Sudina Gautam - Dec 24 2019 हाम्रो पात्रोले भाषाको दायरा विस्तारै फराकिलो पार्दै स्थानीय भाषा पनि समेट्दै लैजाने क्रममा बज्जिका र डोटेली भाषालाई पनि समेटेको छ। डोटेली भाषा मदन खडायतले अनुवाद गर्नुभएको हो भने बज्जिका भाषा संजय मित्र र त्रिपुरारी गुप्ताले अनुवाद गर्नुभएको हो।
बज्जिका भाषा अनुवाद गर्नुभएका संजय मित्र, बज्जिका भाषाका अभियन्ता एवं साहित्यकार हुनुहुन्छ। नेपाली साहित्य र इतिहासमा स्नातकोत्तर मित्रका बज्जिका र नेपाली भाषामा आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। साढे दुई दशाकदेखि पत्रकारिता र प्राध्यापन पेसामा आबद्ध मित्र खोज र अनुसन्धानमा पनि रुचि राख्नुहुन्छ।
त्यसैगरी बज्जिका भाषा अनुवाद गर्नुभएका अर्का व्यक्तित्व त्रिपुरारी गुप्ता काठमाडौँ इञ्जिनियरिङ्ग कलेजबाट पढाई पुरा गर्नुभएका त्रिपुरानी गुप्ता रौतहटको गौरस्थित राजदेवी एफएममा स्थापनाकाल देखि आबद्ध रही वरिष्ठ इन्जिनियरको रुपमा सेवा दिदै आउनुभएको छ। स्थानीय समुदायमा लोकप्रिय गुप्ताले लामो समयदेखि गौरमै रहेर सक्रिय पत्रकारीता गर्दै आउनुभएको छ।
डोटेली भाषा अनुवाद गर्नुभएका मदन खडायत भने डोटेली भाषाका अभियान्ता हुनुहुन्छ, समाजशास्त्रमा स्नातक तह गरेका खडायत भाषा अनुवाद,ग्राफिक डिजाइन तथा भिडियो सम्पादन गर्नुहुन्छ। उहाँ सुदुरपश्चिमको दार्चुला जिल्लाको बलाँचमा जन्मिएर हाल कुञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका मा बसोबास गर्दै आउनुभएको छ।
नेपाली र अंग्रेजी भाषामा शुरु भएको हाम्रो पात्रोमा गत वर्ष नेपालभाषा, भोजपुरी, मैथिली भाषाहरु पनि समेटिएको थियो भने अब डोटेली र बज्जिका थपिएसँगै बिस्तारै तपाईंहरुको अन्य स्थानीय भाषा पनि समेट्दै लैजाने प्रत्यत जारी छ। तपाईंले भाषा चयन गर्नको लागि एप्लिकेशनको देब्रे माथिल्लो कुनामा भएको तीन धर्केलाई थिचेर भाषा नामको विकल्पमा गई आफ्नो रोजेको भाषा चयन गर्न सक्नुहुनेछ ।
यस महत्वपूर्ण कार्यमा हामीलाई सामूदायिक तवरबाट नेपालभाषाका लागि सहयोग गर्ने श्रद्धेय अनिल स्थापितज्यू नेपाल लिपि गुथिका उपाध्यक्ष हुनुहुन्छ साथै रञ्जना लिपि तथा नेपालभाषामा विज्ञको रुपमा अध्यापन समेत गराउँदै आउनुभएको छ । स्थापित नेपालभाषाको सेवामा ३५ वर्ष भन्दा बढि समय खर्चिसक्नुभएको लोकप्रिय व्यक्तित्व हुनुहुन्छ ।
त्यस्तै मैथिल नगरी जनकपुर रही मैथिली भाषामा पत्रकारीता गर्दै आउनुभएका श्री काशिन्द्र शर्माज्यूले हाम्रो पात्रोको मैथिली संस्करण तयार पार्न सहयोग गर्नुभएको छ ।
भोजपुरी भाषामा हाम्रो पात्रोको उल्था हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक एस के देवकोटाले गर्नुभएको हो । देवकोटा भोजपुरी भाषामा दखल राख्नुहुन्छ १० वर्ष बढी पर्सा जिल्लाको वीरगञ्जमा रहेर छापा तथा रेडियो पत्रकारीता गर्नुभएको छ ।
यदी तपाईं पनि आफ्नो भाषामा दखल राख्नुहुन्छ र हाम्रो पात्रो आफ्नै भाषामा प्रयोग गर्न चाहनुहुन्छ भने हामीलाई [email protected] मा भाषा उल्थाका लागि ईमेल गर्नुहोस् । तपाईंले पठाउनुभएको ईमेलका आधारमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र तपाईंको भाषाको हाम्रो पात्रो सार्वजनिक समेत गर्नेछौं ।
Liked by: