ्न गार्हो भसामान्य पाठकहरूलाई बुझ्न कठिन होला जस्तो अनुभव गर्नु भएको छ?
कविता यसरी नै लेखिनु पर्छ भन्ने परम्परागत मान्यतासँग म कदापि सहमत हुन सकिनँ । विशेष गरी उत्तरआधुनिक कविता पाठकको जनजीब्रोमा जनबोलीमा र लोलीमा झुण्डिने गरिने लेखिएको पाइदैन । म आफैं पनि नेपाली साहित्यमा नवीन प्रयोग विलयन लेखन धारणाको प्रवर्तक भएकाले कविताको सैद्धान्तिक स्वरुपसँग विमति राख्दछु । मैले कवितालाई प्रयोगको उच्चत्तम विन्दूबाट सोच्ने भएकाले सोच अनुरुप नै लेख्ने गरेको हुँदा अलि दुर्बोध्य वा जटिल लागेको पनि हुन सक्छ । तर जब कवितामा अन्तरनिहित भावमा गहिरिएर पस्दा मेरा चराका गीतका सबै कविता सरल र सरस लाग्छन् भन्ने मलाई लाग्छ । साँच्चै भन्नुपर्दा यो संग्रहका कविता त मलाई अझ सरल र पाठकले सहजै अनूभूति गर्न सक्ने बोधगम्य कविताहरु चयन गरेको छु भन्ने मलाई लाग्छ ।
कविताहरूमा लक्षण र व्यञ्जना शब्दहरूको निकै प्रयोग भएका छन, किन होला?
एउटा स्रस्टालाई कुनै रचना सिर्जना हुनु भनेको प्रसवपीडामा प्राप्त सन्तुष्टिको अनुभूति गर्नु हो भन्ने मलाई लाग्छ । कविले आफूले भोगेको जीवनको परिधिभित्रै रहेर रचनाको सिर्जना गर्ने हो । आफूले भोगेका देखेका अनुभूत गरेका सामाजिक राजनैतिक आर्थिक लगायत विविध पक्षहरुका राम्रा नराम्रा सुखदुःख उकाली ओराली आरोह अवरोहलाई कलात्मक ढंगले सर्जकले प्रस्तुत गर्दछ तर त्यसरी प्रस्तुत हुँदा समाचार वाचन गरे जस्तो वा पाठशालामा पढाएजस्तो गरी कविता लेखिदैंनन् । लाक्षणिकरुपमा र अभिव्यञ्जनाका साथ प्रस्तुत गर्दा त्यसले कविताको गरिमा पनि अझ बढाउँछ भन्ने मेरो विश्वास छ । सायद यही विश्वासमा अडिएर नै मैले मेरा कविताहरुमा बढी नै लक्षणा र व्यञ्जनाको प्रयोग गरेको छु ।
प्रथम प्रश्नको पूरक प्रश्नको रूपमा यो प्रश्न सोध्नु पर्ने देखिन्छ। कविता कस्तो लेखिनु पर्छ? सबैले सजिलै बुझ्ने वा केवल साहित्यिक वा जानकार व्यक्तिहरूले मात्र बुझ्ने किसिमको?
विश्व सर हजुरलाई एउटा कुरा भनौं । हजुर आफैं पनि साहित्यकार भएकोले मैले यो भन्ने प्रयास गरेको पनि हो । संसारमा सबैभन्दा बढी बुझिनु पर्ने र लागू हुनु पर्ने बजेट त स्रोताले बुझ्दैनन् । घन्टौं बाचन गरिएको बजेटमा गृहिणीले पकाउँदै गरेको नुन भुटुनको दरभाउ, दाल चामलको रकम घटबढ भएका हुन्छन् । त्यस्तै सौन्दर्य प्रसाधन तथा मादक पदार्थका कर सबै हुन्छन् चुरोट खाँदै गरेका लक्ष्मीप्रसादको हातमा चुरोटको मूल्य बढिसकेको हुन्छ तर कसैलाई पत्तै हुँदैन । बजेट त बुझिदैंन भने लक्षणा, अभिव्यञ्जना र प्रयोग गरिएको कविता सबैले बुझ्नै पर्ने भन्ने छ र । कविता हुदय पक्षभन्दा मस्तिष्क पक्षबाट बढी लेखिन्छ भन्ने म ठान्दछु । विम्ब र प्रतीकको प्रयोगमा कविताले दिने अर्थ सबैका लागि बोधगम्य नहुन पनि सक्छ ।
“आङ साङ सुकीलाई एउटा पत्र” कवितामा सुकीलाई स्वतन्त्रताको प्रतीकको रूपमा तपाइँले प्रस्तुत गर्नु भएको छ । म्यानमार (बर्मा) मा बर्षौंदेखि बसिरहेका रोहिंगहरूमाथि क्रूर दमन हुँदा चुप लागेर बस्ने सुकी स्वतन्त्रताको प्रतीक हुन त?
मेरो आंग सांग सुकी माथि लेखिएको कविता उनलाई स्वतन्त्रताको प्रतीक बनाएर नै लेखेको हुँ । सन् २०१० सालमा उनी आफ्नो निवासमा नजरबन्द भएको बेला म र मेरी अर्धांगिनी रीताले भेट गर्दाको समयमा सुकी विश्वकै प्रजातन्त्रवादीहरुको आशा र भरोशाको केन्द्रविन्दू थिइन । उनलाई विम्ब बनाएर स्वतन्त्रताका लडाईंहरु धेरै लडिए । बर्माको कठोर सैन्य शासनका विरुद्ध संघर्ष गरेर दुई दशक नजरबन्द भोगेकी सुकीलाई नजरबन्दमै भेट्दा मलाई गर्वको अनुभूति भएको थियो । उनकै कारण संसारको क्रुरतम शासन समाप्त भएको त ध्रुवसत्य नै हो । हो यहाँले उठाउनु भएको पक्ष पनि सत्य हो । आज प्रजातान्त्रिक मुलुक बर्मामा रोहिंग्यामाथि दमन भइराखेको छ र विश्वकै प्रजातन्त्रवादी नेतृले मौनता साँधेर बस्नु सर्वथा अनुपयुक्त मान्दछु म पनि । मानवीय दमनका विरुद्ध हरदम कदम चाल्ने भएर नै कृसुको यो संग्रह उन्मुक्त चराहरुको गीतको रुपमा आएको छ । र लेखक कुनै कुरामा जडवत रहिरहन्छ भन्ने मान्यता म राख्दिनँ । हिंजो स्वतन्त्राकी प्रतीक सुकी आज परिवर्तित स्वरुपमा उभिएको पनि हुन सक्छिन तर उक्त कविता लेखिंदाको समय र सन्दर्भ भने आज जस्तो थिएन पक्कै पनि ।
“दुबसु क्षेत्री” कवितामा तपाइँले आफ्नै परिवारको सदस्य (दाजु) माथि कविता लेख्नु भएको छ। किन होला?
विश्वसर हजुरलाई पनि वा अन्य पाठकलाई पनि म यो प्रस्ट पार्न चाहान्छु मैले दुबसु क्षेत्री कविता मेरो दाजु भएर लेखेको हैन । मेरो गाउँ मेरो समाज मेरो देश र म पात्रलाई दिएको योगदान, लगानी र पथप्रदर्शनलाई लिएर लेखेको हुँ । निश्चय पनि दुबसु क्षेत्री मेरो दाजुकै रुपमा पहिलो पहिचान हो तर त्यतिमात्र सम्झने हो भने वहाँले भाषा साहित्य संस्कृति शिक्षा कूटनीति प्रशासन लगायत समग्र राष्टलाई लगाएको योगदान छायाँमा पर्न जान्छ । मैले त दुबसुलाई यो कवितामा कृष्ण, प्रमीथस र सिद्धार्थ भने पनि दुबसु कृष्णमा सिद्धार्थमा प्रमीथसमा खोज्न प्रयास गर्दैछु । त्यो विराटता त्यो विहंगम स्वरुपलाई औंल्याउन मात्र खोजेको विशद चर्चा त गर्नै सकेकै छुइँन मैले ।
“मेरो देशको नक्सा” कविता पढे पछि एउटा प्रश्न स्वर्स्फुत रूपमा जागृत हुन आउँछ। त्यो के भने कविता कविले आफ्नो सन्तुष्टिको लागि लेख्ने हो वा तत्कालिन समाजलाई कुनै खास सन्देश दिनका लागि लेख्ने हो?
कविले कविता लेख्ने त आफ्नो सन्तुष्टिकै लागि हो पहिलो त । आत्मसन्तुष्टिका लागि लेखिएका उसका सिर्जनाले समाजलाई खास सन्देश दिन पनि सक्छ नदिन पनि सक्छ । मैले अघि पनि भनें कविले समाजलाई डोराइरहने हैन । समाजका विविध पक्षहरुलाई उजागर मात्र गर्ने हो । कविलाई सन्देशमुलक लेख्नु परो भनेर लेख्यो भने त्यो सिर्जना सीमा बाँधिएको र प्रायोजित हुन्छ । सीमाहीनता र निर्बन्धता कविताको नवीन स्वरुप हो भन्ने मलाई लाग्छ । मेरो देशको नक्सा पनि मैले मेरो छोराको नक्सा बनाउने रहरमा केन्द्रित भएर आफ्नो मुलुकको दुर्नियतिलाई प्रकाश पार्न खोजेको हुँ ।
कुनै पनि कविको कृतिको अर्थ पाठकले आफ्नो रुचि, परिवेस, सामाजिक संरचना, शिक्षा, पूर्वाग्रह अनुसार लगाउने हो। र त्यस्तो गर्न पाठकहरू स्वतन्त्र हुन्छन पनि। सत्यको यो उज्यालोमा तपाइँको कविता “आगलागी” को बारेमा केही थप भन्न चाहनु हुन्छ?
आगलागी कविता नेपालकै राजनैतिक घटनाक्रममा केन्द्रित भएर लेखिएको छ । माओवादी जनयुद्ध, प्रत्यक्ष शाही शासन लगायतका घटनाहरुमा केन्द्रित रहेर कवितामार्फत उन्मुक्तिको अदम्य चाहना प्रस्तुत गरेको हुँ । तत्कालीन राजनैतिक घटनाक्रममले एएटा आम नागरिकमा मुक्तिको उत्कट अभिलाशा कसरी अभिव्यक्त गर्ने भन्ने सोच अनुरुप यो कविता लेखिएको हो । आगलागी हुन नदिनू है अलिअलि सल्कन थालेको आगलागीमा नरमाउनू है कोही पनि जब आगलागी हुन्छ त्यसको विनाशलीलाबाट कोही बच्न सक्दैनौ भनेर सावधान गरिएको हो यो कविता ।
“एउटा युगपुरुष” कवितामा पाठक चुम्बकीय किसिममा कवितासँगै टाँस्सिएर आउँछ तर अन्तिममा आएर उसलाई त्यो आकर्षण झ्वाट्ट छुटेझै लाग्छ। यी केही पङ्कति पाठकलाई विपरित जस्तो लाग्छ: “तर कसैले भेट्न नसकेको एउटा युगपुरुष”। किन होला यस्तो?
विश्व सर एउटा आम मानिसको रुपमा सोच्नु त एकपटक । पचासौं वर्ष भयो हामीले युगपुरुषको खोजी गरिरहेको । असंगति, अब्यवस्था र अस्थीरताको विरुद्धमा हामी पटक पटक लडेकै छौं । कुनै बेला कसैलाई नायक बनाउछौं बनिनसक्दै खलनायकको रुपमा मखुण्डो लगाउँछ ऊ । सात साल, पन्ध्रसाल छत्तीस साल छयालीस साल, बाउन्न साल, त्रिसठ्ठी साल जस्ता अनेक कालखण्डहरु आए गए तर आम मानिसमा त्यसले कुनै तात्विक अन्तर परेन । देशले पनि दुर्नियतिमात्र भोग्नु परिरह्यो । हामीले बनाएका हामीले आफैंले समाजमा नायक चित्रित गरेका अनुहारहरु मखुण्डो लाग्दा पनि हाम्रो आशा अझ उस्तै छ । बर्षौं देखि हामी आशाको नजरले नायकको खोजीमा अझै लागि रहेका छौं भेटिएको छैन भनेर लेखेको हुँ । यस कविताले चरम निराशाका बीच आशाको संचार पनि गरेकै छ ।
“सूर्यग्रहण समापनको घोषणा” कवितामा धामी, झांक्रीको प्रशङ्ग ल्याउनु भएको छ। यसैगरी “धर्मोधर्म रक्सी लागेको छैन मलाई” मा भूतप्रेतको कुरा गर्नु भएको छ। यी त अन्धविश्वास कुराहरू भएन र?
विश्वसर हामीले बाँचेको समाज हामीले भोगेको समाज धामी झाँक्री वा भूतप्रेतबाट भिन्न छ र । आज पनि बोक्सी लागी भनेर एउटी महिला समाजको अगाडि मरणसन्न हुने गरेर पिटिएकी छे र समाज रमिता मानेर हेरिरहेको छ । हामीले लेख्ने धेरै रचनाहरु हाम्रा सामाजिक परिवेशका विम्बभन्दा कति पनि फरक हुँदैनन् । हाम्रो समाजमा सूर्यग्रहण हुँदा धामी झाँक्रीहरुले ढ्यांग्रा पिट्ने नगरा फुक्ने चलनहरु अझै पनि छ । यो हाम्रो सामाजिक परिवेशको अभिन्न अंगहरु हुन् । हामीले विश्व साहित्यमा हाम्रा कुमारी विम्बहरुलाई सकारात्मक उजागर गर्न सक्छौं नकि त्यसको खिल्ली उडाएर । भूतप्रेत डायनी लाग्दा धामी झाँक्रीहरु समाजमा कसरी अवतरित हुन्छन् र ती अबोधहरुका मनमा आशाका सञ्चार भर्न सक्छन् भन्ने तर्फ लागियो भने त अन्धविश्वासको कुरा नआउनु पर्ने हो नि हैन र ।
”पहिचानको खोजी” कविता परम्परागत रुपमा लेखिने भन्दा फरक किसिमले लेखिएको कविता जस्तो लाग्छ। आफ्नै दाजु (दुबसु) लाई पात्र बनाएर लेखिको कवितामा “याद गर दुबसु! अब तिम्रो चाँडै हत्या हुनसक्छ” भन्नु भएको छ। यस्तो लेखेर के भन्न खोज्नु भएको हो?
विश्वसर नेपाली साहित्यको लेखन परम्परामा एकदमै पृथक कविता हो यो । यस्तो प्रकृतिको कविता आजसम्म लेखिएको मलाई चाँही याद छैन । एकजना अभिभावकबाट परेको प्रत्यक्ष र परोक्ष प्रभावलाई कसरी चित्रण गर्ने भनेर लेखिएको कविता हो । र यो यथार्थ पनि हो दुबसुको प्रभाव र प्रेरणाबाट कृसु कहिल्यै पृथक हुन सक्दैन । प्रसंग पनि छ अब मैले आफ्ना् प्रेरणाको स्रोतलाई मारें भने त्यही व्यक्तिबाट चिनिन्छु भन्दै आफ्नो दाजुको विराट स्वरुप र प्रभावलाई औंल्याउन खोजेको हुँ । सामान्य पाठकलाई त दुबसु र कृसु बीच निकै ठूलो द्धन्द सिर्जना भएछ भन्ने लाग्ला तर रचना गर्भमा गहन विश्लेषण गर्ने हकको भने आफ्नो दाजुलाई एउटा पथप्रदर्शक अनि देवत्वकरण गर्न खोजिएको छ यस कवितामा ।
यस कृतिको अन्तिम कविता “……र अन्त्यमा” आफ्नै बारेमा भन्नु भएको छ। कवितामा उल्लेख गरै झै आफूलाई पाउनु हुन्छ त?
हा... हा...। यो प्रश्नको जवाफ त पाठकहरुमा पो खोज्नु उपयुक्त होला कि । मैले पो भनें त म आफू यस्तो उस्तो भन्ने । मैले सोचे जस्तो मैले भने जस्तो नहुन पनि सक्छ । तर कवि इमान्दार भएन भने उसका सिर्जना पनि इमान्दार हुन सक्दैन । कविको पहिचान उसको इमान्दारितामा हुन्छ । यस अर्थमा कविले आफ्नो परिचय दिंदा
लेखकले नै त कसरी भन्ने र । तर यथार्थको धरातलमै उभिएर दिएको हुनु पर्छ भन्ने मलाई लाग्छ ।
परम्परागत कविताहरू भन्दा “चराको गीत” मा समाबेस कविताहरू पृथक छन् भन्नेहरू धेरै छन्। त्यो पृथकता के होला?
प्रबुद्ध पाठक, विशिष्ट समालोचकहरुले मूल्यांकन गर्ने कुरा पनि हो यो । चराको गीत परम्परागत कविताहरु भन्दा निश्चय नै पनि फरक छन् । भाव शैली विचार पक्ष, विम्ब, प्रतीक, विषयगत चयन र प्रस्तुतिका आधारमा यो संग्रह फरक धारको फरक स्वरुपको फरक शैलीको हुनुपर्छ भन्ने मलाई लाग्छ ।
चराको गीत मा रहेका कविताहरू मध्ये कुनै खास कविता छ? के त्यसबारे थप चर्चा गर्न चाहनु हुन्छ?
विश्वसर यस संग्रहका बयालीसवटै कविता खास छन् । आमालाई आफ्ना कुन सन्तान खास अनि कुन सन्तान सामान्य हुन्छ र । सबै कविता पाठकले पढिदिनु पर्ने छ । पढ्ने बित्तिक्कै दुरुह दुर्बोध्य लाग्ने पनि हुन सक्छ तर पढ्दै जाँदा त्यसले पाठकको मस्ष्किमा तरंग ल्याइदिन सक्छ । भित्रसम्म स्पर्श गरेर आफैंलाई एकाकार गर्न सक्छन् । अन्त्यमा, कविता पठनको प्रबृत्ति बढाउनु परेको छ । साहित्यको सबैभन्दा प्राचीन र सशक्त विधा कवितामाथि प्रचार र व्यापारिक प्रयोजनका कारण उपन्यास वा अन्य विधाको ठूलो छायाँ पर्न थालेको छ । यसलाई जोगाएर लैजान पाठकहरुले कविता पढ्ने बानीलाई बसाल्नु परेको छ । कविताको चर्चा गर्ने कवितालाई जीवनका अंगीकार गर्ने प्रबृत्तिको सुधार हुनु परेको छ ।
Liked by: