नेपालमा गएको २५० वर्षदेखि राजनैतिक स्थिरता आएन । दुरदृष्टि भएका नेतृत्वको अभाव छ, राजनितीमा आएका नेतृत्व हरु मेहनत गर्न नजान्ने, शिक्षा र स्वास्थमा जोड दिन नसक्ने प्रवृतिका भएर पनि मान्छेहरुमा राजनिती प्रती उदासिनता भएको हो ।
बैकल्पिक दर्शन
कुनै विशेष सिद्धान्त या विचारबाट प्रभावित भएर अनि त्यही धारलाई पछ्याँउदै राजनैतिक पार्टीहरु गठन र विकास हुन्छन् , हामीसबैलाई थाहा भएकै कुरा हो ।
यही विचार र सिद्धान्तका आधारमा संगठन विस्तार, कार्यशैली अनि कार्यकर्ताहरुलाई प्रशिक्षण गरिन्छ र विस्तारै विस्तारै पार्टीले स्वरुप लिन थाल्दछ । यस आधारमा हरेक राजनैतिक पार्टीहरु फरक-फरक हुन्छन्, उनिहरुको एजेण्डा, प्रस्तावना अनि योजनाहरु फरक-फरक हुन्छन् । विगतका चुनावहरु, भर्खरै सक्किएको तथा ढोकैमा अाएर उभीएको दोश्रो चरणको स्थानीय निकायको चुनावमा पनि हामीमध्ये धेरैले यिनै प्रस्तावना, विचार, कार्यशैली र नेतृत्व गर्ने अनुहारका आधारमा प्रतिनिधी चयन गरेका हौं र गर्दैछौं, हैन र ?
यो पनि हेर्नुहोस् : मध्यपूर्वमा नेपाली कामदारहरूको भविष्य
विभिन्न चरणमा जनताबाट म्यान्डेड पाएका राजनैतिक शक्तिहरुले नै पनि गर्न सकेका, चाहेका अनि चाहेर पनि नगरेका कुराहरुको फेरिहिस्त पनि त लामै छ । भ्रष्टाचार, सत्तामोह, अनियमितता अनि विभिन्न कुरामा पार्टी विशेषको असंलग्नता, संलग्नता अनि जिम्मेवारीवोध हामीले राम्ररी बुझेका छौं, देखेका छौं अनि भोगेका पनि छौं ।
एक मिटर भन्दा पनि लामो मतपत्रमा बेग्रल्ती चुनावी छापको भीड अनि अनुहार सम्झिदै स्वस्तिक छाप लगाउन नेपाली जनता तैयार छन् । काठमाण्डौको मत परीणाममा नव राजनीतिक दलहरूः विवेकशिल पार्टी, साझा पार्टीहरुको सम्भावना बोकेको परिणामले आम नेपालीहरुको पुराना अनि जहिल्यै दोहोरीराख्ने उही अनुहारप्रति देखाएको उदासिनतालार्इ प्रष्ट पार्छ ।
राजनीतिक, सामाजिकवृत्तमा नेपालीहरुको बदलिएको चाहना अनुरुप राजनैतिक पार्टीहरुको बलिदिएको दृष्टिकोण नभएर पनि हुनसक्दछ, सचेत नेपालीहरु बैकल्पिक धारको खोजीमा लागिपरेका छन् । ७ साल पछिको नेपाली प्रजातान्त्रीक अभ्यासमा के अझै ७४ साल आईपुग्दा पनि विकास, सुशाषन अनि समृद्धिका सपना सपनामात्रै रहने भए । के राजनिती केवल सपनाको खेती मात्र हो र ?
कता चुक्यो त नेपाल, कता चुके त नेपाली ? अनि अबको बैकल्पिक राजनैतिक शक्तिको स्वरुपका बारेमा हामीले कुरो गर्याैं दर्शन रौनियारसंग ।
उहाँसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
२८ वर्ष अगाडि खल्तीमा हजार डलर लिएर अमेरिका टेकेका दर्शनले अमेरिकाकै एउटा कुशल उद्यमी र संयूक्त राज्य अमेरीकाका पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकलमा सिनेटरको उम्मेदवारका रुपमा अमेरिकी राजनितीमा प्रत्यक्ष हामफालेका व्यक्तित्वका रुपमा चिनिन्छन् ।
यसका अलावा दर्शन नेपालका विभिन्न जिल्ला, भू-भाग र सरकारी संयन्त्रका तह तप्काहरुमा नेपालीहरुको मूलभुत मुद्धाहरु बुझ्न अनि जनभावना समेट्न हिंडिरहने अनि स्थानिय मुद्दाहरू बुझिरहने हामीलाई बताउँदछन् । आउनुहोस के भन्नुहुन्छ त दर्शन रौनियार अमेरिकाको प्रजातन्त्र, जीवन र खुशियालीबारे अमेरिकी राजनितीबाट नेपालले सिक्नुपर्ने कुराहरूः
अमेरिकामा मुलभूत रुपमा प्रजातन्त्र, जीवन अनि खुशियालीका कुराहरुलाई प्राथमिकता दिएर हेरिन्छ, यस आधारमा त्यहाँ जहिले पनि डेमोक्र्याटिक, ईन्कल्युसिभ र ईक्वालिटी छ अर्थात प्रजातान्त्रिक, समावेशी र समानता सहितको छ । तथापि समानताकालागि अमेरिकाले अझै पनि कसरत गरिनै रहेको छ, महिला र पुरुषकाबिचमा भएको कार्य तथा पारिश्रमिक असमानता अझै विधमान छ अमेरिकामा । अमेरिकामात्र हैन सिङ्गापुर लगायतका अन्य छोटो समयमा विकसित धेरै देशहरुले प्रजातान्त्रिक, समावेशी र समानताका अभ्यासलार्इ आत्मसाथ गरेर विकास गरिसकेका छन् तर नेपाली राजनैतिक नेतृत्वहरुले यी कुराहरुलाई बेवास्ता गर्नु अनि सम्बोधन गर्न नसक्नु भने दुर्भाग्यपूर्ण हो ।
नेपालमा किन नयाँ पुस्ताहरु राजनैतिक परिवर्तनकालागि सक्रिय छैनन् ?
नेपालमा गएको २५० वर्षदेखि राजनैतिक स्थिरता आएन, दूरदृष्टि भएका नेतृत्वको अभाव छ, राजनीतिमा आएका नेतृत्वहरु मेहनत गर्न नजान्ने, शिक्षा र स्वास्थमा जोड दिन नसक्ने प्रवृतिका भएर पनि मान्छेहरुमा राजनीतिप्रति उदासिनता बढेको हो ।
नेपालको विकास नहुनुमा विभिन्न शक्ति राष्ट्रहरू, विकसित मूलुकहरुको अप्रत्यक्ष हस्तक्षेप हुन्छ, के लाग्छ यहाँलार्इ ?
हामी कमजोर छौं र आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छ । एउटै देश भारतसंग मात्र ८६ प्रतिशत आयात निर्यातमा निर्भर भएपछि हाम्रो दूरर्शितामाथी र आत्मस्वाभीमानमाथी प्रश्न उठिहाल्छ नी ! यस्ता धेरै उदहारणहरु छन्, कुटनैतिक हिसाबमा नेपालले २१ सौं शताब्दिमा रहेर १९ औं शताब्दिको कुरा गर्ने गरेको छ । आफू बलियो भयाैंभने अरुले हेप्न नसक्ने कुरा त हामीसबैलाई थाहा नै छ नि ?
चुनावी सरगर्मीमा अहिले नेपालीहरुमा अहिले विधमान र पुराना राजनैतिक पार्टीहरुसंग एक प्रकारको वितृष्णा भएको प्रष्ट छ, यहाँको उपस्थितीले कसरी नेपालीहरुले अाशा राखेको राजनैतिक नयाँपनको आवश्यक्तालाई सम्वोधन गर्दछ ?
म नेपालका विभिन्न ग्रामीण ठाँउहरुमा भ्रमण गर्दछु, राजनैतिक स्थितरता र विधीको शासन नभएका कारणले अहिलेको शासन प्रणाली प्रभावकारी नभएको हो । हरेक पार्टीका मान्छेहरुलाई समावेश गरेर एउटा प्रजातन्त्र, समावेशिता अनि समानताकोलागि साझा थलो बनाएर वैकल्पिक शक्तिको शुरुवात गर्ने मेरो योजना छ, पछी गएर यो शक्तिले राजनैतिक दलको स्वरुप पनि लिन सक्नेछ ।
प्रत्यक्ष निर्वाचन, पार्टीले टिकट दिने अस्वस्थकर प्रणालीको खारेजी, एउटा भोट एउटा उम्मेदवारकालागि र एउटा उम्मेदवार एउटा क्षेत्रबाट मात्र उठ्न पाउने प्रणाली मार्फत राजनैतिक पारदर्शिता र प्रजातन्त्रको संस्थागत विकास गर्नकालागि बैकल्पिक शक्ति क्रियाशील रहनेछ । मूल कुरो भनेको उम्मेदवारलाई राज्यप्रति उत्तरदायी बनाउने प्रणाली हो ।
बैकल्पिक शक्तिको धार कस्तो हुनेछ ?
हेर्नुस् अहिले भएका १८६ पार्टीहरु लगायत विभिन्न राजनैतिक शक्तिको मूलधार छैन् । बैकल्पिक शक्ति भने हरेक प्रकारले प्रजातन्त्रको पर्याय र पूूँजिवादी पार्टी हुनेछ । नेपालको मुख्य समस्या भनेको राजनीतिमात्र हो नत्र प्रकृति, सभ्यता, संस्कार र भाषाका हिसाबले हामी अत्यन्त अब्बल छौं, अब राजनैतिक नेतृत्व, धार सुधारकालागि सबैजनालाई ऐक्यवद्ध हुन आग्रह गर्दछु ।
पर्यटन, जल र कृषिकोलागि हामीसंग १०० मीलियन अमेरिकी डलरको योजना छ, यसरी विकासका पूर्वाधार तयार भएपछि रिभर्स माईग्रेशन हुन्छ । बाहिर गएका नेपालीहरु स्वदेशमैं अवसरकालागि फर्किनेछन भन्ने हाम्रो योजना पनि छ ।
नेपालीहरुमा धेरै विकासप्रतीको उदासिनता छाएको अवस्थामा राजनैतिक रुपमा वैकल्पिक शक्तिको आवश्यक्ता टड्कारो छ । ५ वर्षमा मेट्रो ल्याउने पार्टीहरुको योजना भएतापनि न्यूनतम कुराहरु सम्म दिन सकेका छैनन् । धुलो धुवाँ र महँगिमा जुझिरहेका जनतालाई मेट्रोको सपना बाँढ्नु विकास हैन नि ? यत्तिका वर्ष देशलाई पछाडि धकेल्नु अनि अझै सुध्रिन नसक्नुको उत्तरदायित्व कसले लिने ? लाएविलिटी भन्ने कुरा चाँही नेपाली राजनितीमा शून्य बराबर नै छ ।
विधीको शासन र सुशासन स्थापना नभईकन विकास सम्भव छँदै छैन, अब अर्को पुस्ताले पनि राम्रोसंग नेपालमा बस्न नपाउने ? विकसित नेपालको सपना र सुशासनको भिजन लिएर वैकल्पिक शक्ति अगाडी बढ्नेछ ।
आन्दोलनमा ढुगां हान्न र टायर बाल्न, जुलुस निकाल्न आदिजस्ता क्रियाकलापलाई मुख्यतः नेपाली राजनीतिमा जनसक्रियताको संज्ञा दिईन्छ, बैकल्पिक शक्तिमा सहभागि हुन पनि यस्तै केही गरिन्छ या कसरी गर्न सकिन्छ ?
हामी क्याडर प्रणालीबाट जाँदैनौ, बैकल्पिक पार्टी दर्शन रौनियारको मात्र दायित्व हैन, हामी सबैको हो र राजनैतिक परिवर्तन बुझेर आउने सबैलाई हामी स्वागत गर्दछौं ।
अन्य पार्टीहरुजस्तो जुलुस, बन्द र क्याडर प्रणालीमा हामीलाई विश्वास छैन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्दैजाने बैल्पिक पार्टीको धारणा हो । जनता र देशबाट लुटिएका पैसा बाँडेर राजनीति गर्ने वातावरण बनाउनु हाम्रो धारणा हैन । शिक्षा र समृद्धिको जग मजबूत गर्दै प्रजातन्त्र, सुशासन, समावेशिता र समानताकालागि अग्रसर सबै नेपालीलाई बैकल्पिक शक्तिमा स्वागत छ ।
अब नेपाली राजनैतिक प्रणालीको महामारी अर्थात एपीडेमिकको अन्त्य गर्न जरुरी छ ।
Liked by: