New Year In Review | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सन् २०२१ लाई फर्केर हेर्दा





देश तथा विदेशमा बस्नुभएका सम्पूर्ण प्रयोगकर्ताहरूलाई हाम्रो पात्रो को तर्फबाट नयाँ वर्ष २०२२ को धेरै धेरै शुभकामना। यो नयाँ वर्ष उत्साह अनि उमङ्गले भरिपूर्ण होस् अनि पुराना वर्षको सम्पूर्ण नकारात्मक पक्षहरू वर्ष फेरिएसँगै अन्त होस्, सम्पूर्ण प्राणी जगतको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै आउनुहोस् पुनरावलोकन गरौँ सन् २०२१ का चर्चित अनि विशेष घटनाक्रमहरूको :

सन् २०२१ लाई कोरोना महामारीको दोश्रो लहरको वर्षको रुपमा लिइयो । कोभिड १९ को नयाँ भेरियन्टको कारण तिव्र गतिमा सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि देश पुन लकडाउनको मोडमा पुग्यो । जनजीवनलाई फेरी प्रभावित पारेको यस दोश्रो लहरमा संक्रमित मात्र नभएर मृतकको सङ्ख्यामा पनि वृद्धि देखियो । एक समयमा त अस्पतालमा शैया अनि अक्सिजन सिलिन्डरको अभाव यति खड्कियो कि हाम्रो देशको स्वास्थ्य क्षेत्र कति पछाडि अनि कमजोर छ भनेर देशवासीहरुको मन खिन्न भयो । २०२१ को अन्त्य तर्फ ओमिक्रोनको त्रास बढ्दै जाँदा हामीले यसबाट जोगिन आफै सावधानी र सतर्कता अपनाउनु नै उत्तम विकल्प हुनेछ । २०२१ को भयावह स्थिति २०२२ मा दोहोरिन नदिन हामी आफैँ सतर्क बनौँ ।

२०२१ लाई भ्याक्सिनको वर्षको रुपमा पनि लिन सकिन्छ । हुन त अझ पनि सम्पूर्ण नेपालीहरूले खोप लगाउन पाएका छैनन् । तर, २०२१ मा थुप्रै मानिसहरू खोपको दुवै डोज लगाएर सुरक्षित घेरामा बसेका छन् । २०२२ मा सम्पूर्ण नेपालीहरूले खोपको दुवै मात्रा पाउन, हाम्रो कामना ।


नेपालको टेलिभिजन जगतमा केही वर्ष अघि देखी मात्र शुरु भएको रियालिटी शोको मोह २०२० मा झन् बढ्यो । “बुगी वुगी” “सारेगामापा लिटल च्याम्प्स” “द भ्वाइस किड्स” जस्ता शोहरु ले धेरै भन्दा धेरै दर्शकहरूलाई आकर्षित गरी मनोरञ्जन प्रदान गरिरहे । केही वर्ष अगाडि देखि शुरु भएका शोहरुले निरन्तरता पाइरहे । विदेशी फ्रेन्चाइजका शो मात्र नभएर “कमेडी च्याम्पियन” जस्ता रियालिटी शोहरुकै कारण दर्शकको एउटा ठूलो जमात पुन टिभी तर्फ आकर्षित भएको छ भन्दा गलत नहोला ।

कूल ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन २०२१ मा भयो । स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ। यो हाइड्रोपावरले विद्युतको समस्यालाई दिगो समाधान प्रदान गर्ने विश्वास लिइएको छ।

गत वर्ष अमेरिकी नेतृत्वको फौजले देश छाडेसँगै त्यहाँ तालिबानीहरू फर्कँदा अफगानिस्तानलाई फेरी तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ। तालिवान समूह राजधानी काबुल प्रवेश गरेसँगै अफगानिस्तानी राष्ट्रपति अशरफ घानीले देश छाडेका थिए । घानीले छाडेपछि राष्ट्रपति कार्यालयमा प्रवेश गरेका तालिवानी अफगानिस्तानमा अमेरिकी युद्धको अन्त्य भएको र आफूहरूले विजय प्राप्त गरेको घोषणा गरे ।

सन् २०२० मा कोभिडको कारण नै आयोजना हुने भनिएको ओलम्पिक खेल, युरो कप र विश्वकप क्रिकेट टि २० आयोजना हुन सकेन । यि प्रतियोगिताहरू २०२१ मा धुमधामका साथ आयोजना भए । ओलम्पिकको यति लामो इतिहासमा पहिलोपटक यो प्रतियोगिता निर्धारित समयभन्दा पछि सरेको हो । त्यही पनि, टोक्यो ओलम्पिक्स २०२० नै भनेर भनिएको उक्त ओलम्पिक्समा अमेरिकाले ३९ र चिनले ३८ स्वर्ण जितेर स्वर्ण पदक जित्ने राष्ट्रको पहिलो र दोश्रो स्थान हात पार्न सफल भए ।



ओलम्पिक्स जस्तै युरो २०२० पनि गत वर्ष नै आयोजना भयो । युरोपियन राष्ट्रहरू बीच हुने फुटबलको यो रोमान्चक प्रतियोगितामा इटालीले बाजी मार्यो । गत वर्षको युरोकपमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनलाई खेलकै क्रममा मैदानमा आएको हृदयघातको दृश्यले विश्वभरका सम्पूर्ण खेलप्रेमीहरूलाई स्तब्ध बनायो । सबैको प्रार्थनाका कारण एरिक्सन अहिले सकुशल छन् । २०२१ मा खेलकुदको कुराकानी हुँदा यो दृश्य पक्कै पनि सबैको मस्तिष्कमा ताजा बनेर बस्नेछ । त्यस्तै फुटबल कै कुरा गर्न पर्दा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले यो वर्ष क्लब परिवर्तन गरेको खबर पनि चर्चामा रह्यो । रोनाल्डो युभेन्टस छाडेर पूर्व क्लब म्यानचेस्टर युनाइटेड गएका छन् भने मेस्सी बार्सिलोना छाडेर पिएसजीमा आवद्द भएका हुन् ।

नेपालमा खेलकुदको कुराकानी गर्ने हो भने खेलहरू धेरै नभएपनि नेपाली क्रिकेट वर्षभरी नै चर्चामा रह्यो । लोकप्रिय क्रिकेटर पारस खड्काको राजीनामा देखि लिएर प्रशिक्षक देव व्हाटमोरले छाडेको खबर प्रमुख आकर्षण बनिरहे । वर्षको अन्त्य तर्फ आउँदा क्यान र खेलाडीहरू बीचको विवादमा सबैको ध्यान केन्द्रित रह्यो । नयाँ वर्षको सुरुवात सँगै यो विवाद टुंगिएको खबरहरू सार्वजनिक हुन थालेका छन् जुन हाम्रो देशको क्रिकेटको लागि सकारात्मक पक्ष हो । २०२२ मा अष्ट्रेलियामा हुन लागेको टि २० विश्वकप सम्मको यात्रा तय गर्ने लक्ष्य लिएर अगाडि बढ्ने क्रिकेट टिमलाई सकारात्मक रहनु अति आवश्यक छ, हाम्रो अग्रिम शुभकामना ।

 २०२० जस्तो निराशाजनक नभएर २०२१ चलचित्र क्षेत्रको लागि थोरै राहत बनेर आयो । तर, २ वर्षदेखि ठप्प नै रहेको यो क्षेत्रलाई त्यो थोरै राहत पर्याप्त भने अवश्य भएन । मध्य २०२१ बाट विस्तारै चलचित्र हलहरू कतै ५० प्रतिशत त कतै १०० प्रतिशत दर्शकको साथमा सञ्चालनमा त आए, तर चलचित्र क्षेत्रले दर्शकको साथ अपेक्षा अनुरूप चाहिँ पाउन सकेन । औँलामा गन्न सकिने नेपाली चलचित्रहरू प्रदर्शनमा आए, तर प्रभाव छाड्न भने सकेनन् । सिनेमाहलको गुम्सिएको व्यवसायलाई केही हिन्दी र विदेशी चलचित्रहरूले थोरै स्वास फेर्ने अवसर दिएपनि अब ओमिक्रोनको त्रास पुन शुरु भएसँगै २०२२ मा पनि चलचित्र क्षेत्रको अवस्थामा सुधार आउला भनेर आशा गर्ने अवस्था भने पक्कै छैन ।

नेपालमा डिजिटल रिलिजको लागि उपयुक्त प्लेटफर्म नहुँदा २ वर्ष अघि देखि आफ्नो चलचित्र प्रदर्शन गर्न कुरिरहेका निर्माताहरूलाई निक्कै अप्ठ्यारो परेको अनुमान गर्न सकिन्छ । आशा गरौँ यो नयाँ वर्षले नयाँ सुरुवात दिनेछ र हाम्रो चलचित्र क्षेत्र पुन पुरानै लयमा फर्कन सकोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.