रक्सीको पौराणीक प्रसंग
मदिरा अर्थात रक्सी, सामान्यतया हाम्रो बुझाई । आजभोलीका मान्छे रक्सी खाने भएर बिग्रिए भन्ने आक्षेप यो पुस्ताले सदैव खप्दै आएको छ । गाली गर्ने र गाली खाने दुबै अक्सर एउटै उन्मादमा रक्सी गन्तव्यमा भेटिने गर्दछन् । भट्टि, रेष्टुराँ, बार, पार्टी, भोज, भत्तेर, सुख्ख, दुख्ख, बैस, बुढ्यौली सर्वत्र छाएको यस मदिरा वास्तवमा अहिलेको आधुनिक कालको उपज हैन्, पक्कै पनि यसको दुरुपयोग भनें अहिले ज्यादै भएको हो तथापि वैदिक काल देखि नै यसको प्रयोग हुँदै आएको ईतिहाँस छ ।
यो पनि हेर्नुहोस् : रोनिगियाहरु नेपाल आए भने के हुन्छ ?
स्मरण रहोस् बिश्व अर्थतन्त्रको अधिकांश हिस्सा हतियार व्यापार र मदिरा व्यापार कारखानाहरुले धानेका छन् । मदिराको यहि गुणगानलाई बुझेर होला, हाम्रा कवी भूपी शेरचनले पनि लेखिदिए, एउटा मदहोश मदिरा गजल ।
मैले पिएकोमा रिसाएका साथीहरु
एक फेर पिएर त हेर , पिउन झन गाह्रो छ
मरेर शहीद हुनेहरु, एकफेर जिएर त हेर
जिउन झन गाह्रो छ
मदिराको यस नशामा धेरैले अकालमा ज्यान गुमाएका छन्, धेरैको समबन्ध, घरपरिवार तहस नहस
भएको छ । मदिरा पक्कै पनि राम्रो कुरा त कहाँ हो र ? आउनुहोस् जानकारी लिउ, मदिराको वैदिक इतिहासको बारेमा ।
ईशापूर्व १७०० बर्ष देखिको ईतिहाँस भएको रिग्वेदले प्रथम पटक मदिराको उल्लेख गरेको पाइन्छ । सोम र प्रहामनाका नाममा मदिराजन्य तरल पदार्थ लाई बीषका रुपमा व्याख्या गरिएको छ । उतातर्फ आर्यूवेदले असभस र अरिस्थासका नाममा बिभिन्न बनस्पतीका रस मिसाएर बनाइएको नशा लाग्ने
ओखतीको उल्लेख गरेको छ, यस बनस्पतीजन्य ओखती मदिरा नै हो र यसको प्रयोग न्यून मात्रामा
गर्नुपर्ने र बिशेषज्ञको सुझावमा गर्नुपर्ने अव्यक्त नियम पनि रहेको छ । यस्ता असभस र अरिस्थासका प्रयोगले पाचन प्रणालीको समस्या र रक्तसञ्चारको समस्या कम गर्ने प्रयोगात्मक ईतिहास छ ।
असुरहरुका गुरु शुक्राचार्यको एउटा पौराणीक प्रसंग यहाँ जोड्न चाह्यौं, शुक्राचार्य असुरहरुका गुरु अनि
शिवका परमभक्त हुन् । उनलाई मात्र मरेका मान्छेलाई बचाँउन सक्ने संजिवनी मन्त्र थाहा हुन्छ, असुर र देवहरुको यूद्धमा शुक्राचार्यको यस सीपका कारणले देवसेनाहरु हारिरहेको हुन्छन् ।
देवताका गुरु बृहस्पतीले आफ्ना पुत्र काचालाई शुक्राचार्यसंग यस संजिवनी मन्त्र बुझ्न पठाँउदछन् । शुक्राचार्यकी सुन्दरी छोरी देवयानीलाई सर्वप्रथम मायाजालमा पार्न काचालाई बृहस्पतीले निर्देशन दिएका हुन्छन् । काँचाले देवयानीसंग नजिक भएर माया जाल रच्दछ तर असुरहरुले यो कुरा चालपाएर काचाको हत्या गर्दछन् ।
छोरी देवयानीको अनुनयपछि शुक्राचार्यले आफ्नो संजिवनी मन्त्र प्रयोग गरेर काचालाई बचाँउदछन्, पूनः
असुरहरुले उनको हत्या गर्दछन् । शुक्राचार्यले हरेक पटक काचालाई मरेपछि बचाँउदछन् । अन्त्यमा
असुर सेनाले काचालाई मारेर अनि उसको शरीर पिसेर मदिरामा हालेर झुक्कयाएर शुक्राचार्यलाई सेवन
गराँउदछन् ।
मदिरा सेवनपछि पेटमा दर्द भएका शुक्रार्चायले सबै कुरा चाल पाएर पेट भित्रका काचालाई मन्त्र भनेर आफ्नो पेट चिरेर बाहिर निकाल्दछन् । यसरी निस्केका काचाले त्यही मन्त्र प्रयोग गरेर पेट चिरेर मरेका शुक्राचार्यलाई बचाँउदछन् । यसरी मदिराको नशाले समस्या आउने र सवेंदनामा खलल पुग्ने जानेर शुक्रचार्यले महाभारतमा भनेको श्लोक यसप्रकार छ ।
यो ब्राह्मणो अद्य प्रभृतीह कश्चिन्मोहात्सुरां पास्यति मन्दबुद्धिः।
अपेतधर्मो ब्रह्महा चैव स स्यादस्मिँल्लोके गर्हितः स्यात्परे च ॥
अर्थात कुनै पनि ब्राहमणले मुर्खता पूर्वक मदिरा सेवन गरेमा धर्म भ्रष्ट भएको मानिनेछ । यसलाई ब्रहमहत्याको पापका साथै यस लोक र अर्को लोकमा पनि मुक्ति नमिल्ने भनिएको हो ।
हुन त परापूर्व कालमा पनि क्षत्रिय हरुले मदिराको सेवन न्यून मात्रामा ओखतीका तवरले गरेको भन्ने
पाइन्छ तथापि स्वास्थका दुष्टिले अनि धर्मका रुपमा मदिरा सेवन प्रश्रयमा राखिएको भने छैन् । स्मरण रहोस् भगवान राम पनि क्षत्रिय नै हुन् । भागवत गीतामा ब्राहमणलाई जन्म भन्दा पनि कर्म, दान, त्याग अनि अध्ययनको उपज मानिएको छ ।
हिन्दु सनातन परम्परामा मन्त्र पूजारी समुदायले मदिरा सेवन लाई प्रश्रय नदिएपनि तन्त्र पुजारी समुदायमा यसको प्रयोग सामाजिक र परम्परागत रुपमै पाइन्छ । पश्चिमा देशहरुमा घाउचोट लाई उपचार गर्न टिन्चर झोलका रुपमा बनस्पतीजन्य मदिरानै प्रयोग गरिन्छ र गरिदै आएको हो । आर्यूवेदमा पनि यस्तै बनस्पतीका झोलहरुका रुपमा असभस र अरिस्थासका प्रयोग उल्लेखित गरिएको हो । पौराणीक कालमा अझ चारक संहितालाई उद्धत गर्न चाह्यौं, मदिराजन्य झोलाहरुलाई बनस्पती वाट बनाइने र अन्नवाट बनाइने दुई रुपमा उल्लेख गरिएको पाइन्छ । अन्न वाट बनाइने र भारी मात्रामा उत्पादन गरेर सेवन गरिने मदिरालाई असुरहरुको आहारका रुपमा मानिन्छ, यसलाई कडा बर्जित गरिएको छ । बनस्पती जन्य मदिरालाई ओखतीका रुपमा थोरै प्रयोग गर्ने गरिएको र्इतिहास भने जगजाहेर छ । तथापि अत्याधिक मदिरा सेवन र दुरुप्रयोगलाई भनें सनातन सस्कारमा सामाजिक र मानसिक समस्याका रुपमा हेरिन्छ ।
मदिरा सेवन हानीकारक छ, यदि गर्ने नै हो भने सीमा मा रहेर गर्नु होला ।
हामी त मदिरालाई सेवन बन्द गर्नुपर्दछ अनि मात्र स्वस्थ रहन सकिन्छ भन्ने बिश्वास गर्दछौं ।
दिर्घजीवनको कामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: