मोदी भ्रमणको आर्थिक महत्व | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

मोदी भ्रमणको आर्थिक महत्व




   Bishwa Raj Adhikari - May 07 2018

समाचारहरूमा उल्लेख भए अनुसार भारतीय प्रम नरेन्द्र दामोदर मोदीले नेपालको भ्रमण गर्दैछन्। उनको यो भ्रमण केवल दुई दिवसीय हुनेछ। भ्रमण कुनै राजनैतिक मुद्दामा केन्द्रित नरहने र यसले केवल सद्भावमा जोड दिने कुरा पनि प्रकाशमा आएको छ। तर के यो साँच्चीकै सद्भाव भ्रमण मात्र हो त?

मोदीको यो भ्रमण सामान्य सद्भावमा केन्द्रित रहेको भन्ने कुरा भारतीय पक्षले उल्लेख गरे तापनि भित्री तहमा भने यस भ्रमणको उद्देश्य सामान्य देखिंदैन। भ्रमणको लागि मोदीले पहिलो स्थान नेपालको जनकपुरलाई रोज्नु र उनको सम्मानमा त्यहाँ विभिन्न कार्यक्रमहरू आयोजना हुनुले उनको यो भ्रमणले गुरु महत्व राखेको स्वतः प्रमाणित हुन्छ, तर कसरी?

पटनाबाट भारतीय वायुसेनाको विमान चढी सोझै रामजानकी विवाह नगरी, जनकपुर पुगेर मोदीले नेपाल र भारत दुवैतिर आफू कट्टर हिन्दूवादी रहेको सन्देश दिन खोजेको प्रस्ट देखिन्छ। यसर्थ यस भम्रणको उद्देश्य आवरणमा धार्मिक भए तापनि आचरणमा भने राजनीतिक रहेको प्रस्ट हुन आउँछ। मोदीको जनराजनीतिको आधारशिला ‘हिन्दूवादी छवि’ रहेकोले उनले यस्तो गर्नु आश्चर्य होइन। र यस्तो गर्न उनी चतुर पनि छन्।

मधेसी दलहरूलाई खुशी पार्न मोदीले नेपाल भ्रमणको सन्दर्भमा भ्रमण गर्ने पहिलो स्थल जनकपुर रोजेका हुन्। धेरैले व्यस्तो विश्वास गरेका छन्। तर यथार्थमा त्यो सोंचाइ गलत हो। भारतीय सत्ता पक्षले नेपालका न मधेसी, न पहाडी नेताहरूलाई विशेष सहयोग गरेको इतिहास छ। नेपालमा जुन दल शक्तिशाली छ वा रहन्छ, भारतीय सत्ता पक्षले त्यसैलाई सहयोग गर्दै आएको नजिर छ। प्रम राजीव गाँधी भए तापनि मोदी भए तापनि भारतको नेपालप्रतिको दृष्टिकोण यही छ। २०६३ सालमा भएको सत्ता सङ्घर्षमा भारतले पहिले दरबार (राजा ज्ञानेन्द्र) लाई पूर्ण सहयोग मात्र गरेन, नेपालमा चलिरहेको आन्दोलन बलपूर्वक दबाउन सेनाको प्रयोग गर्न राजा ज्ञानेन्द्रलाई उक्सायो पनि। तर पछि दरबारविरुद्ध सङ्घर्ष गर्ने राजनीतिक दलहहरू (जनताको समर्थन पाएर) बलियो हुँदै गएपछि दरबारलाई दिएको समर्थन अप्रत्याशितरूपमा चटक्क फिर्ता लिएर राजनैतिक दलहरूलाई समर्थन गरेको थियो। राजा ज्ञानेन्द्रलाई भारतीय सत्ता पक्षले एक किसिमले ‘बलीको बोका’ बनाएको थियो। भारतीय सत्ता पक्षको अप्रत्याशित कदमले राजा ज्ञानेन्द्रको धमलिएको राजनैतिक छवि अहिलेसम्म सफा हुन सकेको छैन। सत्ता शान्तिपूर्वक राजनैतिक दलहरूलाई हस्तातन्तरण गरेर नेपालमा थप हिंसा हुने स्थिति हुन नदिएको जस्तो महत्वपूर्ण भूमिका राजा ज्ञानेन्द्रले खेलेको यथार्थलाई राजनैतिक दलहरूले बिर्से। जनताले पनि बुझ्न सकेन।

भारतको यस्तो भूमिका उसको विदेश नीतिको हिस्सा हो। छिमेकीहरूसँग भारतले कस्तो व्यवहार गर्छ भन्ने कुराको अदृश्य यथार्थ हो। यो छोपिएको, तर जगजाहेर पाटो हो। चीनसँग नजिक हुने नेपालको कोशिशलाई विपरीत दिशातिर फर्काउन भारतले नेपालसँग हाम्रो घनिष्ठ धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ भन्ने कुरा तासको तुरुपको रूपमा प्रयोग गर्दै आएको छ।

तर यस आलेखमा मोदी भ्रमणको राजनैतिक महत्वको चर्चा गर्न खोजिएको भने होइन। उनको भ्रमणले आर्थिक क्षेत्रमा के कस्तो प्रभाव पार्नेछ भन्ने कुराको लेखाजोखा गर्न खोजिएको हो। त्यो पनि समग्र राष्ट्रको आर्थिक अवस्थामा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा हेर्न खोजिएको होइन, केवल जनकपुरको आर्थिक अवस्थामा कस्तो प्रभाव पार्नेछ भनी हेर्न खोजिएको हो।

सन् १९६२ मा जानकी मन्दिर परिसरमा राजा महेन्द्रमाथि दुर्गानन्द झाले बम प्रहार गरेपछि जनकपुर सत्ता पक्ष (दरबार र दरबारका अदृश्य शक्तिहरू) को कुदृष्टिमा परेको थियो। र यो क्रम लामो समयसम्म चलि नै रह्यो । यो बमकाण्डपछि सत्ता पक्षले जनकपुरको विकासमा खासै चासो देखाएन। जनकपुर आर्थिक विकासको मामिलामा उपेक्षित नै रह्यो। सडक, खानेपानी, शिक्षाजस्ता कुराहरूले महत्व पाएन।

जनकपुरको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सोभियत सङ्घको पूर्ण सहयोगमा सन् १९६५ मा त्यहाँ जनकपुर चुरोट कारखानाको स्थापना गरिएको थियो। चुरोट कारखानाको स्थापनाले जनकपुरको आर्थिक विकासमा केही टेवा पु्यार्यो पनि। र नेपालले ठूलो मात्रामा भारतबाट चुरोट आयात गर्नुपर्ने स्थितिको समाप्ति पनि गरिदियो। तर बमकाण्डको कारणले गर्दा दरबारको ‘हिट लिस्ट’ मा परेको जनकपुरले पछि आर्थिक विकासका राम्राराम्रा योजनाहरू पाउन सकेन। जनकपुर (बमकाण्डमा, बम प्रहार गर्ने दुर्गानन्द झा र सहयोगी अरविन्द कुमार ठाकुर र दलसिंह थापा पछि जनकपुरमा नै समातिएका थिए। तत्कालीन प्रशासनले सन् १९६३ मा दुर्गानन्द झाको हत्या गोली प्रहार गरेर गरेको थियो भने अरविन्दकुमार ठाकुर एवं दलसिंह थापाको मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरेको थियो। राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था समाप्त पारेर निरङ्कुश पञ्चायती व्यवस्था लादेविरुद्ध उनीमाथि त्यसरी जनकपुरमा बम प्रहार गरिएको थियो। यसरी हेर्ने हो भने राजनैतिक चेतना पहाडभन्दा मधेसमा बढी रहेको पाइन्छ। जनकपुरमा त राजनैतिक चेतना सर्वाधिक नै थियो। तर पनि आर्थिक मामिलामा जनकपुर अनगिन्ती पूर्वाधारका बावजुद पनि पछाडि पर्यो।

कारण जे होस् तर सम्भव त कुनै पनि देशको राष्ट्राध्यक्ष वा सरकार प्रमुख काठमाडौ नपुगेर देशको कुनै अर्को शहर सोझै पुगेको यो (मोदी–भ्रमण) पहिलो उदाहरण हो। अहिलेसम्मको स्थितिमा विदेशी पाहुनाहरूलाई सोंझै काठमाडौ अवतरण गराउने अभ्यास सिंहदरबारले गर्दै आएको देखिएको छ। र पाहुनाहरूको भ्रमणलाई केवल काठमाडौमा सीमित गराउने गरेको देखिएको छ। सार्क सम्मेलन हुँदा पनि वा कुनै ठूला उत्सवहरूको आयोजना गर्दा पनि ती कुराहरू वीरगंज, जनकपुर, विराटनगर, नेपलागंज वा महेन्द्रनगर आदिमा गराएको देखिएको छैन। यस्तो प्रचलन कायम गर्नु आर्थिक विकासको दृष्टिकोणले पटक्कै राम्रो मानिंदैन। सन्तुलित आर्थिक विकासका लागि मुलुकको हरेक भागमा यस्ता गतिविधिहरू हुन आवश्यक छ।

मोदीको जनकपुर भ्रमणले त्यहाँको स्थानीय आर्थिक विकासमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ। मोदी जनकपुर पुग्नासाथ उनको भ्रमणसँग सम्बद्ध पक्षहरू जनकपुर पुग्न आरम्भ गर्नेछन्। जनकपुरमा थुपै सङ्ख्यामा मानिसको आगमनले खासगरी लज, होटल, स्थानीय यातायात प्रदायकको आम्दानीमा निश्चय पनि वृद्धि हुनेछ । छोटो अवधिको लागि नै सही, त्यहाँको आर्थिक गतिविधि चुलिने छ। यो त भयो प्रत्यक्ष प्रभाव, मोदी भ्रमणले जनकपुरको आर्थिक विकासमा अप्रत्यक्ष सकारात्मक प्रभाव पनि पार्नेछ। तर कसरी?

भारत र दक्षिण एसियाको नै एक शक्तिसाली राष्ट्रका प्रधानमन्त्री जनकपुर आउन थालेको खबर पाउना साथ नेपाल, भारतलगायत विभिन्न मुलुकका पत्रकारहरू क्यामरासहित जनकपुर पुग्नेछन्। श्रव्य र दृश्य दुवै माध्यमबाट जनकपुर अत्यधिक चर्चामा हुनेछ। जानकी मन्दिरको चर्चा हुनेछ, राम मन्दिरको चर्चा हुनेछ, विवाहमण्डपको चर्चा हुनेछ, बार्हबिघाको चर्चा हुनेछ, लक्ष्मण अखाडाको चर्चा हुनेछ आदि आदि। यी चर्चाहरूले समाचार सुन्ने र हेर्नेहरूलाई ऐतिहासिक नगरी जनकपुर जान प्रेरित गर्नेछ। अनि निश्चयरूपमा पर्यटन प्रवद्र्धन भएर जनकपुरको आर्थिक विकासमा टेवा पुग्नेछ। समाचारमा ओझलमा परेको जनकपुर एकैपटक समाचारको प्रमुख पङ्क्तिमा देखा पर्नुले निश्चय पनि जनकपुरको प्रचारप्रसार जोडतोडका साथ हुनेछ।

धनीहरूको पैसा गरिबहरूको हातमा पुर्याउन पर्यटनले ठूलो भूमिका खेलेको हुन्छ। हातमा पैसा भएर धनीहरू घुम्न निस्कन्छन् र घुमाइमा पैसा खर्च गर्छन् अनि यसरी पैसा गरिबहरूको हातमा पुग्छ।

कुनै पनि शहर वा गाउँको आर्थिक विकासका लागि त्यहाँ विभिन्न किसिमका आर्थिक गतिविधिहरू (कुस्ती, मेला, खाद्य मेला, सडक खाद्य मेला, कृषि प्रदर्शनी, व्यापारिक प्रदर्शनी, प्राचीन वस्तु प्रदर्शन, सांस्कृतिक महोत्सव, सङ्गीत महोत्सव, सभा, सम्मेलन, खेलकुद आदि) हुन आवश्यक छ। यस्ता गतिविधिहरूले शहरमा आर्थिक कारोबारमा वृद्धि मात्र गर्दैन, धनीहरूको पैसा गरिबहरूसम्म पुर्याउन सहयोग पनि गर्छ। गरिबहरू बिक्री कार्यमा संलग्न भएर दुई पैसा हातमा पर्ने स्थितिमा पुग्छन्। हामी कहाँ यस्ता गतिविधि सञ्चालन गर्ने सोचको अभाव त छ नै, साथै पैसा खर्च गर्नुहुन्न, जोगाएर राख्नुपर्छ भन्ने मानसिकताले हामीलाई नउठ्न सक्नेगरी थिचेको छ। पैसा ज्यादै कम हुनेले पो जोगाउने हो, पैसा हुनेहरूले त खर्च गर्नुपर्छ। खल्ती रित्तिनेगरी खर्च गर्नुपर्छ। धनीहरूले खुब पैसा खर्च भने मात्र गरिबहरूको हातमा पैसा पुग्छ। अर्थात् राष्ट्रको अर्थ व्यवस्था खर्चमा आधारित हुनुपर्छ, सञ्चयमा होइन। सबैले सञ्चय गर्न थाले बजारमा वस्तुको बिक्री कसरी हुन्छ? अमेरिकी अर्थव्यवस्था खर्चमा आधारित अर्थ व्यवस्था हो। नेपालमा पनि खर्च गर्ने परिपाटी विकास गर्नुपर्छ।

पुरानै सन्दर्भमा फर्कौं। प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले भरपूर जनकपुरमा उच्च नेता (मोदी) को भ्रमण हुन थालेको स्थितिले निश्चितरूपमा त्यहाँको आर्थिक विकासमा सहयोग पुर्याउने छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.