कतारको कुटनैतिक सकंट अनि नेपाली कामदारमा त्यसको प्रभाव | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कतारको कुटनैतिक सकंट अनि नेपाली कामदारमा त्यसको प्रभाव




   Suyog Dhakal - Jun 06 2017

एक्ट्रेसिजम अर्थात चरमताको कारण जनाँउदै साउदी अरब र अन्य ६ वटा देशहरुले कतारसँग आफ्नो कुटनैतिक सम्बन्ध तोडेका छन् । नेपाली अर्थतन्त्र अनि कतारमा कार्यरत नेपालीजनको सुरक्षाकालागि कतारको यो अवस्था, कारण अनि प्रभावहरुका बारे हामी सबैले बुझ्न जरुरी र महत्वपूर्ण पनि छ ।

यो पनि हेर्नुहोस् : लैंगिक समानताको लागि ‘पाँच मिनेट‘ अभियान

आउनुहोस केही चर्चा गरौँ कतारको मध्य पूर्वी देशहरुसँगको खस्कँदो कुटनैतिक सम्बन्धका बारेमा ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै साउदी अरबको भ्रमण गरेपछि कतार विरोधी कुराहरु मध्यपूर्वीमा अझै बढेको आशंका पनि छ, के कतारको यो कुटनैतिक संकट बास्तवमै पश्चिमा योजना अनुसार हो ? विश्व अर्थतन्त्रमा तेलको राजनीतिले अब मध्यपूर्वलाई कता लैजान्छ ? सबैको चासोको विषय भएको छ । यसरी कतारसँग आफ्नो कुटनैतिक सम्बन्धलाई पूर्णविराम दिएका राष्ट्रहरुमा साउदी अरब, बहराईन, ईजिप्ट, अरब ईमिरेट्स, यमन, लिबिया र माल्दीभ्स रहेका छन् । यी देशहरुको विभिन्न कुटनैतिक सम्झौताहरु कतारसँग रहेका थिए । कतारले ईस्लामीक चरमपन्थी देशहरुलाई सघाएको आरोप लागेको छ तसर्थ यस क्षेत्रमा चरमपन्थी क्रियाकलाप र सञ्जाल तोड्नकालागि कतारलाई कमजोर बनाउन खोजिएको यी देशहरुको तर्क छ । बेलाबखतमा ईरानसँगको गुपचुप सम्बन्धकालागि कतारलाई पहिल्यैदेखि आक्षेप लगाउने गरिएको थियो ।

कतारले यी आक्षेपहरुको खण्डन गर्ने गरेको भएतापनि उसलाई चरमपन्थी ईस्लामीक भातृत्व मानिएका संस्थाहरु हमास, अल कायदा र ईस्लामीक् स्टेट लगायतका सञ्जाललाई कतारले सहयोग गर्ने गरेको बताइएको छ ।

अमेरिकाको मध्यपूर्वको सबैभन्दा ठूलो हवाई आधार रहेको कतार सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र पनि हो । अर्कोतर्फ साउदी अरबको छेउमा रहेको यो सानो देश तरलीकृत प्राकृतिक ग्याँसको संसारकै सबैभन्दा ठूलो आपूर्तिकर्ता देश पनि हो । स्मरण रहोस् विश्वमै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देशहरुको सूचीमा कतार अग्रश्रेणीमा छ ।

संसारकै सबैभन्दा धेरै विश्वास गरिने र हेरिने समाचार एजेन्सी मध्य एक अलजजिरा पनि कतारमै अवस्थित छ । पछिल्लो समयमा यस क्षेत्रमा तुलनात्मक रुपमा ठूलो देश साउदी अरबको क्षेत्रीय नियन्त्रण कायम गर्नका लागी कतारलाई यसो गरिएको भन्ने तर्कहरु पनि आएका हुन् र साउदी अरबको यो निर्णयमा अमेरिकी साथ त राष्ट्रपतिको भ्रमणले पुष्टिनै गरेको छ । ईरानसँग ऐतिहासिक दुश्मनी साँधेको साउदीले ईरान र कतार बीचको बढ्दो सम्बन्धको बिरोधमा यसो गर्नु नौलो कुरा नहुन पनि सक्दछ ।

सन् २००९ मा अमेरिकी सरकारको सचिवालय प्रमुख हिलारी क्लीन्टनले जारी गरेको गोपनीय दस्तावेज विकिलिक्सले रिलिज गरेको थियो । यस दस्तावेज अनुसार अमेरिकी सुरक्षा र आतंकवाद फैलाउन साउदी अरबको मुख्य भुमिका र साउदी विरुद्ध कारवाही गर्ने तथ्यहरु रहेका थिए । कतै हिलारीको यही तथ्यलाई आधार मान्दै राष्ट्रपति चुनावका प्रतिस्पर्धी ट्रम्पले हिलारी नेतृत्व निर्णयको धज्जी उडाउन साउदी अरबसँग सम्बन्ध गाँसेका त हैनन ? तर्कहरु यहाँसम्म छन् ।

चाहे जेसुकै होस्, जम्माजम्मी ३ देखि ४ लाख कतारीको जनसंख्या रहेको देशमा तेब्बर संख्यामा वैदेशिक कामदारहरु छन् । भारतीय, बंगलादेशी र नेपाली कामदारहरु अधीक छन् । आउनुहोस विष्लेषण गरौ कतारको यो हविगतले नेपाली कामदारहरु माथि कस्तो प्रभाव पर्न सक्दछ भन्ने कुरामा । स्मरण रहोस् कतारमा करिब ४ लाखको हाराहारीमा नेपाली कामदारहरु रहेका छन् ।

भारतकी विदेश मन्त्रालय प्रवक्ता सुश्मा स्वराजले गल्फ कोओर्डिनेशन काउन्सिलको आन्तरिक मामिलामा भारत केही नबोल्ने जनाउँदै कतारमा रहेका भारतीय नागरिकको सुरक्षा भने अपरिहार्य कुरा रहेको जनाएकी छिन् । नेपाली परराष्ट्र मन्त्रालय यस मामिलामा सदाझै मौन छ । नेपालवाट पनि कतारको दोहा जाने विभिन्न एयरलाईन्सहरुले उडान रद्द गरेका छन् जसमा ईथियाड एयरलाईन्स प्रथम उडान रद्द गर्ने मध्य एक हो ।

कतार भित्रै पनि अब खाद्यान्न संकट हुने हल्ला चलिरहँदा त्यसतो संकट नआउने भनी कतारी सरकारी कर्मचारी लगायतले आश्वासन दिइरहेका छन् । स्मरण रहोस् विश्वमै अत्यन्त गुणस्तरीय सेवा दिने कतार एयरलाईन्स संसारभरि आफ्नो उडान गर्दछ, साउदी अरबले भूमि प्रयोग गर्न नदिएपनि कतारमा खाद्यान्न सहज रुपमा हवाईमार्ग मार्फत आउने तथ्य सहज र सम्भव छ । यस अवस्थामा खाद्यान्नको मुल्य केही बढ्न सक्दछ, अत्यन्त न्यून पारिश्रमिकमा कार्यरत नेपाली कामदारहरु यो मुल्यमा कत्तिको सहज रुपमा

खरिद गर्न सक्दछन र सरकारको यस प्रतिको जिम्मेवारी के हुनेछ ? सरकारी तवरवाट मनन गरिन जरुरी छ । अर्कोतर्फ कतारमा अहिले बढ्दो मानव बर्हिगमनको फाईदा उठाउँदै नेपालीहरुले छोटो समयकालागि थप अवसर र काम पाउने संभावना बढ्न सक्ने पनि अपेक्षा गर्न सकिन्छ ।

भारतको केरलाका अधिकांश कामदार रहेका कतारमा भएको यो कुटनैतिक प्रभावका लगत्तै केरलाका मुख्यमन्त्रीले आफ्ना नागरिकको सुरक्षातर्फ ध्यानाकर्षण गराउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत लेखिसकेका छन् । नेपालीहरुले पनि यस प्रकारको सुरक्षाको प्रत्याभूति पाउने सरकारी संयन्त्र किन हुन नसकेको हो ? आखिर नेपाली अर्थतन्त्रमा विप्रेषणको हिस्सा अनुरुप वैदेशिक कामदारको सुरक्षा प्रत्याभूत गर्न नसक्ने सरकारी संयन्त्र को उपादयता शून्य बराबर हैन र ?

स्थिति भयावह त हैन तथापि पूर्व तयारी जरुरी छ । भारतले एकसमयमा कुबेत वाट आफ्ना नागरीकलाई हवाईजहाजमा दुःख गरेर रेस्क्यू गरेको कुरा पनि संझन लायक छ । यसै आलेखका साथ हाम्रो पात्रो कतारमा स्थित नेपाली कामदारहरुलाई पनि चनाखो रहन आव्हान गर्दछ । साँढे गोरुको जुधाई र बाख्राको मिचाई नहोस् ।

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.