प्रा.डा.कुमारबहादुर जोशी "संस्कृत, नेपाली र नेवारीका विज्ञ" | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रा.डा.कुमारबहादुर जोशी "संस्कृत, नेपाली र नेवारीका विज्ञ"




   नरेन्द्रराज प्रसाई - Apr 27 2018

कुमारबहादुर जोशीको जन्म
कुमारबहादुर जोशीको जन्म १९९८ साल मङ्सीर २३ गते सोमबार चाबेल, काठमाडौंमा भएको थियो । प्रेमबहादुर जोशी र जुलुममाया जोशीका चार छोरामध्ये कुमारबहादुर जोशी दोस्रो पुत्रका रूपमा भूगोलभित्र पदार्पण भए । जोशीको शिशुकाल मातृपितृ स्नेहले बिते तापनि बाल्यकालको मध्यतिर हिंड्दाहिंड्दै यिनले आफ्ना बाबुलाई गुमाए । वास्तवमा आफ्ना बुबाको निधनपछि जोशीले अति नै शारीरिक दुक्ख खेप्नु परेको थियो । उनले जेजस्तै कष्ट भोगे तापनि उनकी आमाको मिहेनतबाट र स्वयं आफ्नै परिश्रमबाट उनले प्रारम्भिक शिक्षा ग्रहण गरेका थिए ।

शिक्षा
जोशीका प्रारम्भिक गुरु उमानाथ आचार्य थिए । त्यसैले जोशीको शैक्षिक पृष्ठभूमि संस्कृत भाषाको माध्यामबाट आरम्भ भएको थियो । पढ्दैजाँदा केही वर्षमा नै उनी संस्कृत विषयमा पनि निक्कै पारङ्गत भए । एउटा नेवारको छोरो पनि संस्कृति भाषामा गहिरो दख्खल राख्न सक्छ भन्नुको प्रमाण पनि त्यति बेला जोशी नै थिए । स्कुले शिक्षाको सफलतामा उक्लँदाउक्लँदै सङ्गीतका क्षेत्रमा पनि उनी प्रविष्ट भइसकेका थिए । त्यसै बेला उनी हार्मोनियम, तबला, बेला र बाँसुरी बजाउने गर्थे ।

जोशीले काठमाडौंको चर्चित रानीपोखरी संस्कृत पाठशालामा पढे । त्यहाँबाट उनी संस्कृत प्रथम परीक्षामा प्रथम श्रेणीमा प्रथम भए । उनले भारतको बनारसबाट पूर्वमध्यमामा प्रथम श्रेणी हासिल गरे । त्यही वर्ष उनी काठमाडौंबाट निजामती मध्यम परीक्षा उतीर्ण भए । अध्ययनलाई सक्रिय पार्दै उनी उत्तरमध्यमामा पनि प्रथम भए र शास्त्री पनि उत्तीर्ण भए । त्यसै गरी उनले त्रिभुवन विश्वविद्यालयबाट बीए र एमए पनि पास गरे ।

जागिर
जोशी सङ्घर्षमा नै जन्मे, सङ्घर्षमा नै हुर्के र सङ्घर्षमा नै उनले जीवनलाई तान्दै लगे । घरको आर्थिक अवस्थालाई सुधार्ने हेतु उनले एसएलसी पासपछि बिहान स्कुलमा पढाए, दिउँसो नेपाल राष्ट्र बैंकमा जागीर खाए र राति नेशनल कलेजमा आईए पढे । पढाउने क्रममा उनले परोपकार हाईस्कुल र जद्धोदय हाईस्कुलमा पनि संस्कृत र नेपाली पढाए । पढ्दापढ्दै उनी इलाम पनि पुगे । त्यहाँ गएर उनले केही महिना जागीर खाए । त्यसपछि राजधानी फर्केर उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा भर्ना भए । एमए पास गरेपछि उनले दाङको जनता महाविद्यालय, काठमाडौंको नेपाल युथ कलेज, त्रिचन्द्र कलेज, जनप्रशासन कलेज र त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रिय विभाग कीर्तिपुरमा पनि प्राध्यापन गरे । उनी बढोत्तरी हुँदै पनि गए र २०५४ सालमा प्राध्यापक पनि भए । काशी हिन्दू विश्वविद्यालयमा पनि अतिथि प्राध्यापक भएर उनले चार वर्ष पढाए । २०१६ सालदेखि उनी शिक्षासेवामा आबद्ध भएर २०६१ सालसम्म उनी त्यही पेसामा संलग्न भए ।

विवाह

जोशीले एमए पढ्नका लागि नाउँ दर्ता गरेपछि बिहे गरे । उनको बिहे तुलसीदास प्रधानका जेठी छोरी कोशला प्रधानसँग भएको थियो । दाम्पत्य जीवनमा प्रवेश भएपछि कोशला जोशी पनि साहित्यमा लागिन् । उनले पनि ‘नेपाली साहित्यका सात तारा’ लेखिन् । साथै यी दम्पतिबाट कौशल, कुमुदिनी र कुमुद जन्मे । वैवाहिक जीवनमा उनीएर तीन दसकसम्म यी दम्पतिले एक अर्कामा दुक्ख बाँडे, सुक्ख बाँडे, हाँसो बाँडे र आँसु पनि बाँडे । तर त्यो मिलनबाट एक जनाले पृथ्वीबाट हठात् हिंड्नु प¥यो । अथवा भनौं बिहेको तीस वर्ष लाग्दा नलाग्दै कोशलाको चोला उठ्यो । त्यसपछि कुमारबहादुर जोशीले शङ्करध्वज जोशीकी कान्छी छोरी सरस्वती जोशीसँग लगनगाँठो कसे । विवाहपछि जोशी मृगौला पीडित बने । त्यसपछिका दिनहरूमा सरस्वती जोशीले आफ्ना पतिको रक्षार्थ हरेक पल अनेक कसरत गरिन् । उनैको सेवाले जोशीले अर्को जन्म मात्र पाएनन् लेखनयात्रामा पनि आफूलाई उतिकै उत्सर्गिक बनाइरहे । वास्तवमा सरस्वती जोशी कुमारबहादुरका लागि साक्षात देवी पनि थिइन् । साथै सरस्वती जोशीले पनि आफ्ना पतिउपरका तीनवटा कृति ‘कुमारबहादुर जोशीसितका अन्तर्वार्ता’ (२०६३), ‘सर्जक जोशी र उनका कृति’ (२०६४) र ‘कुमारबहादुर जोशी ः संवाद र मन्तव्य’ (२०७०) सम्पादन गरिन् ।

काशीयात्रा र मृगौला रोग
जोशीले सरस्वतीसँग बिहे गरेपछि यी दम्पती बनारस लागे । भनौं त्यस बेला जोशी काशी हिन्दू विश्वविद्यालयमा नेपाली अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए । तर बनारस पुगेदेखि नै उनी मृगौला रोगले थला परे । दोस्रो बिहेको दोस्रो वर्षमा नै कुमारबहादुर जोशीका दुवै किड्नीले फेल खाए । आफ्नी पत्नी सरस्वती जोशीको सक्रियतामा उनको शरीरमा मृगौला पनि प्रत्यारोपण भयो । साथै फेरि पाँच वर्षपछि उनका त्यो फेरिएको मृगौलाले पनि काम गर्न छाड्योे । त्यसपछि फेरि उनको मृगौला फेरिन गयो । वास्तवमा सरस्वती जोशीको ओजिलो पति प्रेमबाट नै कुमारबहादुर जोशीको पुनर्जन्म र फेरि पनि पुनर्जन्म भयो । डा.जोशीको जीवनमा उनका अनन्य सहयोगीका रूपमा साहित्यकार भाइ प्रधुम्न जोशीको भूमिका पनि विर्सिनसक्नुको थियो । दिुई पल्ट मृगौला फेर्न र बाँचुञ्जेल औषधी सेवन गर्न उनलाई लगमग एक करोड रुपियाँ लागेको थियो । नेपाल सरकार, विभिन्न सामाजिक सङ्घसंस्था र सह्दयी व्यक्तिहरूको सहयोग पाएर जोशीले दोहोर्याउदै , तेहेर्याउदै आफ्नो अर्को र फेरि अर्को जन्म भोगे ।

जोशीको साहित्यिक यात्रा
जोशीले नेपाली साहित्यमा प्रवेश गरेर खास गरेर समालोचना विधामा नै आफ्नो नाउँ स्थापित गरे । जोशीले नेपाली समालोचनाका फाँटमा २०२१ सालदेखि औपचारिक रूपमा हात हालेका थिए । २०२१ चैत २१ गतेको गोरखापत्रमा उनले विजय मल्लकृत नाटक विषयक ‘कोही किन बरबाद होस् : एक समीक्षा’ भन्ने लेख छपाएका थिए । त्यसपछि उनीद्वारा लिखित “चार अमर कविका पाँच काव्यकृति” २०२९ सालमा प्रकाशित भएको थियो । त्यस कृतिमा जोशीले आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र म.वी.वि.शाहका काव्यहरूको समालोचना गरेका थिए । त्यही कृतिबाट जोशी नेपाली समालोचनाक्षेत्रमा चर्चाको मुहानतिर आइपुगे । जाति, सम्प्रदाय र आञ्चलिकतादेखि माथिमाथि र माथि उठेर जोशीले समालोचनाको प्रारम्भमा नै आफ्नो समालोचकीय धर्म निर्वाह गरेका थिए । सुरुमा जोशीको समालोचकीय आधार नाटक भए तापनि उनले खास गरेर कविता र क्रमशः साहित्यका प्रायः सम्पूर्ण अन्य विधालाई पनि आफ्नो समालोचनात्मक आलेखबाट जुरुक्कै बोक्न खोजेको पाइन्थ्यो ।

नेपाली समालोचनामा पाइला चाल्दै जाँदा जोशी महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रतिको निष्ठामा चाहिं अधिकतम रूपमा नै अङ्गालिन पुगे । त्यसैले उनी महाकवि देवकोटाको सेरोफेरोमा धेरै पल्ट नै बाटिए । हुँदाहुँदै उनको समालोचनाको मुख्य विषयवस्तु पनि देवकोटा नै भए । देवकोटा विषयक छोपिएका धेरै बेहोरा पनि यिनले बाहिर ल्याएर अलौकिक काम गरे । साथै त्यही काम गरेर उनी पनि प्रसिद्धिको शिखरमा पुगे । देवकोटा भित्रै डुब्दै, भिज्दै र पौडँदै गएर उनले त्रिभुवन विश्वविद्यालयबाट संवत् २०४३ मा देवकोटा विषयक विद्यावारिधीको उपाधि पनि हासिल गरे । उनले विद्यावारिधि गरेको विषय थियो “महाकवि देवकोटाको कवितायात्रा र त्यसका मोडउपमोडहरूको विवेचना” । महाकवि विषयक विद्यावारिधि गर्ने पहिलो व्यक्तित्व पनि जोशी नै किटिए ।

नेपाली समालोचनाक्षेत्रमा जोशीले आफ्नो बलियो कृतिस्तम्भ तयार पारे । त्यस धारामा समर्पित भएर उनले साहित्यमा आफ्नो उच्च आयम स्थापित गरे । उनको त्यही धाराको पोयो बाट्तै अर्का सुप्रसिद्ध समालोचक प्रा.डा.घनश्याम नेपालले लेखे “साहित्य व्यक्ति साहित्यकारद्वारा अनुभव र बोध गरिएका मूल्यहरूकै कलात्मक अभिव्यक्ति हो र साहित्यालोचन भनेको तिनै अनुभव, बोध, कलात्मक सौन्दर्य र मूल्यहरूको पारख र अँकाई हुनुपर्छ भन्ने विचारधाराकै हिमायती डा.कुमारबहादुर जोशीलाई ती थोरै नेपाली समालोचकहरूका हारमा हामी पाउँछौं, जसलाई प्राचीन भारतीय दर्शन, काव्य तथा साहित्य शास्त्रका साथै पाश्चात्य काव्य, काव्यशास्त्र र दर्शन अनि नेपाली भाषा र साहित्यको पनि भित्रीतहरूसम्मको सुक्ष्मज्ञान छ । वस्तुतः आधुनिक नेपाली समालोचना भनेको यिनै तीन थरी प्राज्ञिक स्रोतको समीकरणबाट उद्भूत साहित्याध्यायन नै हो । यही नै अद्यावधिक नेपाली साहित्यालोचनको मूलधारा पनि हो । डा.जोशीलाई हामी मूल धाराका एक जना अथक साधक र पोषकका रूपमा पाउँछौ ।”

कृति

साहित्यिक मार्गमा समर्पित हुँदै जाँदा जोशीले निबन्ध, समालोचना र कविता विधामा आफ्नो कलम तिखार्दै गए । जोशीले समालोचना विषयमा मात्र चौधवटा ग्रन्थहरूको निर्माण गरे जसअनुसार देवकोटा विषयकमा मात्र उनले छवटा ओजपूर्णका ग्रन्थ लेखे । चार अमर कविका पाँच काव्यकृति (२०२९), महाकवि देवकोटा र उनको महाकाव्य (२०३१), विकर्ण चिन्तन (२०३३), पाश्चात्य साहित्यका प्रमुख केही वाद (२०३८), कविताचर्चा (२०४०), देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन (२०४७), देवकोटाका कविताकृतिमा प्रकृति (२०५३), केही कृति र कृतिकार (२०५४), कवि मोहन कोइराला र उनको गङ्गा प्रवास (२०५५), सिर्जना र विवेचना (२०५८), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटा ः अनेकका आँखामा (२०६६), कृतिपरिक्रमा (२०६७) र केही साहित्यिक कृति (२०६७) उनले लेखेका समालोचनाका कृति हुन् ।

२०१९ साल माघ ७ गते ‘विद्या र विद्यासाधन’ नामक उनको निबन्ध गोरखापत्रमा छापियो । त्यसपछि २०२५ सालमा ‘सञ्चयन’ नामक निबन्धसङ्ग्रह पनि उनले जनसमक्ष ल्याए । उनले २०५४ सालमा ‘मृत्युशैयाबाट ब्यूँझेर’ २०५५ सालमा ‘मृगौला रोग र यसको उपचार’ र २०५९ सालमा ‘दोस्रो नवजीवन’ नामक निबन्धसङ्ग्रहहरू पनि नेपाली साहित्य मन्दिरमा चढाए । उनले २०६९ सालमा ‘चिन्तन र संस्मरण’ र २०७२ सालमा ‘कालीप्रसाद र कुमारबहादुर’ पनि लेखे । साथै उनले २०६१ सालमा अङ्ग्रेजी भाषामा ब्धबपभलष्लन ाचयm तजभ म्भबतज(दभम पनि लेखे । संस्कृतका ज्ञाता जोशीले नेवारी भाषामा पनि आफ्ना लेखरचना विभिन्न पत्रिकामा छपाइरहे ।

जोशीले थुप्रै राम्राराम्रा फुटकर कविता लेखे । तर कृतिका रूपमा उनको कविताको सिङ्गो पुस्तक २०२६ सालमा ‘सिंहसार्थवाह’ प्रकाशित भयो । त्यसै गरी २०४१ सालमा उनका दुई वटा अन्तर्वार्ताका ग्रन्थहरू पनि प्रकाशित भए । ‘कुराकानी’ र ‘एक व्यक्तित्व ः अनेक दृष्टि’ । एक व्यक्तित्व ः अनेक दृष्टिचाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा केन्द्रित छ । यस ग्रन्थमा देवकोटाका सुपरिचित व्यक्ति र स्रष्टाद्वारा महाकविको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारिएको छ ।

जोशीले केही कृतिको पनि सम्पादन गरे; ‘वासुशशीका कविता’ (२०३५), सहसु सारस (२०४३), जापानको सबभन्दा लामो दिन (२०४५), ‘हिमदेश’ (२०४५, महाकवि देवकोटाका कविता (२०४७), नेपाली साहित्यकोश (२०५५), बाल रचना माला (२०६७), खेतलाका कविता (२०६७) ।

जोशीले केही पत्रिकामा पनि आफ्नो सबल पहुँच प्रस्तुत गरे । जसअनुसार समयाङ्कन (२०५२ देखि २०५४ सम्म) पनि उनैले सम्पादन गरे । यसका अतिरिक्त उनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट नेपाली साहित्यकोश (२०५५) र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास पत्रिका (२०५७ देखि २०५९ सम्म) को सहसम्पादनमा आफ्नो योगदान प्रस्तुत गरेका थिए ।

पुरस्कार र सम्मान
नेपाली साहित्याकाशमा निरन्तर समर्पित भएबापत जोशी विभिन्न पुरस्कारबाट सम्मानित भए । उनी महेन्द्र विद्याभूषण प्रथम, भानुभक्त पुरस्कार, प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भूपालमानसिंह कार्की कृति पुरस्कार, सैनध्वजनन्दकुमारी पुरस्कार, कुमारी साहित्य पुरस्कार, ईश्वर बराल पुरस्कारबाट पुरस्कृत भए । साथै दर्जनौ सम्मान, अभिनन्दन र पदकबाट पनि उनी सम्मानित भए ।

व्यक्तित्व

जोशी नेपाली साहित्यमा एउटा सरल, प्रस्ट र उदार व्यक्तित्व थिए । मान्छेप्रतिको शिष्टचार, समयप्रतिको इमान्दारिता र सेवाप्रतिको त्याग नेपाली संसारमा उनले अक्षय रूपमा राखे । उनी एउटा कर्मठ भएर पनि योग्यताका कसीमा नापिएका स्रष्टा थिए । उनी जसरी समालोचकीय धारामा काव्यतिर झुकाव राख्थे उनको व्यक्तित्व पनि काव्यमय पाइन्थ्यो । जस्तोसुकै हुरी चले तापनि, जस्तोसुकनै बाढी आए तापनि र जस्तोसुकै विघ्नबाधा आइपरे पनि जोशी साहित्य, साहित्य र साहित्यमा नै समर्पित थिए । वास्तवमा त्यसै गुणले उनी पाठकमाझ श्रद्धेय पनि भए ।

निधन

प्रा.डा.कुमारबहादुर जोशी मृगौला रोगका कारण झन्नै २५ वर्ष थला परे । उनका प्रिय चिकित्सक डा.ऋषिकुमार काफ्लेका कारण उनले कहिले सहज जीवन भोगे र कैयौंपल्ट कष्टपूर्णको जीवन नै धाने । अन्ततः २०७५ साल वैशाख ३ गते मातातीर्थ औसींका दिन ललितपुरको सुमेरु अस्पतालमा श्रीमती र सबै छोराछोरीका आँखा अगाडि उनको इहलीला समाप्त भयो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.