विश्वका शक्तिशाली राष्ट्रहरुमध्धे एक मानिने अमेरिकाको रहनसहन र रितीरिवाज पनि देखेँ, मानिसहरुको धारणा पनि बुझेँ अनि भिन्न तहका व्यक्तित्वसंग संगत पनि गरेँ, यहाँको राजनीतिक माहोल र व्यवस्थासंग परिचित पनि भएँ। देश धनी भएपनि जनताको बचत नगर्ने संस्कार भएको यो समाजभन्दा हाम्रो नेपाल धेरै राम्रो छ।
आदरणीय जन्मदाता,
साष्टांग ढोग तथा न्यानो माया।
तिम्रो आशिर्वाद र श्री पशुपतिनाथको कृपाले यहाँ मलगायत सबैजना आरामै छौ। तिम्रो कुशल मंगलको कामना पनि पत्रबाटै गर्न चाहेँ।
आमा! समयको वेग र अमेरिकाको चंचल संस्कारसंग लुटुपुटु गर्ने प्रयासमा छ वर्ष बितेको पत्तै भएन। न तिम्रो करले विदेश पसेको थिएँ, न आफ्नो रहरले नै। तरपनि समयको वहसंगै आफ्नो उच्च शिक्षा हाँसिल गर्न अमेरिका पसेको वर्षौ बित्दापनि तिमीलाई पहिलो पत्र लेख्न बसेको छु। समयको आभाव हो वा प्रविधिको विकाससंगै बिलाएको हुलाकी सेवाको कारण, मेरो लाचार्ता हो वा अन्य संचारमाध्यमको सहज पहुँच, जे होस् आफ्ना मनका भावना यी कागजका पानामा उतार्ने कोशिसमा छु। तिम्रो रुवाई र आँशु देख्ने समाज छ तर म भने आफैभित्र उकुसमुकुस भएर बसेको छु यो विरानो भूमिमा।लोग्नेमान्छे भएर जन्मेपछि आँशु लुकाउनुपर्ने बाध्यता भएर होला सायद डाँको छोडेर रुन सकिरहेको पनि छैन।
हो आमा! तिमीले खाई-नखाई अंग्रेजी माध्यमको विद्यालयमा पढाएकी भएपनि यहाँको अंग्रेजी फरक लवजको थियो। सुरुका दिनहरु त्यति सहज थिएनन्। कक्षामा पढाएको कुरा बुझ्न धेरै गाह्रो हुन्थ्यो।ध्यान केन्द्रित गर्ने कोशिसमै धेरैपटक कक्षामै निदाएको छु।नेपाली साथीहरु भएको कक्षामा गृहकार्य सोध्न मिल्थ्यो, नभएकामा धेरै सकस खेपेको छु। मनमा भनी कुरा धेरै भएपनि मेरो अंग्रेजी लवज नबुझ्ने पो हुन् कि भन्ने त्रासले कक्षामा मौन रहनु मेरो बाध्यता थियो।
अमेरिका पसेकै दिनदेखि तिम्रो यादले धेरै सताउन थाल्यो। यहाँको खाना देखेर धेरैपटक आँखाबाट पिलपिल आँशुका दाना झर्दथे।कयौदिन फलफूलले नै ज्यान धाने भने अगन्य दिनहरु भोकभोकै गुजारेको छु। सुरुको चार महिना अमेरिकी जीवन नर्कतुल्य थियो। नयाँ संस्कार, नयाँ संसार र त्यहाँका नयाँ अनुहारहरु आँखामा अट्न मानिरहेका थिएनन्। बेलाबेलामा तिमीले फोन गरेर सोध्दा रमाइलो लागिरहेछ भन्नुको विकल्प थिएन नत्र तिम्रो पिलपिले मुहारको सम्झनाले म पनि सुत्न सकिरहेको हुन्नथें। हिड्ने बाटाहरुमा ठेस लाग्नु, देखिने अनुहारदेखि त्रशित हुनु र सुनिने संगीत झर्कोलाग्दा हुनु लाग्थ्यो पूर्वजन्मको पापको परिणाम हुनुपर्छ।
आमा! यो नयाँ समाज र संस्कारबाट धेरै कुरा सिक्ने मौका पाएँ मैले। सानो छँदा तिमीले भनेझै आफु बसेको परिवेशको राम्रा पक्ष अँगाल्दै र नराम्राबाट तर्किने क्रममा आफ्नो कर्तव्यपथबाट कहिलै हटिन। सकेसम्म सबैको राम्रै चिताएर आफुले सक्ने सहयोग गरिआएको छु।यो समाजको घुलमिलमा कति साथी पराई भए त कति पराई साथी, संगै बस्दाका साथीहरुको व्यवहार पनि देखियो अनि नचिनेकाहरुले ऐंचो-पैंचोमा विश्वास गरेको पनि। यसैक्रममा स्वार्थीको संगत पनि गरेँ, सहयोगीको हात पनि समातेँ, दानीसंग व्यवहार पनि गरेँ, लोभीहरुको र्याल-कढाई पनि देखें। नेपाली-नेपालीबीचको वैरभाव होस् वा अन्य देशका-बीचको सहिस्णुनता, मेरा लागि भोगाई र सिकाई दुवै थिए।समग्रमा यो विरानो भूमीमा आफु भिज्ने मौका पाउनु पनि मेरो भाग्य नै त थियो।
अर्काको घरमा धेरैदिन पाहुना लाग्दा उकुसमुकुस हुने रैछ आमा, न त्यो घरको रहनसहन बुझिसक्दो न निर्धक्क बस्न सक्ने वातावरण।न म अमेरिकाको हुन सकेँ न अमेरिका मेरो नै, साच्चैको पाहुना भएर बाँचेको महसुस हुन्छ हरेक पल।यो मुलुकको कानून पनि यस्तै छ, कतिखेर विधान लेखिन्छ र कतिखेर फेरबदल हुन्छ पत्तो नै नहुने।आज एउटाको गल्तीले भोलि तुरुन्त कानूनको तर्जुमा हुन्छ सजायको लागि र कोहि उम्कन सकिने आधार रहन्न यहाँ। अध्यागमन सम्बन्धि केहि समाचार आउँदा हामी प्राय चनाखो हुन्छौ अनि हर पाइला उत्तिकै विचार गरेर चाल्नुपर्ने हाम्रो दिनचर्याले लाग्छ कारागारको कैदीभन्दा कम छैन हाम्रो जीवनशैली पनि। काम गर्नुपर्ने बाध्यता अर्को पिरोल्ने घाउ हो, त्यहाँबाट पैसा पठाउन सम्भव पनि त छैन।आफ्नो विहान-बेलुकीको छाक टार्न र पढाईको शुल्क भर्न सदैव संघर्ष गरिरहें। यहाँका विद्यार्थीलाई देखा घरको धेरै याद आउँथ्यो, आमाले पकाएर दिएको खाना, बाबाले तिरिदिएको शुल्क र आफ्नो स्वतन्त्रता सहितको शैक्षिक लगनशीलता स्मरणमा मात्र अट्ने भए।
विश्वका शक्तिशाली राष्ट्रहरुमध्धे एक मानिने अमेरिकाको रहनसहन र रितीरिवाज पनि देखेँ, मानिसहरुको धारणा पनि बुझेँ अनि भिन्न तहका व्यक्तित्वसंग संगत पनि गरेँ, यहाँको राजनीतिक माहोल र व्यवस्थासंग परिचित पनि भएँ। देश धनी भएपनि जनताको बचत नगर्ने संस्कार भएको यो समाजभन्दा हाम्रो नेपाल धेरै राम्रो छ।हरेक कुरा क्रेडिटमा चल्ने यहाँका मान्छेहरु नगद पैसामा त्यति कारोबार गर्दैनन्। देश धनी भएपनि जनता गरिब भएको भान हुन्छ यहाँ। यहाँको राजनैतिक संस्कार भने तारिफयोग्य छ जहाँका जनतालाई चुनावपछि राजनितीको खासै चाख नहुँदोरहेछ। सायद राम्रो काम गर्ने नेतृत्वपक्षबीचको होडबाजीले होला जनता ढुक्क देखिन्छन। आएदेखि हड्ताल, बन्द वा आन्दोलन देखेको छैन, आधाघण्टाको उर्जाअभावले देशको अर्थतन्त्रमा ठुलो असर गर्ने भएर होला दुई मिनेट पनि लोडसेडिङ् खेप्नुपर्दैन।हाम्रोतिर केहि सुधार भयो कि १८ घण्टाकै चर्चा छ कुन्नी? हाम्रा नेता धेरै देश घुम्छन रे, खै के पो देखेर आउँछन् अनि के सिकेर।
यहाँका नेपाली संघसंस्थाहरु पनि नेपाली राजनीतिबाट प्रभावित छन् जस्तो लाग्छ। सानोतिनो भेटघाट कार्यक्रमहरुमा फलानो कांग्रेस र फलानो कम्युनिष्ट भनेर कुर्लेको देखिन्छ, विवादकै कुरा सुनिन्छ। ठुल-ठुला नेपाली संस्थाहरुले त झन् कार्यक्रम गरेर होटेलको पैसा नतिरेको खबर संचार-माध्यममा आएका थिए। निश्चय पनि हाम्रो लागि यस्ता समाचार बेइज्जतीको कुरा हो तर थाहा छैन कहिले यी जिम्मेवार संघसंस्थाको घैटोमा घाम लाग्ने हो। मान्छे सबै एकै प्रकारका नहुने रहेछन आमा। क्षणभरमै पैसा कमाउन चाहने नेपालीको यहाँ घुँइचो लागेको पाउँछु तर सबै पैसाको लालचमा आएका भने पक्कै हैनन्। समाजसेवाको भावना भएका कयौ नेपालीसंग भेट्दा मन फुरुंग भएका पनि केहि कथाहरु छन्।
देशको बिग्रदो स्थितिमा लाखौ नेपाली आमाबाबुले तिमीले जस्तै छातीमा ढुंगा राखेर आफ्ना छोराछोरीलाई अमेरिका पठाएका थिए उच्चशिक्षाको लागि। हुन त यो परम्परा अझैपनि यथावत् छ हाम्रो नेपालमा, धेरैको स्वप्ननगरी अमेरिकाबाट नेपाल फर्कन चाहने एकदम कम साथीहरु भेटेको छु। आफ्नो देश र संस्कार चटक्क भुल्नसक्ने युवायुवतीलाई हेरेर चकित हुन्छु घरीघरी। बाबुआमाको निगरानीमा बाल्यकाल बिताएका धेरैजसोलाई स्वतन्त्रता ले पगालेको पाउँछु। केहि केटिसाथीहरु त नेपाल फर्केर सासुससुराको नियन्त्रणमा बस्न नसक्ने हाकाहाकी भन्छन पनि र त यतै घरजमको जमर्को गर्छन। त्यहाँजस्तो फलानोको छोरो र फलानोको छोरी हिंडे भन्ने हल्ला सात गाउँले समाचार बनाउँदैनन्, एउटै घरमा बस्ने भिन्न परिवार पनि अपरिचित हुनाले कोठामा एक्लै हुँदा निसासिन्छु आमा।
बेलाबखतमा नेपालीले ज्यान गुमाएको खबर सुन्दा त्यहिदिन घर फर्किन धेरैपटक मन नभएको पनि हैन तर उदेश्य पुरा नगरी अर्को मनले दिएन। कति मन रुन्छ यस्ता खबरले, सोच्छु के गल्ति थियो र त्यी बिचराबिचरीको जसले जन्मभुमीभन्दा धेरै टाढा आएर ज्यान गुमाउनुपर्यो। कति नेपालीले लुटेराको बन्दुकको निशानी बन्नुपर्यो भने कतिले सडक-दुर्घटनामा परलोक हुनुपर्यो। मदिरासेवनको कारण दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दो छ अचेल। संगै बसेका हुन् वा चिनेका, नेपालीले ज्यान गुमाउँदा फर्किने रहरले गुणन गर्छ मस्तिष्कमा। हाम्रोजस्तो पारिवारिक र सामाजिक मूल्यमान्यतामा धनी समाजबाट छोराछोरी स्वतन्त्र संस्कार भएको समाजमा पठाउँदा सोचिदिए हुने अभिभावकले भनेजस्तो पनि लाग्छ। कुलतमा फस्न सहज यो समाजप्रति घृणा पनि पलाउँछ कहिलेकाहीं।कति साथीहरुको ठुलो बन्ने सपना, पढाईप्रतिको लगनशीलता, मित्रवत व्यवहार र देशको लागि केहि गर्ने अठोट सुन्दा गदगद हुन्छु र त लाग्छ धेरै राम्रा मानिसहरुसंग परिचित गराउने थलो पनि हो अमेरिका।
आमा! वास्तवमा म यो विदेशी जीवनदेखि थाकिसकेको छु तरपनि हारेको छैन। आफ्नो उदेश्यप्राप्तिको लागि सधै संघर्षरत र प्रयत्नशील तिम्रो छोरा एकदिन अवश्य नेपाल फर्कनेछ।जबजब चाडबाडले संघारमा पाइलो टेक्ने जमर्को गर्छ, जबजब गर्मी मौषमले बिदाईको सुचना दिन थाल्छ, मेरो मन उकुसमुकुस हुनथाल्छ। दशैं-तिहारको रमझम र उत्सवको झझल्कोले म आफ्नो परिवार, साथी, गाउँ र देशको सम्झनामा डुब्न थाल्छु। तिम्रो हातले पकाएको खाना, रातो टिकाले रंगिएको निधार, साथीहरुसंगको पिङ्को चचहुइँया अनि देउसी-भैलोको स्वरले मनमा हलचल ल्याईदिन्छ। तिहारमा देउसी खेल्न आएका देउरालीका दमाईहरुको पन्चेबाजामा आफुले धित मरुन्जेल नाँचेको याद आउँछ। यस्ता चाडपर्व यहाँपनि मनाइने भएपनि आफ्नो परिवार इष्टमित्रसंग आफ्नै देशमा मानेजस्तो कहिलै भएन। देउसी-भैलोको अनुभव यहाँ गरेपनि नेपालकै रमाइलो लागिरह्यो।
आमा! प्रष्टरुपमा भन्नुपर्दा यो पराइभुमिमा मेरो शरीर त अटायो तर मनले नेपाल छोड्न सकेन। सुविधा सम्पन्न जीवनयापनको अनुभूति भएपनि यो संस्कार, यो उदार सामाजिक परिवेश र भिन्न विचारधाराका मानिसहरुले मनभित्र बास गर्न सकेनन्। आफ्नो उदेश्य प्राप्तिपछि अवश्य तिम्रो सेवामा उपस्थित हुनेछु आमा। म भित्र तिम्रो बुढेसकालको सहाराको कर्तव्यबोध पनि जुर्मुराइरहेको छ। धेरै वर्ष मेरो तस्विर हेरेर वा कम्प्युटरमा मलाई टिका लगाएर कटायौ भने अब एक-दुइटा न् हुन। फोनमा गफ गर्दा पिलपिल आँशु झार्यौ, बाडुलीलाग्दा सधैं फोन गर्यौ, साथीभाई नेपाल आउँदा गुन्द्रुक र मस्यौरा पोको परेर पठायौ, आफुले खाए-नखाएको भन्दै नभनी "भोको छस कि?" भनेर सोधिरह्यौ। आमा तिम्रो मातृत्वको बयान म गर्न सक्दिन किनकि हरेक आमाको माया तिम्रै जस्तो पवित्र, निश्चल र न्यानो हुन्छा। यो पत्र पढ्दा पनि तिम्रा आँखाहरु रसाउँछन् भन्ने मलाई थाहा छ र त्यी आँखा पुछ्न आउने दिन पनि धेरै टाढा छैनन्।यसपालीको चाडमा त मिलेन तर अब नेपाल फर्केपछि तिमीबाट टाढा रहनेछैन आमा।
अन्त्यमा तिमीले जुन संस्कारमा मलाई हुर्कायौ, जुन नैतिकताको पालुवा मेरो मनमा रोपिदियौ र जुन सेवाको भावनासँग मलाई परिचित गरायौ, तिनै संस्कार, नैतिकता र सेवालाई सार बनाएर देशको असल नागरिक बन्ने वाचा गर्दै अर्को पत्रसम्मको लागि बिदा हुन चाहन्छु।
तिम्रो आज्ञाकारी छोरा,
राजन कोइराला
(कोइराला अध्ययनको लागि अमेरिका गएका बेला लेखेको यो पत्र ड्यालास सहरबाट प्रकाशित "नेपाल दृष्टि"मा सन् २०११ मा छापिएको थियो। लेखक सन् २०१३ मा नेपाल फर्केर हाल इडियुसंजाल डट कम मा प्रमुख वित्त अधिकारी र विभिन्न संघ-संस्थामा रही युवा जागरण र सशक्तिकरणको लागि काम गरिरहेका छन्। सुझाब र प्रतिक्रियाको लागि [email protected])
Liked by: