कुशे औंसीको शास्त्रीय पक्ष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कुशे औंसीको शास्त्रीय पक्ष





कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमाबसमा (औंसी) का दिन मनाइने पर्व हो । कुसे औंसीमा पिताको मुख हेर्ने अर्थात् पितृ दिवसको रूपमा मनाइने विशेष सम्मान गर्ने र मातापिता नहुनेले तिर्थमा खासगरि गोकर्ण, विष्णुपादुकामा गइ श्राद्ध, तर्पण, दान पुण्य गरि पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । माता पितालाई जीवित एवं साक्षात देवता भनिएको छ । धर्म शास्त्रमा समस्त मान्यजन भन्दा माता पिता लाई बढी सम्मान गरेको पाइन्छ ।

माता गङ्गासमा तीर्थं पिता पुष्करमेव च ।
गुरुः केदारकं तीर्थं माता तीर्थं पुनः पुनः ।
भरणं पोषणञ्चैव भोजनं रससंयुतम् ।
कारितामेव भो तात पितृदेव नमोऽस्तुते


हुन पनि व्यावहारिक जीवनमा पाइने शिक्षा दीक्षाका साथै पितृ अंश सन्तानमा रहेका कारणले नै श्रुतीले पनि “आत्मा वै पुत्र” भनेर आफ्नो स्वरुपनै पुत्र रूपमा उत्पन्न हो भनिएको छ । भरण पोषण गरि सक्षम एवं देशको आदर्श नागरिक बनाएर खुशी एवं सुख बहन गर्ने क्षमतावान व्यक्तित्व बनाउनु भयो, त्यसका लागि म सदा ऋणी छु भनेर माता पितालाई नमन गरेको प्रशङ्ग शास्त्रमा हामीले पढेका सुनेका छौं । छोरा छोरीका कर्तव्य प्रदान कर्म हुन् । समस्त कर्महरूको समष्टी नाम नै सत्कर्म हो । वर्ष भरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश आजको दिन घर घरमा भित्र्याउछन् । शास्त्रोत विधी अनुसार ब्राह्मणहरू द्वारा पूजा गरि छेदन गरेर यजमानहरूको मा पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरू कुश, तुलसी, पिपल र शालीग्रामलाई भगवान विष्णुको प्रतिक मान्दछन् । गोकर्णे औंसीका नामले पनि चिनिने यस पर्वमा आफ्नो सन्तान द्वारा परम्परा अनुसार पितालाई आदर सम्मान प्रकट गर्ने र मिष्ठान्न उपहार दिने पनि चलन छ । ब्रह्मा जीको उत्पत्तिसँगै कुशको पनि उत्पत्ति भएको हो । त्यसैले इन्द्रादी देवताहरू पनि कुशको पवित्र धारण गरेर मात्रै यज्ञ, व्रत, जाप गरेको प्रशङ्ग पुराणहरूमा धेरै पाइन्छ । बज्र समान शक्तीशाली कुशको पवित्र स्वस्थानी व्रत कथा अनुसार वृन्दाले विष्णु भगवानलाई घाँस हुनुपरोस् भनि श्राप दिएकाले घाँस नै कुशको रूपमा अम्रिएको भन्ने कुराले स्पष्ट पारेको छ । जसरी पनिभगवानसंग सम्बन्धित भएर आएको कुशलाई यज्ञादीमा प्रयोग मात्र हैन आचार्यकर्ताले शुद्धता एवं रक्षणाय तथा बलशाली बन्न पनि मद्दत गर्दछ । कुशको पवित्र लगाउने, कुशको आसनमा बस्ने, धार्मिक कार्य गर्नुपर्ने, धार्मिक कार्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

कुश उखेल्ने मन्त्र :
पूजा गरि धुप बत्ति नैवेध चढाएर

विरञ्चिना सहोत्पन्नं परमेष्ठिन्निसर्गज: ।
हरतु सर्व पापानि दर्भ स्वस्तिकरो भव ।।

यो मन्त्र पढेर प्राथना गर्नु
ओम हुँ फट स्वाहा” भनेर उखेल्नु ।

-ज्योतिष दीपक काफ्ले



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.