नेपालीका लागि पक्कै पनि एबीसी भन्दा अघि कखरा नै प्यारो छ अनि शुरुमा गाई भन्ने चिनेपछि मात्रै त हामीले सी ओ डव्लु काउ, काउ माने गाई बुझेका हौं । नेपाली माटोमा बिदेशी अक्षरका गहना सुहाएन्, प्रदेश नंबर ३ का गाडीका नंबर प्लेटहरुमा नेपालीपना भएन् ।
लोकतन्त्रका लागि सडकमा आन्दोलन गर्न जाने हामी मध्य को को छौं ? सडकमै नगएपनि आआफ्नो ठाँउवाट आआफ्नो तवरले लोकतन्त्रको लागि हामीले आन्दोलन गरेका थियौं । आजभन्दा ११ बर्षअघिको कुरा उक्काँउदै छु, बिसं २०६३ अनि ६४ को । माओवादी द्धन्दले जर्जर देश अनि बम र बिष्फोटले आक्रान्त नेपालीहरु सडकमा भेला भएर शान्ती अनि समृद्धीका लागि देशमा शक्ति बिकेन्द्रिकरण अनि प्रजातन्त्रका लागि आन्दोलनरत थिए । राजाशाषन अनि यथास्थितीवाद र प्रतिगमन बिरुद्ध भएको देशव्यापी आन्दोलनमा घरघरवाट, चोकचोकवाट मान्छेहरु निस्किए, तत्कालिन सरकार अनि शक्तिबिरुद्ध एउटा नारा गुञ्जाए । लोकतन्त्रका लागि गुञ्जीएको त्यो नारामा नभएका धेरै कुराहरु लोकतन्त्र संगै आए, नेपाली सडक अनि सदनमा । लोकतन्त्रका नाराहरुमा केवल शान्ती संझौता, सदनको पूर्नवहाली अनि राजा हटाउने नाराहरु थिए । सुस्तरि राजा त हटे तर छिर्न थाले केही मुख्य तर नसोचेका मुद्धाहरु । धर्म निरपेक्षता अनि संघीयताका कुराहरु आन्दोलनपछिका केही यस्ता कुराहरु हुन् जसलाई आन्दोलनका बिशाल जनलहरले एकशव्दसम्म पनि संबोधन गरेका थिएनन्। सुस्तरि देशमा लोकतन्त्रले बामे सर्दै गर्न थाल्यो, आज त त्यो लोकतन्त्रको अभ्यूदय भएको पनि ११ बर्ष भइसकेको छ । देशले दुई चरणको संविधानसभा, एउटा भुकम्प, नाकाबन्धी र स्थानीय अनि प्रदेश सभा निर्वाचन पनि अनुभव गरिसकेको छ । यस क्रममा भएका अनगिन्ती बन्द, हड्ताल, चक्काजाम, मूल्यबृद्धि, हिंसाहरु लाई यहाँ कोट्याउन चाहीन । अब जर्जर भएको अर्थतन्त्रमा प्रदेशहरुको राजनिती शुरु भएको छ । कर अनि करका आकारहरु झनै बढ्ने निश्चित छ अनि निश्चित छ कि यो संधीयताको मुल्य नेपाली जनताहरुलाई झनै महंगो पर्नेछ । दुख्खका कुराहरु त के हो भने यि ११ बर्षे लोकतन्त्रको अभ्यासमै नेपाली सिमा अनि नेपालीपनामै बर्षौसम्म नभएको आँच पुगेको छ ।
कति जंगे पिलर सारिए अनि कति नेपाली स्वाभिमानहरु बिदेशी भूमिमा नतमस्तक भए, परजीवी राजनैतिक परिपाटी सदैव जिम्मेवार रह्यो । राजाशाषन कै क्रममा प्रधानमन्त्री बन्न बिन्तीभाउ चढाउन गएका देखि आन्दोलन दबाउन सम्म तत्कालिन मन्त्रीका रुपमा रहेका हरु लोकतन्त्र पछि पनि मन्त्री पदमै आसिन भए । लोकतन्त्र त केवल पुरानो रक्सीको नयाँ खोल मात्र भएको छ, अब यसपालाको प्रतिनीधी अनि प्रदेश सभा निर्वाचन पछि त झन संघीय शाषन अनि शाषकहरुको एकलौटी परिपाटीको नयाँ प्रारुप शुरु भएको छ । आज एउटा यसैप्रकारको नमुना प्रस्तुत गर्न चाह्यौं, प्रदेश नंबर ३ को सवारी राधनहरुको नंबर प्लेटको स्वरुप अनि भाषाको कुरा गरौं ।
जोकोही पनि सजिलै संग झुक्कीन सक्छौं, यी नंबर प्लेटहरु टपक्कै भारतको बिहार प्रान्तवाट टिपेर ल्याइएका जस्ता देखिन्छन् । बी एए भनेर सेतो प्लेटमा कालो अक्षरवाट लेखेका यि नंबर प्लेटहरु एकसरो हेर्दा बिहार लगायतका भारतीय नंबरप्लेट संग अत्यन्त मिल्ने खाले छ । नेपालको सार्वभौमिक्ताका लागि यो नंबर प्लेट पनि एउटा चोट हुन सक्दछ । त्रिकोणात्मक झण्डा भएको बिश्वको एकमात्र देशको रातो अनि सेतो चटक्क परेको नंबर प्लेटको यो संघीय रुपान्तरण धेरैलाई चित्त बुझेको छैन् । अनि चित्त नबुझेको अर्को कुरा चाँही के हो भने नेपाली वर्णमालाको प्रयोग नभईकन अग्रेजी अक्षरहरुको प्रयोग । बिश्वका धेरै बिकसित अनि समृद्ध देशहरुले पनि आफ्ना आन्तरिक पहिचानका कुरामा आफ्नै मौलिक वर्णमाला अनि शव्दलाई ध्यान दिने गर्दछ तर नेपालले किन अंग्रेजी शव्दलाई धेरै माया गरेको हो ?आखिर मौलिक नेपाली भाषालाई लछारेर बनाइएको प्रदेश नंबर ३ को यो नंबर प्लेटले के वास्तवमै देश अनि समृद्धिको झल्को दिन्छ त ?
डिजीटल यूगमा संघीय सरकारले डिजीटल नंबर प्लेट जारी गर्ला भन्नु त धेरै पर को कुरा, भएको नंबर प्लेटलाई बिदेशीकरण गर्दै देशैभरि गुड्ने गाडीहरुका अघि र पछि झुण्डिने नंबर प्लेटहरुलाई नै अंग्रेजी अक्षरले गहना जोरिदिने काम पक्कै नेपालीपनाका लागि शोभायमान नहोला । नेपालीका लागि पक्कै पनि एबीसी भन्दा अघि कखरा नै प्यारो छ अनि शुरुमा गाई भन्ने चिनेपछि मात्रै त हामीले सी ओ डव्लु काउ, काउ माने गाई बुझेका हौं । नेपाली माटोमा बिदेशी अक्षरका गहना सुहाएन्, प्रदेश नंबर ३ का गाडीका नंबर प्लेटहरुमा नेपालीपना भएन् ।
सुयोग ढकाल
Liked by: