“जीवन अत्यन्त छोटो छ । म परिवारको लागि यसो उसो गर्छु भनेर योजना न बनाउ, बरु छिटै गरी हाल । हैनभने एक दिन म जस्तै ९० वर्षको बूढो भएपछि महशुष गर्नेछौ र त्यतिबेला ढिलो भइसकेको हुनेछ ।” – टोरण्टोमा एकजना मेरा छिमेकी रसियन वृद्धले यसो भनिरहँदा मलाई एकदम घत लागेको थियो । हामीलाई थाहा भएका कतिपय कुराहरू पनि कुनै भुक्तभोगीको मुखबाट नसुनुञ्जेल हैन हैनजस्तो लागि रहन्छ तर सुनेपछि यती धेरै विश्वास लाग्छ की भुल्नै मन लाग्दैन ।
मैले बेलुका बूढीलाई त्यही कुरा सुनाएँ । दुबै जनाले बितेको समयको केही हिसाब ग-यौं । एक अर्काको अनुहारमा हेरेर फिस्स हाँस्यौं । योजनामै बितेको समय प्रतिको ब्यंग्य थियो त्यो अनायास फुत्किएको हाँसो सायद !
अहिलेका नयाँ पुस्ता घुम्ने, रमाइलो गर्ने, रहर पुरा गरिहाल्ने खालका छन् । पढेर, देखेर या सुनेर अथवा चाहेको गर्न सहज भएर होला अलि रसिक छ नयाँ पुस्ता । हाम्रो पुस्ता अलि फरक संस्कृतिमा हुर्किएर हो की चाम्रै त नभनौ तर बढि मितब्ययी जस्तो लाग्छ । त्यसैले घुम्ने, रेष्टुरेन्ट जाने अथवा मन परेको कुरा आजै किनी हाल्ने स्वभाव हामीहरूमा त्यति धेरै देख्दिन म ।
छोरीहरूसङ्ग यस्ता कुराहरूमा सहजै विवाद भईहाल्छ हाम्रो । उनीहरू पाए घुम्ने र बाहिरै खाने, हामी पाए घरमै बस्ने र पैसा जोगाउँने । कहिले कही भने छोरीहरूको करले बाहिर जाँदा यति मजा आउँछ की फर्केर आएपछि भने बुढा बुढी छोरिहरुले नसुन्ने गरेर यो पैसा बचाउँने कुराको खुलेर बिरोध गर्छौं, आफ्नै धज्जी उडाउँछौं । यस पटक लामो विदेश बसाइ पछिको औपचारिक “भ्याकेसन” मा गइयो क्यूवा । उत्तरी क्यारेवियन सागरको बीचमा रहेको सानो र सुन्दर क्यारेबियन राष्ट्र क्यूवा घुमेर आएपछि अहिले फेरी छोरिहरुले नसुन्ने गरेर खासखुस भयो बूढाबूढीको ।
विदेश बसेको लगभग १८ वर्ष लाग्यो । घुम्दै नघुमेको त हैन, थुप्रै देश, सुन्दर ठाउँहरू घुम्ने अवसर आयो । कहिले घुम्ने नाउँमा साथीहरू भएको शहर खोज्दै जाने, कहिले के कहिले के मिलाएर जाने । तर यस पटक भने अगाडी नै टिकट लिएर, कोही नचिनेको, केही थाहा नभएको नितान्त फरक परिवेशमा औपचारिक पर्यटक, औपचारिक “भ्याकेसन” मा पहिलो पटक गइयो । त्यो पनि ठूली छोरी एक्लै स्कटल्याण्ड र जर्मनी घुम्न जाने भएपछि माइली छोरीको कर करले टिकट नलिई धरै पाईएन । जानू केही दिन अघि बुवा ससुराको बिरामीको खबर आयो, फेरि केही पछि मृत्युको । झण्डै नजाने भइसकेको यात्रा फेरि गर्ने सल्लाह भयो सबै जनाको, क्यानडाको सुन खानीको सहर टिमिन्सबाट ईयर क्यानडाको फ्लाईटबाट शुरु भयो फेब्रुअरी १६, २०१८ को क्यूवाको यात्रा ।
सानो छोरीलाई भने रोमाञ्चक भयो उडान । आफूलाई भने अलिकता हल्लिँदा पनि सातो जाने । म सानो छँदा रुकुमको चौरजहारी बाट काठमाडौंको यात्रा करिब १, सवा घण्टाको हुन्थ्यो । रमाइलो लाग्थ्यो प्लेन चढ्न, अहिले बुढेसकाल लागेर हो की डर लाग्ने भएछ । आमा छोरीलाई म डराएको देखेर राम्रै मनोरञ्जन भयो, दोहोरो मनोरञ्जन ।
टोरण्टोमा एक रात बिताएर अर्को दिन क्यूवाको सान्ता क्लाराका लागि उडियो । सान्ता क्लारा क्यूवाको क्रान्तिकारी इतिहास बोकेको प्रादेशिक राजधानी पनि हो । यस शहरलाई “चे को शहर” भनेर पनि चिनिन्छ, चे ग्वेभारा अर्जेन्टीनाका प्रख्यात कम्युनिष्ट क्रान्तिकारी थिए जो फिडेल क्यास्ट्रो सँगै क्यूवाली क्रान्तीमा सामेल भएका थिए ।
उडान समय साढे ३ घण्टा । स्न्याक्स बाहेक किन्नु पर्ने । उडानको थकान र डर मेट्न पनि आफूले बियर घुट्क्याउँन थालियो । यात्राको सबैभन्दा आकर्षक पक्ष मेरो लागी प्लेनको पेय नै हो । मन्द नशामा डर मात्रै भुलिने हैन, छुट्टै मजा बहन्छ मस्तिष्कमा । मन उड्न थाल्छ प्लेनसँगै बादल माँथिको निर्जन आकाशमा । न हिजो, न भोली- साँच्चै उड्दा पाईने यो रक्सीको मजा नहुँदो हो त मेरो लागी यात्राको मजा नै आधा घट्थ्यो होला ।
प्लेन बस्यो । केही कुराहरुले नेपाल सम्झाए । यो सम्झने कुरा पनि अचम्म लाग्छ मलाई । आफ्नो मन सँग जोडिएको चीज दुःखमा र सुखमा पनि सम्झिदो रहेछ । राम्रो देख्दा पनि सम्झिन्छ र खराब देख्दा पनि सम्झिन्छ । त्यसैले होला यात्रामा धेरै सम्झिनेमा देश या छुटेको परिवारको सदस्य नै हुन्छ । अहिले भने हामीसँग आउन नसकेकी जेठी छोरी र नेपाल नै फनफनि घुमिरहेको थियो दिमागमा ।
१० बजिसकेको थियो रातीको । भोक र थकानले होटेल खोजिरहेको थियो । अझै साढे एक देखी दुई घण्टाको हाम्रो होटेल रहेको टापुसम्मको बस यात्रा बाँकी नै थियो । तर बीचैमा अर्को समस्या आई लाग्यो, हाम्रो एउटा सुटकेस नै आएन । सुटकेस हराएको जानकारी गराएर हाम्रो यात्रा शुरु भयो सान्ता मारिया तर्फ ।
कायो सान्ता मारिया सत्रवटा सुविधा सम्पन्न रिसोर्ट (अल ईन्क्लुसिब रिसोर्ट) भएको १३ वर्ग कि. मि. क्षेत्रमा फैलिएको टापु हो । कोठाहरूको संख्या करिब १०००० रहेको छ । यसमा अरू कुनै बस्ती छैनन् र धेरै क्षेत्र अरू मानवीय विकास नगरि संरक्षित राखिएको छ । यहाँ समुद्री तटको न्यानो वातावरण र टापुका क्यारेबियन वनस्पतिहरू जस्तै पाल्म ट्री, नरिवल, फलफूलका बोटहरू र साना होचा वनस्पतिहरूले भरिएको हरियो अत्यन्त सुन्दर जङ्गलको मजा लिन विशेष गरि दक्षिण र उत्तर अमेरिकाबाट बर्षेनी थुप्रै पर्यटकहरू आउँने गरेका छन् । यो टापुमा आउँदाको अर्को आकर्षण समुद्रमै बनाएको मोटर चल्ने मार्ग पनि हो ।
अँध्यारो बाटो, झ्यालको सिसाबाट देखिने स- साना घरहरू र कता कता नेपालको तराई जस्तो लाग्ने बाहिरको मधुरो दृश्यले कौतुहलता थपिरहेको थियो । त्यो कौतुहलतालाई थकाईले जित्न थालिरहेको बेला आएको बियरको अफरले केही शक्ति थपिए जस्तो भयो । क्यूवान संगीतको मजा लिँदै थकाइ मेट्ने प्रयत्न गर्दा गर्दै रिसोर्टमा पुगेको पत्तै भएन ।
त्यहाँको यात्राको एउटा राम्रो पक्ष भनेको सबै चीज एउटै मूल्यमा समावेश गरिएको हुन्छ । खानेकुरो, बस्ने, पिउने, मनोरञ्जन सबै । त्यसैले खाने र पिउने विषयमा केही चिन्ता नलिएर सिर्फ मनोरञ्जन । समुद्र तटको बालुवामा हिँड्नु, छालहरूसङ्ग खेल्नु, होचा, घना झाडीहरू, नरिवलका रुखहरू हुँदै हिँड्नु हात समातेर । बालुवासँग खेल्नु, बच्चाहरू झैँ । चराका चिरबिर सङ्ग रम्नु, बिर्सनु सबै थोक र मस्त सँग प्रकृतिसँग खेल्नु – आहा !
समुद्र को छेउ, समुन्द्रितट । हरियो नीलो रङ्ग (Turquoise) समुद्रको, फोटो जस्तै सुन्दर ! आँखाको दूरीसम्म फैलिएको, क्षितिजको नीलो आकास सम्म । गहिरो, भावना झैँ । कुरा गर्न सके त कैयौँ रातहरू सहजै जाँदा हुन् यही किनारामा ! या सुन्न सके सागर कति रोमाञ्चक हुँदो हो यो तट ! हेरेरै मैले त यती धेरै खुशी सँगालेँ यो किनारामा यति छोटो समयमै ।
हाम्रो पाँच दिन इन्टरनेट र फोनबाट पुरै टाढा भयो । बरु छोडेको धूम्रपान क्यूवाको सिगार अघि टिक्नै सकेन, बुढी र छोरीहरू मेरो खुशीमा दङ्ग परे । मुखभरिको सिगार च्यापेर हिड्नुको मजा अर्कै ।
सुटकेस हराएपछि सधैँ उही कट्टु धुँदै सुकाउँदै गरेर लाउँदाको दुःख पनि बिर्सियो, हाम्रो २४ औं बिबाहोत्सब, माईली छोरीको २०औं जन्म दिन र एक हप्ता अघिको कान्छी छोरीको १०औं जन्मदिन सँगै मनायौं माईलीको जन्म दिनमा । सहृदयी क्यूवालीहरु र सुन्दर टापु बाँची रहने भो मनमा अनन्तसम्म । सामाजिक र आर्थिक पक्षमा भने आ आफ्नै तर्कहरू होलान् क्यूवाको विषयमा । मैले भने क्यूवाको सुन्दर पक्षमा चर्चा गरेँ, सुन्दर क्यूवा फेरी घुम्ने अवसर आओस् ! जय होस् !
मुक्ति गौतम
मार्च २०, २०१८
टिमिन्स, क्यानडा
Liked by: