नाथे कागजमै अट्थे मायालुको हेराइ, गन्ध, आवाज र स्पर्श । भाइबरमा हुने स्टीकर र म्यासेन्जरमा भएका जीआइएफले त्यो अनुभव कहाँ बाँड्न सक्छ र ?
एक जमाना थियो चिठ्ठी लेख्दाको काउकुती र रोमाञ्चकता धेरैको मनमा हुने गथ्र्यो । मसी भएको कलमले धर्के पाना वा नेपाली कागजमा अक्षरहरु कोर्दाको हुटहुटी । टेबुलमा बसेर होस् वा खाटमा पल्टेर होस् प्रियसीलाई सम्झेर चिठ्ठी लेख्दाको रौनकता आजकल हामीमा के ले भर्न सक्छ र ? आधुनिक समाजको विद्युतीय सञ्चारले सञ्चोविसञ्चो र हालखबर सोध्न त सहज बनायो तर त्यही काउकुती त कहाँ दिन सक्यो र ?
कति किताबमा लुकाएर दिएका चिठ्ठी
स्कूल छेउको पाखरको रुखको टोड्कामा लुकाएर दिएका अनि साटासाट गरेका चिठ्ठी
उन्को या उसको मिल्ने साथीलाई फकाएर हातमा पारिदिएका चिठ्ठी
नयाँ वर्षके पोष्टकार्ड अनि शुभकामनाका नाममा लेखिएका चिठ्ठी
शायरी या कविता अनि गीतहरु उल्लेखित चिठ्ठी
स्कूलका भित्तामा लेखिएका सन्देशरु जो केही चिठ्ठी हुन सकेनन र केही थान चिठ्ठी भएपनि
संझनामा पोका फुकाएर निकाल्दै स्पर्श लिने चिठ्ठी
बियोगमा जलाइएको चिठ्ठी
हल्काराले ल्याएर आँगनको डीलमा पढेर सुनाएका छोराछोरीका चिठ्ठी
धेरै छन चिठ्ठीका स्वरुपहरु हैन र ?
कति सोचविचारका साथ पानाहरु भरिन्थे । तिनै प्रियसीलाई सम्झदाँ लेखेको चिठ्ठीमा एक एक शब्द मनबाट तँछाड र मछाड गर्दै, हाम्फाल्दै, कलममा सर्दै, पानामा झर्थे । अक्षरको कति याद गरिन्थ्यो । केरमेट होला भनेर मन थामीथामी लेखेको ती पलहरु अहिले हामीले के नै अन्दाज लाउन सकौँला र ? केरमेट भइहाल्दा पाना च्यातेर डल्लो पार्दै कति पूरा हुन नसकेका चिठ्ठी भुइँमा छरपस्ट हुन्थे । फेरी मायालुको हातमा पुग्दा ती अक्षरहरुले हालखबर मात्रै पु¥याँउदैनथ्यो नि त, प्रियसीको याद पनि साथै लाने गथ्र्यो । नाथे कागजमै अट्थे मायालुको हेराइ, गन्ध, आवाज र स्पर्श । भाइबरमा हुने स्टीकर र म्यासेन्जरमा भएका जीआइएफले त्यो अनुभव कहाँ बाँड्न सक्छ र ? अझ लेख्न सक्ने साथीहरुको शान नै अर्को हुन्थ्यो, लवलेटरमा पारंगत भावहरु लेखिदिने साथीहरुको सहारामा कतिले आफ्ना भावनाहरु साभार गर्दै माया अभिव्यक्त पनि गर्ने गर्दथे ।
परदेशिएका मायालुहरुको यादमा तड्पिन आजकल किन पथ्र्यो र ? बिहान तरकारी के खायौदेखि, काममा जाँदा के लुगा लगायौ सबै कुरा साट्न भ्याइन्छ अचेल म्यासेन्जरको भिडियो कलिङको भरमा ।
हिजोको दिनमा कहाँ देख्न पाइन्थ्यो र मायालुलाई ?
एक दिन, दुई दिन भन्दाभन्दै भेट्ने दिन आइहाल्छ ।
फोटो हेरी मन बुझाउनु, फोनमा कुरा भइहाल्छ ।
बिदाको हात हल्लाउँदै, आँशुले टालिएर धमिलेको आँखाले खिच्न भ्याएको मायालुको तस्बिर नै अन्तिम तस्बिर बन्दथ्यो । हरिवंश दाइको यो गीतले बोकेको भाव भावी पुस्ताले त अझ के बुझ्न सक्ला र ?
चिठ्ठी प्रियसीहरुका लागि बडो प्यारा भए होलान् तर बुढा आमाबुवाले शहरमा पढ्न पठाएको छोराको चिठ्ठीको पखाईको पीडा पनि कम थिएन होला नि । हुलाकी दाइको होस् वा शहर पसेको आफन्त वा गाउँलेको बाटो पर्खेर बस्ने ती बुढा आमाबुवा आजकल फोनको कल कुर्दा हुन् कि म्यासेन्जरको फोनको घण्टी ? बल्लबल्ल छोराले पठाएको चिठ्ठी पढ्न नजान्दा पल्लो घरकी मास्टर्नी नानीलाई कुर्दाको सास्ती ती बुवाआमाले भुलिसके होलान् त ? याद हुँदो हो त, ती दिन सम्झेर ती आमाबुवा हाँस्दा हुन् कि रुँदा हुन्?
हातले लेखेको चिठ्ठी आरामले लेखिने हुँदा, मनमा आएका तर्कनाले बिस्तारै मात्र बास पाउँथ्यो । हातले लेख्दै गर्दाको त्यो भावुकता र माया । अनि त्यो धैर्यतालाई पनि मान्नैपर्ने हो नि । आजकलको सन्देश कि त किप्याड कि त किबोर्डले लाने भयो । एकछिन इन्टरनेट नचल्दा हामीलाई संसार नभएभैmँ हुन्छ । टाइप गर्दागर्दै एउटा अक्षर नमिलेर ब्याकस्पेस की थिच्न पर्दा नि झिँजो मान्छौँ । कहाँ सक्छौँ हामी त्यो धैर्यता गर्न ?
मसी र पानाबीचको प्रेम सम्बन्ध त अब हामीले लगभग छुटाइदियौँ नै । अचेल अक्षरहरु खाममा मायाको सुगन्ध भरिएर झोलामा बसेर आउँदैनन् । मायालुको सन्देश आजकल टिङटिङ नोटिफिकेसन दिएर आउँछ । मायालुले सन्देश पायो कि पाएन भन्ने रनभुल हिजो हुन्थ्यो होला । आजकल म्यासेज छिनभरमा सिन हुन्छन् । सन्देशको जवाफ फर्केर नआउँदा, मायालुले मेरो खबर पाएनन् भनेर चित्त बुझाइ हुन्थ्यो । आजकल सिन गरेर पनि जवाफ दिएनन् भनेर चित्त दुखाइ हुन्छ ।
फोन वा कम्प्यूटरबाट वाट्सएप वा एसएमएसमा आएको सन्देशले हातले लेखेको चिठ्ठीको जस्तो रौनकता, रोचकता र सन्तुष्टि त के दिन सक्छ र ? आधुनिकतासँगै हामीले सहजता त पायौँ तर सायद पुराना दिनको मिठास गुमायौँ । अनेक सामाजिक सञ्जालसँगै कृत्रिम निकटता पो पायौँ कि भन्ने आभास चिठ्ठीको सम्झना मात्रै गर्दा पनि लाग्दछ । हातैले लेखिने चिठ्ठीका ती यादहरुमा समर्पित ।
सुयोग ढकाल
Liked by: