नयाँ वर्षमा कुनै संकल्प राख्दै हुनुहुन्छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नयाँ वर्षमा कुनै संकल्प राख्दै हुनुहुन्छ ?




   Suyog Dhakal - Apr 13 2018

युनिभर्सिटि कलेज लण्डनले गरेको अनुसन्धानअनुसार पुरानो बानी तोड्नका लागि कम्तिमा ६६ दिन लाग्छ, भने नयाँ बानी बसाल्न अझ लामो समय लाग्छ । पुरानो बानी हाम्रो मस्तिष्कमा बसिसक्दा, यसलाई क्रमशः नयाँ बानी सिकाउँदै लानुपर्ने हुन्छ । सकारात्मक रहेर भएका साना परिवर्तनमा सन्तोष राख्न सके मात्र हामीले परिवर्तन महसुस गर्न सक्छाैं ।



नयाँ वर्षमा नयाँ संकल्प राख्ने सोच्दै हुनुहुन्छ ? अक्सर हामी नयाँ काम, बानी वा वर्षको अन्तिममा किनेको छ भने त नयाँ लुगा लगाउन पनि नयाँ वर्ष कुर्ने गर्दछौँ । नयाँ वर्ष भन्नेबित्तिकै यसले हामीमा उत्साह र जाँगर थप्छ र यही जोशमा हामी नयाँ वर्षका लागि नयाँ संकल्पहरु पनि लिने गर्छौँ । सानो बच्चाझै उत्साहित हुँदै पोहोर साल पूरा गर्न नसकेको जीम फेरि सुरु गर्ने हो कि पूरा हुन नसकेको डाइट चार्ट फेरि सुरु गर्ने हो, यी सब फेरी नयाँ जोशका साथ नयाँ वर्षका लागि थाती राख्छौं । नयाँ साललाई सफलता, समृद्धि र सुखको साल बनाउने अर्को कसम खान्छौँ ।

पैसा बचत गर्ने, तौल कम गर्ने वा रक्सी पिउन कम गर्ने नै किन नहोस्, यस्तै संकल्प धेरै मानिसहरुले राख्ने गरेका हुन्छन् तर धेरै कम मानिसले मात्र आफूले लिएको संकल्प पूरा गर्दछन् वा आफू निस्किन खोजेको नराम्रो बानीबाट निस्किन सक्छन् । यस्ता संकल्पबाट हामी नयाँ मानिस भएर किन निस्किन सक्दैनौ त ? 

जानकारहरुकाअनुसार हामी प्राय संकल्प राख्दा आपूmलाई सजिलो वा सहज लाग्ने बानीबाहेक नयाँ बानी सिक्न खोज्दैनौ । हाम्रो जिन्दगी सधैं एउटै किन हुन्छबारे जति सोच्दछौं, यसलाई फरक बनाउन के गर्न सकिएला भन्नेबारे कमै सोच्दछौं । हामी सधैं एउटै काम गरेर जीवनबाट भिन्न परिणामको अपेक्षा राख्दछौं । नयाँ संकल्पहरुले परिणाम दिन नसक्नु वा असफल हुनुको एउटा मुख्य कारण भनेको हामी धेरै संकल्प एक साथ लिन्छौं । नयाँ वर्षमा गर्ने भन्दै लामो सूचि नै तयार पर्ने गर्दछौं । यसले गर्दा हामीले आफूमाथि धेरै अपेक्षाहरु थोपर्छौं, अव्यवहारिक लक्ष्य बनाउँछौं र असफल हुन्छौं । यसकारण जोशमा आएर नयाँ वर्षकोलागि धेरै संकल्प राख्नुभन्दा कुनै एउटा बानी परिवर्तन गर्नुपर्छ । दैनिक गर्ने काममा कुनै एउटा सानो परिवर्तन ल्याउन सके मात्र पनि हाम्रो बानीमा परिवर्तन ल्याउन सकिन्छ ।

याद राख्नुहोस् परिवर्तका लागि समय, धैर्यता र निरन्तर प्रयास चाहिन्छ । युनिभर्सिटि कलेज लण्डनले गरेको अनुसन्धानअनुसार पुरानो बानी तोड्नका लागि कम्तिमा ६६ दिन लाग्छ, भने नयाँ बानी बसाल्न अझ लामो समय लाग्छ । पुरानो बानी हाम्रो मस्तिष्कमा बसिसक्दा, यसलाई क्रमशः नयाँ बानी सिकाउँदै लानुपर्ने हुन्छ । सकारात्मक रहेर भएका साना परिवर्तनमा सन्तोष राख्न सके मात्र हामीले परिवर्तन महसुस गर्न सक्छाैं । आफू परिवर्तित हुँदै जाँदा हामीले भिन्न महसुस गर्न सक्छौं किनकी हामी आफ्नो बारेमा सचेत हुन थालिसकेका हुन्छौँ । सचेत हुनु वा आत्मज्ञान हुनु सफल हुनको लागि पहिलो खुड्किलो हो । आफूलाई नचिनिकन संसार चिन्न सकिन्न । 

सफल व्यक्तिमा देखिएका केही बानीहरु यसप्रकार छन्ः
१. उनीहरुको डायरी लेख्ने बानी हुन्छ ।
२. उनीहरु ऐनामा हेरेर आफैसंग कुरा गर्ने गर्छन् । 
३. उनीहरु योग गर्ने गर्छन् । 
४. उनीहरुको किताब पढ्ने बानी हुन्छ ।
५. उनीहरु आफ्नो डरलाई आत्मसाथ गर्छन् । 
६. उनीहरुले असफलता सफलताको पाटो हो भनेर बुझेका हुन्छन् । 
७. उनीहरु सकारात्मक मानिसहरुसँग मात्र सम्बन्ध बनाउँछन् । 
८. उनीहरु लक्ष्य कोर्दछन् ।
९. उनीहरु प्रकृतिसँग पनि बातचित गर्छन् । 
१०. उनीहरु सदैव जीवनप्रति कृतज्ञ हुन्छन् । 
११. उनीहरु समयअनुसार कामलाई प्राथमिकता राख्दछन् । 
१२. उनीहरु सानातिना काममा आफ्नो ऊर्जा खेर फाल्दैनन् । 
१३. उनीहरु आफूले नियन्त्रण गर्न सक्ने काममा बढी ध्यान केन्द्रित गर्छन् । 
१४. उनीहरु ध्यानपूर्वक सुन्दछन् । 
१५. उनीहरु कमाइलाई आफ्नो दुःखको फल मान्दछन् । 
१६. उनीहरु भाग्यमा विश्वास गर्दैनन् । 
१७. उनीहरु रमाइलो गर्न मन पराउँछन् । 
१८. उनीहरु अरुलाई र आफूलाई पनि क्षमा दिने गर्दछन् । 
१९. उनीहरु सजिलै हार मान्दैनन् तर परेको खण्डमा हार मान्न पनि डराउँदैनन् । 
२०. उनीहरु झटपटको निर्णय लिने गर्दैनन् । 
२१. उनीहरु आफ्नो मनको कुरा सुन्ने गर्दछन् ।

सफल व्यक्तिहरु के गर्नेमा भन्दा बढी कसरी गर्नेमा ध्यान दिन्छन् । तपाईंले तपार्इंको विचारमा परिवर्तन ल्याउनासाथ तपाईँको बानी र काममा पनि परिवर्तन ल्याउन सक्नुहुनेछ ।    साधारणतया, तपार्इंमा परिवर्तन आउन २१ दिन लाग्दछ, त्यसैले हार नमान्नुहोस् । डा.म्याक्सवेल माल्जले लेखेका सफल पुस्तक साइको साइवरनेटिक्समा भनेका छन्, मानिसको दिमागलाई कुनैपनि ठूलो घटनापछि समायोजन हुन २१ दिन लाग्दछ । उनको यो अनुसन्धान मानिसहरुको आघातपूर्ण जीवनमा गरिएको भएपनि यो सामान्य जीवनमा पनि लागु हुने उनको दावी  छ । यसकारण नयाँ बानी बसाल्नका लागि धैर्यताका साथ २१ दिनको प्रतिबद्धता कम्तिमा पनि दिनुपर्दछ ।

कुनै दिन असफल भयौ भन्दैमा चिन्ता नमान्नुहोस्, तपार्इं हरेक दिन अगाडि बढ्नुहोस् । आफ्नो साना साना जीतहरुमा रमाउन सिक्नुहोस्, जसकारण तपाईँ निरन्तर सफलताको लागि आफ्नो मस्तिष्कलाई प्रशिक्षण दिन सक्नुहुनेछ । तपार्इं आज नै कुनै काम सुरु गर्नुहोस् र उक्त काम हुन्छ वा हुँदैन सोचेर समय खेर नफाल्नुहोस् । एउटा नयाँ बानीले तपाईँको प्रेरणालाई बलियो बनाउँदै लानेछ र बिस्तारै मात्र यसको बानी पर्नेछ । यसको लागि नयाँ वर्ष नै कुर्नपर्छ भन्ने त हैन तर नयाँ वर्षमा नै पारेर सिक्न मन छ भने, एउटा नयाँ बानी सिक्नुहोस् है त !
नयाँ वर्षको शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.