प्रथम नारी गायिका मेलवादेवी गुरुङ "बैंशमा सुन र उमेर ढल्किंदा पित्तल" | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

प्रथम नारी गायिका मेलवादेवी गुरुङ "बैंशमा सुन र उमेर ढल्किंदा पित्तल"




   नरेन्द्रराज प्रसाई - Aug 15 2018

सवारी मेरो रेलैमा
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलैमा !

(स्वर, सङ्गीत र शब्द : मेलवादेवी)

नेपाली आधुनिक गीतको श्रृङ्खलामा मेलवादेवी गुरुङ प्रथम नारी गायिका हुन् । सूबी शाहका अनुसार १९८५ सालमा उनले भारतको कोलकाताको 'हिज मास्टर भ्वाइस कम्पनी'मा 'सवारी मेरो रेलैमा' बोलका गीत रिकर्डिङ गराएकी थिइन् । उनी आफैँ गीत लेख्तै, धून बनाउँदै गाउने प्रथम नेपाली गायिका थिइन् ।

ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो । सिरीमाया गुरुङका अनुसार उनी ओखलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी थिइन् । त्यही ठाउँमा उनको स्मारक पनि रहने कुरा सीताराम गुरुङले जनाएका छन् ।

मेलवादेवीले पाँच वर्षदेखि नै गीत गाएर गाउँलेलाई छक्कै पारेकी थिइन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका रुपमा भर्ना गर्न उनकी आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाडौँ पसेका थिए । चन्द्रशमशेरका दरबारमा दाखिला भएपछि मेलवादेवीको औपचारिक साङ्गीतिक इतिहास आरम्भ भएको थियो ।

मेलवादेवीले श्री ३ चन्द्रशमशेरको दरबारमा गीत गाउन थालिन् । उनी दरबारको रङ्गमञ्च, सभासमारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका भक्त थिए । चन्द्रशमशेरले मात्र होइन उनकी रानी बालकुमारीदेवीबाट पनि सुरुसुरुमा मेलवादेवीले बक्सिस पाइरहिन् ।

मेलवादेवीको कोकिल स्वरलाई विराट् स्वरूप प्रदान गर्न चन्द्रशमशेर मग्न थिए । त्यसैले मेलवादेवीलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्रआदिबाट शास्त्रीय सङ्गीतको गायनमा पनि तालिम दिन थालियो । त्यसपछि उनी झन् उत्कृष्ट स्वरकी कोइलीमा दर्ता हुन थालिन् ।

मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्ने गर्थ्यो । उनको स्वरको विषयमा उनकी छोरी विमला दीक्षतिले भनेकी थिइन् ''मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस केशरशमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने 'अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छयौ ?' त्यस बेला आमाको प्रत्युत्तर थियो 'पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्तिनँ । तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु ।' अनि केशरशमशेरले आमासँग बाजी राख्तै भने 'लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपियाँ दिन्छु ।' आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।''

चन्द्रशमशेरका पाहुनापासा आउँदा पनि सिंहदरबार बेलायती बैठकमा झकिझकाउका साथ मेलवादेवीलाई उपस्थित गराइन्थ्यो । त्यतिखेर मेलवादेवी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोकगीत र नेवारी गीत समेत गाउने गर्थिन् । उनको स्वर सुनेर चन्द्रशमशेरले बराबर उनलाई धाप मार्थे । त्यसैले मेलवादेवीको ईर्ष्या गर्नेहरूको ताँतीले पनि सिंहदरबार बेरिएको थियो । त्यसपछि उनको स्वरलाई विगार्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीका इसारामा मेलावादेवीका शत्रुहरूद्वारा पानमा सिन्दूर राखेर उनलाई खुवाइएको थियो । त्यसपछि उनको स्वर एक्कासि खच्क्यो । त्यस बेहोराले चन्द्रशमशेर अति नै दुखित भए ।

चन्द्रशमशेरले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए । तर जति नै खर्च गरे तापनि उनको स्वर पहिलाजस्तै हुन सकेन । तर पनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन् । मेलवादेवीको स्वर सुक्न थालेपछि पनि चन्द्रशमशेर भन्ने गर्थे "गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।"

चन्द्रशमशेरकी मन पर्ने गायिका भएका कारण सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षाचाहिँ देखिन्थ्यो । त्यस बेला उनलाई खास गरेर पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो । यति हुँदाहुँदै पनि चन्द्रशमशेरका छोरा बबरशमशेरचाहिँ मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे । साथै तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पतिप्रति त्यति नै आसक्त थिए ।

मेलवादेवी र चन्द्रशमशेर एकअर्कामा समर्पित भएको दृश्य हेर्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीलाई अति नै सकस पर्न थालेको थियो । त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटिन गयो । त्यसै सन्दर्भमा चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयेश्वरीमा एउटा घर किनिदिए । त्यसपछि चौबीस वर्ष भुक्तान भएको उमेर बोकेर उनी सिंहदरबारबाट निस्केकी थिइन् । यस घटनाले भक्तकृष्ण मानन्धरलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भएको थियो । त्यसैले त्यतिखेर उनका पछिपछि उस्ताद मानन्धर लागेका थिए । मानन्धरले कैयौँ सपना र विपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगेर सिन्दूरपोते र चुरा धागोले सजाएका थिए ।

भक्तकृष्णले पहिला पनि दुई जनासँग बिहे गरेर सन्तान जन्माएका थिए । साथै मेलवादेवीतर्फबाट पनि दुईटी छोरी विमला र शान्ति जन्मेका थिए ।

मेलवादेवीसँगको बिहेपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लगाइयो । साथै गुरुङसँगको बैबाहिक जीवन गाँसेको कसुरमा त्यस बेला उनी आफ्नो जातीय समाजबाट पनि बहिष्कृत भएका थिए ।

भक्तकृष्णसँग बिहे गरेको केही वर्षमा मेलवादेवीको दाम्पत्य जीवन भङ्ग भयो । अनि उनले आफ्नो घरबार सस्तैमा बेचिन् र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गरिन् । सुत्केरी भएकै महिना दिनपछि उनी आफ्ना दुई नावालक छोरी विमला र शान्ति चेपेर रेलमार्गद्वारा कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राको अनुभव सँगालेर उनले 'सवारी मेरो रेलैमा' बोलको गीत गाइन् । त्यस बेलासम्म नेपाली भाषामा नेपाली नारीको स्वर रिकर्डिङ भएको थिएन ।

मेलवादेवीको कोलकातामा स्वच्छन्दतावादी यात्रा थियो । त्यतिखेर उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए न उनका हात बाँध्ने नै कुनै बाईं थिए । त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरिरहन्थिन् । उनी घरी इलाहाबाद सङ्गीत सम्मेलनमा पुगिरहन्थिन् र घरी रामगढ सङ्गीत सम्मेलनमा भाग लिइरहन्थिन् । उनी जहाँजहाँ गएर आफ्नो गलाको कौशल देखाउँथिन् त्यहाँत्यहाँबाट उनले सुनका तक्मा पनि प्राप्त गर्थिन् । त्यति मात्र होइन इलाहाबाद सङ्गीत सम्मेलनले त उनलाई 'ठुमरीकी रानी'को दर्जा पनि अर्पित गरेको थियो ।

मेलवादेवीले जीवनको उत्तर्रार्धमा आफ्नो नाउँ सुलभा राखिन् । खासमा त्यतिखेर आर्थिक रूपमा उनी निम्नस्तरमा नै बामे सर्दै थिइन् । आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति कोलकाताकै मारवाडी बालिका विद्यालयमा उनी सङ्गीतकी गुरुमा बनिन् । साथै त्यहीं स्कुलमा उनका छोरीहरु पनि भर्ना गरिए । त्यस घडी त्यहाँको मात्र आयस्ताले उपलब्धि हुन नसक्ता उनले आफ्ना कोठामा सङ्गीतको कक्षा पनि सञ्चालन गरिन् । आफ्ना शिष्यहरूलाई अध्यापन गराउन नेपाली, हिन्दी र बङ्गाली भाषामा उनी बराबरी नै गीत गाइरहन्थिन् । दुक्खसुक्ख जीवन भुक्तान गर्दै उनले दुवै छोरीहरूको विवाह पनि गरिदिइन् ।

छोरीहरुको बिहे गरेपछि मेलवादेवी डेरामा एक्लै बसिन् । उनले पहिलेझै एउटै कोठामा खाने र सुत्ने गरिन् । त्यतिखेर उनी विक्षिप्त मानसिक अवस्थामा नै घस्रँदै जीवन चलाउने गर्थिन् । २०१२ साल मङ्सिर महिनाको कुरा हो- खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो लाग्यो । त्यसको भोलिपल्ट छिमेकीले कोठाभित्रै उनको डढेको शरीर फेला पारे । अनि कोलकाता मेडिकल कलेजमा उनको लासको पोस्टमार्टम भयो । त्यसको केही दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले त्यो लास बुझे । यो दुःखद घटनाको विवरण उनका छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पनि पछि मात्र थाहा पाए ।

© लेखक : नरेन्द्रराज प्रसाई



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.