नर्सिगं टेबलमा लुकाई लुकाई बाहिरवाट मगाएको बासी चना र समोसा खाएर बिदेशी स्तरका अस्पताल भनाँउदाहरुमा सेवागर्ने स्वदेशी नर्सहरु छन् ।
म एउटी नर्स हुँ र केयर गर्दछु ।
म स्वास्थको सुरक्षा गर्दछु, राम्रो बानी अवलम्बन गर्न पैरवी गर्दछु, सिकाँउदछु, उत्प्रेरित गर्दछु र हरेक दिन केही न केही अनि कोही न कोहीको जिवनमा परिवर्तन ल्याउने प्रयास गर्दछु । मेरो यो नर्स क्यारियरका सिपहरु नर्स ट्यूटर हरु बाट जागृत भएको हो । यि बिरामी र सेवाग्राही बिना म नर्स हुन र कहलाउन सक्दिन, यस अर्थमा म तपाँइहरु सबैजनालाई घेट्न अनि सेवा गर्न पाएकोमा अत्यन्त गर्व गर्दछु । म तिनका लागि मुस्कानको कारण बन्न सक्दछु जसलाई बास्तवमै मुस्कानको खाचो छ, आशाको खाचो छ । बिरामीको जिवनलाई एउटा डाक्टरले भन्दा कैयन गुणा बढि मैले छुन सकेकी छु, एउटी नर्सले छुन सक्दछे भन्ने मलाई लाग्दछ ।
कत्तिको जिवनको पहिलो श्वाँसको साक्षी बनेकी छु भने कत्तिको अन्तिम श्वाँसको प्रवाह मैले यिनै आँखा र हातले चाल पाएकी छु । कुनै पनि अस्पताल, स्वास्थ सस्था या हेरचाहकेन्द्रको मुटु भनेकै हामी नर्स हौं, कामका साथै कागजी झन्झट या अन्य प्रक्रिया पनि हाम्रा लागि उत्तिकै महत्व राख्दछ जुन तपाँईहरुले देख्नुहुन्न् । कहिले हामी आँफै शक्ति, उर्जा, निन्द्रा, आराम र पैसोको अभावमा पर्दछौं तर बिश्वास गनुहोस्, हामीले गर्ने सेवामा कुनै कमी हुन दिँदैनौं । म आज म लगात सम्पूर्ण अन्य नर्सहरु सहित राष्ट्रिय नर्सिग दिवस मनाउन जाँदैछु, आ आफ्ना ठाँउ अनि तप्का बाट ।
कति मान्छेहरु सामान्य शारीरीक अफ्ठेरोको जाँच गराउन अस्पताल आँउदा ठूला रोगहरु देखापर्दछन् । एकफेर त्यस्तै भयो, एकजना यूवकलाई एक्कासी सामान्य जाँचकै क्रममा ब्रेन क्यान्सर देखापर्यो ।यस्ता धेरै बिरामीहरु संग जिवनको त्यस ओरालीमा प्रथम पटक बसेर सम्झाउने पनि म जस्तै नर्सहरु नै हुन्छन् । डाक्टर त केही बेर हेरेर निस्कन्छन्, हामी नर्सहरु संगै उनिहरु धेरै समय जिवनको गुहार माग्दै अनि अन्य जानकारीको खोजी गर्दै बस्दछन् । कहिलेकाँही त म फोन नंबर पनि दिएर पठाइदिन्छु, केही समय त्यस नंबरवाट फोन आँउछ अनि केही महिनापछि आउन छाड्छ । रोगले लग्यो शायद, अब त्यो नंबर उठ्दैन अनि त्यसवाट कल पनि आँउदैन भनेर सोच्दा मन अमिलो हुन्छ । समुदायमा पनि नर्सहरुको उपस्थितीले नै स्वास्थसेवामा टेवा पुर्याएको छ । नेपालमा स्वास्थसेवाले व्यबसाहिक कोल्टो धेरै फेरेको छ, नर्सको सेवालाई महिनाको केही हजारसंग तौलने घटिया काम भएको छ । सेवा र उपस्थितीलाई केही हजारमा तौलनु राम्रो कुरा हैन्, नर्सको सेवाका लागि पैसा मात्र नभई गैरमौद्रीक उत्प्रेरणाका कुराहरुमा पनि ध्यान दिइन जरुरी छ । अझ यस्तो संवेदनशील पेशाकर्मीलाई दिनरात इन्टर्नशीपका नाममा प्राईभेट अस्पतालमा निशुल्क घोटाउने कार्य झनै नराम्रो हो । नेपालमा स्वास्थ सेवामा बास्तवमै परिवर्तन ल्याउने हो भने नर्सहरुको सिप अनि सेवामा रुपान्तरण गर्न जरुरी छ ।
कहिले सामुदायिक स्वास्थ सेवीका त कहिले अनमी अनि कहहिले सुढेनीका रुपमा नर्सहरुले नेपाली समाजमा ठूलो योगदान गरेकै छन् । घाउलाई औषधीले मात्र निको कहाँ पार्छ र ? माया अनि सदभाव पनि जरुरी छ ।
केही नर्सहरु झर्कोफर्को मान्ने अनि नमिठो बोल्ने भएकाले सम्पूर्ण नर्सहरुलाई सराप्ने पनि गरिन्छ तर कोईलीले नै पनि लगातार गाइरहने हो भने स्वर त सुकीहाल्छ नि एकफेर ? हामी आफूभन्दा ठूलालाई दिदी भन्छौ अनि अस्पताल भित्रै एउटा परिवार बनाँउछौं । बाजी ठोकेर भन्छु, नेपालमा कुनै पनि अस्पताल या सस्थामा नर्सहरुका लागि सहज संरचना छैन् । नर्सिगं टेबलमा लुकाई लुकाई बाहिरवाट मगाएको बासी चना र समोसा खाएर बिदेशी स्तरका अस्पताल भनाँउदाहरुमा सेवागर्ने स्वदेशी नर्सहरु छन् । बिदेश जान मात्र नर्स पढ्न मन छ भने बिदेश जानलाई अरु पनि पढाईहरु छन् । नर्स बन्न मन चाहिन्छ, आज नर्स दिवसमा सबैले मनन गरौं ।
पूजा सापकोटा
कोशी अन्चल अस्पताल
बिएन नर्सिगं
कुराकानीका आधारमा हाम्रो पात्रो
Liked by: