नारी शरीर, यसको बिज अनि फलको अधिकार | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नारी शरीर, यसको बिज अनि फलको अधिकार




उहाँहरुले निर्णय गर्नुहुन्छ तिम्रो शरीरमा, कसको हातमा सुम्पने सोच राखेर विवाह रुपी एउटा कर्म गरिदिनुहुन्छ । ति नयाँ गार्डियनको स्वामित्व रहन्छ तिम्रो शरीरमा, यसको बिजमा र फलमा पनि ।



साइन्स फिक्सन र देश विकासबाहेकको कुरा गरौं । आज अन्तराष्ट्रिय महिला दिवसमा नारी मैत्री नभएका केही सामाजिक संरचनाको कुरा गरौं । हामीभित्र लुकेर रहेको एउटा यथार्थको, जसप्रति हामी आँखा चिम्लेर थाहा भएतापनि अन्ठाएर अर्थात थाहा नभएजस्तो गरेर बसेका छौं । आज उक्काउन चाहन्छौं, नारी जीवनको परिवेश अनि केही मोहर लगाइएका कथित कानुनी तर पाशवीक तथ्य को ।
दुईवटा छोरी भए पाएपछि पनि धेरै समय कुरेर अर्को छोरा पाउनलाई कसरत गर्ने दम्पतीसंग यसको जवाफ हुन्छ? कतिवटा छोरीहरु लुकी लुकी फोहोरदानमा गए भन्ने । के छोरी हुनु आँफैमा पूर्णता हैन् ?
कतिजना दम्पतीले दुईवटा छोरा पाएपछि पनि छोरी कै लागि प्रतिक्षा गरेर छोरी पाएका छन् र ?
नारी दिवसमा बुझ्न पर्ने त बुझ्न नसकिएको कुरा यही हो । छोरी नासो हैन्, जसलाई कहाँ जाने या नजाने अनि कोसंग जाने रेखा कोरिदिनुपर्दछ । छोरी पूर्णता भएको एउटा मानव अस्तित्व हो, जो बिना सिर्जना अधुरो छ ।

बलात्कार भन्नासाथ हामी घरबाहिर, अध्यारो अनि असहज परिस्थिती संझन्छौं जुन सधै सही हैन् । घरका चार भिक्ता भित्र, समाजको मौनतामा धेरै बलात्कार हुनेगर्दछन् र यस्ता कथाका त्यान्द्राहरु नारी जीवनको शुरुवात देखि हाम्रो समाजमा हुने गर्दछ ।

जरुरी छैन तिम्रो शरीर महिलाकै हुनपर्छ, एउटा नागरिकको हिसाबले तिमी पुरुष वा तेश्रोलिंगी नै भएपनि तिम्रो शरीर राज्यले शासन गरेको हुन्छ । र अझ तिमी महिला हौ भने, तिम्रो शरीरमा पूरापूर स्वामित्व तिम्रो बुवाको हुन्छ, त्यसपछि दाइको, तिमीभन्दा सानो तिम्रो भाइको, अनि तिम्रो काकाहरुको पनि । वहाँहरुले एउटी फगत नासोका रुपमा छोरीलाई हुर्काउनुहुन्छ, रेखाहरु कोर्दै । छोरीलाई भौतिक बिभेद बन्द हुँदै गएको छ तर मानसिकता को बिभेद अझै त्यहीँ छ । अब खाने, लाउने अनि पढ्ने कुरामा छोरीलाई छोरा भन्दा पर खासै देखिँदैन तथापी छोरी ति रेखाहरुमा बसेकी हुन्छे जहाँ उसको आफ्नो जीवन पनि आफ्नै नभएको हुन्छ । उहाँहरुले निर्णय गर्नुहुन्छ तिम्रो शरीरमा, कसको हातमा सुम्पने सोच राखेर विवाह रुपी एउटा कर्म गरिदिनुहुन्छ । ति नयाँ गार्डियनको स्वामित्व रहन्छ तिम्रो शरीरमा, यसको बिजमा र फलमा पनि ।

शरीर कतिमा सुम्पिने भनेर पनि छलफल हुन्छ यसमा । ती नयाँ गार्डियनले तिम्रो शरीरको पालनपोषण, रेखदेख र सुरक्षा गरेबापत पैसा लिन्छन् । तिम्रो सुरक्षाको जिम्मेवारी ती पुराना मालिकहरुको काँधबाट हट्ने भएकाले पनि यो आर्थिक कारोबारबाट उनीहरु पछि हट्दैनन् । तिमी जतिसुकै पिडामा छटपटिए पनि तिम्रो जिम्मेवारी नयाँ मालिकको हुने र पुरानो मालिकले कुनै चिन्ता लिन नपर्ने हुनाले गतिलै हिसाब हुन्छ । बलात्कारका यी कथाहरुमा बलात्कारीहरु सामाजिक ओहोदाका ठेकदारहरु हुन्छन् । र त ती बलात्कारीहरु यसै समाजमा सम्मानजनक बाँच्दछन् अनि समाजका रक्षकका रुपमा पनि कहलिएका हुन्छन् । अनि बलात्कारका पिडीतहरुलाई यो कथामा पिडीतका रुपमा लिइँदैन । उनीहरु सुष्म सामाजिक तत्वहरु मात्र हुन् ।

बलात्कारका यी कथाहरुमा बलात्कारीहरु आनन्दको जिवन व्यतित गर्न थाल्दछन्, अनि यो सुखसुविधाको भोगको लागि चाहिने कति पैसा चाहिँ उनै पीडित वा उनको परिवार वा उनको आफन्त वा समुदायबाट आएको हुन्छ । यो कथामा, माया र प्रेमको बडो आकर्षक तरिकाले गुणगान गाइएको हुन्छ । यो बलात्कार नै कहलिँदैन किनकी यसमा तिमी नारी हुनुको महिमा गाइन्छ, तिम्रो इच्छा र आशक्तिभन्दामाथि तिमीलाई निस्वार्थ र त्यागी नारी हुनुको पगेरी लगाइन्छ र परिवारको माया र उनीहरुप्रतिको जिम्मेवारीले थुपरिन्छौ तिमी । आखिर त्यो पगेरीको साखका र मायाप्रेमको ओतप्रोतको भावनाले तिमी तिम्रो इच्छाको बली चढाउँछौ । तिमीले सहेका लाखौं चोटका बाबजुद तस्बिरका लागि मुस्कुराउने ती मुस्कानलाई व्याख्या गर्ने कुनै शब्द छैन । आफ्नो बलात्कारी छेउ उभिएर मुस्कुराउँदै क्यामेराबाट कैद हुने ती तस्बिर खिचेपछि नि त्यसलाई बलात्कार भनिरहन कहाँ मिल्छ र !

यी बलात्कारका कथामा बलात्कारलाई ठहर पिडितले हैन अदालत अनि कानुनले गर्दछ । स्मरण रहोस्, अदालत अनि कानुन त पिडकले नै बढि चलाँउदछन्, हैन र ? कथामा अदालतले पीडितलाई ती बलात्कारीकै आडमा बढी सुरक्षित देख्छ र उसकै आडभरोसामा फिर्ता पठाइदिन्छ । आखिर बलात्कारका पीडीतहरु त बाउआमाको सहमतिमा नै पिडककोमा रितपूर्वक पठाइएका हुन्छन् । यो कथामा कर गर्नु वा बाध्य बनाउनु कथाको मुख्य अंश हो । कसैको इच्छाविपरित जर्बजस्ती उसको शरीरमाथि राज गर्नुलाई बहादुरी मानिन्छ र उत्तिकै नैतिक पनि । उसको संरक्षकलाई शारिरीक खुशी दिने उसको जिम्मेवारी हुन्छ ।
यो कथामा बलात्कारी समाजका मुख्य ओहोदामा रहेका हुन्छन् । उनीहरु व्यापारीदेखि लिएर द्वारपालसमेत हुन्छन्, साइकलदेखि देश हाँक्नेसम्म उनीहरु हुन्छन् । सिंगो राज्य हाँक्ने उनीहरुको शारीरिक भोकको जिम्मा नलिदिए व्यापारव्यवसाय कसले हेर्ने, घरको खर्च धानिदैन, राज्य सञ्चालन हुँदैन । यसको ठिक विपरित पीडितको हातमा केही हुँदैन । उनीहरु नयाँ मान्छे बनाउने मेसिन पनि भएकाले यो बलात्कारको घटना घटिरहन्छ ।

यो कथा यसैगरी सुनाइँदै आइन्छ अनि गरिँदै पनि । अनि रहिरहन्छ यो कथा कहिले नबिलाउने गरी सधैं जहिँतहिँ । यसरी नै लुकेर बसेको हुन्छ हामीभित्र यो कथा अनि हामी यो कथाभित्र ।

भारतीय मुलकी लेखिका अनी जहिदीको बिचार नेपाली परिवेशमा अनुवादीत

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.