टाँडे घर थियो, मैले पहिलो पटक घर भनेर थाहा पाएको त्यो घर । बामे सर्दा देखि भकुन्डोखेल्दासम्म यति हिडियो त्यो घर कि अहिलेपनि त्यहाँ पुगे भने आँगनवाट पुजाकोठासम्म म आँखा चिम्म गरेरै पुग्नसक्छु, कोठा कोठाका झ्याल अनि ढोकाहरुले मलाई चिन्नेछन्, खुट्टा खाँबाहरुमा मेरो नामका किल्लाहरु ठोकिएका छन् अनि दशकौँ अगाडि भएतापनि घरका भित्ताहरुमा कमेरो माटो ल्याएर यीनै हातले पोतेको छ ।
यो पनि हेर्नुहोस् : मध्यपूर्वमा नेपाली कामदारहरूको भविष्य
उतीबेला आउने साप्ताहीक पत्रिकाका मध्य पृष्ठ टालेर मैले घरका भित्ताहरु सजाउने गरेको थिए । ईटाँका पर्खाल कहाँ कुन्थे र रु रुखका हाँगाबिँगा अनि स्याउलाहरुलाई बाँसको ठूलो कप्टेरोले जोडेर टाटी बनाईन्थ्यो, वारीपारी पारदर्शी टाटी पातलै भएपनि मोटो ग्रामीण सभ्यताका कारणले अहिलेका भित्ता र पर्खालहरु भन्दा शक्तिशाली हुनेगर्दथे ।
घरका भित्ताहरु माटाका थिए, छानो खपडा अर्थात माटाको टायलहरुको थियो अनि तल्लो तल्लावाट माथिल्लो तल्लामा जान ढोप्केको प्रयोग गरिन्थ्यो । भर्याङको ठ्याक्कै माथि ढोप्के थियो, खपलक्कै भर्याङलाई छोपेर तलबाट माति आउन नमिल्ने बनाँउन सक्ने ढोप्के काठ र केही थान जस्तापाताले बनेको थियो ।
यसै घरको दोश्रो तलामा पछाडी तर्फ मेरो कोठा थियो । मेरो खाटवाट माथि सँधै सुत्ने वखत मैले छानाका प्वालहरु देख्दथे, माटोको टायल नमिलेका जोडहरुमा केही प्वाल थिए । बर्खाअगाडि छाना छाएपनि प्वालहरु बाँकी रहन्थे , मेरा बाल्यकालका साक्षी यिनै प्वालहरु हुनगए । हिँउदमा शीत झर्छ भन्नुहुन्थ्यो आमा, मैले शीत झरेको कहिल्यै देखिन तर चिसो स्याँटका केही बाटो बिराएका टुक्राहरु शायद ति छानावाट छिर्थे । म बेस्सरि सिरक चेपेर सुतिदिन्थे, त्यो निन्द्रा अहिले कहाँ पाउनु रु अनि मुख्य कुरा त ती हिँउदका विहानहरु जब घामका मिठा प्रकाशहरु मलाई बिउझाँउन तीनै प्वालबाट आँखासम्म आईपुग्दथे, सिरक फाल्न आँट पुर्याएर म उठ्दथे । बर्खाका बेलाको पनि रमाईलो गज्जब छ, पानी पर्न थालेपछि मेरा ओछ्यान, सिरक डस्ना पन्छाँउथे , ति प्वाल मुनी केही थान भाँडाहरु राखि पानी थापिन्थ्यो ।
म राती तिनै प्वालवाट सानो टुक्रा आकाश देख्दथे , सोच्दथे कि आकाशमा यतिबेला पनि कति धेरै विमानहरु उडिरहेका होलान भन्ने । कहिलेकाँही तारा र विमान के हो भन्ने ठम्याई मै म निदाँउथे, धेरै पटक ति साना प्वालहरुले मलाई ठूलो सपना दिएर गए । हरेक मौसममा प्वालहरुको महत्व आफ्नै थियो, मलाई प्वालहरुसँग रिस उठेन न त ती कुराहरुलाई अभाव सँग जोडेर हेरे । मलाई त अहिले पनि सग्लो भन्दा चुहिने छानो प्यारो लाग्दछ, थोरै पानीले छानोवाट झरेर घरभित्र अभिशेक गरेजस्तो, प्रकृतिलाई गृहप्रवेश गराएजस्तो अनि सेन्सलाई चनाखो बनाएजस्तो ।
पहिलो पटक प्लेनमा उड्दा मैले तिनै प्वाललाई सम्झे , पहिलो पटक बिदेश पुग्दा मैले बर्खाको त्यो रात सझिंए जब पानी परेपछि मैले मेरो ओच्छ्यान ति प्वालहरुबाट पर त राखेँ तर माथि आकाशमा ठूला प्लेन उडिरहँदा यो पानीले असर गर्यो होला कि नहोला भन्ने तर्कना मनमा आएको थियो ।
आज हरेक बर्खा लाग्न अगाडि ति प्वालहरुलाई सझंना गर्दछु ,गाँउको घर बेचेर हामी शहर छिरेपछि ढलान गरेका घरमा मैले प्वाल नहुँदो रछ ।
बर्खा त लाग्छ तर पानीको छिटाहरुको रुम डेलिभरी हुँदैन
सुयोग ढकाल
Liked by: