किन लगाए विभिन्न मुलुकहरूले प्रतिबन्ध? यस प्रश्नको उत्तर सरल पनि छ, जटिल पनि छ।
कतार अहिले सर्वाधिक चर्चामा छ। चर्चामा रहनुको प्रमुख कारण हो विभिन्न देशहरूसँग यसको सम्बन्ध खराब हुनु। गएको सोमवार (June 06, 2017) देखि साउदी अरेबिया, बहरेन, युनाइटेड अरब इमिरेट्स, लिबिया र माल्दिभ्सले कतारसँग कूटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन्। साउदी अरेबिया, बहरेन र युनाइटेड अरब इमिरेट्सले कतारी नागरिकलाई दुई हप्ता भित्र आफ्नो मुलुक छाडन आदेश दिएका छन्। यसैगरी यी तीन मुलुकले कतारी नागरिकहरूलाई आफ्नो देशभित्र प्रवेश गर्न निषेध पनि गरेका छन्। यति मात्र होइन, यी तीन मुलुकले कतारसँग यातायात सम्पर्क पनि तोडेको घोषणा गरेका छन्। यसै घोषणसँग, अब अर्को कुनै कूटनैतिक समाधान नआएसम्म कतारले यी मुलुकहरूमा न वस्तु, न सेवा निर्यात गर्न पाउँछ, न ती मुलुकहरूबाट आयात नै गर्न पाउँछ। अरब जगतमा देखिएको यो नयाँ एवं पेचिलो समस्याले यस क्षेत्रमा ठूलो अनिश्चितता देखाएको त छ नै, कतारको अर्थ व्यवस्था पनि नराम्रो गरी प्रभावित हुने निश्चित छ। र सर्वाधिकरूपमा कतारको निर्माण उद्योग र श्रम बजार नराम्ररी प्रभावित हुने देखिएको छ। यो समस्या समाधनको लागि कूटनैतिक प्रयास समयमा नै नभएमा र कतारको श्रम बजार अत्यधिक प्रभावित भएको स्थितिमा, कतारस्थित नेपाली कामदारहरूको रोजगार उच्च जोखिममा पर्न सक्छ। धेरै नेपाली कामदारहरूको रोजगार हरण हुन सक्छ।
यो पनि हेर्नुहोस् : कतारको कुटनैतिक सकंट अनि नेपाली कामदारमा त्यसको प्रभाव
अनेक सामग्री आयात गर्न जसरी नेपाल ठूलो मात्रामा भारतमाथि निर्भर रहनुपर्दछ त्यसैगरी कतार पनि साउदी अरेबियामाथि निर्भर रहनुपर्दछ। अझ कतारको भूमिबाट सम्पर्क केवल साउदी अरेबियासँग मात्र छ। नेपालसँग त दुई छिमेकी राष्ट्रहरू भारत र चीनसँग भूमिबाट सम्पर्क गर्ने अवसर छ। तर टाँसिएको छिमेकी साउदी अरेबिया मात्र भएकोले कतार, साउदी अरेबियामाथि ज्यादै आश्रित छ। यो समस्या प्रारम्भ भएको केही दिनमा मात्र कतारका पसलहरूमा सामान खरिद गर्नेहरूको लामो लाइन लाग्न आरम्भ भइसकेको छ।
कतारलाई आवश्यक पर्ने खाद्य वस्तुहरूमध्ये ४० प्रतिशत साउदी अरिबया भएर आउने गर्दछ। हुनत कतारले हवाई र जलमार्ग, आफ्नै भूमिबाट, स्वतन्त्र किसिमले उपयोग गर्न सक्छ तर भूमि मार्गबाट मगाउँदा महँगो पर्न जान्छ । अर्कोतिर कतारले सन् २०२२ मा ‘वल्र्ड कप (FIFA World Cup) आयोजना गर्ने थालेको र त्यसका लागि अनेक पूर्वाधारहरू निर्माण गर्नुपर्ने भएकोले यसलाई विभिन्न सामग्रीहरू आवश्यक पर्न सक्छ। कतार, नयाँ बन्दरगाह र आठ विभिन्न स्टेडियम निर्माणमा संलग्न त छ नै, यसले ‘मेट्रो प्रोजेक्ट’ पनि सञ्चालन गरेको छ। यी सबै कारणले गर्दा कतारमाथि विभिन्न मुलुकले लगाएका आयात, निर्यात र यातायात प्रतिबन्धले यस मुलुकको आर्थिक र सामाजिक अवस्था अति समस्याग्रस्त हुन पुगेको छ।
किन लगाए विभिन्न मुलुकहरूले प्रतिबन्ध? यस प्रश्नको उत्तर सरल पनि छ, जटिल पनि छ। सरल यस कारण कि साउदी अरेबियालगायत अन्य राष्ट्रले प्रतिबन्ध लगाउनुको प्रमुख कारण कतारले यस क्षेत्र (अरब र मध्यपूर्व) मा आतङ्कवादी गतिविधि बढाएको अत्तो थापेका छन्। यस क्षेत्रमा र मुख्यगरी सिरियामा आतङ्कवादी गतिविधि बलियो र तीव्र पार्न इस्लामिक स्टेट, हमास, अल कायदाका साथै अन्य कट्टर इस्लामी सङ्गठनहरूलाई कतारले आर्थिक सहयोग गरेको आरोप लगाएका छन्। तर सतहमुनि भने कारण अर्को छ। इस्लामी देशहरूहरू विश्वभरि नै, अहिले दुई शिविरमा विभाजित छन्। एउटा शिविरको नेतृत्व इरानले गरिरहेको छ भने अर्कोको साउदी अरेबियाले। विश्वभरिमा इस्लामीबहुल देशहरूमा हुने युद्ध, गृहयुद्ध वा कुनै पनि किसिमको सङ्घर्षमा इरान वा साउदी अरेबियाको हात रहने विश्वास गरिंदै आएको छ। यमन, सोमालिया, लिबिया, नाइजेरिया वा सिरियामा इरान र साउदी अरेबियाले ‘प्रोक्सी’ वार चलाएको मान्यता राख्नेहरू धेरै छन्। यमनमा त त्यस्तो देखिएको छ पनि, किनभने स्वयं साउदी अरेबियाका सेनाहरूले यमनमा बम वर्षा गरेका थिए। यस्तो परिस्थितिमा सानो छिमेकी कतारले इरानको पक्ष लिएको र आफूलाई अरब र मध्यपूर्वको महाशक्तिको रूपमा देख्न थालेको परिदृश्य विभिन्न मुलुकहरूलाई पटक्कै मन परेको छैन। मुख्यगरी साउदी अरेबियालाई त झनै मन परेको छैन। साउदी अरेबिया आफूलाई इस्लामी राष्ट्रहरूको नेता ठान्छ। त्यसकारण साउदी अरेबिया र कतारको सम्बन्ध असामान्य मात्र होइन, शत्रुतामा परिणत भइसकेको छ।
केवल ११ हजार ५ सय ८६ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतार, सानो भनिएको नेपाल (क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१) भन्दा पनि धेरै नै सानो छ। तर आर्थिक र राजनैतिक रूपमा कतार यति बलियो छ कि यसले पुच्छरले टाउको हल्लाएझैं साउदी अरेबियालाई हल्लाउने क्षमता राख्दछ। यसको जनसङ्ख्या पनि थोरै छ। कतारमा जम्मा तीस लाख मानिसको बसोबास छ र त्यहाँको जनसङ्ख्याभन्दा बढी आप्रवासी कामदारहरू छन्। तर पनि कतारले साउदी अरेबिया मात्र होइन अरबका अन्य राष्ट्रहरूसँग टक्कर लिने क्षमता राख्छ। भारतको अगाडि नेपाल निरीह बनेजस्तो साउदी अरेबियाको अगाडि कतार निरीह छैन। इस्लामी राष्ट्रहरू माझ कतार महाशक्ति हुन खोजिरहेको छ।
कतार विश्वका अति धनी राष्ट्रहरूको श्रेणीमा पर्दछ। कतारलाई यति सबल यहाँका जनता र नेताले बनाएका हुन्, बाहिरी शक्तिहरूले होइन। सानो मुलुक भए तापनि सामरिक हिसाबले कतार बलियो छ र झनै बलियो हुँदै गएको छ। कतारको यो स्थिति साउदी अरेबियालाई पटक्कै मन परेको छैन। किनभने साउदी अरेबिया यस क्षेत्रको महाशक्ति हुन चाहन्छ र कतारलाई ‘साइज’ मा राख्न चाहन्छ।
कतारको (महाशक्ति हुने) महत्वाकाङ्क्षा ह्वात्तै वृद्धि हुनुको कारण पनि छ। प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थका लागि धनी मानिएको कतार, विश्वका विभिन्न हवाई सेवाका लागि ‘हब’ पनि हुन पुगेको छ। विश्वभरिबाट विभिन्न हवाईजहाजहरू यस मुलुक (दोहा) मा अवतरण गर्छन्। आर्थिक गतिविधि पनि यहाँ धेरै हुने हुनाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरू कतारमा लगानी गर्न हरपल तयार रहन्छन्। यी कुराहरूले, यस क्षेत्रको महाशक्ति हुने कतारको इच्छालाई मलजल गरेको छ।
राजनैतिक लेनदेन, शक्ति सन्तुलन र आर्थिक फाइदाजस्ता विभिन्न तत्वहरूले कतारलाई लामो समयसम्म अस्थिर (नाकाबन्दीको स्थितिमा) रहन दिनेछैन। यो मुलुकमा अस्थिरता लामो समयसम्म रहनु विभिन्न देशका लगानीकर्ताहरूको लागि प्रतिकूल स्थिति हो। साथै राजनैतिक खेलाडी (विभिन्न देशका नेता) हरूका लागि पनि कतारको यो स्थिति पटक्कै अनुकूल होइन।
जे जस्तो भए पनि अहिले कतारमा अस्थिरता देखिएको छ। यो अस्थिर स्थितिले कतारका उद्योगहरू नराम्ररी प्रभावित हुनेछन्। अस्थिरता लघुकालीन भए तापनि त्यसको परिणाम नराम्रो हुन सक्छ। जस्तै आयात अवरुद्ध भएको कारण खाद्य वस्तुको अभाव हुन सक्छ। नागरिकहरूमा त्रास उत्पन्न हुन सक्छ। यसैगरी उद्योग र व्यापार बन्द वा कम क्षमतामा सञ्चालित हुन सक्छ। यस्तो भएमा धेरै नेपाली कामदारको रोजगार गुम्न सक्छ। रोजगार गुमाएका नेपालीहरूमा निराशा उत्पन्न हुन सक्छ। चर्को ब्याजदरमा ऋण लिएर वा सम्पत्ति बेचेर रोजगारका लागि कतार पुगेका नेपाली कामदारहरूमा मानसिक पीडा उत्पन्न हुन सक्छ। यस्तो स्थितिमा कतार स्थित नेपाली दूतावासले विशेष ध्यान दिनुपर्ने देखिन्छ। फिलिपिन्सले हालको लागि कतारमा आफ्नो मुलुकबाट कामदार पठाउन रोक लगाएको जानकारी दिएको छ। साथै त्यहाँ आफ्ना २ लाख कामदारलाई कुनै किसिमको समस्या नहोस् भन्नेतर्फ सरकार चिन्तित रहेको जनाइसकेको छ। कतारमा नेपाली कामदारहरूको सङ्ख्या ४ लाखभन्दा बढी रहेको विश्वास गरिन्छ।
कतारमा कार्यरत नेपालीहरूको सुरक्षाको जिम्मेवारी पूर्णरूपले कतार स्थित नेपाली दूतावासको हो। नेपाली दूतावासले कतारी सरकारसँग सहकार्य गरेर आफ्ना देशवासीको सुरक्षामा कुनै पनि किसिमको कमी आउन दिनुहुँदैन। मुख्यरूपमा बजारमा खाद्यवस्तुको हाहाकार भएर, भागदौड भएमा, कुनै किसिमको दङ्गा भएमा, कसरी जोगिने भनी दूतावासले नेपाली कामदारहरूलाई निरन्तर सूचित गर्नु नितान्त आवश्यक देखिएको छ। साथै अग्रिम सुरक्षाका के कस्ता उपाय अपनाउन सकिन्छ त्यसबारे पनि जानकारी गराउनु आवश्यक छ। यदि हाल कतार आउने स्थिति छैन भने कतारस्थित नेपाली दूतावासले नेपाल सरकारलाई तुरुन्त खबर गरेर नेपालबाट तत्कालका लागि कामदार नपठाउन भन्नु आवश्यक छ
कतारको समस्याले गर्दा कतारको श्रम बजार मात्र होइन, मध्यपूर्वको श्रम बजार नै प्रभावित हुने विश्वास गरिएको छ। यदि यो समस्या दीर्घकालसम्म रहेमा नेपालीहरूका लागि अरब वा मध्यपूर्वका देशहरू रोजगारका लागि राम्रो गन्तव्य नहुन सक्छ। रोजगारका लागि यी देश जोखिमपूर्ण हुन सक्छन्।
Liked by: