गणेश गुरु : साधनादेखि समाधिसम्म | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

गणेश गुरु : साधनादेखि समाधिसम्म




   नरेन्द्रराज प्रसाई - Apr 27 2018

गणेश गुरु प्रायः आफ्ना घरमा पाहुना बोलाइरहन्थे । सबैलाई बाँडेर खाँदा मात्र यी रमाउथे । एकान्तमा बसेर एक्लै खाएको अमृतलाई पनि यी विष मान्थे । आफ्ना घरमा आएका गरीव, धनी जोसुकैलाई पनि नखुवाई यी विदा दिदैन थिए ।



नेपालको पूर्वाञ्चलको मधेश, पहाड र गाउँ, बजारमा चिनिएको नाउँ हो- गणेशप्रसाद शर्मा । पूर्वाञ्चलको पनि खासगरी मोरङ जिल्लामा एउटा प्रतापी पुरुष थिए- गणेशप्रसाद शर्मा । अनि विराटनगरभरिमा शिक्षा, साहित्य र समाजसेवाका पहरेदार थिए- गणेशप्रसाद शर्मा । उनलाई त्यस भेकमा प्रायः सबैले गणेश गुरु भन्थे।

गणेश गुरुले पूर्वाञ्चलीय साहित्यको संस्थागत विकासका लागि पनि आफ्नो बुद्धि, विवेक र समय समर्पण गरेका थिए । वास्तवमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका संरक्षक भएर यिनले त्यस प्रतिष्ठानलाई मलजल गराएका थिए । साथै प्रतिभा पुरस्कार प्रतिष्ठानका पनि यी संरक्षक थिए । त्यसबेला यिनले ती दुई संस्थालाई खुट्टा टेकाउन हरेक जुक्ति ख्याए । साहित्यकारहरुको सहयोगका लागि पनि यी सदा तत्पर हुन्थे । साहित्यकारको स्थिति हेरेर यी आफ्नो छाती खोल्ने गर्थे ।

गणेश गुरुले केही सामाजिक र धार्मिक सङ्गठनहरुमा आफूलाई क्रियाशील बनाए । यी ज्यादै हिम्मती थिए । यी जाँगर, परिश्रम र मेहनतको फल मीठो हुन्छ भन्थे । अनि त्यही अनुसार यी घोटिन्थे । उनी उदारताका एउटा साक्षात् नमूना थिए । त्यागमा यी रमाउँथे साथै उनी इमानका शब्दकोश नै थिए।

गणेश गुरुले आफ्नो शिक्षाको यात्रा आफ्नै गाउँ धनकुटाको गोकुण्डेश्वर हाईस्कूलबाट थाले । त्यसपछि यी काठमाडौंको दरबार स्कूलमा पनि भर्ना भए । केही समयपछि यी दार्जीलिङ पुगे । त्यहाँ यिनले म्याट्रिक पढिन्जेल त्यहींका वासिन्दाका घरघरमा गएर पूजा लगाए, ब्रतबन्ध गरे, श्राद्ध गरे, स्वस्थानी पाठ गरे, चण्डी पढे, रुद्री लाए, पुराण लाए र होम गरे । त्यसबेला आफ्नै खुट्टामा उभिन यिनले धेरै सङ्घर्ष गरे ।

गणेश गुरु धनकुटाका नेत्रप्रसाद नेपाल र यज्ञमाया नेपालका माहिला छोरा थिए । यी १९९० साल वैशाख ८ गते जन्मेका थिए । यिनका बुवा पनि पण्डित थिए । ज्योतिष विद्या यिनले आफ्नै बुवाबाट सिकेका थिए । त्यसैले यिनले स्कूल पढेदेखि नै ज्योतिषी विद्याको पनि सदुपयोग गर्दै गए ।

दार्जीलिङमा आईए, बीए र बीटी पढिन्जेल गणेश गुरूले जन्मकुण्डली बनाउन र ज्योतिषी हेर्न अधिकांश समय खर्च गरेका थिए । त्यहाँ उनी दारीवाला बाजे भनेर चिनिए । दारीवाला बाजे दार्जीलिङमा १९ वर्ष जति बसेर कोलकातातिर हानिए । कोलकातामा बसेर पनि यिनले पुरेत्याईं नै गरे । त्यहाँ यिनले एम्ए र एलएलबी पढे ।

२०१९ सालको कुरा हो; त्यसबेला गणेश गुरूका जेठान अर्थात् पूर्व राज्य मन्त्री राधाप्रसाद घिमिरे मोरङ कलेज स्थापना सन्दर्भमा कोलकाता पुगेका थिए । घिमिरेले अनेक टुक्का कथेर यिनलाई स्वदेश फर्काए । यसैक्रममा यी सरस्वती हाईस्कूलका शिक्षक र मोरङ कलेजको प्राध्यापनमा सरिक भए।

गणेश गुरुले कलेजमा इतिहास पढाउन थाले । त्यस भेकमा चाँडै नै गणेश गुरु, दारीवाला सर र हिस्ट्री सरको उपनामले विख्यात भए । यी इतिहासका प्रमुख ज्ञाता मानिन्थे । त्यहाँ यिनले इतिहास जे बोल्थे त्यसैलाई पक्का मानिन्थ्यो । खास गरेर नेपालको इतिहास जान्नेमा गणेश गुरु जङ्गबहादुर नै थिए । विराटनगरको यिनको जीवन पनि त्याग, समर्पण र मिहेनतमा आधारित थियो । त्यस बेलाको यिनका दिनचर्याबाट यिनलाई चिन्नेहरु आश्चर्य मान्थे । यी काम गरेर कहिल्यै थाक्तैन थिए । कसैको हप्की, दप्की र धम्की यिनका लागि महत्वहीन हुन्थ्यो । यी बलियो आँट भएका पूर्वाञ्चलीय नेपाली हर्कुलस थिए।

गणेश गुरु विद्यार्थीका लागि बाबु समान थिए । कैयौं विद्यार्थीलाई यिनले निःशुल्क कोच पनि गरे । तिनीहरु अनुशासित, आज्ञाकारी र परिश्रमी पनि हुन्थे । गणेश गुरु अनुशासित विद्यार्थीप्रति आह्लादित हुने गर्थे । स्कूलमा भएका अनुशासनहीन विद्यार्थीलाई शारीरिक दण्ड दिएर पनि यिनले अनुशासित बनाउँथे । त्यस ताकाको पूर्वाञ्चलमा राम्रो पढाउने गणेश गुरु नै थिए र विद्यार्थीका सपना, विपना र वर्तमान पनि गणेश गुरु नै थिए । त्यसैले यिनलाई सडकमा देख्ता पनि यिनका विद्यार्थी झुरुम्मै हुन्थे, कलेजमा पनि यिनका सामुन्ने विद्यार्थीको ओइरो लाग्थ्यो र पान पसलमा भेट्ता पनि यिनका विद्यार्थीहरु वरिपर झुम्मिने गर्थे । अनि अनुशासनहीन विद्यार्थीको चाहीं यिनको छायाले पनि सातो जान्थ्यो।

२०३० सालको कुरा हो । त्यस ताका नयाँ शिक्षा योजनाले धेरै प्राध्यापकको योग्यता, इच्छा र योजनामा पासो लगाएको पनि थियो । त्यतिखेरै गणेश गुरुको निर्भीक र लोकोपकारी व्यक्तित्वलाई तहसनहस पार्ने षड्यन्त्र समेत रचिएको थियो । त्यसैकारणले उनलाई विराटनगरबाट भक्तपुरमा सरुवा गरियो । अनि यिनले त्यसैबेला त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशालाई तिलाञ्जली दिए। क्याम्पसको सेवाबाट मुक्ति भएपछि यिनले दुई थोकमा हात हाले, अनि यिनका ती विषयसूची थिए- वकालत र जग्गा जमीनको खरीद बिक्री । यी दुवै कुरामा गणेश गुरुले सफलता बटुले । यी चाँडै उत्कृष्ट कानून व्यवसायीमा पनि प्रसिद्ध भए । यिनलाई वकालत पेशामा लाग्न अभिप्रेरित गर्ने व्यक्ति सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहन सिटौला थिए ।

गणेश गुरुलाई क्रमशः वकालत पेशा रुचिकर भएन । एउटा वकिलको धर्म निर्वाह गरेर हासिल गरेको आफ्नो सफलताले अर्को पराजित निरपराध व्यक्तिले पनि सजायको भागिदार हुने घटनाले यो पेसाप्रति यिनलाई वितृष्णा भयो । त्यसैले मूल पेसाको रुपमा वकालतलाई यिनले स्वीकार गरेनन् । त्यसपछि आफ्नो जीवन यापनका लागि यिनले जग्गाजमीन खरिदबिक्रीको कामलाई नै प्रमुख व्यवसाय बनाए । जग्गाजमिनको खरीद बिक्रीबाटै यिनी धनाढ्य पनि भए । यिनले जग्गाजमीन खरीद बिक्री गरेको बेला प्राध्यापक, वकिल र साहित्यकारलाई पनि आर्थिक समृद्धितिर धकेले । यिनले कसैलाई उधारो जग्गा मिलाई दिए, कसैलाई घर बनाउन निर्व्याजी रकम मिलाई दिए र कसैलाई निःशुल्क जग्गा पनि प्रदान गरे । विराटनगरमा घडेरी बिक्री वितरणको खास चलन पनि यिनैले चलाएका हुन् । यी अर्कालाई सारै विश्वास गर्थे । कसैलाई केही दिंदा मौखिक दिन्थे र कसैसँग त्यही कुरा लिंदा कागज गरेर मात्र लिन्थे । त्यसैले धेरैले यीबाट कमाउनु कमाए । यी दिवङ्गत भएपछि धेरैले आफ्नो इमान, जमानलाई विर्सिदिए ।

गणेश गुरुले वृक्षारोपणको सिद्धान्त पनि अध्ययन गरेका थिए । जहाँजहाँ वृक्षारोपण गर्नुछ हिसाब मिलाएर नै गर्थे । खोलाका छेउछाउमा वृक्षारोपण गर्न यी सधैं उत्साहित हुन्थे । ठाउँठाउँमा जग्गा किनेर यिनले सिसौ रोपे । यस्तो कार्यमा यिनले धेरै व्यक्तिहरुलाई पनि सरिक गराउने गर्थे।

गणेश गुरु अति संवेदनशील पनि थिए । उनी सधैं सबैको जय चिताउँथे । यी साना, ठूलासबैलाई नमस्कार गर्दै हिंड्थे । ठट्टा रमाइलो गर्न पनि यिनलाई कसैले भेट्तैनथ्यो । यिनको सबैभन्दा ठूलो गुणचाहिँ यी आफ्ना वचनका कुवेर थिए । वचनका पक्का मात्र होइन व्यवहारमा यी दानवीर कर्ण पनि थिए।

गणेश गुरु प्रायः आफ्ना घरमा पाहुना बोलाइरहन्थे । सबैलाई बाँडेर खाँदा मात्र यी रमाउथे । एकान्तमा बसेर एक्लै खाएको अमृतलाई पनि यी विष मान्थे । आफ्ना घरमा आएका गरीव, धनी जोसुकैलाई पनि नखुवाई यी विदा दिदैन थिए । यिनकी धर्मपत्नी दुर्गादेवी नेपाल पनि पाहुनापासा रिझाउन निपुर्ण थिइन् ।

गणेश गुरु साहित्यकार पनि थिए । समसामयिक विषयमा यिनले लेखेका लेखरचनाहरु पनि प्रकाशित भइरहन्थे । त्यसै गरी यी केही साहित्यिक पत्रिकाहरुको संरक्षक बने, सल्लाहकार पनि भए । लेख्नेक्रममा उनले अाफ्नो बाल्यकालको जीवनशैली लेखे । त्यस कृतिको नाउँ 'सुकेको पत्ता' रह्यो ।

यसका साथै यिनीसँग साहचर्य भएका साहित्यकारहरूबाट यिनको व्यक्तित्वमा आधारित सङ्कलित ग्रन्थ गणेश गुरु : साधनादेखि समाधिसम्म पनि नइ प्रकाशनबाट प्रकाशित भयो । उनकी पत्नीले पनि एउटा निबन्ध सङ्ग्रह 'बगेकाे खोला' र अर्को कविता सङ्ग्रह 'उनैको माया' लेखिन् । साथै नइ प्रकाशनले यी दम्पतीको नाउँ जोडेर एक लाख रूपियाँ राशीको 'नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार'को पनि स्थापना गरेको छ ।

समाजका लागि केही दिंदादिंदै गणेश गुरुले २०४६ सालको जेठ १९ गते आफ्नो इहलीला त्याग गरे । त्यसदिन विराटनगरमा कालो बादल छाएको थियो । त्यो क्षण यिनका विद्यार्थी, आफन्त र स्थानीय जनताका लागि चिरस्मरणीय दुःखद् घटनाको दिन थियो ।

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद ! (चित्र: अमर चित्रकार)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.